आइएम फ्रम नेपाल – एलिसाको प्रश्नमा मैले उत्तर दिएँ।
ओ, यु आर फ्रम नेपाल – प्रतिप्रश्न गरिन् र उत्तेजित हुँदै भनिन् – माउण्ट एभेरेष्ट।
माउण्ट एभेरेष्ट अर्थात् सगरमाथा नेपालमा छ, उनलाई त्यो राम्ररी थाहा रहेछ। नेपाल सेता हिमालै हिमाल भएको देश भन्ने अझ राम्ररी थाहा रहेछ।
म नेपालको मान्छे भनेर जब थाहा पाइन्, उनको अनुहारमा खुसीको अर्कै हाउभाउ देखियो। अनौठो मान्दै एकछिन मलाई हेरेको हेरै भइन्। मलाई हिउँ मान्छे भेटे झैं गरिन्। बसेको कुर्सीबाट उठिन र मेरो हात छामिन् र हग गरिन्।
उनले ठानिन् – म सगरमाथाबाट आएको मान्छे। सगरमाथाको टुप्पोमा बसेर हिउँ खैल्दै हुर्केको हिउँ मान्छे।
एलिसाको हाउभाउले भनिरहेथ्यो कि चिसो हिमाल चुलीको मुटु हुँ म। त्यही भएर उनले मेरो हात छामिन्। मुटु कतिको तातो छ भन्ने जाँच्नलाई मलाई हग गरिन्। उनको लागि यो अनौठो र अनपेक्षित अवसर थियो। उनले धर्मराज थापाको गीत सुने झैं गरेर प्रस्तुत भइन्, तर पानामा कि मान्छे, कहिले पो सुनिन् होला र त्यो गीत!
चिसो हिमालको चुली तातो मुटु तेन्जिङ हो
हिमाल चुली खानीको विश्वमा झल्कने रत्न हो
हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा
‘तेन्जिङले पो हिमाल चुचुरा चढेको, मैल त होइन नि एलिसा,’ मैल एलिसालाई त्यसो भन्न पनि सकिनँ।
उनले सोच्दै नसोचेको र कल्पनै नगरेको मान्छे भेटिन्, सगरमाथाको मान्छे। जुन भेटले उनलाई असीम हर्ष र उल्लास दियो। होइन भनेर म त्यो क्षणलाई कसरी पानीको फोकामा परिणत गरिदयौं? मैले त्यसो गर्न सकिनँ।
उनको अनुहारको भाकाले भन्थ्यो – वाह! सगरमाथाको मान्छे। सगरमाथा संसारको अग्लो टाकुरो, जुन टाकुरोबाट आएको मान्छेलाई अगाडि प्रत्यक्ष देख्न पाए र भेट्न पाएँ। कस्तो सौभाग्य! सगरमाथाको टुप्पोमा ऊ कसरी हिउँ खेल्थ्यो होला। लडिबुडी गर्थ्यो होला, उनलाई जान्न औडाहा भएजस्तो लाग्थ्यो। किनकि म उनको लागि हिमालचुलीको रत्न थिए।
सगरमाथाको टुप्पोमा बसेर हिउँ खेल्दा कस्तो अनुभूति हुँदो हो। अझ त्यो टाकुरमा हिउँ खेल्दै संसार नियाल्दा कस्तो देखिँदो हो।
हिउँको अग्लो थुप्रोबाट तलतिर देखिन अनेक चुचुरा, हिमनदी, हिम उपत्यका र अलि तल पर पर देखिने सेता बादल देख्दा कस्तो अनुभूति हुँदो हो। हिउँ मान्छेका ती अनुभूतिहरू र ती भोगाइहरू सुन्न उनी आतुर थिइन्।
एलिसा पानामामा जन्मे हुर्केकी मान्छे। उनले जिन्दगीमा कहिल्यै हिउँ देखेको रहेनछ, तर सेताम्य हिउँ भएका पाखामा उनलाई लडिबुडी गर्न मन लाग्दो रहेछ। क्यानाडा आएपछि पहिलो पटक उनले हिउँ देखेकी रहिछन्। जिन्दगीमा हिउँ नदेखेको मान्छेले हिउँमा कहाँ खेल्नु! हिउँ परेको वेला हिउँसँगै कहाँ नाच्नु! हिउँ परेको पहिलो दिन घरबाट बाहिर निस्केर बेस्सरी खेलिछन्। फुस्स फुस्साउँदै कपासको भुवा झैं आकाशबाट झरेको हिउ सँगसँगै नाचिछन्।
सप्तरंगी मौसम र सप्तरंगी जीवन भोग्न उनी क्यानाडा आइन्। अझ त्यसमा पनि क्यानाडाको भ्यांकुभरै आइन्। शान्त प्यासाफिक ओसनको किनारमा तीनतिर सुन्दर बगैंचाजस्ता हरियाली पहाडको काखमा पलेटी कसेको भ्यांकुभरले उनलाई मोहनी लगायो।
सधैंजसो उष्ण र सदावहार मौसम हुने पानामामा सप्तरंगी मौसम देख्न पाएकी थिइनन्। मौसम नै सप्तरंगी छैन भने जीवन कसरी सप्तरंगी हुनु? कि पानी र कि गर्मीको पानामाको जिन्दगीले उनी अघाइसकेकी थिइन्। उनी नयाँ र नौलो जिन्दगी जिउने रहरले आसक्त थिइन्।
मौसममा खासै परिवर्तन नहुने पानामाको जिन्दगी उनलाई पटक्कै मन परेको रहेनछ। मोनोटनस जस्तो लाग्दो रहेछ। उनलाई लाग्दो रहेछ – मौसमै सप्तरंगी भएन भने जिन्दगी कसरी सप्तरंगी हुन्छ।
जाडो र गर्मीको फरक कस्तो हुन्छ उनलाई अनुभव गर्न मन लाग्दो रहेछ। ऋतु परिवर्तनसँगै देखिने रुख विरुवाका रंगहरू उनले देख्न पाएको रहेनछ। उनलाई शरद ऋतुमा देखिने राता पहेला रंगनी पातहरुले ढाकेका वनपाखामा लुकामारी गर्न रहर लागेको रहेछ। वसन्त ऋतुमा पलाएका पालुवासँगै जिन्दगीका नयाँ-नयाँ आशाहरू जगाउन मन लागेको रहेछ। वर्षभरि एकै किसिमको पानामाको मौसममा बसेकी उनलाई भिन्न ऋतुका भिन्न-भिन्न मौसमले नयाँ अनुभूति दिलायो। अनि भिन्न हावापानीको भिन्न रंगमा रंगिन पाउँदा जिन्दगीको असीम खुसी मिल्यो। त्यो उनी शब्दमा वर्णन गर्न सक्दिन थिइन्।
भ्यांकुभरबाट लगभग १३० किलोमिटर पश्चिममा विस्लर व्याल्याकम माउण्टेन छ। जुन माउण्टेन, खासै ठूलो माउण्टेन होइन। त्यो माउण्टेन त हिउF चिप्लेटी (स्नो बोडिङ्ग) र पर्वतीय साइकल (माउण्टेन बाइकिङ) को लागि त्यति प्रसिद्ध छ। झन् सगरमाथा कति प्रसिद्ध होला। विस्लरमा विश्वबाट त्यतिका सेलिब्रेटीहरू छुट्टी मनाउन आउँछन्। झन् सगरमाथामा त छुट्टी मनाउन जाने सेलिब्रेटीहरूको भिडभाडै लाग्दो होला। उनलाई यस्तै-यस्तै लागिरहेको थियो।
गत डिसेम्बरमा विस्लरको व्याल्याकम माउण्टेन गएकी रहिछन्। गन्डोला अर्थात् केवलकार चढेर व्याल्याकम माउण्टेनको टुप्पामा पुगिछन्। केवलकारबाट विस्लरको पिक टु पिक (एउटा डाँडोबाट अर्को डाँडोमा) जाँदा परबाट खिचिएका फोटामा उनी आकाशमा उढेजस्तै देखिन्थिन्। कालो चश्मा र कान छोप्ने बाक्लो टोपी लगाएर दुई हात फिँजाएर डाँडाको टुप्पोमा हिउँको थुप्रोमा उभिएर फोटो खिचाइछन्। परपर सेता वादलका टुक्रा देखिने खुल्ला निलो आकाशमा उड्न लागेजस्तै देखिन्थिन् फोटोमा उनी।
सगरमाथाको टुप्पोमा दुई हात फिँजाएर उड्नै लागे झैं गरी खिचेका मेरा फोटोहरू हेर्न उनका आँखाले खोजिरहेका थिए। त्यस्ता फोटो सगरमाथाको देशमा जन्मेको मान्छेसँग कति होलान्, कति! उनलाई लागेको हुँदो हो।
जिन्दगीको कयौं वसन्त नाघीसक्दा सगरमाथाको फेदी अर्थात् बेस क्याम्पमा जुन मान्छे एक पटक पुगेको छैन र पुग्ने जमर्को पनि गरेको छैन। गगुलबाट खोजेर देखाउनेबाहेक उसँग सगरमाथाको फोटो समेत छैन। तर, नेपालबाहिरका मान्छेलाई ऊ सगरमाथाको नाम बेचिरहन्छ। बिचरा एलिसा! त्यस्तो मान्छेसँग कत्रो अपेक्षा गरिरहेकी छिन्।
देशबाहिर जुन मान्छे पटक पटक सगरमाथाको टुप्पोमा पुग्थ्यो। गर्वले छाती फुलाउँदै भन्थ्यो – सगरमाथाको देश।
दुई पाइलामध्ये एक नेपाल र अर्को चीनको तिब्बतमा राखेर ठिङ्ग सगरमाथा उभिएको छ। तर, दुवै पाइला नेपालमै राखेर सगरमाथा उभिएको ठान्यो। तिब्बतमा अर्को पाइला छ, त्यो पनि उसले धेरै वर्ष थाहा पाएन।
खाली ठान्यो –सगरमाथा नेपालमा छ र दुवै पाइलाले उसकै नेपाल टेकेको छ। नेपालतिर एकोहोरो फर्केर संसार नियालिरहेको छ।
एलिसाको देश पानामा पानामा नहर मात्र भएको होइन। दाहिने हत्केलामा एटलान्टिक र देब्रे हत्केलामा प्यासिफिक ओसन छ।
नहर र ओसन मात्र नभएर एकै ठाउँबाट नहर र दुबै ओसन देखिने बोगते माउण्टेन पनि छ।
हो, एलिसाको पानामा सिटीबाट ३२० किलोमिटर परको बोगते माउण्टेन पुगिन्। बोगते माउण्टेनबाट एकैपटक प्यासाफिक र एटलान्टिक दुवै समुद्र (ओसन) र पानामा नहर देखिन्। एकै ठाउँबाट ठूला दुई समुद्र एकैपटक देख्नु कम आश्चर्य होइन। त्यो अवसर कहाँ सबैले पाउँछन्। उनले पाइन् र उनको अनुहारमा त्यो गर्व र गौरवको अनुभूति झल्कन्थ्यो।
म सगरमाथाको काखमा जन्मे। चाँदीजस्तै टल्कने सगरमाथाको चुचुरो कुन हो आफ्नै आँखाले कहिल्यै खुट्याउन सकिनँ। न त त्यो सगरमाथाको गौरव र प्रतिष्ठाको लागि केही गरें। खाली सगरमाथाको नाम भजाइरहन्छु र बेचिरहन्छु। त्यही सगरमाथाको नामबाट आफूलाई दुनियाँभर चिनाउँछु।
म पनि त निरीह छु नि! मसँग सगरमाथाबाहेक गर्वका साथ भजाउने र बेच्ने के पो छ र! म मेरो चिनारीको लागि सगरमाथाको नाम लिन विवश छु। नेपालको नाम सुन्नेभन्दा सगरमाथाको नाम सुन्ने संसारमा धेरै हुँदा रहेछन्।
कुन देशको मान्छे होस् भन्छन् – नेपाल।
‘ओ, नेपाल। दियर इज अ कन्ट्री नेम्ड नेपाल!’ भन्दै भ्यांकुभरको कुनै पहिलो भेटमा रवर्ट एलान भन्ने मान्छेले आश्चर्य प्रकट गर्यो। हो, नेपाल भन्ने देश छ भन्ने सुनेपछि ‘इन्ट्रेस्टिङ’ भन्यो। तिमीलाई सगरमाथा (माउण्ट एभरेष्ट) थाहा छ भनेर सोधे। नेपालको बारे थाहा नपाउने रवर्टलाई संसारको अग्लो माउण्टेन सगरमाथाको बारे थाहा रहेछ।
एलिसा बोगते माउण्टेनबाट देखिने ती सुन्दर दृश्य कहिल्यै बिर्सन सक्दिनन्। त्यो दृश्य देख्दा स्वासै रोकिएलाजस्तो भएको थियो।
त्यतिबेला उनी खुसीले पागलजस्तै भइन्। कसैको पर्वाह नगरी चिच्याइन् र नाचिन्! उनी एक मात्र के त्यहाँ पुग्नेहरू खुसी नहुने को पो होला र संसारबाट त्यतिका मान्छे आउँछन्।
बोगते पुग्दा एलिसामा खुसीको सीमा रहेन। त्यो पक्कै हो। सुनेर भन्दा देखेर गौरव गर्नुको मजा झन अर्कै हुन्छ। पुगेर गरिएको वर्णन जीवन्त हुन्छ र आँखा अगाडि नाच्छ। पुग्दै नपुगेको ठाउँको वर्णन गर्न के सक्नु? सक्ने भएको भए सगरमाथाबाट देखिने ती लोभलाग्दा दृश्यहरूको स्वासै नरोकी म पनि वर्णन गर्ने थिएँ। त्यो सुनेर उनी एकाएक सगरमाथाको टुप्पोमा पुगेको अनुभूति गर्ने थिइन्।
उनलाई लाग्दो रहेछ – बोगते त त्यत्रो विश्वप्रसिद्ध ठाउँ होइन नि। नेपालमा त्यतिका विश्व प्रसिद्ध माउण्टेनहरू छन्। बोगतेजस्तो पहाडहरू त कति होलान् कति। संसारबाट कति पर्यटक जान्छन् होला। अवकाशपछिको जिन्दगी बिताउन संसारका कति धनी मान्छे त्यहाँ बस्न गएका होलान्। बोगतेमा अवकाशपछिको जिन्दगी बिताउन चाहनेहरूको संख्या दिनानुदिन बढ्दो छ। नर्थ अमेरिकाका धेरै मान्छे त्यहाँ अवकाशपछिको जीवन (रिटार्यमेन्ट लाइफ) बिताउन जान्छन्। घर-जग्गाको भाउ बढ्दो छ।
व्यवसाय बढ्दो छ। युवाहरू बेरोजगार हुन परेको छैन। झन् नेपालका अग्ला विश्व प्रसिद्ध माउण्टेनका सुन्दर दृश्यलोकन गर्दै जीवन जिउन कसलाई रहर नहोला? त्यहाँ अवकाशपछिको जीवन जिउनेहरूको भिड लागेको होला।
सगरमाथा पुग्ने पहिलो मान्छे तेन्जिङ नेपाली हुन्। उनले नेपालको चन्द्र-सूर्य अंकित रक्त रन्जित झण्डा फहराए। सगरमाथा दुनियाँमा चिनियो। तेन्जिङ चिनियो। नेपाल चिनियो र नेपालीहरू पनि चिनिए। एकाएक नेपालीहरूको गौरवले शिर उच्च भयो।
कुन शक्तिको सामूमा कहिले हामी झुकेथ्यौं
हामीले हिमाल उठायौं एसियाको माझमा
कहिल्यै नझुकेको नेपालीको शान राष्ट्रकवि माधव धिमिरेले कानकानमा गुञ्जयमान गराइदिए।
सगरमाथा पुग्ने पहिलो मान्छे तेन्जिङ नेपाली हुन् भनेर गौरव गर्दा नगर्दै अर्कैले उनी भरतीय भनेर दावी गर्यो। गौरवसाथ उनले भारतको झण्डा फहराएको दावीसँगै एकाएक सगरमाथाका आँशु झरे। मुटु कामे। सगरमाथाले आफूलाई सम्हाल्नै सकेन र पहिरो गयो।
‘सगरमाथा शिखरमा पुग्दछ पहिले नेपाली’ धर्मराज थापाका गुञ्जनहरू हिउँ पहिरोमा पुरिए।
माउण्ट एभेरेष्ट भनेर सगरमाथालाई अर्कैले नाम राखिदियो। उचाइ कति छ अर्कैले भनिदियो। अर्कै दुनियाँका मान्छेहरूले पहिले सगरमाथा पुग्ने हामी भन्दै तँछाडमछाड गरे। आफ्नो भनिएको तेन्जिङ नोर्गे शेर्पालाई पनि अर्कैले लगिदियो।
सगरमाथा र सगरमाथासँगै मितेरी लगाई लस्करै उभिएका सेता हिमालहरूको आकर्षणले पर्यटन चलेको छ। उनीहरूकै नाममा हजारौ हैन, लाखौंको रोजगारी चलेको छ। देशमा अर्बौं राजस्व उठेको छ। त्यही राजस्वबाट देशको शासन प्रशासन चलेको छ। त्यही राजस्वको अंशबाट मैले पनि राज्यबाट पाउने सेवा सुविधा पाए।
मेरो सगरमाथामा फोहरको डँगुर थुप्रिन्छ। मृत आरोहीहरूका लाशहरू यत्रतत्र छरिएका हुन्छन्। एउटी सुन्दरीको अनुहारमा फोहोर पोतिए झैं देखिन थालेको छ सगरमाथा। बेलाबखत ज्यानको बाजी राखेर शेर्पा दाजुभाइहरूले सफा गर्दछन्। सगरमाथा आरोहीहरूले छाडेर आएका फोहरमैला उठाउँछन्। आरोहणका क्रममा मरेका लाश निकाल्छन्। सगरमाथालाई टलक्क टल्काउँछन्।
हो, जुन देश सगारमाथाको नामले चिनिन्छ। त्यो देशका मान्छेले जति सगरमाथाको बारे कसले जान्ला? एलिसासँग मात्र नभएर देशबाहिर भेटिने सबैसँग यो कौतुहलता देख्छु। जो मान्छे मेरो सगरमाथा, मेरो शिर, मेरो गौरव भन्दै गर्भले छाती फुलाउँछ, तर ऊ सगरमाथाको विषयमा केही जान्दैन। त्यस्तो मान्छेसँग एलिसाको कत्रो अपेक्षा!
एलिसाको हाउभाउ र प्रस्तुतिले मलाई लज्जाबोध भयो र आठ हजार मिटर भन्दामाथिको मृत क्षेत्र (डेथ जोन) मा पुगे झैं भयो र एकाएक सगरमाथा रोए झैं लाग्यो। रुँदारुँदै ती सेता हिउँ बिलाए र सिद्धिए। हिउँले ढाकेका ढुंगाहरू काला देखिए र पहिरो गयो। पहिरोसँगै पुग्दै नपुगेको सगरमाथाको टुप्पोबाट म खसें। गर्वले फुल्ने छाती त्यही पहिरोमा पुरियो। उकुसमुकुस भयो र कता-कता स्वास रोकिएजस्तो भयो। बाँचेर पनि मरे झैं भए। उनलाई ठाडो शिरले हेर्न सकिनँ। सम्भव भएको भए म उनलाई त्यसपछि कहिल्यै भेट्ने थिइन्।