वास्तवमा यस्तै चाहन्थेँ म
तिमीले सोचेको भन्दा अलग बनूँ
तिम्रो अनुमानभित्र किन अटाऊँ म!
तिम्रो अडकलमा किन सीमित बनूँ!
तिमी रोकिरहेको मलाई देख
म हिँडिरहेकी हुनेछु
तिमीले हिँडेको देख्दा
म उडिरहेकी हुनेछु
मलाई बिचरा सोच तिमी
तिम्रो सहानुभूतिलाई कुल्चिएर
साहसिक निर्णय गरिसकेकी हुनेछु
मलाई खोज्दै नआउनू तिमी
मलाई भेट्न सक्दैनौ तिमी
सायद काँचुली मात्रै देख्ने छौ
म स्वरूप परिवर्तन गरिसकेको हुनेछु
तिम्रो क्यानभासभित्र कैद हुन्न म अब
तिमीले निर्धारण गरेका रङहरू लतपताएर
विशाल समुन्द्रभित्र डुबुल्की मारी रहेकी हुनेछु।
तिम्रो निसास्सिने प्रेमभन्दा
मेरो स्वतन्त्रताको उडान नै प्यारो अब मलाई
तिम्रो हातमा आउनू अगावै
म पखेटा हालिसकेकी हुनेछु
शृङ्गारका समान सबै हुत्त्याएर
कुरूपता रोजी सकेकी हुनेछु
जबरजस्ती
कोमल, स्नेही प्रेमिल बनाएर
आदर्श नथोपर
आफूभित्र अनेक पाप बोकेर
जघन्य अपराध कबुल गरिसकेकी छु
तिम्रो सजाय पनि मन्जुर हुने छैन
मैले आफ्नो अदालतमा
आफूलाई रिहाइ गरिसकेकी हुनेछु
खासमा अब जसले जे-जे भने पनि
ठ्याक्कै उल्टो बनिसकेकी छु।