महाराज,
तिमीले साम्यवाद भन्यौ
हामीले ताली ठोक्यौं
तिमीले समाजवाद भन्यौ
हामीले फेरि ताली ठोक्यौं
तिमीले यो देशलाई स्वर्ग बनाउँछु भन्यौ
हामीले दुई हातले ल्याप्चे लगाइदियौं
र
सिंहदरबारमा तिम्रो सिंहासन बसाइदियौं
हो रहेछ महाराज
साँच्चिकै हो रहेछ
तिमीले साम्यवाद पो भनेका थियौ
कसका लागि? हामीले कहिल्यै सोधेनौं
तिमीले आफ्ना लागि साम्यवाद ल्यायौ
आफ्नाका लागि समाजवाद ल्यायौ
र
यो देशका निमुखाहरूलाई अर्को लोप्पा खुवाइदियौ
आज तिमीले फर्मान जारी गरेका छौ
तिमी आफै बाँच्न सके बाँचिरहनू
बाँच्न नसके मरिरहनू
तिम्रा आँगनको लाश उठ्न नसके पनि
सरकार! भन्दै मतिर फर्केर नहेर्नू
किनकी,
म साम्यवादको सिंहासन हाँकीरहेको छु।