प्रिय प्रिन्सिपल मेम
दर्के झरीमा निथ्रुक्क भिज्दै
स्कुल बस कुर्ने मेरी आमा
तातो घाममा मलाई छाता ओढाइ
आफू पसिनाले भिज्ने मेरी आमा
मेरो स्कुल भ्यान ढिलो आइदिँदा
मेरी आमा ढिलो अफिस पुग्नु हुन्छ
बेलुका रङ उडेको चेहराले भन्नु हुन्छ-
एकछिनको ढिलो एक दिनको गयल
उहाँको के दोष
हाकिम साबको गाली अनि
सहकर्मीको छड्के नजर
बर्खे होस कि हिउँदे, दसैँ होस कि तिहार
स्कुल बिदामा यो मन यसै पुलकित हुन्छ
किनकि
मलाई मेरी आमाले अफिस लिएर जानु हुन्छ
मेरो चकचकले आजित भएपछि
हार खाएर आफै बिदामा बस्नु हुन्छ
सपिङ लैजानु हुन्छ
स्विमिङ लैजानु हुन्छ
फनपार्क घुमाउनु हुन्छ
मिठो-मिठो खुवाउनु हुन्छ
बेलाबेला यस्तो लाग्छ
उहाँको जिन्दगी खै कहाँनेर छ
आफ्नो रहर मेटेर मेरा रहर पुर्याउनु हुन्छ
जे जति कमाउनु हुन्छ
मैरै लागि खन्याउनु हुन्छ
तपाईं अभिभावक भेला भन्नु हुन्छ
मेरी आमा दौडिँदै आउनु हुन्छ
स्वावलम्बी हुनुहुन्छ
स्कुल फी आफैँ बुझाउनु हुन्छ
मेरी आमाले मेरो लागि यति धेरै गरेको देख्दा देख्दै
तपाईं मेरो आइडी कार्डमा किन बुवाको नाम लेखाउनु हुन्छ?