फूलहरूलाई जीवन्त राख्ने
ए काँडाहरू,
कमलको प्राण धान्ने
हिलोका डल्लाहरू
सिङ्गो हड्डी र मासुको थुप्रो बोझलाई बोक्ने
अभागी पैतालाहरू
भोजनको मुनि दबिने
चिरागका झुप्पहरू जस्तै
चुरोटको चुस्कीमा झुन्डिएको
ओ दास फिल्टर।
आफ्नै गर्धन चिरेर सिङ्गै अग्निको रापलाई ओसारपसार गर्ने
ए काई जमेका राम दाइको ठेलाका चिया कपहरू
परदेशी पीडा र रोदनको
साक्षी एयरपोर्ट चिसा भित्ताहरू
के तिमीले उडान भर्न पर्दैन?
आऊ नेपालको सीमाभित्र लतारिएका
निमुखा रेखाहरू
आऊ एक टुक्रो नागरिकताले
ढाकिएका सुदूर दूरका छानाहरू
आऊ मनुस्मृतिको पानाभित्र दबिएका
दलित मनहरू
आऊ पितृसत्ताको ओछ्यानमा गाडिएका
निर्मलाहरूका आत्माहरू
आऊ आफ्नै सहरमा बजारिएका बमभित्र
बगिरहेका खाडीका तेल कुवाहरू
आऊ, आऊ
बिछोडको पीडामा छटपटिएका
मेरा छातीका पाटाहरूसँग
मितेरी लगाऊ
यो समयको अदालतको इजलासमा उभिएर
एक एक सवाल जवाफ गरौँ
सिक्कालाई साक्षी राख्दै
सुनाऊ दुवै पाटाले ओगटेको बराबरी हिस्साको नजिर
प्रस्तुत गरौँ
एउटै मूलबाट छुट्टिएका सिन्धु र ब्रह्मपुत्र नदीका
अविरल तथ्य
पल्टाइदिऊँ
दिन र रातको अकाट्य परिपूरक
प्रमाणहरू
खोलिदिऊ दराजका दुई ढोकाको सहअस्तित्व
देखाइदिऊ दुई ओठविना अधुरो मुस्कानको नियम
र च्यातिदिऊँ धर्ती र आकाश बिचको भद्र सहमति
खोजौँ आ-आफ्ना हिस्साहरू
यही आकाश मुनि
यही धर्तीमा।