बिहानको चार बजेको थियो। सहर अझै निद्रामै थियो। तर उनी उठिसकेकी थिइन्। चुलोमा आगो बाल्ने, चिया उमाल्ने, सबैलाई उठाउने, खाना पकाउने र घरभरिको दिन सुरु गराउने उनी आफ्नै दिन भने कहिल्यै आफ्नै लागि सुरु गर्न पाउँदिन थिइन्। किनकि उनको जीवन आफ्नै इच्छाअनुसार होइन, अरूको आवश्यकता पूरा गर्न बित्थ्यो।
उनी जन्मिँदा घरभरि खुसीको कोलाहल मच्चिएन। मिठाई बाँडिएन। ढोल बजेन। बरु कसैले गहिरो सास फेर्यो र बिस्तारै भन्यो— ‘फेरि छोरी पो रहिछे!’
सायद त्यही क्षणदेखि उनको भाग्य समाजका अदृश्य नियमहरूले लेख्न थालेको थियो।
उनी हुर्किँदै गइन्, नियमहरू पनि सँगै हुर्किए।
‘ढिलोसम्म बाहिर नबस।’
‘जोरले नहाँस।’
‘केटी भएर धेरै नबोल।’
‘घरको इज्जत तिमीले जोगाउनुपर्छ।’
उही आँगनमा उनका भाइ पनि हुर्किरहेका थिए। तर उनीहरूका लागि समयको सीमा थिएन, स्वतन्त्रतामा बन्देज थिएन, व्यवहारमा नियन्त्रण थिएन। एउटै आमाबुबाको सन्तान भए पनि स्वतन्त्रताको तराजु भने फरक थियो।
त्यसै बेला उनले पहिलो पटक बुझिन्— यो समाजमा छोरी भएर जन्मिनु केवल एउटा जन्म होइन, जन्मसँगै काँधमा राखिएको अदृश्य जिम्मेवारी, बन्देज र अपेक्षाको भारी पनि रहेछ।
समय बिस्तारै अघि बढ्यो।
एक दिन उनी दुलही बनिन्। सबैले मुस्कुराउँदै भने— अब यही तिम्रो घर हो।
तर विडम्बना! उनले जन्मेको घर छोडिन्, पुगेको घरमा पनि कहिल्यै पूर्ण रूपमा आफ्नी हुन सकिनन्। उनी सधैँ कसैकी छोरीभन्दा बढी कसैकी बुहारी बनिरहिन्। आफ्नो परिचयभन्दा सम्बन्धहरूको बोझ भारी बनिरह्यो।
बिरामी हुँदा पनि भान्साको चुलो निभेन। ज्वरोले शरीर पोल्दा पनि रोटी पाकिरह्यो। आँखामा आँसु भरिँदा पनि ओठमा मुस्कान सजाउनै पर्थ्यो। किनकि समाजले महिलाको पीडालाई कमजोरी र उनको त्यागलाई कर्तव्यको नाम दिएर सामान्य बनाइदिन्छ।
समय फेरि बदलियो।
उनी आमा बनिन्। सबैले बधाई दिए। शुभकामना दिए। तर कसैले एक पटक पनि सोधेन— तिमी कस्तो छौ?
नौ महिनासम्म आफ्नो शरीरभित्र अर्को जीवन बोकेकी उनी, प्रसूतिको असह्य पीडा सहेर, रात-रातभर जागेर बच्चाको भविष्य सिँचिन्। आफ्ना सपना, आफ्ना चाहना र कहिलेकाहीँ आफ्नै अस्तित्वसमेत सन्तानको उज्यालो भविष्यमा विलीन गराइदिइन्।
तर समाजले उनको सम्पूर्ण संघर्षलाई एउटै वाक्यमा टुङ्ग्याइदियो— आमा हुनु त यस्तै हो।
त्यसपछि उनी घरभित्र मात्र सीमित रहिनन्। बिहानदेखि साँझसम्म कार्यालयमा आफ्नो क्षमता प्रमाणित गरिन्। तर घर फर्किएपछि अर्को कार्यालय सुरु हुन्थ्यो— भान्सा, लुगा, बालबच्चा, परिवार।
त्यहाँ न त कार्यालय बन्द हुने घण्टी बज्थ्यो, न बिदाको सुविधा थियो, न त अतिरिक्त श्रमको मूल्य।
उनी थाक्ने अधिकारसमेत राख्दिन थिन्। किनकि एक दिन मात्र थाकेर बसिन् भने समाजको फैसला तयार हुन्थ्यो— आजकालका महिलाहरूलाई केही गर्नै आउँदैन।
घरभित्र उनको श्रमलाई कर्तव्य भनियो। घरबाहिर उनको सफलतालाई भाग्य भनियो। र जब उनी अन्यायविरुद्ध उभिइन्, प्रश्न अपराधीलाई होइन, उनैलाई गरियो-
के लगाएकी थियौ?
किन त्यहाँ गएकी?
यति राति किन निस्किएकी?
यो समाजमा महिलाले आफ्नो निर्दोषता प्रमाणित गरिरहनुपर्छ। तर पुरुषले आफ्नो अपराधहीनता प्रमाणित गर्नुपर्ने आवश्यकता कहिल्यै महसुस गरिँदैन। यति धेरै विभेद, अन्याय र पीडाबिच पनि उनी मुस्कुराइरहिन्।
आफ्ना सपना अधुरै छोडेर अरूका सपना पूरा गरिन्। आफ्ना आँसु लुकाएर परिवारको खुसी बचाइरहिन्। आफू बिस्तारै टुक्रिँदै गइन्, तर परिवारलाई कहिल्यै टुक्रिन दिइनन्।
त्यसैले सबैले उनलाई बलियो भने। तर सत्य फरक थियो। उनी बलियो भएर जन्मिएकी होइनन्। समाजले उनलाई रोएर पनि मुस्कुराउन सिकायो। हामी देवीको पूजा गर्छौँ। तर घरकी महिलाको आवाज सुन्न बिर्सिन्छौँ।
महिला दिवसमा फूल दिन्छौँ। तर समान अवसर दिन अझै कन्जुस्याइँ गर्छौँ।
सम्मानका भाषण गर्छौँ। तर घरभित्रको जिम्मेवारी बराबरी बाँड्न तयार हुँदैनौँ।
महिलालाई महान् भन्ने यही समाजले कहिलेकाहीँ उनलाई मानिस मात्र पनि सम्झन बिर्सिन्छ।
महिला हुनुको सबैभन्दा ठुलो पीडा महिनावारी होइन। प्रसूतिको वेदना पनि होइन। सबैभन्दा ठुलो पीडा त बारम्बार यो प्रमाणित गरिरहनुपर्ने बाध्यता हो—
म पनि मानिस हुँ।
मेरा पनि सपना छन्।
मेरा पनि इच्छा छन्।
मेरो पनि अस्तित्व छ।
अब महिलाले दया चाहन्नन्। उनी अवसर चाहन्छिन्। उनी सम्मानको भाषण होइन, व्यवहारमा समानता चाहन्छिन्। उनी सुरक्षाको नाममा बन्देज होइन, स्वतन्त्रताको अनुभूति चाहन्छिन्। उनको संघर्ष पुरुषभन्दा माथि उभिन होइन, पुरुषसरह उभिन हो।
सायद समाज त्यही दिन साँच्चै सभ्य हुनेछ— जुन दिन छोरी जन्मिँदा घरमा सन्नाटा होइन, खुसी गुन्जिनेछ। जुन दिन छोरी र छोराका सपना एउटै मूल्यमा मापन हुनेछन्।
जुन दिन कुनै आमाले आफ्नी छोरीलाई— सहेर बस होइन, निर्भीक भएर बाँच भन्न सक्नेछिन्।
त्यो दिन महिला हुनु पीडा हुनेछैन। महिला हुनु कमजोरी हुनेछैन। महिला हुनु त्यागको अर्को नाम मात्र रहनेछैन।
महिला हुनु भनेको जीवनलाई जन्म दिने शक्ति हुनु हो। आशालाई जोगाइराख्ने साहस हुनु हो। संघर्षलाई मुस्कानले जित्ने धैर्य हुनु हो। र, संसारलाई निरन्तर अगाडि बढाइरहने अद्भुत सामर्थ्य हुनु हो।
त्यस दिन हामी साँच्चै बुझ्नेछौँ— महिलालाई सम्मान गर्नु कुनै उपकार होइन। यो त उनको जन्मसिद्ध अधिकार हो।
(लेखक जनस्वास्थ्यकर्मी हुन्।)