धरहराबाट उपत्यका देखिन्छ
गाम-बेँसी देखिएन
मधेस-देहात देखिएन।
अरे सरकार!
देश भनेको सुगम मात्र हैन
दुर्गम पनि हो,
देश भनेको सहर मात्र हैन
गाम पनि हो,
देश तिमी मात्र हैनौ
देश म पनि हुँ।
तिमी त्यहाँ पुग्यौ
जहाँ तिम्रा चाहनाहरूले पच्छ्याए
अब त्यहाँ पनि पुग्ने गर
जहाँ मलाई पुग्नु छ,
सिङ्गो माटोलाई पुग्नु छ।
त्यसैले कंक्रिटका धरहराहरू भत्काएर
मनको एउटा फराकिलो टावर बनाऊ
जसको टुप्पोमा उक्लिएर
बक्सैबक्साले भरिएको सहरसँगै
हिमालपारिको मनाङ-मुस्ताङ देखियोस्
विकट कर्णाली देखियोस्
देशको मानचित्रमा भएर पनि
बेखबर देहात देखियोस्।