कोमलपुरमा महामहिम भीष्म प्रताप सिंह नामका अत्यन्तै कुशल, निडर र प्रतापी राजाको शासन थियो। कमलको फूलको गर्भबाट कोमल नामकी कन्या जन्मिएकी भन्ने जनश्रुति रहेकाले त्यस राज्यको नाम कोमलपुर रहन गएको थियो।
आफ्ना पुर्खाले आर्जन गरेको मुलुकमा समृद्धि ल्याउने विचारले महाराज भीष्म प्रायः छटपटाइरहन्थे। उनको मन्त्रीमण्डलमा पनि राज्यको विकास र समृद्धिका लागि विभिन्न योजनाबारे दैनिक छलफल हुन्थ्यो। प्रजाको सुख, राज्यको उन्नति र मातृभूमिको रक्षा नै उनको शासनको मूल उद्देश्य थियो।
एक दिन छिमेकी राज्यका राजदूत दरबारमा आइपुगे। उनको हाउभाउ र अनुहारको भावमा असामान्य कठोरता झल्किन्थ्यो। उनले आफूसँग एउटा सन्देश ल्याएका रहेछन्। दरबारमा उपस्थित राजा, मन्त्री र अन्य भारदारहरूका सामुन्ने उनले सन्देशपत्र खोलेर धम्कीपूर्ण स्वरमा पढ्न थाले।
‘छिमेकी राज्य कोमलपुरका राजा भीष्म प्रताप सिंह!
हामीले आफ्नो राज्य विस्तार गर्दै आएको कुरा तिमीलाई अवश्य थाहा होला। राज्यको शक्ति बढाउन हामीले वरपरका ससाना राज्यहरूलाई आफ्नो अधीनमा ल्याएका छौँ। भद्रपुर, स्वर्णनगर र सोपुलगायतका राज्यहरूलाई पराजित गरी हाम्रो साम्राज्यमा समाहित गरिसकेका छौँ। अब हाम्रो विजय अभियानले तिम्रो राज्यलाई पनि समेट्नेछ। त्यसैले आत्मसमर्पण गरी आफ्नो राज्य हामीलाई बुझाऊ र आफ्नो प्राणको रक्षा गर। अन्यथा, तिमीलाई पराजित गरी तिम्रो अस्तित्व समाप्त पारिनेछ। यसका लागि हामी तिमीलाई सात दिनको समय दिन्छौँ।’
सन्देश पढेर सकिने बित्तिकै महाराज भीष्मको अनुहार क्रोधले रातो भयो। उनले एक हातको मुठ्ठी कसे र अर्को हात तरबारको दापमा राख्दै राजदूतलाई गर्जेर जवाफ दिए,
‘जा, गएर आफ्नो महाराजलाई भनिदे,मेरो मुलुकमाथि गिद्धेदृष्टि लगाउनेको शिर झुक्नेछ, तर मेरो मातृभूमिको शिर कहिल्यै झुक्नेछैन। तिम्रो महाराजले यो भूमिलाई कब्जा गर्ने सपना नदेखे हुन्छ। यहाँ उसको पाइला पर्यो भने कोमलपुरका वीरहरूले त्यसलाई धुलो चटाउनेछन्। हामी आफ्नो मातृभूमिको रक्षाका लागि अन्तिम साससम्म लड्नेछौँ!’
दरबारमा महाराज भीष्मको गर्जन गुन्जियो। उनको क्रोध र दृढताले दरबारको वातावरण तनावग्रस्त बन्यो। राज्यभरि कौतूहल र त्रास फैलिन थाल्यो। प्रजाहरू सम्भावित युद्धको भयले चिन्तित थिए। मन्त्रीहरू भावी रणनीतिबारे छलफल गर्न थाले भने सैनिकहरू युद्धको तयारीमा जुटे।
मातृभूमिमाथि सङ्कट आइलाग्दा शत्रुसामु आत्मसमर्पण गर्नु भनेको आफ्नी आमाको विश्वासमाथि प्रहार गर्नु हो भन्ने भीष्मको दृढ विश्वास थियो। त्यसैले मृत्युको भयले मातृभूमिप्रतिको कर्तव्यलाई परास्त गर्न सक्दैनथ्यो।
कराज्यभरि युद्धको तयारी हुन थाल्यो। लोहारहरू हतियार बनाउन व्यस्त भए। सैनिकहरू अभ्यासमा जुटे। प्रजाहरूले पनि आफूले सकेको सहयोग गर्न थाले। कोही खाद्यान्न जुटाउँदै थिए, कोही घाइतेहरूको उपचारका लागि आवश्यक सामग्रीको व्यवस्था गर्दै थिए। समग्र कोमलपुर सम्भावित युद्धको सामना गर्न एकजुट हुँदै थियो।
यसैबिच, एक रात दरबारको शयन कक्षमा महारानी सोमती आफ्ना दुधेबालक राजकुमारलाई स्तनपान गराउँदै थिइन्। उनको मनमा अनेकौँ आशङ्का खेलिरहेका थिए। बाहिरको अशान्त वातावरण र आसन्न युद्धको भयले उनी व्याकुल थिइन्।
उनले महाराज भीष्मतिर हेर्दै भनिन्, ‘महाराज, मेरो मनमा अनेकौँ कुराहरू खेलिरहेका छन्। हामीले कस्तो परिस्थितिको सामना गर्नु परिरहेको छ! के हाम्रो सुखी र शान्त राज्य अब युद्धको आगोमा जल्नेछ?’
भीष्मले उनलाई सान्त्वना दिँदै भने, ‘तिमी अलिकति पनि नडराऊ, प्रिय। शत्रुहरूले हाम्रो मुलुकमाथि गिद्धेदृष्टि लगाएका छन्। शान्ति र समृद्धिको मार्गमा अघि बढिरहेको हाम्रो राज्यलाई ध्वस्त पार्न खोज्नेहरूलाई म सफल हुन दिनेछैनँ। भगवान्ले हाम्रो परीक्षा लिइरहनुभएको छ भन्ने मलाई लाग्छ। यो सङ्कट पनि अवश्य टर्नेछ।’
सोमतीको अनुहारमा चिन्ता अझै हटेको थिएन। उनले आफ्नो काखमा रहेको बालकलाई हेर्दै भनिन्, ‘स्वामी, म यति आत्तिएकी छु कि आफ्नो मनको व्यथा शब्दमा व्यक्त गर्न सक्दिनँ। हजुरको साहस र सामर्थ्यमा मलाई रत्तीभर सन्देह छैन। तर हाम्रो सानो छोरो छ, राज्यका प्रजाहरू त्रसित छन्। हजुर हामी सबैका अभिभावक हुनुहुन्छ। भगवान्ले हजुरलाई केही हुन नदिउन्।’
भीष्मले रानीको हात समात्दै उनलाई ढाडस दिए। तर उनको मनमा पनि राज्यको भविष्य र प्रजाको सुरक्षाप्रति गम्भीर जिम्मेवारीबोध थियो। उनले आफ्नो कर्तव्यबाट पछि नहट्ने सङ्कल्प गरिसकेका थिए।
नभन्दै, केही दिनपछि कोमलपुरमा हल्लाखल्ला मच्चियो।
‘महाराज! आक्रमण भयो! शत्रुका सैनिकहरू राज्यभित्र प्रवेश गरिसके!’
सैनिकको चर्को आवाजले दरबारको शान्त वातावरण एकाएक भङ्ग भयो। भीष्मले महारानी सोमती र काखमा रहेको बालकलाई एक पटक नियाले। त्यसपछि दृढतापूर्वक सैनिकहरूसामु उभिएर भने,
‘वीर सैनिकहरू! आज हामी आफ्नी आमाका लागि लड्दै छौँ। हाम्रो मातृभूमिको रक्षा गर्नु हाम्रो धर्म हो। आफ्नो भूमि, आफ्नो स्वाभिमान र आफ्ना प्रजाको सुरक्षाका लागि अन्तिम साससम्म लड्नु! शत्रुसामु कदापि घुँडा नटेक्नु!’
‘जय भवानी! मातृभूमिको जय!’ सैनिकहरूको गर्जनले दरबार र आसपासको वातावरण गुञ्जायमान भयो।
त्यसपछि युद्ध सुरु भयो।
कोमलपुर र आक्रमणकारी सेनाबिच भयानक युद्ध भयो। तरबार र भालाहरू ठोक्किए, धनुषबाट बाणहरू छुटे र रणभूमिमा सैनिकहरूको चित्कार गुन्जिन थाल्यो। केही क्षण अघिसम्म जीवनले भरिएका बस्तीहरूमा आगो फैलियो। चारैतिर विनाशको दृश्य देखिन थाल्यो। आफ्ना प्रियजन खोज्दै मानिसहरू विलाप गरिरहेका थिए। बालबालिकाको रुवाइ र घाइतेहरूको चित्कारले वातावरण शोकाकुल बन्यो। मानिसहरूका घर, सपना र वर्षौँको मेहनत युद्धको आगोमा खरानी हुँदै थिए।
भीष्म प्रताप सिंह आफ्ना सैनिकहरूसँगै रणभूमिमा डटिरहे। उनले आफ्नो राज्य र प्रजाको रक्षाका लागि भरमग्दुर प्रयास गरे। तर शत्रुको सेना सङ्ख्यामा ठुलो थियो र युद्धको अवस्था क्रमशः कोमलपुरको प्रतिकूल बन्दै गयो। एकपछि अर्को गर्दै कोमलपुरका वीर सैनिकहरू ढल्न थाले।
अन्ततः कोमलपुरले आफ्नो अभिभावक गुमायो। युद्धभूमिमा लड्दालड्दै महाराज भीष्म प्रताप सिंहको निधन भयो। उनका मन्त्री-महामन्त्रीहरू पनि मारिए। दरबार शत्रुको नियन्त्रणमा गयो र राज्यका विभिन्न बस्तीहरूमा विनाश मच्चियो। कोमलपुरको प्रतिरोध कमजोर हुँदै गयो र अन्ततः राज्य शत्रुको अधीनमा पुग्यो।
महारानी सोमतीलाई नियन्त्रणमा लिएर नजरबन्दमा राखियो। आफ्नो पति गुमाएको पीडा, राज्यको विनाश र भविष्यको अनिश्चितताले उनी विक्षिप्तझैँ भएकी थिइन्। काखको बालकलाई हेर्दा उनको मन झन् भारी हुन्थ्यो। जुन राज्यमा केही दिनअघिसम्म समृद्धिका सपना देखिन्थे, त्यही राज्य अहिले शोक र निराशामा डुबेको थियो।
उता सम्राट् अशोकको विजयगान गुन्जिन थाल्यो। विजयी सेनाले उत्सव मनाउन थाल्यो। तर कोमलपुरवासीका लागि त्यो विजय उत्सव थिएन; त्यो उनीहरूको पीडा, वियोग र पराजयको समय थियो। आफ्ना प्रियजन गुमाएका परिवारहरू शोकमा डुबेका थिए। महारानी सोमतीको दुःखको कुनै सीमा थिएन। कोमलपुरका बासिन्दाका लागि सम्राट्को विजयले कुनै खुसी ल्याएको थिएन।
केही समय बित्दै गयो। नयाँ दरबार निर्माण हुन थाल्यो, बस्तीहरू फेरि उठ्न थाले र बजारमा चहलपहल फर्किन थाल्यो। बाहिरबाट हेर्दा कोमलपुर बिस्तारै सामान्य अवस्थामा फर्किरहेको देखिन्थ्यो। तर युद्धका घाउहरू पूर्ण रूपमा निको भएका थिएनन्। असङ्ख्य परिवार आफ्ना प्रियजन गुमाएको पीडामा रोइरहेका थिए। पुनर्निर्माण हुँदै गरेका घरहरूले भौतिक क्षतिको पूर्ति गर्न सक्थे, तर मानिसहरूको मनमा परेको चोट मेटाउन सक्दैनथे।
युद्धमा विजय हासिल गरेका सम्राट् अशोकलाई आफ्नो अधीनमा आएको राज्यको वास्तविक अवस्था बुझ्ने इच्छा भयो। त्यसैले उनी भिक्षुको भेष धारण गरी नगरका विभिन्न बस्तीमा निस्किए। बजारमा चहलपहल फर्किन खोज्दै थियो। मानिसहरू आआफ्ना काममा व्यस्त देखिन्थे, तर उनीहरूका अनुहारमा युद्धले छाडेको थकान र पीडाका चिह्न अझै बाँकी थिए।
बजारबाट केही पर पुगेपछि अशोक एउटा पुरानो घरअगाडि पुगे। घरको अवस्था अत्यन्तै नाजुक थियो। भित्ताहरू ठाउँठाउँमा भत्किएका थिए र छानासमेत जीर्ण देखिन्थ्यो। घरको अवस्थाले त्यहाँ बस्ने परिवारको दरिद्रता प्रस्ट्याउँथ्यो।
‘भवति, भिक्षां देही!’
कोही बाहिर आएन।
‘भवति, भिक्षां देही!’
यस पटक एउटी सानी बालिका बाहिर निस्की। उसले पुराना र ठाउँठाउँमा फाटेका कपडा लगाएकी थिई। पर्याप्त पोषणको अभावले उसका गाला भित्र पसेका थिए। उसको सानो शरीर र मलिन अनुहारले अभावको कथा सुनाइरहेका थिए।
‘पर्खनुस् है, हजुरआमाले ल्याउँदै हुनुहुन्छ,’ उसले भनी।
भिक्षुको भेषमा रहेका सम्राट्ले सोधे, ‘घरमा अरू कोही छैनन् त?’
‘शत्रुहरूलाई धपाउन जानुभएको छ।’
‘को हुन् शत्रु?’
‘हाम्रो घर जलाउनेहरू हुन्।’
‘यो घर त जलेको छैन नि!’
‘सबैतिर आगो लागेको थियो।’
‘कहाँ?’
‘देशमा।’
बालिकाको सरल उत्तर सुनेर सम्राट् केही क्षण मौन रहे। त्यसपछि उनले फेरि सोधे, ‘तिमीलाई डर लागेन?’
‘लागेन।’
‘किन?’
‘राजाले हाम्रो रक्षा गर्नुहुन्छ।’
‘कसले भन्यो?’
‘बाले।’
बालिकाको उत्तरमा आफ्नो राजाप्रतिको अटुट विश्वास झल्किन्थ्यो। तर उसलाई के थाहा, उसको देशमा भएको विनाशको जिम्मेवारी बोकेको व्यक्ति नै उसको अगाडि भिक्षुको भेषमा उभिएको थियो।
त्यत्तिकैमा एउटी वृद्धा बाहिर आइन्। उमेर र अभावले उनको शरीर निकै कमजोर बनाएको थियो। तैपनि उनले भिक्षा माग्न आएका भिक्षुलाई रित्तो हात फर्काइनन्। घरमा भएको थोरै अन्नमध्ये केही भाग छुट्टाएर उनको झोलामा राखिदिइन्। आफैँ अभावमा बाँचिरहेकी ती वृद्धाले देखाएको उदारताले सम्राट्को मन छोयो।
त्यो घरबाट निस्किएपछि सम्राट् अशोकको मनमा अनेकौँ प्रश्न उठ्न थाले। आफूले जितेको युद्धले कसका लागि विजय ल्याएको थियो? राज्यको सीमा विस्तार गर्नु र शत्रुलाई पराजित गर्नु नै विजय थियो भने ती निर्दोष मानिसहरूको पीडाको मूल्य के थियो? दरबार र बजार फेरि उठ्दैमा देशले आफ्नो पुरानो स्वरूप प्राप्त गरेको थियो त?
यी प्रश्नको उत्तर खोज्दै उनी युद्धले उजाडेका बस्तीहरूमा भौँतारिइरहे। कतै भत्किएका घरहरू थिए, कतै आफ्ना प्रियजन गुमाएका परिवारको विलाप सुनिन्थ्यो। कतै घाइते सैनिकहरूको उपचार हुँदै थियो भने कतै मृतकहरूको अन्तिम संस्कार गरिँदै थियो। आफूले मच्चाएको विध्वंसका अवशेषहरू नियाल्दै गर्दा उनलाई आफ्नो विजयको अर्को पाटो देखिन थाल्यो। जुन भूमिलाई जितेर उनी सम्राट् बनेका थिए, त्यही भूमि मानिसहरूका आँसु, पीडा र वियोगले भरिएको थियो।
राजाले आफ्नो रक्षा गर्नुहुन्छ भन्ने विश्वास बोकेकी ती सानी बालिकाको अनुहार उनको मनमा बारम्बार आइरह्यो। आफ्नो घर जलाउनेहरूलाई शत्रु ठान्ने त्यस बालिकालाई के थाहा थियो र, उसको देशमा भएको विनाशको पछाडि स्वयं सम्राट्को विजय थियो। आफूलाई रक्षक ठान्ने जनताका जीवनमा आफ्नै विजयले कति ठुलो क्षति पुर्याएको थियो भन्ने कुरा अशोकले गहिरोसँग महसुस गर्न थाले।
युद्धले सम्राट् अशोकको मनमा गहिरो पश्चात्ताप जन्माएको थियो। युद्धपछिको विनाश र मानवीय पीडाले उनलाई हिंसात्मक विजयको अर्थबारे पुनर्विचार गर्न बाध्य बनायो। त्यसपछि उनले धम्म, करुणा र अहिंसालाई आफ्नो शासनको महत्त्वपूर्ण आधार बनाउन थाले। आफ्नो विजयलाई केवल पराजित शत्रु र अधीनमा ल्याइएको भूमिका आधारमा होइन, मानिसहरूको कल्याण र शान्तिका आधारमा हेर्ने प्रयास गरे।
भनिन्छ, युद्धमा विजय हासिल गर्नु सम्राट्को सामर्थ्य थियो, तर त्यस विजयले निम्त्याएको पीडा बुझ्नु उनको आत्मबोधको सुरुवात बन्यो। सायद, एउटा सानी बालिकाको सरल उत्तरले उनलाई विजयको वास्तविक अर्थ बुझ्न थप मद्दत गरेको थियो।