प्रभातका किरण छानोबाट छिरेर
बिहानीको संकेत दिँदा पनि ऊ उठ्न सकिरहेको छैन
सयनकक्ष मानौँ एक भग्न सपनाहरूको गोदाम हो,
दैनन्दिन उपभोग्य सामग्री मुर्दाहरू लडेझैँ छन्।
थकित तन मात्र छैन
मन पनि थेग्नै नसक्ने उर्मिसंगम बनेको छ।
भालेको पहिलो डाँकोमै पँधेरामा निस्केकी अर्धाङ्गिनी
अब क्लान्त काया लिएर टुप्लुक्क आइपुग्छिन्।
‘हर्केका बा उठ, बखतेको घर ऋण लिन जाऊँ
आज बा’को वर्षदिनको श्राद्ध हो!’
उनी अभावको चुलोका भाँडाकुँडा समेट्दै
अन्नको गेडो नभएको बताउँछिन्।
छोरो तीन वर्ष पुग्दा नपुग्दै
फोक्सोको सूजनले पञ्चत्वमा विलीन भए पनि
ऊ अझै हर्केको बा’ हो।
क्षीण देह उठाउँदै बखतेको घरतर्फ लाग्छ ऊ
अन्तरमा किनमेलका फूल उन्दै;
कर्तव्यपरायणताले जिजीविषाको आभा छाएको छ-
भलै मन व्यथित किन नहोस्
र,
जीवनको साँझ-बिहानीमा अस्ताउँदो घामको
चिन्तन गर्नेलाई उसको जीवनले
हुंकार दिइरहेको छ!