बिहानीको घाममा
सुनौलो हुन्छ हिमाल
दिउसो चाँदीमय
बन्छ सन्ध्यामा स्वर्णिम
समयसँगै शुष्क भई
फेर्छन् हरिया पातहरूले रङ
फलहरूले पनि
परिपक्वतासँगै फेर्छन् रङ
क्षितिज बदल्छ रङ
पानी बदल्छ रङ
भित्ताहरू पनि त बदल्छन् रङ
त्यसो त
धेरै रङ बदल्छन् छेपारोहरूले
केही प्राकृतिक
त केही कृत्रिम हुन्छन्
बदलावहरू।
अब यहाँ देख्न पाइनेछ
आस्थामा बदलिएका रङहरू
उद्यत हुनेछन्
अवसरहरूको सिर्जनामा
कृत्रिम बदलावहरू
जहाँ भेटिने छैन कुनै
वाद, सिद्धान्त, नैतिकता
सबै छोपिनेछन् रङहरूले
स्वार्थसिद्धिको लतमा
बदल्नेछन् पात्रहरूले आफ्नो कवचको रङ
रङ बदल्नेहरू अब चोक-चोकमा देखिनेछन्
गल्ली गल्लीमा भेटिनेछन्
आफू फेरिनुको तर्क स्थापित गर्नेछन्
तर्क विश्लेषण गर्नेछन्
तर्क पुष्टि गर्नेछन्
अन्ततः कार्यसिद्धि गर्नेछन्
पात्रहरूले र प्रवृत्तिहरूले
अब रङ बदल्नेछन्।