सबेरै पूर्वका पहाडहरू हेरेँ,
हेरेँ ती लालिमय खोँचहरू
धपक्क बलेका अनुहारहरू,
अनि उर्जाले भरिएका मुस्कानहरू।
तर, मलाई खुसी हुन जाँगर लागेन।
भुवनको यस्तो अपार सुन्दरता
निरस किन लाग्यो मलाई।
म नि:शब्द छु।
जसरी दिनहुँ यहाँ बिहानहरू फुल्छन्,
यहीँ कतै कुना-कन्दराहरूमा
सृष्टिका फूलहरू निमोठिएका छन्।
निर्मम, निर्लज्ज भएरै
मानवीय समवेदनाको हत्या भएको छ।
म कसरी भनूँ?
कसलाई सोधेर भनूँ?
दुई जिउलाई घाँसको भारीले थिचेर
सृष्टिको चक्र धानिरहँदा उनले
गाईको बाछोलाई त बचाइन्,
तर,
आफूभित्रैको अर्को जिउलाई
किन बचाउन सकिनन्?
मलाई पिरोलेको छ
तर, म निशब्द छु।
गाई त साक्षी थियो,
तर ऊ पनि नि:शब्द म जस्तै।
यहाँ छाना र भित्ताहरू जति ओभाना छन्,
त्यति नै ओसिला छन् मझेरी र अँगेनाहरू।
कुनै दिन अग्नि साक्षी राखेर
जीवनभर पति मानेको पतितले,
नशामा अगुल्टोले हानेपछि
उनैले लिपेको मझेरीमा,
उनकै रगत बग्दा
रातोको रङ्ग नै फेरियो।
अँगेनामै एक दिन
सिसौं र उनी एकै पटक खरानी भएपछि
अब अर्को कुन इतिहास लेखुँ म
म नि:शब्द छु।
मझेरी त साक्षी थियो,
तर, ऊ पनि नि:शब्द म जस्तै।
भित्ताहरू पनि त साक्षी थिए,
तर, उनीहरू पनि नि:शब्द मझेरीजस्तै।
मलाई धेरै सुन्न बाँकी छ
धेरै देख्न बाँकी छ, अनि
कति हो कति लेख्न बाँकी छ।
मध्यरातमा छाउगोठको एक कुनामा
अनेक रुपका सर्पहरूले
धेरै पटक डसेका छन् उनलाई
तर, विषले भन्दा धेरै ती दागहरूले
उनलाई कैयौंपटक मारेका छन्।
यो जीवनको यात्रामा
उनको भोगाइ कति दर्दनाक छ!
उनैले सम्झिन नसेकेको व्यथा,
उनले त कसरी सुनाउन्?
कसलाई बताउलिन् अब,
बोक्सी भनेर टोल-टोलमा
‘गु-मूत ख्वाउनुपर्यो यसलाई’
भनेका ती पत्थर आवाजका कर्तुतहरू।
म शब्द भएर पनि नि:शब्द छु।
गोठ त साक्षी थियो,
तर, ऊ पनि नि:शब्द म जस्तै।
बारी-काल्नाहरू पनि त साक्षी थिए,
तर, उनीहरू पनि नि:शब्द गोठजस्तै।
बिहानको उज्यालोमा साराले संसार देख्दा
कसैका आँखा अगाडि अन्धकार नै थियो।
बेहोसीमै उनले देह त्याग गरिन्
हत्या फूलको पत्रको मात्रै होइन
चरित्रकै पनि भयो।
र पनि पाप कसलाई लागेन।
उनको गला यति दबाइयो,
पीडाको त्यो चिच्याहटलाई
गौंथलीको चिरबिरले पनि जित्यो।
कस्तो अचम्म!
म नि:शब्द छु।
अनकन्टार जङ्गलभित्र,
रूखहरू त साक्षी थिए
तर, उनीहरू पनि नि:शब्द म जस्तै।
सूर्य पनि त साक्षी थियो,
तर, ऊ पनि नि:शब्द रूखजस्तै।
संसारले नै कोल्टे फेरेपछि,
नयाँ युगका रङहरू आकाशभरि छरिँदा
उनलाई रहर कसरी नलागोस्,
र किन नलागोस्?
भान्साबाट बाहिर निस्किँदा
आँखै अगाडि देखिने हिमाल हेर्ने,
हिमालमाथिको बादलसँग उड्ने,
बादलमाथिको आकाशलाई छुने
अनि मनभरि खुसी भर्ने।
तर, रातले निशा नछोप्दै
उनका सपना देख्ने आखाँभरि,
आखाँ बसेको अनुहारभरि,
अनि अनुहार अड्याएको शरीरभरि
कसैले यसरी हिलो छ्याप्दियो
अन्धकारभित्र अर्को अन्धकार छरियो।
कति पोल्यो उनलाई,
कति रोइन, कराइन् उनी,
त्यो हारगुहार अनि चित्कार,
सुनेर पनि म नि:शब्द छु।
सडक साक्षी थियो,
तर, ऊ पनि नि:शब्द म जस्तै।
जून पनि त साक्षी थियो,
तर, ऊ पनि नि:शब्द सडकजस्तै।
सबैभन्दा ठूलो त समय साक्षी थियो,
तर, ऊ पनि नि:शब्द सबै जस्तै।
म प्रश्नको आहालमा छु
जतिधेरै घटना, त्यतिधेरै प्रश्न।
आफैंलाई प्रश्न, जगतलाई प्रश्न।
यो पाखण्डपनको अल्पविरामलाई
कहिले पूर्णविराम दिन सकिन्छ?
यो त्यस्तो आहाल हो
जहाँ अब उत्तर खोज्न त्यति नै गाह्रो छ,
जति ढुङ्गाभित्र भगवान् खोज्न।
यो आहालबाट नियाल्दा
अनिश्चयले क्षितिज भरिएको छ,
अनि म निराशाले बेरिएको छु,
र, त म फेरि पनि
नि:शब्द छु।