तराईको गर्मी, पसिना नाकको डाँडीबाट तप्प-तप्प चुहिदै थियो। पसिनाले काखिमुनिको भाग पहेलो भएर हेर्न नहुने भएको थियो। बिहान लगाएको अत्तरको बासना कक्टेल भएर नाकै छेडुला झैँ गर्थ्यो। यती हुँदा-हुँदै पनि म अरु जस्तै नर्मल नै थिएँ किनकी त्यहाँ सबैको हालत त्यस्तै थियो।
शुक्रबार हाफ छुट्टी भए पनि मलाई चाडै घर जान मन लाग्दैन। गाउँँको बसपार्क छेउमा राम बिलास दाजुको चिया पसल छ। प्रायः म त्यही बसेर शुक्रबारको एक-दुई घण्टा बिताउने गर्छु। म आएको देखेपछि त्यही पसलमा काम गर्ने सानो केटोले टेबल पुछिदियो र बस्न आग्रह गर्यो। निथ्रुक्कै भएको रुमालले फेरि एकपटक अनुहार पुछी टोपले।
राम बिलास दाजु पनि पसिना चुहाउदै कालै डढिसकेको दिउरेमा अलिकति दुध र चिनी मात्र थपेर चिया बनाउदै थिए, चियापत्ती मैले देख्दा बिरलै थप्थे। प्रायः म आउनसाथ त्यहाँको सानो काम गर्ने केटो गणितको एउटा न एउटा प्रब्लम लिएर आइहाल्थ्यो, सर यो सिकाइदिनुस् न भन्दै।
एकैछिनमा आयो। सधैं राम बिलास दाजु चै स्कुलमा ध्यान दिएर पढ्दैन अनि सरलाई दिक्क लाउछ भनेर गाली गर्थे। 'सर यो सालको गर्मी त उधुम छ, कसरी बाच्ने होला जस्तो भईसक्यो' राम बिलास दाजुले कुरा बढाए।
'जाडोमा पनि यसै भन्नुहुन्छ होला है दाजु, यो साल कत्ति जाडो भनेर' हाँस्दै उत्तर दिएँ। साढे तीन बजे गाउँ आउने बस पनि धुलो उडाउँदै पर देखिदै थियो। मेरो टेबलमा त्यही सानो केटोले चिया राखिदियो। चियाको चुस्की लगाउँदै दिमागमा कुरा खेलाउदै थिएँ। बस ठ्याक्कै पसल अगाडि आएर रोकियो।
भरिभराउ थियो बस, छतमा पनि पोखिएलान जस्तै गरेर टमाटम थिए यात्रुहरु। मलाई त्यहाँ बसेर उत्रदै गरेका यात्रु हेरेर तिनका मनोविज्ञान आफ्नै पाराले मुल्यांकन गर्न साह्रै मज्जा आउछ। अन्तिम स्टेशन भएकोले सबै यात्रु त्यही उत्रन पर्थ्यो। मेरो आँखा बसकै ढोका तिर थियो।
एकजना नौलो जस्तो मान्छे सबैजना उत्रिसकेपछि एउटा सुटकेस हातमा लिएर गाडीको ढोकामा अडिएर दायाँ बायाँ हेर्दै अलि ठाँट पारामा उत्रियो। चिटिक्क आइरन गरेको पेन्टमाथि मिलाएर लगाएको रातो रंगको सर्ट, हेर्दा महङ्गै पर्ने जस्तो घडी, जुत्ता हेर्दा हाम्रो गाउँमा त्यत्तिको कसैले लाउदैन होला जस्तो।
गोरो वर्णको सुकिलो मान्छे, राम बिलास दाजुको नजर पनि त्यतै थियो। सुटकेस बोकेर त्यो मान्छे हामी भए तिरै आयो। अलि नजिक आएपछि अनुहार चिने-चिने जस्तो पनि लाग्यो। म तिर हेरेन त्यसले। एउटा टेबलमा गएर बस्न खोज्दा सानो केटोले कुर्सी पुछिदिन खोज्यो, हातको इसाराले पर्दैन भन्यो।
अनि थचक्क बसेर राम बिलास दाजु एक कप चिया ल्याउनुस् त भनेर भन्यो। दाजु छक्क परे, सायद नाम थाहा पाएकोमा हुन पर्छ। 'दाजु भुँडी त लागेछ त कति एजको हुनु भयो?' पुरै चिने जस्तो गरेर सोध्यो। राम बिलास दाजु अक्मकाउदै ५५ कटेको अनि बुढेसकाल लागेको कुरा सुनाए।
चिया टेबलमा राखिदिँदै बाबुलाई त चिनिनँ भनेर सोधे। 'तीस वर्ष भयो मैले गाउँ छोडेको, किन चिन्नुहुन्थ्यो त दाजु? तपाईले पसल नै भर्खर सुरु गर्दै हुनुन्थ्यो' उसले अलिकति जानकारी दिए पारामा बोल्यो। अनुहार हेरेर ठम्याउन नसकेको कुरा दाइले भने।
मलाई पनि उनीहरुको बातचितमा चाख बढ्दै थियो। 'त्यो बेला हजुर सानो हुनुन्थ्यो होला, अहिले हलक्क बढेको मान्छेलाई कसरी चिन्नु। फेरि धेरै मान्छे गाउँछोडेर गएका छन्, गाउँभन्दा सहर नै प्यारो हुन्छ' दाजुले दुखेसो पोखे।
‘ल तपाईलाई म एउटा घटना सुनाउछु, त्यो सुनाउदा पनि चिन्नु भएन भने चै पक्का बिर्सनु भएको रहेछ भनेर बुझ्छु’ भन्यो त्यो मान्छेले। म पनि घटना कान थापेर सुन्न थालेँ।
उसले घटना सुनाउन थाल्यो- 'मैले यो गाउँ सात पढ्दै गर्दा छोडेको थिएँ। बुवाको जागिर सहर तिरै सरुवा भएकोले।'
'अरे बाबु नाम भन्नुस्, बुवाको नाम भन्नुस् म आँफै चिनिहाल्छु नि। किन यात्रो लम्बे चौडे काहानी?' राम बिलास दाजुले हाँस्दै बीचमा रोकेर भने।
उसले पनि उही पाराले हाँस्दै काहानीबाटै मलाई चिन्नुस् न भनेर फेरि सुरु गर्यो उसको अतित भन्न।
'म यहीको सरकारी स्कुल पढ्थेँ। तपाईकी छोरी रामकली, म र हरि भन्ने साथी धेरै मिल्थेउँ। अझ हरि र म त अत्ति नै मिल्ने। लङ्ग्गौटिया साथी भन्छ नि हो त्यस्तै।'
हरि भन्ने शब्द सुनेर म झसंग भए किनकी म पनि हरि नै हो। मेरो दिमाग सनन रिल झै घुम्यो। रामकली, म र रबि अत्ति मिल्ने। ओहो! यो त रबि नै पो हो त। अनुहार पनि कता-कता आउने। मैले उसले काहानी सुनाउन्जेल नचिनाउने निर्णय गरेँ। राम बिलास दाइ आफ्नै पारामा काम गर्दै सुन्दै थिए।
मलाई लाग्यो दाइले तीन जनाको नाम सुनेनन्। रुमालले हात पुच्छ्दै त्यो मान्छेको छेउमा आएर भने 'अँ तपाईंको तीन जना साथी अनि के भो?'
उ बोल्न सुरु गर्यो 'हामी अत्ति नै मिल्ने। हामी हरदम सँगै हुन्थेउँ। स्कुल जाँदा-आउँदा, खेल्दा घरमा सुत्नुभन्दा अघि र उठेपछि प्रायः सँगै हुन्थेउँ। तपाईको बारीको आँप चोर्ने, लुकिछिपी नहरमा पौडी खेल्न जाने, रामकलीले तपाईको गल्लाबाट पैसा चोरेर सिनिमा हेर्न जाने। सबै सरारती काम गर्थ्यौँ। विचरा रामकलीले तपाईको पिटाइ त कति खाइ कति।'
'रामकली मेरो छोरी?' राम बिलास दाइले सोधे। 'लौ अघिदेखि भनीरहेछु, के सुन्नु भो त? हो नि।' उसले प्रतिप्रश्न गर्दै उत्तर दियो। एकछिन टोलाएर ‘अरे रबि बाबु, मैले त बल्ल पो चिनेँ। अनुहार ठ्याक्कै आउने सानाको।’
सायद राम बिलास दाइले मलाई पनि चिनाइदिन भनेर म तिर पुलुक्क हेरे, मैले आँखाको इशाराले नचिनाउन आग्रह गरेँ। रबिले यो सबै देखेन। मेरो ध्यान उतिरै थियो। उसले पर्सबाट एउटा फोटो निकालेर राम बिलास दाइलाई देखायो। ‘हेर्नुस् त।’
हाँस्दै ‘ओहो तपाईहरु तीन जनाको फोटो, हेर हरि र रामकली कस्ता थिए, यो त निक्कै पुरानो फोटो रहेछ नि, कसरी हुन्छ मलाई पनि दिनु मेरी छोरी खुसी हुन्छे’ भन्दै राम बिलास दाइले फोटो मागे। राम बिलास दाइले सानोमा मलाई तिमी भनेपनि आजकाल तपाई भन्छन्, सायद पढाउने मास्टर भएदेखि।
मलाई पनि हेर्ने रहर जागेको थियो तर चुप बसेँ एकछिन। 'हरि हामीभन्दा अलि सरल थियो, उपद्रो नगरौँ भन्थ्यो तर हामी फकाइ हाल्थ्यौँ' उ खिस्स हाँस्दै बोल्यो।
उनीहरु कुरा गर्दागर्दै पुराना कुरा मेरा दिमागमा घुम्न थाल्यो। एउटा घटना थियो जुन मेरो दिमागमा अझै ताजा नै छ। त्यो बेला सानै भएपनि म भुतमा विश्वास गर्दिन थिएँ, रबि भने एकदम नै धेरै। सायद उसको परिवार अलि परम्परावादी भएर पनि होला। उसको घरमा हजुरामाले काहानीहरु पनि भुतकै सुनाउनु हुन्थ्यो।
उ त्यस्तै सुनेर अनेक कुरा भन्थ्यो भुतको। मेरो घरमा बुवाले भुतको कुरा गर्दा गाली गर्नु हुन्थ्यो। यस्ता कुरा नगर भनेर। भुत हुँदैनन भन्ने विभिन्न तर्क, उदाहरणहरु दिनु हुन्थ्यो। रबिसँगै यो विषयमा कुरा गर्दा हुन्छ र हुँदैनमा लामो बहस चल्थ्यो। रामकली बेला-बेला खाली झगडा गर्छौ देख्दै नदेखेको कुरामा भनेर गाली गर्थी।
यही विषयलाई लिएर एकपटक ठूलै झगडा पर्यो। रबि र मेरो बोलचाल बन्द भयो। हामी लगभग दश दिन जति बोलेका थिएनौँ। रामकलीले निक्कै जोडजाम गर्दा पनि बोलेका थिएनौँ। एकदिन दुईजनालाई मिलाउने एउटा उपाय लिएर आएकी थिई रामकली।
हाम्रो गाउँको माथि एउटा जंगल छ। त्यसको मुखैमा चिहानघारी छ। त्यहाँ राति १२ बजेतिर भुत बत्ति बाल्दै हिड्छ भन्ने व्यापक हल्ला थियो त्यो बेला र अहिलेपनि छ। तर प्रत्यक्ष्य देख्ने एकजाना बाहुन बुढा भन्ने थिए रे। ती पनि मरे रे पछि। रामकलीको प्रस्ताव अनुसार शुक्रबारको राति हामी तीनैजना खुसुक्क घरबाट भागेर चिहानघारीको मुखमा जाने अनि भुतलाई हेर्ने।
भुत देखियो भने रबिले जित्ने, देखिएन भने हरिले जित्ने र जसले जित्छ उसलाई हार्ने ले फ्लिम हेराउनु पर्ने सर्त राखियो। रबि डरले मानिरहेको थिएन तर उसको पनि केही लागेन। शुक्रबार नआउन्जेल खाली भुतले मार्ने भयो भनेर भनीरहन्थ्यो। शुक्रबार राति योजना अनुसार सबैले घरमा एकाअर्काको घर जाने भनेर निस्कियौँ। रबिले टर्च बोकेको थियो। जुनेली रात थियो। रातको सन्नाटाले मेरो मुटु ढक्क फुलेको थियो, जति नै भुत हुँदैन भन्ने लागेपनि। लगभग आधाघण्टा हिंडेपछि गन्तब्य पुगियो।
हामी जंगलको मुखैमा एउटा चौतारी थियो, त्यही बस्यौँ। रबि साह्रै डराएको थियो। साढे १२ बजेसम्म बसौँ अनि जानु पर्छ भनेर रामकलीले भनी। सहमत भयौँ। एकअर्कालाई पक्डेर चिहान तिर नजर लाउदै बसेका थियौँ। भुत देखिएन जाउँ भने मैले। रबि सर्त हारेकोमा खिन्न थियो। एकछिन बसौा पो भन्न थाल्यो।
हिन्नै लाग्दा जंगल तिर मान्छे बोले जस्तो लाग्यो तर स्पष्ट थिएन। हेरेको परबाट तीन वटा टर्च बलेजस्तो हामी तिरै आउँदै थियो। मैले राति गाउँका मान्छे किन जंगल गएका रहेछन् भनेर हेर्न लगाएँ रबिलाई। रबि त एक्कै सासमा भुत भनेर दौडियो। रामकली पनि फालतोडेर दौडी। म पनि आत्तिएर गाउँ तिर दौडिए।
भोलिपल्ट रबिले सर्त जितेको दाबी गर्यो। मैले रातिको भुत हैन गाउँले थिए भनेर तर्क पेस गरे। रामकलीसँगै केही उत्तर थिएन। त्यो कुरामा फेरि हाम्रो ठूलै झगडा परेको थियो। हाम्रो मित्रतामा दरार पनि आएको थियो। लगभग नबोल्ने जस्तै भएका थियौँ। रामकलीले पनि मिलाउन सकिन। त्यो घटनाको पाँच, छ महिना पश्चात रबिको परिवार नै गाउँ छोडेर गएका थिए। सायद उसको बुवाको जागिर सहर तिर भएको थियो।
तीस वर्ष आज फेरि समय घुमेर आएको थियो र समयसँगै रबि पनि। राम बिलास दाइसँगै गफ गर्दै-गर्दा बेला-बेलामा पुलुक्क मलाई हेर्थ्यो रबि। तर उसले चिन्न सकेन।
'अनि यहाँ कस्कोमा बस्नु हुन्छ त रबि बाबु?' राम बिलास दाजुले सोधे। 'हरि यही गाउँमा छ भने हरिकोमा नत्र होटल मा बस्छु' उसले सिधा जवाफ दियो। म छक्क परेँ। उ एउटा प्रोजेक्टको कामले आएको कुरा पनि आफै बताउदै थियो। म भनेर आएको रछ अब चिनाउछु भन्ने लाग्यो।
साथीले बिर्सेंको रहेनछ भनेर धेरै खुसी पनि लाग्यो। मैले इसारा गरेर छेउमा बोलाएँ। 'मलाई चिनिस्?' सोधेँ।
चस्मा उतार्दै भन्यो 'अरे हरि! यार किन यत्रोबेर चुप बसेको।'
'कत्तिको चिन्छस भनेर नि?' उत्तर दिएँ। उसले मलाई गला लगायो आफै। गफहरु औपचारिक हुँदै अनऔपचारिक तिर लम्किए। आफ्नो-आफ्नो जागिरदेखि परिवारसम्मका कुरा भए। रमबिलास दाइ पनि बेला-बेलामा आफ्नो गफ थप्थे।
मलाई एक प्रकारको रमाइलो लागिरहेको थियो। मैले घर जाउँ भन्ने इसारा गरेँ। उ पनि उठ्यो। हिड्दै गर्दा सोध्यो 'अनि आजकाल भुतको विश्वास लाग्छ कि लाग्दैन त?' आचम्मित हुँदै उत्तर दिएँ 'सानोमा त लागेन अब झन् केको लाग्थ्यो नि!'
'तलाई?' प्रश्न गरेँ।
'पहिलाभन्दा झन् धेरै' उसले उत्तर दियो।
'के केटाकेटी जस्तो कुरा गरेको यार? अब तँ ठूलो भइस् त। लजिकल्ली पनि सोच् न। देखेको छस् र तैले?' सोधेँ मैले।
'देखेको कुरा मात्र सत्य हुन्छ र? दिमाग अलि चौडा बना न, हरेक कुरामा लजिक हुँदैन' दार्शनिक पराले उत्तर दियो।
मेरो आमा बुवा बितिसक्नुभएको कुरा बताएँ। उसको आमा हुनुहुँदो रहेछ। घर पुगेर परिवारसँगै चिनापर्ची भएपछि फेरि भुत वाला कुरामा तर्क हुन थाल्यो। उसको बानी सानैको जस्तो जित्ने, म छक्क परेँ। कुराको सिलसिलामा सानोमा हामीले राति चिहानमा देखेको काठ तस्कर भएको कुरा पछि पत्ता लागेको भन्ने सुनाएँ।
उसले विश्वाश नगरे जस्तो गर्यो। चर्काचर्की नै पर्यो। उसले अचानक सिरियस हुँदै भन्यो 'लु आज त र म त्यही ठाउँमा गएर प्रत्यक्ष हेरौँ पहिलाको जस्तो नभागीकन।'
म छक्क परेँ प्रस्ताव सुनेर। जिस्के जस्तो लाग्या थियो तर उ सिरियस भयो त्यो कुरामा। मैले पनि खुलेर गफ गर्न पनि मिल्ने जस्तो लागेर सहमति जनाएँ। बियर लाने तय गरियो, चिल्ड भएर गफ गर्दै रात बिताउन। योजना अनुसार रातको दस बजे तिर एउटा टर्च बोकेर गन्तब्य तिर लागियो।
रामकली भएको भए रमाइलो हुने थियो है भनेर भनेँ। उसले असहमती जनायो। 'उ भुतमा विश्वास गर्थी, नआउदा पनि हुन्छ। यहाँ त विश्वाश नगर्नेहरुले आउने हो हेर्नलाई' उ बोल्यो।
बियर पिउदै गफ गर्दा समय बितेको पत्तै भएन, १२ पो बजिसकेको थियो। 'खै त १२ बज्यो त, तेरो भुत आउँदैन त यार' हाँस्दै अलि व्यंग्यात्मक पाराले भनेँ।
उसले रिसले मुर्मुरिदै म तिर यत्रो आँखा फुकालेर हेर्दै कानमा साउती गरे पाराले बोल्यो 'तलाई यो रात सधैँ याद रहिरहनेछ।' अनि उ अचानक मेरो आँखा अगाडि बाट हरायो। अध्यारो मात्र बाँकी रह्यो।
कत्रो बेर सुत्नु भको भनेर कानमा श्रीमतीको आवाज परेपछि झसंगै बिउँझिएँ। जीउमा काँडा उम्रिएको थियो। बिहानको नित्यकर्म सकेर मोबाइलको स्क्रीनमा न्यूज हेर्न थालेँ। एउटा समाचार थियो- ‘कार दुर्घटनामा परेर एकै परिवारका चार जनाको मृत्यु।’ फोटोमा मैले सपनामा देखेको रबि पनि थियो।