सरकार
म रैती हुँ हजुरको
हजुरले जे भन्यो मानेकै छु हजुर।
एक थान संविधान रुपी खोस्टोमा
लेखीदिनु भयो हजुरले
स्वास्थ्य तेरो अधिकार हो भनेर
मेलै हो हजुर भनेँ।
महामारीको शंका लागेमा
आफ्नै पैसाले चेक गर् भन्नु भो
रोग लागिहालेमा
मेरो छेउमा नआइज
आफै उपचार गर भन्नु भो।
मैले नाई कहाँ भनेको छु र महाराज!
आठ महिनासम्म घरभित्रै बेरोजगारको
व्यथाले च्यापेको म
लालाबालाहरुलाई के दिऊ
हजुरले चिन्ता नलिईबक्सियोस्
रोजगारीको अधिकार
पनि लेखिएको थियो कतै
त्यै संविधानको एउटा पानामा
म मरे केही छैन
हजुरले बाच्नुपर्छ
हजुरको आलिशानताको लागि
हजुरको विदेश भ्रमणको लागि
हजुरको महंगो कार्पेटको लागि
हजुरको मोजमस्तीको लागि
कर तिर्ने म छदैछु नि हजुर
सरकार र कुर्सीमा नबसेका छोटे सरकार (प्रतिपक्ष)
हरुलाई मेरो दश औँलाको बिन्ति छ
हजुरहरु मिलेरै खानुस्
चुसिन तयार यो रैती छ।
भोट र करको चिन्ता कति नलिनुस्।
बेहोस भएपछि मात्र अस्पताल आउनु भन्नुहुन्छ
सरकार म त मरेतुल्य नै छु नि
लौ न मलाई अस्पताल भर्नाको व्यवस्था गरीदिनुस्
होइन भने म आफै दाहसंस्कार हुन तयार छु।