डिजिटल संसारमा दर्शकलाई तान्न तपाईंंसँग केवल छ सेकेण्ड हुन्छ। अर्थात् तपाईंंले यो समयभित्र दर्शकलाई तान्न सक्नुभएन भने तपाईंको आयु समाप्त! 'स्क्रोल' नामक राक्षसले तपाईंलाई भित्ताबाट हुत्याइदिन्छ।
अनि, तपाईंंको ६ सेकेण्ड भन्दा पछाडिका जतिसुकै महत्वपूर्ण कुरा भए पनि त्यसको कुनै अर्थ हुँदैन।
डिजिटल प्लेटफर्मले अब हाम्रो समय मात्र होइन, हाम्रो भावना पनि किनबेच गर्न थालेका छन्। रिस धेरै बिक्छ, डर अझ धेरै बिक्छ, सनसनी सबैभन्दा धेरै बिक्छ। त्यसैले एल्गोरिदमले हामीलाई शान्त र गहिरो हुन होइन, उत्तेजित र अधैर्य हुन सिकाइरहेको छ। हिजो कुनै सम्बन्ध बनाउन वर्षौं लाग्थ्यो। आज एउटा नोटिफिकेसनले सम्बन्ध सुरू गरिदिन्छ र अर्को नोटिफिकेसनले त्यसलाई समाप्त पनि गरिदिन्छ। अब हामी मानिसलाई होइन, स्क्रिनलाई हेरेर सम्बन्ध बनाउन र तोड्न सिक्दैछौँ। एक क्षण, एक क्लिक, बस सम्बन्ध सुरू।
अनि स्वाद छँदासम्म सम्बन्ध। स्वाद सकियो- सम्बन्ध अन्त्य।
चुइगमको गुलियो सकिएपछि त्यसको बास रछ्यानमा भएजस्तै।
कुनै बेला हामीले कक्षा नौ र दशमा नाफा र नोक्सान भन्ने पाठ पढ्थ्यौं। मेरो मनमा भने एउटा प्रश्न खेल्थ्यो? आखिर यो दोकानदारको दिमाग त दिनभरी कति नाफा होला मै बित्छ होला। पसलेका छोरा पढथे मसँगै। एकदिन तिनले एउटा नयाँ जापानी कलेजी रंगको फाउन्टेन पेन स्कुलमा लिएर आए। अनि मैले जिस्किएर सोधेँ। तिम्रा बाले यो पेन ६० रुपैयाँमा किनेका थिए र अहिले तिमीले चोरेर चलाइरहेका छौं भने कति घाटा भयो होला? मलाई लाग्थ्यो, पसलेहरूको दिमाग दिनभरि नाफा–घाटाकै हिसाबमा चल्दो हो।
राजधानी काठमाडौं छिरेपछि भने म नयाँ सत्यसँग ठोक्किन पुगेँ।
वास्तवमा मानिसको सम्बन्ध पनि नाफाघाटाको हिसाबमै चल्ने रहेछ। सम्बन्ध र नाता पनि अन्ततः नाफाघाटाकै कारोबार रहेछन्। सायद त्यसैले तपाईंंबाट केही लाभ हुने देखिए सबै तपाईंंका। बिहानदेखि साँझसम्म तपाईंंको खोजी।
कतिपय मानिससँग वर्षौंपछि भेट हुन्छ। उनीहरूको पहिलो प्रश्न हुन्छ— 'अहिले कहाँ हुनुहुन्छ?' त्यो प्रश्न सुन्दा लाग्छ, उनीहरूले मेरो खबर सोधिरहेका छन्। तर केही क्षणमै थाहा हुन्छ, उनीहरू मेरो अवस्था होइन, मेरो उपयोगिता नापिरहेका रहेछन्। उत्तर प्रभावशाली भयो भने कुराकानी लम्बिन्छ। सामान्य भयो भने उनीहरूलाई अचानक हतार पर्न थाल्छ। मुस्कान उस्तै रहन्छ, तर आँखाको आत्मीयता भने हराइसकेको हुन्छ। लाग्छ, मन, भावना, संवेदन भन्ने कुरा त हिसाबकिताबमा नअट्ने पो भएछन्।
शक्ति, पद वा प्रभाव मानिसको वरिपरि चुम्बकजस्तै हुन्छ। त्यो रहुन्जेल धेरै अनुहारहरू आत्मीय देखिन्छन्। फोन आफै आउँछन्, निम्ताहरू आफै आउँछन्, प्रशंसाका शब्दहरू आफै जन्मिन्छन्। तर शक्ति ओझेल परेपछि थाहा हुन्छ— तीमध्ये धेरै सम्बन्ध मानिससँग होइन, शक्तिसँग गाँसिएका रहेछन्। मानिस उही हुन्छ, तर उसको वरिपरि घुम्ने ग्रहहरू एकाएक आफ्नो कक्षा परिवर्तन गरिसकेका हुन्छन्।
मैले भोगेको चार दशकको यो अवधिमा अरू त थुप्रै कुरा भए त्यो तथ्यांकहरूले बोल्छ होला नै। तर एउटा सत्य चाहिँ म भन्छु- यी चार दशकमा मनहरू भने नौनीबाट क्रमशः ढुंगा हुँदै गएछन्। भावनाहरूको मूल्य शेयर बजार जस्तै नाटकीय रूपमा खस्किसकेछ। अब हरेक कुरा नापतौलमा हुन्छ। तपाईंंले सबभन्दा आफ्नो ठानेको सम्बन्धको पछाडि पनि कहिलेकाहीँ कुनै न कुनै स्वार्थ लुकेको हुन्छ। त्यो सकियो- तपाईंं सकिनुभयो।
'माई लाइफ, माई च्वाइस' अहिले सबै बहस टुंग्याउने अन्तिम फैसला बनेको छ। त्यही च्वाइसले भूकम्पझैँ भत्काइदिने मनहरूको हिसाब कसैले राख्दैन। व्यक्तिगत स्वतन्त्रता आवश्यक छ। कसैले कसैको जीवन नियन्त्रण गर्न मिल्दैन। तर स्वतन्त्रताको अर्थ सम्बन्धबाट उत्पन्न हुने जिम्मेवारी समाप्त हुनु पनि होइन। हाम्रो निर्णय हाम्रो मात्रै हुँदैन, त्यसले अरू कसैको निद्रा, भरोसा र भविष्य पनि छोइरहेको हुन सक्छ। दुर्भाग्यवश, अहिले स्वतन्त्रताको उत्सव धेरै हुन्छ, त्यसका परिणामको शोक भने कसैले मनाउँदैन।
एकदिन एकजना हमउम्र साथीले भन्यो। यार, 'पुरानै पुस्ताको मन' लिएर बाँच्नेहरूका लागि यो समय सबैभन्दा कठिनमध्ये एक भएको छ। मन छ सन् असी र नब्बेको दशकको- मैं तेरे लिएर मर जाउँगा भन्ने। ये दोस्ती हम नहीं तोडेंगे भावनामा हुर्केको। तर वर्तमान भने पूरै मेसिन बनिसक्यो। अब, जो सँग व्यवहार गर्न खोज्यो ऊ भने पूरै रकमी।
यहाँ हरेक मान्छे वर्तमानमा बाँच्न खोज्छ। वर्तमानमा पनि चालु समयमा। पुँजीगत खर्च गर्न कोही चाहन्न। सरकारको बजेटजस्तै। चालु समय, चालु सम्बन्ध। न भूतसँग मतलब न भविष्यको परवाह। न लेना न देना। एक हात से लो दुसरे हात से दो। यो लिने र दिनेबीच कहिलेकाहीँ मन भन्ने जिनिसले प्रवेश गर्छ। तर हिसाबकिताब सकिनेबित्तिकै सबैभन्दा पहिले गाडिने चिज मन नै हुन्छ। यो लाभहानीको अध्याय अन्त्यसँगै मन पनि एक चिहान जस्तै सुनसान हुन्छ।
मान्छेको मन पूरै कर्पोरेट भइसकेछ। यो कर्पोरेट मनहरूसँग हाम्रो मनको मन नै मिल्दैन। मार्क्सले भनेको 'एलिएनेसन' सायद यही हो—मानिस आफ्नो श्रमबाट मात्रै होइन, अन्ततः आफ्नै मानवीयताबाट पनि टाढिँदै जानु। अहिले हामी प्रविधिसँग जति नजिकिएका छौँ, सायद एकअर्काको मनसँग त्यति नै टाढिएका छौँ।
कुनैबेला लाग्थ्यो, नाफाघाटाको हिसाब पसलेले मात्रै गर्छन्। आज आएर लाग्छ—हामी सबै पसले भइसकेछौँ। फरक यति मात्रै हो, पहिले सामानको मूल्य तोकिन्थ्यो, अहिले सम्बन्धको।
अब कसैसँगको सम्बन्ध ऊबाट कति प्रतिफल आउँछ भन्ने लगानीको निर्णयजस्तै भएको छ। मित्रता भनेको नेटवर्क हो। चिनजान भनेको अवसर हो। सहयोग भनेको भविष्यको लगानी हो।
अनि भावना...
भावना भनेको हिसाबकिताब मिलिसकेपछि काम नलाग्ने पुरानो बिल।
सायद त्यसैले अहिले मानिसहरू सम्बन्ध तोड्दा पनि दुःखी हुँदैनन्। मोबाइलको एउटा कन्ट्याक्ट डिलिट गरेजस्तै सहज हुन्छ। एउटा ब्लक, एउटा अनफ्रेन्ड, एउटा गुडबाइ।
कहिलेकाहीँ लाग्छ, प्रविधिले हाम्रो जीवन सजिलो बनायो, तर मन कठिन बनाइदियो। सूचना छिटो पुग्न थाल्यो, तर भावना ढिलो पुग्न थाल्यो। सम्पर्क बढ्यो, तर सम्बन्ध घट्यो। हजारौँ साथीको सूची छ, तर दुःख पोख्न मिल्ने एउटा काँध भेट्न मुस्किल छ।
सायद यही हाम्रो समयको सबैभन्दा ठूलो विडम्बना हो।
हामीले फास्टफुड मात्रै खाएनौँ। हामी आफैँ फास्टफुड सम्बन्धमा बदलियौँ। अब सम्बन्धको आयु एउटा क्लिकदेखि अर्को क्लिकसम्म मात्रै छ। तर सोच्नुपर्ने कुरा—मूल्यसूची हेरेर जोडिएका यी सम्बन्धहरूले के हाम्रो मनको भोक मेट्न सक्लान् त?
अहिले हरेक कुराको मूल्यसूची छ। घरको मूल्य छ, गाडीको मूल्य छ, समयको मूल्य छ, सीपको मूल्य छ। तर विडम्बना, सबैभन्दा मूल्यवान् हुनुपर्ने भावना नै सबैभन्दा सस्तो भएको छ। कसैलाई सम्झिनु, कसैका लागि समय निकाल्नु, कसैको पीडा आफ्नै जस्तो महसुस गर्नु—यी सबै अब नाफा नदिने काम मानिन्छन्। त्यसैले यिनको बजार मूल्य झरेको छ।
तर इतिहासले कहिल्यै मूल्यसूचीले समाज बनाएको देखाएको छैन। समाज बनाएका त विश्वासले, आत्मीयताले र निस्वार्थ सम्बन्धले हुन्। यदि कुनै दिन मानिसले यी सबैलाई पूर्ण रूपमा गुमायो भने उसले प्रविधि त धेरै जित्ला, तर मानिस हुनुको सबैभन्दा ठूलो कारण भने हारिसकेको हुनेछ।
सायद भविष्यले हामीलाई यही प्रश्न सोध्नेछ—तिमीहरूले सबै कुरा जोगायौ, तर मानिसको मन किन जोगाउन सकेनौ?