बिदेसिने दिन
जरा काटिनु अघिको रुखझैँ
उसले अन्तिम पटक हेर्छ घर
डिलबाट।
आमाको हुक्क–हुक्क
विलीन हुन्छ आँगनमै
बिदाइ गरेझैँ
भुरभुराउँदै छन् परेवा
टिनमुनिको खोरमा।
रोएझैँ
बगेको छ
बलेँसीको पानी।
केही नभएझैँ चुपचाप
झुन्डिरहेको छन्
भित्तामा बा।
उसका बाँधिएका आकांक्षा
देशमै सपना उमार्ने थिए
आमाका चाउरी सम्म्याउने थिए
जे थिए देश भित्रैका थिए
यो परदेशमा
ऊ आफै साहु आफ्नो तनको
ऊ आफ्नै मूल्यको क्रेता
ऊ आफ्नै देहको विक्रेता
ज्युँदो शरीर लिएर आफ्नै
गर्नुपर्नेछ उसले मोलतोल
र बेच्नु पर्नेछ आफैलाई
श्रमका कोठीहरूमा
सोही बजारमा
आफ्नै सपनासँग थोत्रिएर
लस्करै उभिइरहेछन्
जरा उखेलेका रुखहरू
बेचिनलाई।
जेठाहरूले जरा काढे परार
माइलाहरूले पोहोर,
अहिले
नर्सरीबाट उखेलिएर
भाग्दैछन् कान्छाहरू।
हरेक वर्ष यसरी नै
निर्लिप्त हेर्न विवश छन् आमाहरू।
अग्ला-अग्ला महलमाथि
अग्लिँदै–अग्लिँदै गर्दा
साँघुरिँदै जान्छ फराकिलो आकाश
कसिँदै जान्छ फराकिलो मन।
सोध्छन् मौन प्रश्न आफैसँग–
हामी देश बिनाको भयौँ?
कि देश हामी बिनाको?
यदि पसिनाले
भाग्य जित्यो भने
ऊ आउनेछ
काँचुली फेर्न स्वदेश
खनिने जमिन खोज्दै
निस्किएर प्राणपखेरु
प्रस्थान गरेछन् भने
भूलोकतर्फ
ल्याउनेछन् उसलाई
गाडिने जमिन खोज्दै।
वर्षौँपछि
पर्दाको आँखीझ्यालमा उघ्रिन्छ
सोही घर–
थुपुक्क, बेरिएर, धुलिएर
खोरमा छन् परेवा,
सुकेर टाटिएर
कटकटिएको बलेँसी,
चाउरिएर मुजा परेका
सुख्खा आँखा
डिलबाट भित्तामा पर्छन्–
जहाँ झुन्डिएको छ
श्रीमान् र छोराको तस्बिर।