बधाई छ तपाईंलाई,
नयाँ यात्राको सुरुवातमा
सफल कार्यकालको हार्दिक शुभकामना
यो पद केवल कुर्सी होइन,
यो जनताको भरोसाको भारी जिम्मेवारी हो।
नेपाल र नेपालीको खुसीमा
कहिल्यै आँच नआओस्,
जनताको विश्वासमा
कहिल्यै घात नहोस्
भरोसाको दीप निभ्न नदिनुहोस्
त्यो दीपमा लाखौँ आशा बाँचिरहेका छन्।
विकासका पाइला अगाडि बढुन्
समृद्धिले शिखर चुमोस् देशको
गरिब, निमुखा, थाकेका हातहरू
भोक, अभाव र निराशामा
फेरि कहिल्यै रुमलिन नपरोस्।
गाँस, बास र कपासको अधिकार
अनि शिक्षा र स्वास्थ्यको उज्यालो
हरेक घरको दैलो−दैलोसम्म पुगोस्
त्यो दिन नै साँचो शासन हुनेछ
त्यो दिन नै साँचो गौरव हुनेछ।
विश्वको सामु
नेपाल र नेपालीको शिर झुक्न नपरोस्
बरु आत्मसम्मानको उज्यालोले
हाम्रो पहिचान विश्वमा झन् उज्यालो बनोस्।
देश र जनतालाई
सधैँ शिरोपर राख्नुहोस्
आफ्नो स्वार्थ र सुविधा
पैतलामुनि कुल्चेर
सत्य सेवकको बाटो रोज्नुहोस्।
त्यो बाटो कठिन हुनेछ
तर इतिहासले सम्झनेछ
जनताको मुटुमा बस्ने
त्यो नाम सधैँ अमर हुनेछ।
देशको सेवक बनेर
निरन्तर अगाडि बढिरहनुहोस्
किनकि तपाईंको यात्रासँगै
नेपाल र नेपालीहरूको आशा पनि हिँडिरहेको छ।