शनिबारको दिन, अफिस परिसरमा कार्तिकका कलिला घाम ताप्दै श्रीमान्-श्रीमती सुन्तला खाँदै थियौँ। अफिस कम्पाउण्डको मिनिगेटमा भित्रबाट लगाएको फलामे गरालो बाहिरबाट खोल्दै एक युवती कम्पाउण्डभित्र छिरिन्, टाढैबाट 'नमस्कार, सर!' भन्दै।
मैले अभिवादन फर्काएँ।
'म अलि हतारमा छु' भन्दै बाक्लो गाता भएको एक किताब र किताबसँगै सटेको एक चिठीको खोल सधन्यवाद मेरो हातमा थमाइदिइन् र लगत्तै बाटो लाग्ने अनुमति मागिन्।
'चियासम्म त खाएर जानुस् न!'
मेरो आग्रहलाई, 'हैन सर, मेरो बस छुट्छ!' भन्दै उनले सोझै अस्वीकार गरिन्।
'त्यसो हो भने, ल यी सुन्तला लिएर जानुस्!'
मैले, अगाडिको किस्तीबाट दुई वटा पहेँला सुन्तलाका दाना उनको हातमा राखिदिएँ। सुन्तला झोलामा राख्दै उनी जुन हतारमा आएकी थिइन्, त्यही रफ्तारमा फर्केर हिँड्न थालिन्।
मैले मनमनै आफ्ना विद्यार्थी जीवनका डेडलाइन ताकाका व्यस्त दिनहरू सम्झेँ; मेरो थेसिस पेस गर्ने अघिल्लो दिन रातभर कम्प्युटरमा काम गर्दागर्दै उज्यालो भएको, थेसिस प्रिन्टिङ, बाइन्डिङ गरेर सुपरभाइजरकोमा जाने क्रममा एक मिनेटले झन्डै ट्रेन नछुटेको!
परदेशमा आफूले खेपेको त्यो सास्ती सम्झेर मैले उनलाई कार्यालयको गाडीमै बसपार्कसम्म पुर्याइदिने विचार गरेँ। चिठीको खामलाई थेसिसको बीचमा हाली किताब हातमै च्यापेर म गाडीतिर लागेँ। त्यो, सिटी बस र ट्याक्सीको जमाना थिएन। शनिबारको दिन, चहलपहल कम थियो।
पाँच वर्षे मेरो छोरो गाडी चढ्ने भनेपछि भुतुक्कै हुन्थ्यो! बुबाले गाडी चलाउने चाल पाएपछि त के चाहियो र! ऊ कुदेर आयो र जीपको अगाडिको सिट ओगटिहाल्यो।
कच्ची बाटो, ८–१० मिनेटमा बसपार्क पुगियो। मेरो यो सानो सहयोगले उनलाई ठूलो राहत भएको, उनका मुहारमा स्पष्ट देखिन्थ्यो। छुट्टिने बेलामा 'डिफेन्सको दिन सर जसरी पनि आइदिनु पर्छ नि!' भन्दै मप्रति कृतज्ञता पोख्दै उनी मेरो आलिङ्गनमा बाँधिन आइपुगिन्।
मेरो छातीमा बिसाएको उनको टाउकोको पछाडिको भागमा 'म आइहाल्छु नि!' भन्दै ४–५ पटक थपथपाएँ। अनायासै, मेरा आँखा छोरातिर परेछन्। नचिनेको मान्छेले बाबाको छातीमा टाउको राखेको अनि बाबाले पनि नौलो मान्छेलाई माया गरेको देख्दा उसले असहज महसुस गरेको र उसका आँखामा ईर्ष्या छचल्किएको प्रस्टै देखिन्थ्यो।
छोरो र म अफिस फर्कनेबित्तिकै विषयवस्तुका बारेमा पूर्वजानकारी नभएकी श्रीमतीले प्रश्न गरिन्, 'को हो त्यो महिला? केको किताब हो त्यो?'
'उनी मेरो विद्यार्थी, मेरो सुपरभिजनमा उनले तयार गरेको नेपालमा जलवायु परिवर्तनका प्रभावका बारेमा गरिएको स्नातकोत्तर तहको थेसिस हो यो।'
शब्द टुङ्गिनासाथ उनले प्रतिप्रश्न गरिन्- 'अनि त्यो खाममा के हो नि?'
खामका बारेमा म पनि अनभिज्ञ भएकोले मैले बिना प्रतिक्रिया स्टिच मारेको खाम खोल्न थालेँ।
खाम खोलिञ्जेल मेरा मनले अनेक तर्क गर्दै थियो- उनले कृतज्ञता जनाउन केही नगद पारिश्रमिक पो दिइन् कि? तर त्यसो हुनु नपर्ने, कारण यस कामका लागि मेरो पूर्व अनुमति लिन आउँदा नै उनले 'मलाई सुपरभिजन गरेबापत, सरलाई क्याम्पसले केही पारिश्रमिकको व्यवस्था पनि गर्छ रे' भनेको राम्रो याद छ।
अर्को सोच मनमा आयो, मलाई सजिलो होस् भनेर उनले मेरो पारितोषिक रकम आफैँ बुझेर ल्याइदिएकी पनि त हुन सक्छिन्! यस्तै तर्कना गरिञ्जेल, मैले खामका मुखमा गडेका दुई स्टिच उघारिसकेको थिएँ। खोललाई देब्रे हत्केलामा राखेर दाहिने हातले खोलभित्रको रहस्य बाहिर निकालेँ। एक फोटो रहेछ।
फोटो देख्नेबित्तिकै श्रीमतीले बाजले परेवालाई झम्टेझैँ मेरो हातबाट फोटो खोसिन् र फोटोलाई बडो नियालेर हेरिन्, पछाडि समेत पल्टाएर हेरिन्। फोटोको पछाडि, 'सरमा सप्रेम...' भन्ने अपूर्ण वाक्यको ठीक तल कच्चाककुच्चुक्क परेको एक नारी हस्ताक्षर थियो।
श्रीमतीले फोटोलाई ओल्ट्याई-पल्टाई हेरिरहिन्। घरी उभिएका दुई मान्छेका तस्बिरतिर त घरी पछाडिको सप्रेम सहितको हस्ताक्षरतिर। एकछिन सन्नाटा छायो। क्रमभङ्ग गर्ने सोचले मैले फोटो श्रीमतीको हातबाट तानेँ र फोटोलाई हेरेँ। कारण, मैले पनि यो फोटो पहिलोपटक देख्दै थिएँ।
हराभरा भीमकाय पहाडको पृष्ठभूमि, घना सल्लाको जङ्गलको सेरोफेरो, गोरेटो बाटोमा एक अधबैँसे पुरुष— म र एक यौवनावस्थाकी महिला— मेरी विद्यार्थी। म सोझो भई उभिएको, उनी मसँगै जोडिएर टाउको हल्का मतिर झुकाइ उभिएकी। म सफेद गोरो, उनी गहुँगोरी। मैले रित्ता हातका हत्केला घोप्ट्याएर एकअर्कामा खप्टी कम्मरपेटीको कब्जा छेक्ने गरी मिलाएको, उनले एउटा फिल्डबुक दुई हातले पेटमुनिको तहमा च्यापेकी, म ङिच्च हाँसेको, उनी मुसुक्क मुस्काएकी। फिल्डमा खिचिएको एक पवित्रतम सामान्य तस्बिर, एक गुरु र शिक्षार्थीको, बस्!
मैले मनमनै सम्झेँ, यस तस्बिरको फोटोग्राफी मेरै कार्यालयको ड्राइभरको थियो। उसले उक्त फोटो खिच्न कम्तीमा ५ मिनेट खर्चेको पनि मलाई याद भयो; उसकै निर्देशनमा हामीले हाम्रा लुगा, अनुहार, शरीरको पोज मिलाएका थियौँ। अहिले जस्तो डिजिटल जमाना थिएन; फोटो बिग्रिएमा महँगो कोड्याक रिल खर्च हुन्थ्यो। मन लागेजति पटक थिची दसौँ शट लिएर राम्रो चाहिँ शट राखी अरू मेटिदिने, फोटो एडिटिङ गर्ने सुविधा थिएन; ‘ल है! आँखा क्यामेरातिर! रेडी एक दुई तीन, क्लिक्क’ भन्ने जमाना थियो त्यो।
तस्बिरको प्रसङ्ग टुङ्ग्याउने सोचले मैले फोटोलाई किताबको बीचखण्डमा घुसाई थेसिसको एब्स्ट्र्याक्ट के पढ्न थालेको थिएँ, श्रीमतीले किताब मेरो हातबाट थुतिन्, फोटो निकालिन् र किताब मलाई फिर्ता दिइन्। पटकपटक पढेर कमेन्ट गरिसकेको पूर्वपरिचित दस्तावेजलाई मैले सरसर्ती हेर्दै गएँ। आकर्षक आवरण पृष्ठ, शुद्धाशुद्धि, लेआउट, कन्टेन्ट सबै-सबै अब्बल थिए।
किताब हेर्ने काम सकेर मैले श्रीमतीतिर आँखा घुमाएँ। श्रीमती त्यही फोटामा आँखा गाडिरहेकी थिइन्।
केही नबोली मैले उक्त फोटो उनको हातबाट थुतेर थेसिसकै बीचोबीच भागमा घुसारेँ र पुस्तकलाई अगाडि रहेको टी-टेबलमा, सुन्तलाको किस्तीकै आडमा राखेँ।
हाम्रो आडैमा खेलिरहेको छोराले टेबलमा राखेको किताब खोल्यो, किताबभित्रको फोटो निकाल्यो र आफ्नै धुनमा 'बाबाले माया गरेको महिला' भन्दै टेबलमाथि राखिदियो।
'बाबाले कसरी गरेको नि माया? तिमीले कहाँ देख्यौ नि?' श्रीमतीले स्वभावतः प्रश्न उठाइन्।
छोरो बुरुक्क उफ्रेर टी-टेबलमा चढ्यो र कुर्सीमा बसेकी आमाको टाउको तानेर आफ्नो छातीमा लपेटी दाहिने हातले आमाको टाउको सुमसुम्यायो! श्रीमतीले पुलुक्क मतिर हेरिन्।
'लुकीचोरी जे-जे गरे पनि छोराको अगाडि त नगर्नु नि त्यस्तो कुकर्म।'
तत्काल स्पष्टीकरण दिनु थप जोखिमपूर्ण हुने सम्झी म बिना प्रतिक्रिया बसेँ।
थेसिस डिफेन्सको दिन थप शङ्का-उपशङ्का नबढोस् भनेर मैले सरकारी कामको व्यस्तताको निहुँ पारेर आफू आउन नसकेको सन्देश पठाएँ। परीक्षामा उनले पक्कै राम्रो गरिन् भन्नेमा म पूर्ण विश्वस्त थिएँ, कारण उनी मेधावी विद्यार्थीको दर्जामा पर्थिन्।
एकदिन म कार्यालयबाट दिउँसो निवासमा खाजा खान आउँदा श्रीमतीले पुराना रक्सीका बोतल, केटाकेटीका पुराना कपी, किताब, पत्रिका लगायत बेच्न लागेकी रहिछन्। मलाई देखेर उनी केही हच्केको आभास भएपछि मेरा आँखा ती लहरै राखेका बियरका सिसी र जोखिसकेर चाङ लगाएका, पत्रिका, कापी-किताबका चाङमा डुले। आवरण पाना नै नभएका, कुकुरकाने बच्चाबच्चीका थमिला किताबका बीचमा एउटा मोटो चिल्लो कडा निलो आवरण भएको पुस्तकमा पुगेर मेरा आँखा रोकिए। म सुरुसुरु क्वार्टरमा पसेँ। कार्यालय सहयोगी केटाले खाजा दियो, खाएँ, हिँडे।
बेलुका अफिसबाट फर्कँदा मेरो पुस्तकको आलमारीमा मैले सुपरभिजन गरेका सबै थेसिसका किताबहरू यथावत् थिए, तर प्रसङ्गवाला थेसिस थिएन।
मैले मनमनै सोचेँ, उक्त पुस्तकको बीचमा रहेको ती विद्यार्थी र मेरो फोटो पनि किताबसँगै जोखिएर बेचियो होला!
दिन, महिना, वर्ष बिते। ५८ वर्ष नाघेसँगै मेरो जागिरे जीवन पनि टुङ्गियो! छोराछोरी आ-आफ्ना बाटा लागे। जीवन चलिरहेछ। पेन्सन छ, नपुग्दो केही छैन। सिङ्गो घरमा, बुढाबुढी साठीको पूर्वार्धमा आनन्दमय जीवन बिताइरहेछौँ। बुढेसकाल लाग्दै गएसँगै रङ्गरस कम हुँदै जाने, एकअर्काको टोकसो खप्न पनि मनले मान्दो रहेनछ। आ-आफ्नै धुनमा हुन्छौँ हामी, दिनभर। म पढाइ-लेखाइमा व्यस्त हुन्छु, उनी सामाजिक सञ्जाल र टिभी सिरियल तथा पूजाआजामा नै व्यस्त हुन्छिन्।
एकअर्कालाई डिस्टर्ब नहोस् भने, मेरो र श्रीमतीको रखनधरन पनि बेग्लाबेग्लै हुन्छ; बुढीको आफ्नै दराज छ, मेरो आफ्नै। घरका महत्त्वपूर्ण दस्तावेज तथा गरगहना उनको दराजमा छन्। मेरोमा लुगाफाटा र एकेडेमिक सर्टिफिकेटहरू भएको एक ब्रिफकेस मात्र। रखनधरन छुट्टाछुट्टै दराजमा भए पनि लकर तथा ब्रिफकेसका साँचो भने दुवै जनाको पहुँचमा नै हुन्छन्।
काम विशेषले, एकदिन, मलाई आफ्नै चिना खोज्नुपर्ने भयो। मैले बुढीको दराजको लकर खोलेँ। मलाई थाहा थियो, बुढीले महत्त्वपूर्ण चीजबिजहरू— हाम्रो बिहेमा उनले ल्याएको दाइजो—स्टिलको गृहलक्ष्मी दराजको लकरमा नै राख्छिन्। छोराछोरीका टिपका टुक्राहरू, गोलो बेलना आकारका ३–४ थान चिना, एउटा चारधाम जाँदा ल्याएको सक्कली श्रीखण्डको टुक्रा, श्रीस्वस्थानीको पुस्तक, गरगहनादि ...।
मेरो ध्यान श्रीस्वस्थानीको पुस्तकले खिच्यो। सेवानिवृत्त जीवनमा जीवन-जगतलाई जति सकिन्छ बुझ्ने लालसा सबैमा हुँदोरहेछ, ममा पनि स्वाभाविक रूपमा ज्ञानको प्यास बढ्दो छ। चिनाको साथसाथै सरसर्ती हेर्ने मनसायले मैले श्रीस्वस्थानीको पुस्तक पनि निकालेँ। रातो तुनाले फनक्क बेरेको। तुनो फुकालेँ। किताबको बीचमा एउटा मयूरको प्वाँख र एउटा फोटो रहेछन्, फोटो चिप्लिएर भुइँमा खस्यो। मयूरको प्वाँखचाहिँ किताबमै लेस्सिएर बस्यो।
भुइँबाट फोटो उठाएर हेरेँ, त्यही मेरो र मेरी विद्यार्थीको थेसिसवाला फोटो रहेछ। खाली सिसी पुराना किताबवालालाई कापी-किताब बेच्दा सो फोटो पनि सँगै बेचियो भन्ने मेरो सोच असत्य साबित भइरहेको थियो।
एकैछिन गमेँ। श्रीमतीले अझै यो फोटोलाई कति महत्त्व दिएकी! मैले उक्त फोटो उठाएँ, एकटकले एकछिन हेरेँ; उमेर नघर्कँदैको मेरो हृष्टपुष्ट अनुहार, निधारसम्म लर्केको कपाल, आफैँले आफ्नो तस्वीर देखेर लोभ लागेझैँ भयो। विद्यार्थीको फोटोमा उनको सक्कल, भावभङ्गी हेरेँ, शानदार प्रतीत भयो। फोटोलाई हिफाजतसाथ समातेँ र मेरो दराजभित्र रहेको ब्रिफकेसको भित्री खण्डमा राखेँ। ब्रिफकेसको लक नम्बर फेरेँ। स्वस्थानीको पुस्तकचाहिँ यथास्थानमै राखिदिएँ।
‘तपाईंले चिना बाहेक अरू केही पनि निकाल्नु त भएन नि मेरो दराजबाट?’ बेलुका सुत्ने बेलामा श्रीमतीको यो प्रश्नले मेरो अनुहारमा आएको परिवर्तन अँध्यारोका कारण श्रीमतीले देख्न पाइनन्। मलाई पनि ढाँट्न सजिलो भयो। भनेँ— अहँ केही झिकिनँ! किन र?
मेरो प्रतिप्रश्नलाई श्रीमतीले कुनै महत्त्व नदिएझैँ गरिन् र भनिन्, ‘त्यही पनि, बाहिरफेर केही खसाल्नुभयो कि भनेर! तपाईंका हात गढिला छैनन्, तरबरे छन्।’
उनले विषयलाई सामान्यीकरण गरेकाले मैले दोहोरो केही उत्तर फर्काइनँ, चुपचाप बसेँ।
भोलि बिहान सखारै श्रीमतीले सरसफाइ गर्ने निहुँमा धेरैबेर उनको दराजभित्र र बाहिर पुछपाछ पार्ने तथा कुचो लगाउने काम गरिन्। म चासो नराखेझैँ गरी उनका एक-एक गतिविधिहरूको ख्याल गरिरहेको थिएँ; उनले पट्याएर राखेको हरेक लुगा टकटक्याइन्, श्रीस्वस्थानीव्रतकथाको किताबलाई पाना-पाना पल्टाएर हेरिन्। भुइँतिर फर्काएर टकटक्याइन्। यी सबै काम उनले आधा खुलेको दराजको पलेटाभित्र टाउको र हात राखेर गरिरहेकी थिइन्।
बेलुका खानाखाने बेलामा श्रीमती एक्लै फतफताइरहेकी थिइन्।
'आफूले रखनधरन गरेको ठाउँमा अर्कोले हात हालेपछि त मेसोमेलो केही नपाइने! अबदेखि तपाईंलाई केही चाहियो भने मलाई भन्ने गर्नुस्। आफैँ साँचो नखोल्नुहोला! सारा लथालिङ्ग नपार्नुहोला!'
मैले कुरो बुझे पनि बुझ पचाएँ र भनेँ, ‘किन, केही हरायो र?’
‘हैन, त्यस्तो त केही छैन तर पनि, आफूले राखेको चीजबिज अर्काले चलाइदिएपछि मैले केही मेसोमेलो पाउँदिनँ। आज दिनभर लगाएर सबै चीज मिलाएर राखेकी छु, फेरि गज्याङगुजुङ नपार्नुहोला!’
‘ल ल, हिजो त रमेशले बनारसबाट त्रिकालदर्शी साधु आएका छन्, चिना देखाउने भए तुरुन्त आउनू भन्यो र हतार-हतारमा तिम्रो दराज खोलेर चिना टिपी दौडेको। के मेरो चिना त्यही रहेनछ र? मैले त फर्केर आएलगत्तै त्यही राखिदिएको थिएँ। ठीकै छ नि, आइन्दा जे चाहिए पनि म तिमीसँगै मागौँला।’
***
‘तपाईं आज दिनभर कहाँ जानुभयो? बिहानै गाँस टिपेर हिँडेको मान्छे, एकैपटक अबेर राति फर्किनुपर्ने के काम आइलाग्छ तपाईंलाई बेलाबेलामा?’
‘रिडर्स कर्नरमा कविता वाचन कार्यक्रम ढिला गरी सुरु भएको र दुई वटा पुस्तकको विमोचन, लेखकद्वयका तर्फबाट राम्रै नास्ताको समेत व्यवस्था थियो’ भन्ने मेरो स्पष्टीकरणमा उनले कुनै प्रतिक्रिया जनाइनन्।
मेरा लागि भान्छा कुरेर अबेरसम्म बसेकी उनी निराश नहून् भनी अरुचि हुँदाहुँदै पनि म खाना खान बसेँ।
‘नढाँटी भन्नुहोस् त तपाईं आज कहाँ गएर आउनुभएको हो? बिहान भात टिप्नेबित्तिकै हिँडेको मान्छे, अहिले यतिबेला आउने! म खाना कुरेर बस्ने, तपाईंचाहिँ बाहिरफेरै पेट भरेर आउने!’ उनले मैले कम खाना खानुमा थप शङ्का लागेर अलि चर्को स्वरमा प्रश्न दोहोर्याइन्।
एकदिन खाना पस्कने बेलामा बिना प्रसङ्ग श्रीमतीले, ‘आज दिउँसो तपाईंसँग लहसिएर फोटो खिचेकी जस्तै महिला बाटामा देखेझैँ लाग्यो! के काम परेर आइहोली नि पोखरा? एक्लै लेकसाइडमा हिँडिरहेकी थिई।’
‘त्यो केटीको नाम के हो नि साँच्चै? तपाईं त उसको फेसबुक साथी हुनुहुन्छ होला नि!
मैले उनको थरसम्म याद रहेको, नाम भने बिर्सिसकेको बताएँ।
‘अगाडिको नाम पनि थाहा छ तपाईंलाई! किन नाटक गर्नुहुन्छ मसँग?’ उनमा थप आशङ्का बढेको देखिन्थ्यो।
एउटा छोटो समयका लागि सुपरभिजन गरेको धेरै विद्यार्थीलाई जस्तै उनलाई पनि मैले पूर्ण रूपमा बिर्सिसकेको थिएँ। श्रीमतीको यो जिज्ञासाले मलाई पनि बिर्सिसकेकी पुरानो विद्यार्थीको स्वाभाविक सम्झना भयो। बोलाउने नामसम्म पनि बिर्सेछु, थर भने अझै याद रहेछ! अति प्रचलित उनको थर राखेर, मेरा फेसबुक भित्तामा उनलाई खोजेँ। नामोनिसान फेला परेन!
मेरा कैयौँ अन्य विद्यार्थीजस्तै, उनी कहाँ छिन्? स्वदेशमा छन् कि परदेशमा? मैले उनलाई गाइडेन्स गर्ने बेला उनी विवाहित थिइन् कि अविवाहित? अविवाहिता भए पछि गएर उनले विवाह गरिन् वा अविवाहिता नै रहिन्? हाल उनी यही संसारमा छन् कि संसार नै छाडिन्... उनका निजी जीवनका बारेमा मैले न कहिल्यै सोधेँ, न कहिल्यै सोचेँ।
मेरी ती भूतपूर्व विद्यार्थी मेरो श्रीमतीको मनमस्तिष्कमा भने जरा गाडेर बसेकी छन्। उक्त कुरा एकाध महिनामा बिना प्रसङ्ग, उक्त विद्यार्थीका बारेमा उनले राख्ने शङ्कालु जिज्ञासाहरूले प्रमाणित गरिरहन्छन्। श्रीमतीको बढ्दो चियोचर्चोका कारण, ‘ती विद्यार्थी कहाँ के गर्दै होलिन्?’ मेरो मनमा पनि यो कौतूहलता टुसाएको छ, आजकल!’
कहिले-कहिले डराइ-डराइ दशकौँ पहिला खिचेको त्यही फोटो निकालेर हेर्ने र हत्तपत्त ब्रिफकेसमै लुकाउने रोग लागेको छ। र, ‘तपाईंसँग फोटो खिच्ने तपाईंकी विद्यार्थी कहाँ छे नि आजकल?’ मसँग उत्तर नभएको श्रीमतीको यस प्रश्नले भने मलाई जीवनभर सताइरहेछ, पछ्याइरहेछ!