झन्डा लहराउँछ तर हावा छैन
नेता बोल्छन् तर शब्द छैन
जनताको आँखा ओसले भिजेको
तर परिवर्तनको आशा मरेको छैन।
गठबन्धन बन्छ, तोडिन्छ, फेरि बन्छ
पाँच वर्षे सरकार पाँच पटक ढल्छ
युवा विदेश जान्छन्, सपना लिएर
देश बदल्ने सपना अधुरै रहन्छ।
देशको लागि केही गरौँ भनी हुटहुटी लाग्छ
तर के गर्ने? जब झुटलाई सत्य ठानिन्छ
विकास, परिवर्तन, नीति एकातिर
सत्ता र कुर्सीको खेल अर्कोतिर छ।
बालकका हातमा बन्दुक थिएन
तर प्रश्न थियो त्यसैले सत्ता डरायो
जब राज्यले प्रश्नलाई अपराध ठान्छ
त्यही क्षण लोकतन्त्र कागजमा मात्र बाँच्छ।
चुनाव आयो, पुराना अनुहार उहीँ छ
तर युवा आवाजले नयाँ दिशा देखाएको छ
देश परिवर्तन हुने छ भन्ने चाहना
देश गरिब छैन, अवसरको अभावले निराश छ।