चाउरी परेको छाला
उज्यालो अनुहार
चम्किला आँखा
सुन्दर मुस्कान
जब म मेरी आमालाई हेर्छु
ब्रह्माण्ड कै सुन्दर रूप लाग्छ
भगवानकै एउटा स्वरूप लाग्छ
आफ्ना चाहनालाई कैद गरेर
हाम्रो रहरलाई खुला छोडिदिएकी तिमी
आमा
हामीलाई जवान बनाउन तिमीले
आफ्नो जवानी सिद्धाइदियौ
हामीलाई सफल बनाउन तिमीले
आफ्ना सपना रित्याइदियौ
तिम्रो काँध हाम्रो जिम्मेवारीले थिचेकै कारण
तिम्रो शिर घाँसको भारीले थिचिनु पर्यो
म तिमीले तरेका खोला र खोल्सा सम्झिन्न आमा
तिमीले त आफ्नै आँसुको भेल रोकेकी छ्यौ
त्यति कठिन छैनन् ती उकाली ओराली
जति कठिन उतारचढाव तिमीले भोगेकी छ्यौ
म तिमी हिँडेको गोरेटोको कुरा गर्दिनँ आमा
तिमीले त आफ्नै जीवनका
अप्ठ्यारा घुम्ती पार गरेकी छ्यौ
हाम्रो आँखा मा आँसु देख्न नपरोस् भनेर नै
तिमीले आफ्नो खुसीको दाहसंस्कार गरेकी छ्यौ
आमा
तिम्रा एक थान पीडाका भकारीमा
खुसी भर्न सक्ने बन्नु छ
बुढेसकालमै भए पनि सपना तिम्रा
पूरा गर्न सक्ने बन्नु छ
तिमीले दिएको जीवन हो आमा
जीवनका हरेक दिन तिम्रा लागि।