आज मेरी श्वेताको मृत्यु भयो। म एकटक उनलाई हेर्दैछु। तुलसा मोठ्मुनि आराम गरिरहेकी मेरी श्वेता, एक अदृश्य मृत्युरुपी गहिराइमा डुबेकी छिन्। उनका केशराशीहरु यत्तिकै फैलिएका छन्। चिम्लिएका नयनबाट पनि ज्योतिको आभास हुन्थ्यो। केही खुलेको हाँसो अनि तृप्ति बोकेको अनुहार। सबै चिजबाट उन्मुक्त उनी आफैमा डुबेझैँ देखिन्थिन्। मानौँ गहन शान्तिको पवित्रतामा समाहित भएकी छिन्।
म एकटक उनलाई हेरिरहेथेँ। कहीँ कतैबाट आवाज मेरो कानमा पर्छ। 'श्वेता यस्ती थिइ, उस्ती थिइ, कति छोटो आयु रहेछ, कति अभागी रहिछे। पछाडि एउटा छोरी मात्र छोडेर गइ, छोरो मात्र भएको भए पनि कस्तो हुन्थ्यो, जिन्दगीले ठगेकी रहिछे, इत्यादी इत्यादी।' म यही प्रार्थना गर्छु कि ईश्वर यस क्षणमा यी कुनै पनि आवाज चीर निद्रामा डुबेकी मेरी श्वेतासम्म नपुगोस्।
मानिसका दुषित वाक्य अनि ध्वनीले उनको अन्तर-आत्माको पवित्रतालाई अपवित्र नापरिदेओस्। जीवनको सहयात्रामा श्वेतालाई आवश्यकता अनुसारको सहानुभूति दिन नसक्ने मुखबाट आज उनको मृत्युमा दुखेसोको कुनै सुस्केरा चाहिन्न।
मेरी सात वर्षकी छोरी नजिकै आउछिन् र भन्छिन्- ‘बाबा! म पनि मामुलाई अन्तिम बिदाइ दिन जान्छु।’ एउटा काँधमा श्वेताको पार्थिव शरीर राखेर अर्को हातमा छोरीलाई डोराउँदै म आर्यघाट तिर लागेँ। सदाझैँ पशुपतिमा सन्ध्या आरती हुँदै थियो। चितामा सुतेकी मेरी उनको पनि आरती भएझैँ भान भयो। मुखाग्नी दिने समय भयो। एक अन्तिम चोटी उनलाई हेरेर पूराका पूरा आफूभित्र भर्ना चाहन्थेँ।
निरन्तर बजिरहेको शंखको ध्वनी अनि बागमतीको प्रवाहको आवाजले कुनै उत्सवको भान गराउँथ्यो। मुखाग्नी दिने लाग्दा छोरीले च्याप्प हात समातेर भनिन्- ‘बाबा! मामुलाई अन्तिम पटक म पनि पुजा गर्न चाहन्छु।’
मलामी गएकाको अवरोध, बाहुन बाजेको रिसलाई नजर अन्दाज गर्दै मेरी छोरीले आफ्नी आमालाई मुखाग्नी दिइन्। दन्दन बलेको आगोलाई हेर्दा लाग्थ्यो, श्वेताको शरीर अग्निसँग होलि खेलिरहेछ। उनको सम्पूर्ण पावनता आफूभित्र समेटेर अग्नि अदृश्य भयो। शेष अस्तु मात्र बाँकी रह्यो। आफ्ना कलिला हातले आफ्नी प्यारी आमाको अस्तुलाई मसँगै बागमतीमा प्रवाहित गरिन्।
यतिखेर मलाई भान भयो कि मेरी प्राण प्यारी साँच्चीकै अदृश्य भइन्। बागमतीसँगै बगेकी उनी गंगामा जोडिएर हिन्द महासागरमा बिलिन हुन्छिन् होला। त्यसपछि वाश्प बनेर वायुमंडलमा विचरण गर्छिन् होला। तरंगको रुपमा विश्व ब्रह्माण्डको सीमाहीन यात्रामा निस्किन्छिन् होला।
जीवनको सहयात्रामा पनि असीमिताताको सम्भावना खोज्दै हिडिन्। सधैं उन्मुक्त, सधै जुझारु अनि सदा जीवन्त मेरी श्वेता। जीवनकी मार्मिक प्रेमी मेरी श्वेता। आफ्नो काल्पनिक संसारबाट म वास्तविकतामा चैतन्यलै लेराउँछु र देख्छु मेरो मनभित्र डुबुल्की मार्दै गर्दा मेरी छोरी तयार भैसकेकी थिइ।
बागमतीको शितल प्रवाहमा आफूलाई शुद्ध पारी सेतो वस्त्रमा लपेटिएकी थिइ। सबैले खिचेका अवरोधका जन्जिरलाई तोडेर उन्मुक्त मेरी छोरी, मसँगै तेह्र दिनको तथाकथित शोक प्रक्रियामा संलग्न भइ। समाजको लागि शोक प्रकृया होला। तर म अनि मेरी छोरीको लागि यो समयावधि फेरि सम्पूर्ण रुपले श्वेतालाई जिउनु थियो।
उनको यादमा उनको जीवन्ततामा डुब्नु थियो। न त कुनै पुराण वाचन नै भयो न त जीवनमा साथ नदिएका आफन्त अनि छिमेकीको सहानुभूति नै लिइयो। त्यहाँ केबल हामी दुई थियौँ। म अनि मेरी छोरी। एक अर्काको लागि पर्याप्त। सेतो वस्त्रमा च्यापिएकी मेरी छोरी उसको आमाको शोकबाट यसरी पार भइ की उ फेरि जीवनका रंगहरुले भरिन सकोस्।
फेरि उन्मुक्त हाँसो हाँस्न सकोस्, स्वच्छन्द उडान भर्न सकोस्। तेह्र दिने कार्यक्रम पनि सकियो। हामी दैनिक जीवनमा फर्किएका थियौँ। बाबा, छोरी अनि श्वेताको अनुपस्थितिमा पनि सम्पूर्ण हुनुको अनुभव। कता कताबाट श्वेताको वाणी सुनेझैँ लाग्यो। उनले भनिन्- मलाई यस्तै बिदाइ चाहिएको थियो, म मुक्त भएँ।
अनि म सोच्छु, के अरु सबैले पनि आफ्ना भनिएकाहरुको अन्तिम बिदाइ मैले मेरो श्वेतालाई गरेझैँ गर्न सक्लान् त? म सोचमा डुबेँ।