हार केवल पतन होइन,
यो त आत्माको गहिराइमा बज्ने
समयको मौन घण्टी हो
जसले मानिसलाई सन्देश दिइरहेको हुन्छ
रोक, आफैलाई हेर,
तिमी को हौ राम्रोसँग चिन।
हार जीवनको बाटो हो
जीवनको कथा हो
यो एउटा इतिहास हो
जसले मानिसलाई बुझ्न, पारख गर्न
र आत्मालाई समयको ऐनामा राखेर
यथार्थसँग सामना गर्न सिकाउँछ।
हार विनाको जीवन
केवल सतहमा बगेको नदी जस्तो हुन्छ
गहिराइ कहिल्यै नछुने
आफ्नो शक्तिलाई नचिन्ने
तर प्रत्येक हारले
मानिसलाई भित्रैदेखि खोतल्छ
उसको आत्मबललाई
नयाँ आकार दिन्छ।
समयले कहिलेकाहीँ
हारको ढुङ्गा बाटोमा राखिदिन्छ
तर त्यो अवरोध मात्र भने होइन
त्यही ढुङ्गालाई प्रयोग गरेर
मानिसले आफ्नो सङ्कल्पको सिँढी बनाउँछ
किनकि हार हार होइन,
यो त जीतको बीउ हो
जसलाई धैर्यले रोप्नुपर्छ,
संघर्षले सिँच्नुपर्छ,
र विश्वासले हुर्काउनुपर्छ।
अनि पो आजको हार
भोलिको विजयको शस्त्र बन्न सक्छ
यदि मनले सङ्कल्प गर्यो
म ढल्ने होइन,
म हारलाई नै
मेरो जीतको हतियार बनाउनेछु
जित त अनिवार्य भएर उभिन्छ।
त्यसैले जीवनको मार्गमा
हारलाई घृणा होइन,
यसलाई साथीको रूपमा अँगाल्नु पर्छ
किनकि यही हारले
मानिसलाई इतिहास बनाउने
मार्ग प्रशस्त गर्दछ।