किन खासै ठूलो कारण बिना पनि बजारमा उस्तै उस्तै देखिने कम्पनीको सेयर मूल्यमा भिन्नता हुन्छ— तपाईंले सेयर बजारमा कहिल्यै यस्तो कुरा विचार गर्नुभएको छ?
उस्तै उस्तै लाग्ने कम्पनीको सेयर मूल्य फरक हुनुमा विभिन्न कारणले काम गरिरहेको हुन्छ।
उदाहरणका लागि, लघुवित्तमा विगतदेखि उच्च लाभांश दिइरहेका दुई कम्पनी हेरौं।
हामी छिमेक लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्त वित्तीय संस्थाको चर्चा गर्दैछौं।
यी दुवै कम्पनीको आर्थिक वर्ष २०८१/८२ मा उच्च लाभांश क्षमता देखिएको थियो। छिमेक लघुवित्तले ६४.८४ प्रतिशत र जीवन विकासले ६२.४० प्रतिशत लाभांश क्षमता देखाएका थिए।
कम्पनीहरूलाई अहिले पनि राष्ट्र बैंकबाट लाभांश वितरणमा अप्रत्यक्ष सीमा कायम छ। राष्ट्र बैंकले पछिल्लो पटक अधिकतम २५ प्रतिशतसम्म लाभांश प्रस्ताव गर्न सक्ने व्यवस्था गरेको छ। निष्क्रिय कर्जा अनुपात र लाभांश वितरणपछि कायम हुने पुँजी कोष अनुपात समेत हेरेर २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सकिने सुविधा दिइएको छ।
यसै आधारमा कम्पनीहरूले लाभांश वितरण गर्दै आइरहेका छन्।
छिमेक लघुवित्तले यस पटक १२.५ प्रतिशत बोनस र १२.५ प्रतिशत नगद सहित २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जीवन विकास कम्पनीले भने १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।
कम्पनीहरूको विगत पाँच वर्षदेखिको लाभांश इतिहास हेर्ने हो भने छिमेकको वार्षिक औसत लाभांश दर २२.०५ र जीवन विकासको २६.५७ प्रतिशत छ।
यसरी लाभांश दरमा खासै ठूलो फरक देखिँदैन। तर कम्पनीको मूल्यमा राम्रै अन्तर छ।
छिमेक लघुवित्त निकै पुरानो कम्पनी हो। जीवन विकास लघुवित्तले भने सर्वसाधारणमा २०७८ सालमा सेयर जारी गरेको हो।
अहिले छिमेक लघुवित्तको सेयर मूल्य सेयर मूल्य एक हजार २७ रूपैयाँ छ। जीवन विकासको सेयर मूल्य एक हजार चार सय ३० रूपैयाँ छ।
मूल्य फरक पर्नुमा छिमेक केही वर्ष पुरानो संस्था हुनु र जीवन विकास नयाँ हुनु पनि हो।
अहिले छिमेकको चुक्ता पुँजी तीन अर्ब २१ करोड रूपैयाँ छ भने जीवन विकासको एक अर्ब ५३ करोड रूपैयाँ छ।
जति ठूलो पुँजी उति सेयर आपूर्ति हुन्छ। यसबाहेक पुँजी अनुसार लाभांश क्षमता बन्न सकेन भने कम लाभांश दिनुपर्ने अवस्था पनि हुन्छ।
अर्को पक्ष भनेको, कम्पनीको सेयर मूल्यको इतिहास पनि हो। करिब पाँच वर्षअघि कारोबारमा आएको केही समयमै जीवन लघुवित्तको मूल्य ५ हजार ५ सय १६ रूपैयाँसम्म पुगेको थियो।
बीस वर्षदेखि सेयर बजारमा रहेको छिमेक लघुवित्त करिब नौ वर्षअघि २५ सय रूपैयाँसम्म पुगेको थियो। करिब पाँच वर्षअघि पनि यसको सेयर दुई हजार रूपैयाँसम्म पुगेको थियो।
पछिल्लो समय भने कम्पनीको मूल्यले उच्च विन्दु ११–१२ सयलाई बनाउँदै आएको छ।
विभिन्न सूचकमा दुई कम्पनीलाई दाँज्दाः
|
आव २०८२/८३ असोजसम्म
|
छिमेक लघुवित्त
|
जीवन लघुवित्त
|
|
चुक्ता पुँजी
|
३ अर्ब २१ करोड रूपैयाँ
|
१ अर्ब ५३ करोड रूपैयाँ
|
|
सञ्चित आम्दानी
|
२ अर्ब २८ करोड रूपैयाँ
|
१ अर्ब ४ करोड रूपैयाँ
|
|
ब्याज आम्दानी
|
१ अर्ब ६५ करोड रूपैयाँ
|
१ अर्ब ४ करोड रूपैयाँ
|
|
नाफा
|
२६ करोड ९० लाख रूपैयाँ
|
१४ करोड ५८ करोड रूपैयाँ
|
|
निष्क्रिय कर्जा
|
२.५१ प्रतिशत
|
४.६२ प्रतिशत
|
|
प्रतिसेयर आम्दानी
|
३३.४६ रूपैयाँ
|
३७.९८ रूपैयाँ
|
|
प्रतिसेयर नेटवर्थ
|
२६६.१८ रूपैयाँ
|
२९३.८० रूपैयाँ
|
|
५ वर्षको औसत लाभांश दर
|
२२.०५ रूपैयाँ
|
२६.५७ रूपैयाँ
|
|
सेयर मूल्य
|
१०२७.९० रूपैयाँ
|
१४३० रूपैयाँ
|
|
बजार प्रवृत्ति स्मल मुभिङ एभरेजको आधारमा
|
बुलिस
|
बुलिस
|