एक दिन एक रातपछि बल्ल जोमसोममा हिउँ पर्न छाड्यो।
हिउँ पर्न छोडेको बिहान। घाम उदाएको बिहान। एकाबिहानै धौलागिरी राताम्य देखिएको बिहान। आकाश नीलो देखिएको बिहान। बादलका भुल्का केही पनि नदेखिएको बिहान। नीलगिरी र तिलिचो हिमालले मजेत्रो फालेर ब्युँझिएको बिहान।
पुथाङ बजारको बिदाइ ढुङ्गानजिकैको होटल। होटलको माथिल्लो तलाको हटरुममा बसेर चिया पिउँदै थिएँ। चियासँगै बोनसमा पाइने मकै पनि थियो। एयरपोर्ट र पारिका जोडी हिमाल हेर्ने गरी पूर्व फर्केर बसेको थिएँ।
कपलाई ओंठमा पुर्याएकै बखत जहाजले एयरपोर्टमा पाङ्ग्राले टेक्यो।
एकछिन त्यही जहाजलाई हेरिरहें। पर पुगेर फर्कियो। बिस्तारै आएर रोकियो।
बल्ल आँखा हटरुमको पल्लो कुनातिर दौडिएर पुगे। दाहिनेतिर।
एउटा केटो थियो।
कपाल चाउचाउजस्तो। दाह्री पनि लामै थियो। मानौँ दाह्री ग्याङको सदस्यता छ ऊसँग। अनुहार टुकुचेको बगरजस्तै लाग्यो–फुङ्ग उडेको। आँखामा कुनै उदासी भाव सहजै अनुमान गर्न सकिने। मनमा ठूलै हुरी चलेको पनि अनुमान गर्न गाह्रो भएन।
उमेर अन्दाज लगाएँ। म जन्मँदा ऊ स्कुल जाने तरखर गर्दै पो थियो कि त?
हेरिरहें उसलाई।
उसको अगाडि ठूलो कपबाट बाफ उडिरहेको थियो।
कालो टिसर्टमा छातीको भागमा लेखिएको थियो–
जोमसोमः पात्र र कथाहरू।
लौजा! कथा लेख्न भनेर जोमसोम आएको म, अर्को लेखकसँग पो जम्काभेट भयो कि के हो? मीत लाइहालूँजस्तो लाग्यो। कथा लेख्न आएको केटो हो कि भनेर।
आखिर आफूजस्तो हो, संसार उस्तै त देखिन्छ।
बोलिनँ। केही पनि बोलिनँ उसँग। हेरिरहें। सबै हेरिरहें। कायाकैरन हेरें उसलाई। हेरें कपको छेउमा सुतेको किताबलाई।
टाढैबाट अनुमान लगाउन गाह्रो भएन। कुमार नगरकोटी बूढा किताबका अक्षरको सिरानी लगाएर पल्टिएका थिए।
मलाई त नगरकोटी बूढाका किताबबाटै सिग्रेटको धुवाँको मीठो बासना आउँछ जस्तो लाग्छ। त्यही भएर पनि मन पर्छ बूढाका किताब।
वर्षौँपछि सिमसिमे पानी भेटेको माटोको बासनाजस्तो सिग्रेटको बासना। आहा!
नीलो जिन्स पाइन्टको अगाडिपट्टिको खल्तीबाट सूर्य चुरोटको मिनिप्याक झिक्यो। त्यसबाट एउटा खिल्ली झिक्यो। अनि लाइटर खोजेजस्तो गर्यो। गोजीमा छामछुम गरिरह्यो। भेटेन।
एकछिन यताउति खोज्यो। बल्ल मतिर हेर्यो।
"सर, त्यो लाइटर दिनुस् न।" उसले मलाई हेरेर भन्यो।
म पनि कुन ड्याङ्गको मूला परेछु कुन्नि। यत्तिञ्जेल आफ्नो अगाडिको टेबलमा लाइटर भएको मेसो नै पाएको रहेनछु। के थाहा, नत्र अघि नै उसलाई पार्सल गरिसक्थें कि त?
लाइटर उठाएँ। ऊ नजिकै गएर हातमै दिएँ।
"यहाँको यो सेवाको लागि म के दिऊँ?" उसले मनकारी मन भएजस्तै देखायो।
जोगीलाई खरानी माग्न केको लाज? सँगै बसेर मिनिप्याकको गोदाम घटाइदिऊँ न त। यसो भन्दै उसले त्यो बेला जे दिन सक्थ्यो त्यही नै मागें।
हेर्यो। सरसर्ती हेर्यो मेरो आँखामा। अनि घटायो मिनिप्याकको गोदाम।
"कहाँबाट आउनुभएको?" उसलाई सोधें।
"दोलखाबाट।" उसको छोटो जवाफ।
"ए.... दोलखाबाट आएर पो त ल खा भनेर दिएको।" यति भनेर फिस्स हाँसें।
"शब्द खेलाउने गज्जबको बानी रहेछ।" उसका मुखको बाटो बाहिर निस्किएका शब्द थिए यी। यति बोल्यो र फिस्स हाँस्यो। कपको चियालाई हेर्दै।
"हामीले खेलाउने नै शब्द त हो हजुर। जीवन त अर्कैले खेलाएर झुत्रोझाम्रो बनाइदिन्छन्।" अब उसको मन हान्नु थियो नि त मलाई। अलि गम्भीर कुरा ठट्टौली पारामा सुनाएँ।
"वाउऽऽऽ गज्जबको कुरा।"
"गज्जबको मान्छेसँग के अगज्जबी कुरा गर्नु त।" मलाई अब उसँगको कुराकानी रमाइलो होलाजस्तो लागिसकेको थियो।
"मेरो शिरमा गज्जबको मुकुट देखियो र?" सोध्यो उसले।
"शिरमा हैन। छातीमा देखें।" उसलाई जेरीजस्तै जवाफ दिन सुरु भयो।
"हँ??? म त केटो मान्छे पो। केटाको छातीमा पनि मुकुट हुन्छ त?" क्या मज्जाले पो भन्यो त यो लाइन।
"कसको मा हुन्छ त छातीमा मुकुट?" उसलाई केरकार पार्ने मन लाग्यो।
"अफकोर्स केटीको।" भन्यो र लामो हाँसो हाँस्यो। हाँस्दै गर्दा पारिको नीलगिरी हिमालबाट उसका आँखा चिप्लिए।
"नाईं।" इन्कार गरें उसको यो जवाफ। र थपें–"केटीको छातीमा त कली हुन्छ।" अब कुरा खै कता पो बग्न लाग्यो। जोमसोमे बतासजस्तो।
"मुकुट पनि त कली नै हो नि, हैन र?" हान्यो उसले पनि। "परीक्षितलाई सम्झनु त। उनको मुकुटमै हैन कली बसेको? अकर्डिङ टु शास्त्र, कली बस्न सुरु गरेको नै मुकुटमा हो। भर्जिन मुकुटमा कली बसेर मुकुटको भर्जिनिटी हराएको हैन? के म गलत छु?" उसले शास्त्र जानेको भइटोपल्यो।
"अँऽऽऽ नाईं, गलत हैन। तर तपाईँ को हो?"
"को जस्तो लाग्छ र म?"
"खै, भर्खरको उत्तरले त कुमार नगरकोटी हो कि जस्तो लाग्यो त।"
"को कुमार नगरकोटी? त्यही चिन्डे टाउकोवाला नगरकोटी?"
"अँ, त्यस्तै लाग्यो। कस्तो ठ्याक्कै उही नगरकोटीको जस्तो स्टाइल त बोलाइमा।" नगरकोटीको स्टाइल मलाई थाहा छ भन्ने कुरा घुमाएर ठोकिदिएँ भित्तामा।
"नगरकोटी बोल्दा त्यस्ता कहाँ छन् र? लेखाइमा पो हो त। नपत्याए यही किताब पल्टाए भो।" यति भनेर छेउमै सुतेको नगरकोटीको दोचा उठायो।
उसले आफू नगरकोटीको मितै हो जस्तो गरी केही भन्यो फेरि। सुनिरहें।
"भेटेका छौँ?" सोधें।
"देखेको छु। पाटनमा केही क्याफे छन्, बूढा त्यतै बसेर सिग्रेट सल्काएर मस्त हुन्छन्। कसैको बाल मतलब बूढालाई।"
आफूले एक पेग सिग्रेटको धुवाँ तान्दै कुमार नगरकोटीको सिग्रेट-मोह बतायो। मानौँ मलाई थाहा नै छैन।
"एनिवे, तिमी नगरकोटी हैनौ?" जिस्काउँदै सोधें फेरि।
"मृत्युलाई पहेँलो टोपी लगाएर आएको देख्ने नगरकोटी हैन म। ऋग्वेद नामको मेरो कुनै साथी पनि छैन। मलाई माउसुली मन पर्दैन। म काठमाडौँलाई कुनै भ्रम पनि देख्दिन। विदेशीका अप्ठ्यारा-अप्ठ्यारा नाम सम्झँदै कथा पनि लेख्दिन। प्लस प्लस लेख्दै कथामा मान्छेको संख्या, सरी सरी पात्रको संख्या बढाउने बानी पनि छैन मेरो।"
"ए.... उसो भए कुन कोटी हो त? तेत्तीसकोटी नै त होइन?" हातको चुरोट र मुखको जिस्काहट निभ्नै मानेन।
"नाईं, हैन। कोटी त कोटी नै हुँ। तर राजकोटी।"
"राजकोटी कि राजकोठी?"
"राजकोटी। कुमार राजकोटी।"
"देख्दा त कुमार लाग्दैन त हौ?" यति भन्दै गर्दा मेरो हाँसो रोकिनै मानेन। बोक्सीखोला झरनाजस्तो जोडले खस्यो। काठको भुइँमा बजारियो। फेरि जुरुक्क उठ्यो।
"कुमार भए नभएको पनि हेरेर अनुमान गर्ने बडो अकुमार हो कि के हो?" उसले यसो भनिरहँदा उसको अनुहार साँच्चिकै हेर्नलायकको थियो।
"होइन। जस्ट फर अ जोय। त्यत्तिकै भनिदेको नि।"
"अ्याक्चुअली म फ्ल्यासब्याक जोमसोम शीर्षकको कथा लेख्न आएको। अनि आफू नि?"
उसले बल्ल आफ्नो चिनारी दिने झिल्को सल्कायो। चुरोटको टुप्पामा धिपधिप गरेको आगोजस्तै चिनारीको झिल्को।
"म जोमसोम थकाली लेख्न आएको।" उसका अगाडि आफू पनि लेख्नै आएको भनेर छाती फूलाएँ।
त्यही बेला पारि नीलगिरीबाट हिमपहिरो खसेको जस्तो हिउँको बादल उड्यो।
"ए...... फेरि गज्जब भो। दुवै लेख्नलाई आएका रैछौँ त।"
"अँ। अनि कहाँ पुग्यो त फ्ल्यासब्याक जोमसोम?" सोधें उसलाई।
"नाईं, लेखिन। यहाँ आएर निर्णय गरें म मेरो नाममा त्यस्तो ब्याकस्याकको कथा लेख्दिन।"
"उसो भए जोमसोममा कमब्याक मात्रै भयो?" उसलाई जिस्काउन लागें।
"रियली......" भन्यो र चुरोटको ठुटोलाई एस्ट्रेमा किचिमिची पारिदियो।
मेरो हातको चुरोट हेरें। अझै दुई-चार सर्को तान्न पुग्ने बाँकी नै छ।
"जोमसोम थकाली जन्मिसकि कि भुँडी बोकाइमै छ?" अब पालो उसको थियो।
"छैन। छेउटुप्पो केही भेटिन।" आफ्नो स्थिति बताएँ। अनि लामो सर्को तानें। मुखबाट निस्केको धुवाँको जेउरो लम्बिँदै गएर झ्यालको सिसामा ठोकियो।
त्यसपछि संवाद मौनतामा हुन थाल्यो।
सम्झें। मेरो भागको चिया हिउँ बनेहोला।
कप लिएर आएँ। सँगै नेपकिन पेपर पनि।
अकथाकार + अकथाकार ≠ कथाकार।
कलमले खल्तीमा पासो लगाइरहेको थियो। त्यही पासो निकालें र नेपकिन पेपरमा लेखेर देखाएँ उसलाई।
हाँस्यो। रामायण टेलिचलचित्रमा रावणको पात्र हाँसेजस्तै।
त्यही हाँसोसँगै साँझ भेटिने अशर्तमा छुट्टियौँ।
साँझ पर्यो। उस्तै गरी पर्यो जसरी पर्थ्यो अघिल्लाअघिल्ला दिनहरूमा। घाम बतासे डाँडा हुँदै धौलागिरीबाट डोल्पातिर खसेपछि।
उही चाउचाउजस्तो कपालको राजकोटी अकथाकारसँग भेट हुनु जो थियो मलाई।
म पुग्दा उसको वरपर सूर्यको धुवाँको बादल मडारिरहेको थियो।
चार्ज नगरेको खल्तीको घामले स्वागत गर्यो। लाइटर प्याट्ट पार्दै चार्ज जोडें। घामको टुप्पो रातो देखियो।
अकथाकारका कथाकारी गफ भए। प्रेमका गफ भए। बियोगका गफ भए। आँसुका गफ भए। हुँदाहुँदै गफ उवाको गिलासतिर ढल्कन थाल्यो।
होटल साहुनीकी छोरीले त्यही बेला मिनरल वाटरको बोतलमा उवाको जिनिस र प्लेटमा कुखुराको मासु लिएर आइन्।
"चियर्सऽऽऽ" सँगै गिलास दुवैको मुखभित्र ढल्कन लाग्यो।
दार्शनिक अकथाकारले किन फ्ल्यासब्याक जोमसोम नलेख्ने निर्णय गर्यो भन्ने जिज्ञासाको सानो भेल बग्दै थियो मनभित्र। अब प्रसङ्ग बिस्तारै त्यतैतिर बगाउनुथियो मलाई।
"जोमसोमसँग तपाईँको सम्बन्ध कसरी जोडियो, मिस्टर राजकोटी?" मेरो प्रश्न थियो।
"अँऽऽऽ साँच्चि, मैले तपाईँको नाम सोध्नै बिर्सेछु बिहान। पछि होटल साहुनीलाई सोधेको, चुलबुल पाण्डे भन्दै थिइन्। कसरी भयो तपाईँको नाम चुलबुल पाण्डे?"
"नाम कसरी हुन्छ र?"
"राखेर।"
"हो त, मेरो त्यो नाम पनि राखेरै भयो। तर न्वारनको बेला पण्डितले राखेर हैन, यिनै साहुनीले राखिदिएकी हुन् त्यो नाम त। बट आइ लभ टु बी नेम्ड दिस। इट्स ओके टु टेल मी एज मिस्टर चुलबुल पाण्डे।"
"इफ सो, इट्स ओके।"
"अँ साँच्चि, मेरो र जोमसोमको सम्बन्ध कसरी जोडियो भनेर सोधेको, हैन?" भनेर गोजीबाट सूर्यको मिनिप्याक झिक्यो र मिनिप्याकभित्रको गोदामबाट फेरि दुईटा खिल्ली झिक्यो। दुईटै आफैँले सल्कायो। त्यो पनि एकैपटकमा।
हेर्दामा पनि आनन्द लाग्यो। बल्ल एउटा मेरो हातमा थमाइदियो। जुठो सिग्रेट।
गिलास फेरि अर्कोपल्ट ओंठलाई फ्रेन्च किस गर्न उठ्यो। कुखुराले झन् डेन्जर टङ किस हान्यो।
"लामो कथा छ, मिस्टर पाण्डे। सक्छौ भने मेरो यही कथालाई तिमीले जोमसोम थकालीमा लेखे पनि हुन्छ। मैले कुनै रोयल्टी दाबी गर्ने छैन। यही कथा यही ठाउँमा आएर लेख्छु भनेर आएको हुँ, तर यहाँ आएपछि निर्णय गरें मैले यो कथा मेरो नाममा लेख्दिन भनेर। यु आर फ्रि टु फिट माई स्टोरी इन योर जोमसोम थकाली। तिमीले मेरो कथा तिम्रो नाममा लेख्नु र बचाइदिनु मेरो कहानी।"
यति भन्दै गर्दा उसले मुखबाट भित्रतिर बगाएको उवाको झोल आँखाको बाटो आँसु बनेर निस्कन लागिसकेको थियो। सायद उसको कथा बगेको थियो आँखाका चेपचेपबाट।
आफ्नो कथा सुनाउन सुरु गर्दै गर्दा आँखा चिम्लियो। दुई हातले गितार बजाएजस्तो गर्यो। अनि गाउन लाग्यो—
हातमा चुरोट सलाई,
के भनेर बोलाऊँ तिमीलाई ...............
कस्तो मीठो गाएको। उसको स्वरले मलाई लठ्यायो।
सम्झिएँ—लालबहादुर खातीले के पिरमा यो गीत गाएका थिए होलान्?
सोचेँ—मिस्टर राजकोटीले कुन पिरको कथा सुनाउने होला मलाई?