काठमाडौँमा बितेका कैयौँ दिनहरू पछाडि छोडेर म गत शनिबार राति घर फर्किँदै थिएँ। गंगबु बसपार्क सधैँ झैँ मानिसहरूको भीडले भरिएको थियो। कोही हतारमा थिए, कोही आफन्तलाई बिदाइ गरिरहेका थिए, कोही आफ्ना आफन्तलाई पर्खिरहेका थिए र कोही म जस्तै घर पुग्ने प्रतीक्षामा थिए।
म टिकेट काउन्टरमा गई टिकेट काटेपश्चात् आफ्नो सिटमा गएर बसेँ। झ्याल पट्टिको सिट थियो। रातको यात्रा मलाई सधैँ मन पर्छ। झ्याल बाहिरका दृश्यहरू हेर्दै, आफ्नै सोचहरूमा हराउन पाइन्छ। मेरो छेउको सिट खाली थियो। गाडी चल्न थाल्यो। कलंकी आइपुग्दा सम्म पनि त्यो सिट खाली नै थियो। मनमनै सोचेँ, ‘सायद आजको यात्रा एक्लै हुनेछ।’ तर यात्राले प्रायः हामीले सोचेको बाटो पछ्याउँदैन।
नैकाप पुगेर बस रोकियो। केही यात्रुहरू चढे। तिनै मध्ये एक जना अधबैँसे पुरुष बिस्तारै हिँड्दै मेरो सिटतर्फ आउनुभयो। उहाँ मेरो छेउमा बस्नुभयो। साधारण पहिरन, अनुहारमा समयले कोरेका गहिरा रेखाहरू अनि आँखामा एउटा अनौठो थकान थियो।
हामी दुवैले केही समय केही बोलेनौँ। बस रातको अन्धकार चिर्दै अगाडि बढिरह्यो। झ्याल बाहिरका बत्तीहरू एकपछि अर्को गर्दै पछाडि छुट्दै गए।
थानकोट चेकपोस्ट नजिक पुगेपछि सामान्य कुराकानी सुरु भयो।
‘बाबुको घर कहाँ नि?’ भन्दै उहाँले सोध्नुभयो।
मैले आफ्नो परिचय दिएँ। उहाँले पनि आफ्नो बारेमा बताउनुभयो। उहाँ वालिङ बजारको हुनुहुँदो रहेछ, मेरो घरबाट नजिकैको बजार। गाउँघरका कुरा निस्किए। चिने जानेका ठाउँहरूको कुरा भयो। यात्रा छोटो लाग्न थाल्यो।
बिस्तारै हाम्रो कुराकानी अझै खुल्दै गयो। यात्रा अगाडि बढ्दै जाँदा हामीबिचको औपचारिकता हराउँदै गइरहेको थियो। उहाँले मेरो पढाइ बारे सोध्नुभयो, म कहाँ बस्छु, के काम गर्छु— यस्तै सामान्य तर आत्मीय प्रश्नहरू। मैले पनि आफ्नो बारेमा खुलस्त रूपमा सबै कुरा बताउँदै गएँ।
मेरो छोटो परिचय सुनेपछि उहाँको व्यवहारमा एउटा अनौठो परिवर्तन देखियो। पहिलेको औपचारिक दूरी बिस्तारै हराउँदै गयो र उहाँ अझ आत्मीय रूपमा मसँग कुरा गर्न थाल्नुभयो। मानौँ, म उहाँलाई धेरै पहिलेदेखि नै चिन्ने कोही हुँ।
केही क्षणको मौनता पछि उहाँ अचानक गहिरो सास फेर्दै बोल्नुभयो— ‘मेरो छोरो पनि तिमी जस्तै भएको भए कति राम्रो हुन्थ्यो… कति खुसी हुन्थेँ होला म… कति गर्व लाग्थ्यो होला मलाई…’
उहाँका शब्दहरूमा खुसीभन्दा बढी कुनै नदेखिने पीडा मिसिएको थियो। म अलि अलमलमा परेँ। उहाँ के भन्न खोज्दै हुनुहुन्छ भन्ने कुरा स्पष्ट बुझ्न सकिनँ।
त्यसैले सहज रूपमा सोधेँ, ‘अंकल, अहिले हजुरको छोरा के गर्दै हुनुहुन्छ?’
यो प्रश्न सोध्ने बित्तिकै उहाँको अनुहार एकाएक बदलियो। केही क्षण अघि देखिएको हल्का मुस्कान हरायो। आँखामा पहिले लुकेको थकान अझ गहिरो भएर प्रकट भयो। उहाँको नजर केही समय टाढा कतै अड्कियो, मानौँ सम्झनाले नै उहाँलाई भारी बनाइरहेको थियो।
त्यो क्षणमा मैले महसुस गरेँ, यो कथा केवल साधारण पारिवारिक कुरा होइन, यसभित्र गहिरो पीडा लुकेको छ, जुन अब बिस्तारै बाहिर आउँदै थियो।
केही समयपछि अंकलले आफ्नो जीवनको कथा बिस्तारै खोल्न थाल्नुभयो।
उहाँ र उहाँकी श्रीमती लामो समयदेखि विदेशमा बस्दै आउनुभएको रहेछ। परिवारको भविष्य राम्रो बनाउने उद्देश्यले दुवै जना देश छोडेर परदेश जानुभएको थियो। त्यति बेला उहाँहरूले आफ्नो सानो छोरालाई घरमै आफन्तको जिम्मामा राख्नुभएको रहेछ।
कुराकानी अगाडि बढ्दै जाँदा मैले महसुस गर्न थालेँ, उहाँ बोल्नु हुन्थ्यो तर शब्दहरू भन्दा धेरै कुरा उहाँका आँखाले भनिरहेका थिए।
सुरुवातका दिनहरूमा छोरो एकदमै शान्त, अनुशासित र राम्रो स्वभावको थिए रे। तर समय बित्दै जाँदा परिस्थिति बदलिँदै गयो। उचित मार्गदर्शनको कमी र सम्भवतः गलत साथीहरूको संगतले उसको व्यवहारमा परिवर्तन आउन थाल्यो रे।
बिस्तारै उनी परिवारबाट टाढिन थाले रे। घरभन्दा बाहिर नै बढी समय बिताउन रुचाउने, परिवारसँगको सम्पर्क घटाउँदै जाने र कहिलेकाहीँ त लामो समयसम्म घर नै नफर्किने अवस्था बनेछ।
विदेशबाट अंकलले पठाउने पैसाहरू पनि उसले छोटो समयमा नै खर्च गर्ने बानी बसाल्यो। कहिलेकाहीँ सम्पर्क हुँदा पनि कुराकानी सहज हुँदैनथ्यो। पैसाको माग वा सानो कुरामा विवाद र झगडासम्म पुग्ने अवस्था बन्न थालेको थियो रे।
यी सबै परिवर्तनहरू एक बुबाको रूपमा अंकलका लागि असह्य हुँदै गएका थिए। आफ्नै सन्तानलाई यसरी बिस्तारै आफूबाट टाढिँदै गएको देख्दा उहाँको मन भित्रभित्रै भाँचिँदै गएको थियो।
अन्ततः धेरै समय सहन नसकेपछि, उहाँ नेपाल फर्कन बाध्य हुनुभयो।
नेपाल फर्किएपछि पनि अवस्था सहज भएन। अंकलले अपेक्षा गरेको परिवर्तनको साटो, छोरा झन्-झन् उहाँबाट टाढिँदै गएको जस्तो देखिन्थ्यो। घरमा उसको उपस्थिति विरलै हुन्थ्यो। हप्तौँसम्म नदेखिने, नआउने। घरको ढोका उसको लागि मानौँ केवल एउटा औपचारिक ठेगाना मात्र बनेको थियो।
कलेजको अवस्था पनि त्यत्तिकै चिन्ताजनक रहेछ। अंकलले बुझ्दा महिनौँदेखि कलेजको शुल्क नै नतिरेको देखियो। अध्ययनप्रति कुनै चासो नदेखाउने, कक्षामा अनुपस्थित रहने र जिम्मेवारीबाट भाग्ने बानीले अवस्था अझ गम्भीर बनाएको थियो।
समयसँगै थप कुराहरू पनि बाहिर आउन थाले। केही महिना अघि कलेजमै साथीहरूसँग भएको विवादका कारण ऊ दुई हप्ताका लागि कलेजबाट निलम्बनमा परेको रहेछ। त्यस बाहेक घर नजिकैका साथीहरूसँग झगडा भएपछि प्रहरीले पनि हस्तक्षेप गर्दै तीन दिनसम्म थुनामा राखेको घटना पनि अंकलले पछि मात्र थाहा पाउनुभएको रहेछ।
यी सबै कुरा सुन्दा कुनै पनि बाबुको मन थामिन सक्ने अवस्था थिएन।
एउटा बुबा, जसले जीवनभर आफ्नो परिवारको भविष्यको लागि मात्र सोच्यो, जसले आफ्नो खुसी भन्दा परिवारको आवश्यकता अघि राख्यो, उसकै आँखा अगाडि आफ्नै सन्तान बिस्तारै गलत बाटोतर्फ गएको देख्नु कति पीडादायी हुन सक्छ?
उहाँले न कहिल्यै आफ्नै इच्छाका लागि समय निकाल्न पाउनुभयो, न त सामान्य रमाइलो जीवन जिउन नै। उहाँको सम्पूर्ण जीवन परिवारकै वरिपरि घुमिरह्यो। परिवार, जिम्मेवारी र भविष्यको चिन्ता मै अड्की रह्यो।
यी सबै वास्तविकताहरू बिस्तारै खुल्दै जाँदा अंकल भित्रभित्रै झन् कमजोर हुँदै जानुभयो। उहाँको अनुहारमा गहिरो पीडा स्पष्ट देखिन थाल्यो। एउटा यस्तो पीडा, जसलाई शब्दहरूले पूर्ण रूपमा कहिल्यै बयान गर्न सक्दैनन्।
अंकलले अब आफूलाई सम्हाल्दै, सम्पूर्ण शक्ति र धैर्य लगाएर आफ्नो छोरोलाई परिवर्तन गर्ने अठोट गर्नुभयो।
‘जसरी पनि उसलाई पहिले जस्तो बनाउनु पर्छ’ यही सोचले उहाँको दिनरात भरिन थाल्यो। अब उहाँको जीवनको केन्द्र नै छोरो बनिसकेको थियो।
उहाँले छोराको व्यवहार, बानी र मनोविज्ञान बुझ्ने प्रयास गर्नुभयो। उसको नजिक पुग्नुभयो, उसको कुरा सुन्न थाल्नुभयो र बिस्तारै बाबु–छोरा भन्दा पनि एक विश्वासिलो साथी झैँ व्यवहार गर्नुभयो। कठोरता होइन, माया र समझदारीबाट सुधार सम्भव हुन्छ भन्ने आशामा उहाँले आफूलाई पूर्ण रूपमा समर्पित गर्नुभयो।
केही समयसम्म परिवर्तनका संकेतहरू पनि देखिन थाले। छोराको व्यवहारमा हल्का सुधार झल्किन थाल्यो, घरमा अलि शान्त वातावरण बन्न थाल्यो। अंकलको मनमा आशाको किरण पलायो, सायद अब सबै ठिक हुँदैछ भन्ने विश्वास आउन थाल्यो।
तर त्यो आशा धेरै लामो टिकेन। करिब एक महिनापछि अवस्था फेरि उस्तै बन्दै गयो। छोरो पुनः पुरानै व्यवहारमा फर्किन थाल्यो। समस्या झन् गहिरिँदै गयो। कहिले पैसा भए अन्धाधुन्ध खर्च गर्ने, कहिले नभए घरको पैसा चोरी गर्ने र कहिलेकाहीँ त घरका सामान नै बेचेर हराउने अवस्था आउन थाल्यो।
अब अंकल फेरि उही पीडादायी चक्रमा फस्नु भयो। सबै प्रयास असफल हुँदै गएको देखेर अन्ततः उहाँले कठोर निर्णय लिनु पर्यो- छोरालाई सुधार केन्द्रमा राख्ने भन्ने। पोखरामा रहेको, घरबाट करिब तीन घण्टाको दूरीमा रहेको एक सुधार केन्द्रमा उहाँले छोरालाई भर्ना गराउनुभयो। तर त्यहाँ पनि अवस्था सहज रहेन। एक हप्ता नपुग्दै, झगडा गर्दै छोरो त्यहाँबाट भागेछ। एक हप्तासम्म ऊ कहाँ गयो, के गर्यो, कसैलाई केही थाहा भएन।
अर्को हप्ता ऊ फेरि घर फर्कियो। तर फर्किएपछि पनि व्यवहारमा कुनै सुधार देखिएन। बरु समस्या अझ गहिरिँदै गयो।
अब अंकलसँग विकल्पहरू समाप्त हुँदै गएका थिए। अन्ततः बाध्य भएर उहाँले छोरालाई काठमाडौँको अर्को सुधार केन्द्रमा लैजाने निर्णय गर्नुभयो। गत शुक्रबार आवश्यक सबै कागजात मिलाएर उहाँले छोरालाई त्यहाँ भर्ना गराउनुभयो र भारी मन लिएर घर फर्कनुभयो।
त्यो दिन उहाँको अनुहारमा थकान मात्र होइन, एउटा बुबाको असहाय मौनता स्पष्ट देखिन्थ्यो। जसले सबै प्रयास गरिसकेको हुन्छ, तर अझै पनि आशा बाँकी राख्न बाध्य हुन्छ।
यो अंकलको कथा केवल एउटा पात्रको व्यक्तिगत पीडा मात्र होइन। हाम्रो समाजमा यस्ता असंख्य बुबा हरू छन्, जसले आफ्नो सम्पूर्ण जीवन परिवारको भविष्य सुरक्षित गर्न समर्पित गर्छन्, आफ्ना सपना र चाहना हरूलाई पन्छ्याएर निरन्तर संघर्ष गरिरहन्छन् तर अन्त्यमा कहिलेकाहीँ उनीहरूका हात खाली जस्तै देखिन्छन्।
यो कथा केवल एक परिवारको कथा होइन, यो लागुऔषधले भत्काइ रहेका धेरै घरहरूको साझा यथार्थ हो। त्यसैले लागुऔषध विरुद्धको सचेतना आजको सबैभन्दा ठुलो आवश्यकता हो। समयमै चेतना, सही मार्गदर्शन र सामाजिक समर्थनले धेरै जीवन हरूलाई अन्धकारबाट जोगाउन सक्छ।
राज्य, समाज र सम्बन्धित सबै निकायबाट यस विषयमा अझ प्रभावकारी कदम हरूको अपेक्षा रहन्छ।
आफ्नो सम्पूर्ण जीवन परिवारका लागि समर्पित गर्ने सम्पूर्ण बुबाहरूलाई गहिरो सम्मान। उहाँहरूको त्याग, धैर्य र मौन संघर्ष शब्दभन्दा बलवान छन्।
पितृदेवो भव:।