हरेक दिन, हरेक हप्ता कुनै न कुनै विषयले मनको ढोका ढकढक्याउँछ। कहिले राजनीतिले रिस उठाएर कलम समाउन बाध्य बनाउँछ, कहिले समाजका विसङ्गतिले शब्दहरूलाई तिखारिदिन्छ, कहिले देशको आर्थिक दुर्दशाले मन अमिलो बनाउँछ भने कहिले सामान्य मान्छेको असाधारण सङ्घर्षले लेख्न प्रेरित गर्छ। अनलाइन पोर्टल होस् वा सामाजिक सञ्जालको भित्तो, केही न केही पोतिरहेकै हुन्छु! कतिपय दिनमा त लेख्ने विषयहरू तँछाडमछाड गरिरहेका हुन्छन्। कुनलाई समात्ने र कुनलाई छोड्ने भन्ने अन्योलमै आधा समय बित्छ।
तर, आज अनौठो भयो! समाचार हेरेँ, सामाजिक सञ्जाल चहारेँ, वरिपरिका मान्छेका कुराकानी सुनेँ तर कुनै विषयले मन छोएन। लाग्यो, संसारभरिका मुद्दाहरू एकैदिन बिदामा बसेछन्। केही लेख्न सकिनँ। बरू लेख्ने विषयको ठूलै 'खडेरी' पर्यो।
अचम्मको छ— मस्तिष्कको रसायन!
लेख्ने मान्छेहरूसँग शब्दको कारखाना हुन्छ र लेखकले त्यसलाई मिलाएर विषयवस्तु तयार गर्छन् भन्ने एउटा भ्रम छ। अझ कतिले त कलम समात्यो कि लेख निस्किहाल्छ भन्ने ठानेका हुन्छन्। वास्तविकता त्यसको ठीक उल्टो हुन्छ। कहिले एउटा सानो दृश्यले मनमा विचारको आँधी ल्याइदिन्छ। जस्तो— बाटो किनारमा बसेको वृद्ध, असफल वा सफल प्रेम, विद्यालय जाँदै गरेको बालक, खेतमा पसिना बगाइरहेको किसान तथा बसभित्र सुनिएको एउटा सामान्य संवादले पूरा लेख जन्माइदिन्छ। तर कहिलेकाहीँ संसार नै आँखाअगाडि उभिँदा पनि एउटा वाक्यसम्म निर्माण हुँदैन। लेख्न खोज्यो शब्दहरू लुकामारी खेल्छन्।
शब्दहरूलाई च्याप्प समातेर पानामा उतार्न पाए गज्जब हुन्थ्यो भन्ने लाग्छ! तर शब्दहरू पानीको फोका फुटेझैँ फुत्तफुत्त उम्किन्छन्। समय यस्तो आउँछ, जहाँ कलम समाउन त के, दिमाग नै चल्दैन। गजब छ लेख्ने मन र यसको उथलपुथल! कता बहकिन्छ र कहाँ पुग्छ, ठेगान हुँदैन।
त्यसैले, आज समाज र संसारका गम्भीर विषयलाई थन्क्याइदिएँ। देश र समाज सुधार्ने जिम्मा अरूलाई सुम्पिदिएँ, साहित्य सिर्जना अरू नै गरून्। आज मनसँग संवाद गर्न आफ्नै मनभित्र छिरेँ ! बाहिरी विषयमा हात नचल्दा यसले ठाउँ पायो। अन्तरमनको अनुभूति हुने भयो आजको मेरो लेखन!
यो दुनियाँ र समाजमा अचम्मको विविधता छ। धेरै मानिसहरू जीवित छँदा 'कसले के भन्ला' भनेर डराउँछन्। मरेपछिको साख जोगाउन जिन्दगीभर कृत्रिम अभिनय गर्छन्।
कोही नरिसाओस् भनेर विचार लुकाउँछन्, प्रशंसा पाइएला भनेर विवेकसँग सम्झौता गर्छन्। तर मलाई त्यस्तो जीवनले कहिल्यै आकर्षित गरेन। त्यसैले आफ्नो विचारमा स्वच्छन्द छु। कोही रिसाउला वा खुसी होला भन्ने कुराले मलाई तात्त्विक असर गर्दैन र त्यस्ता पक्षको चासो पनि राख्दिनँ।
मरेपछि मलामी घट्लान् वा घाटमा मान्छे कम होलान् भन्ने रत्तिभर चिन्ता छैन। यो नश्वर शरीरलाई नदीमा बगाऊन्, गाडून्, टुक्रा-टुक्रा पारी गिद्धलाई खुवाऊन्, जलाऊन्, सरापून् वा सालिक बनाएर पूजा गरून्— ती सबै अर्थहीन कुरा हुन् मलाई। त्यसले छुँदैन। त्यो गाली वा तारिफ सुन्न पुनर्जन्म भएर आउने पनि ठान्दिनँ! त्यसैले अरूलाई खुसी बनाउन बोल्दिनँ र लेख्दिनँ! स्वनियम छ मेरो!
मरेपछि माटोमा बिलाइन्छ, शरीर नाशवान् कुरा हो भन्नेमा म ढुक्क छु। त्यसैले पुनः जन्मेर आउने काल्पनिक सोचभन्दा उपलब्ध जीवनमा जति सकिन्छ, त्यति सत्यको नजिक रहेर बाँच्ने प्रयास गर्छु। मलाई राम्ररी थाहा छ— शरीरभन्दा विचार अविनाशी हुन्छ। त्यसबाहेकका सबै कुरा जीवन जिउने प्रणालीभित्रका काल्पनिक पक्षहरू हुन्, अझ भनौँ भने, भ्रम भन्छु म! मान्छे त्यही भ्रमभित्र बाँचिरहेको हुन्छ।
नयाँ विषयवस्तुमा लेख्न नसकेर अन्ततः आफ्नै मनभित्र छिर्दा सुरुमा बग्रेल्ती प्रश्न र जिज्ञासाहरू थिए। तर, त्यही क्षण जीवनले अर्को सत्य अनुभव गर्न पायो। वास्तवमा लेख्ने विषयवस्तु बाहिर हराएका होइन रहेछन्, केवल केही समय लुकेका मात्र रहेछन्। मानव मन त त्यस्तो विशाल भण्डार रहेछ, जहाँ विषय र शब्द कहिल्यै रित्तिँदा रहेनछन्। लेखनका लागि घोत्लिएको मान्छे, आज आफ्नै मनको गहिराइमा पुगेर एकाएक दार्शनिक भएछु!