आगो ओढेर
आगाकै बस्तीमा
पालेर गर्भमा आगो
पृथ्वी अडिएको छ
र
यही पृथ्वी झैँ
मडारिएका आगाका लप्काहरूको आस्वादनले
तृप्त पार्दैछन्
भोका पेटहरूले आफ्नो भोक।
एकातर्फ
यिनीहरू भोक खाएर भोक मेट्छन्
शीत ओढेर रात काट्छन्
र छर्दछन् जीउभरि पसिनाको अत्तर
तर
कदापि दिँदैनन् गिर्न आफ्नो स्वाभिमान
बरु बेलाबेलामा
आत्मदाह गरेरै भए पनि
फिर्ता गरिदिन्छन् भोकको आगो
तर निहुराउँदैनन् आफ्नो नूर।
अर्कोतर्फ
दरबारको न्यानो चौघेरामा बसी
चियर्स गर्दै ब्रान्डेड वाइनका ग्लास
जारी गर्दछन्
करको दर र जरिवानाको फर्मान
जसका घनत्वले हरेक क्षण
धनुष्टङ्कारको बिरामी झैँ हुन्छ आम मान्छे
तर पनि
अल्गोरिदमको साम्राज्यमा
दबाएरै बागी आवाजहरू
सामाजिक सञ्जालका भित्ताभरि
फैल्याउँछन् जयजयकारको आफ्नै भक्तिगान
र
उन्मत्त हुँदै आत्मरतिको आनन्दमा
त्यही आगोको लप्कामा
सत्ताका बज्र स्वाँठहरू सेकिरहन्छन्
भुईँमान्छेका सपनाका सेकुवा।३।
भोकले पोलिएका आँखाहरूमा
हिजो जस्तै अहिले पनि
दन्किरहेकै छ उस्तै आगो
जुन अग्नीज्वाला बाँचिरहेको छ
बनेर परिवर्तनकारी मसाल
र
हो त्यही आगो
जसले खरानी बनायो
कथित सदियौँदेखि थुप्रिएका
शासकका ढुंगे सिंहासनहरू
अब हेक्का राख्नु
फेरि
त्यही आगोले जलाउन सक्छ
फगत तिम्रो अहमताको दरबार
त्यति बेला हुने छैनन् तिम्रा कोही फलोअर्स
र पाउनेछैनौ आगो निभाउन
एक बुँद पनि भुईँमान्छेका आँसु।