उसले सपना देखेको थियो
जुनेली रातको, शुभ-प्रभातको
पालुवा हाल्दै गरेका लता र लहराको
सुसाउँदै गरेकी सरिताको
वसन्त र कोकिलको
सपना पन्छीका प्वाँख जस्ता हुँदा रहेछन्
प्वाँखको पंख चलाएर आकाश छुँदा रहेछन्
सपना मरुभूमिको बीचमा तलाउ बन्दा रहेछन्
बलौटे धापमा पनि अन्कुराउँदा रहेछन्
त्यही भएर उसले ठान्यो
के बिग्रिन्छ र जीवनभन्दा ठुला सपना देख्दा?
उसले चाह्यो
पखेटा काटिएको पन्छी हुनुभन्दा
उडौ तिनै पखेटाले
प्वाँखहरु कमजोर हुनु पहिले।
त्यसपछि
सपना भेट्न
भावको डुंगा धेरै खियायो उस्ले
तर
जीवन पोखरीमा टुक्रियो नाउ
र हरायो तलाउ बीच
त्यसपछि उस्लाई लाग्यो
सपना देख्नुको के अर्थ?
तलाउबाट बाहिर आउनुको के अर्थ?
आखिर, सब व्यर्थ!
त्यसपछि,
उसले आफ्नो सपनालाई गलहत्त्याइदियो।