देश खोज्दाखोज्दै म हराएँ
मुट्ठीमा माटो लिएर म कराएँ
पीडाको पहाडमा चढेर देशलाई हेर्दाहेर्दै
मेरो आँखामा कालो बादलले ढाक्यो
सायद सरकारले नसुनेर नै होला
आज मलाई सपनामा कालले डाक्यो
सरकार, मलाई बेचिदिनु ल!
मलाई किन्न तिमीले अर्बौँ खर्च गर्नु पर्दैन
मेरो मोलले त तिम्रो खाजा पनि टर्दैन
तिमीले केही दिन नसकेपछि मैले
म नै तिमीलाई बेचिदिन खोजेको हुँ
युवाको भविष्यमा खेल्न जानेहरूलाई
देश बेचेर परिवार धान्नेहरूलाई—
हो सरकार, म बेचिन खोजेको हुँ
मलाई बेचिदिनु ल!
सहिदको सपनाले पोलेको मनलाई
सरकारले खरानी बनाउँदै छ
देशको मायामा अडेको मुटु
सयौँ आमाको आँसुमा पौडी खेल्दै छ
सरकार, तिम्रो भावना कस्तो?
मुटुमा देशप्रतिको माया छ?
बेच्छौ भने नाफामा बेच, चलाऊ देश—
म मेरो ज्यान दिन्छु, बेचिदिनु ल!
म खाडीमा बेचिन चाहन्नँ सरकार
मलाई तिमीले नै किनिदिनु
जसरी पनि बेचिने भएपछि
आफूलाई नाफा राखेर बेचिदिनु
ज्यूँदोमा बेच्न नसके
म मरेपछि लास बेचिदिनु
त्यसको बदलामा
मेरो बच्चाको आस किनिदिनु
सक्छौ भने बदलामा गाँस किनिदिनु।
सरकार, कत्ति अरूलाई बेच्न दिन्छौ?
तिमी आफैँले मलाई बेचिदिनु
तर सरकार,
म जन्मेको देश कहिल्यै नबेचिदिनु
बिन्ती छ—
मेरो देश कहिल्यै नबेचिदिनु।