मेरो सपना बुझेर
नडगमगाई मलाई बिदाइ दिएको त्यो महल
मेरा खुट्टा कहिल्यै नकाँपुन् भनेर
बलियो बनाइदिएको त्यो बाटो
त्यो माटो, त्यो आफ्नै संसार
फर्किन मन त छ नि घर।
घट्दै छन् अरे मलाई चिन्ने गाउँले
मेटिँदै छन् अरे मेरा साथी र पहिचान
विलीन हुँदै गइरहेका छन् बाल्यकालका जड
फर्किन मन त छ नि घर।
बोलाउँदै होलान् ती पहाड अनि नदी
पर्खिँदै होला त्यो खेलमैदान पनि
गर्दै होला त्यो आँगन, मसँगै बूढो हुने रहर
फर्किन मन त छ नि घर।
फर्काउन नसके पनि ती पलहरू
नरहे पनि ती दिन अनि साँझहरू
नबने पनि कहानी जवानीको
सदैव रहने छ मेरो विश्वास अनि भर
फर्किन मन त छ नि घर।
कहाँ सकिन्छ र मेटाउनलाई ती सारा साथ
घट्ट घुमेसरि घुमिरहन्छ त्यो रमाइलो याद
सम्झना नजिक भए पनि, छ कयौँ मिल घर
चुकाउन ऋण, त्यो इँटा अनि माटोको भर
फर्किन मन त छ नि घर!