राहत मनग्गे आयो, सोध्छौ खुसी हुनुहुन्छ नि
दुई छाक खान दियौ, सोध्छौ खुसी हुनुहुन्छ नि
लत्ता कपडा बाँड्यो, सोध्छौ खुसी हुनुहुन्छ नि
पैसा बाँड्यौ, सोध्छौ खुसी हुनुहुन्छ नि
कसरी हाँस्न सक्छ कोही
यति दिएँ र उति लिएँ भनेर!
हुर्केको घर, खेलेका आँगन बनेको छ बगर
सुत्ने घरको छानो, उजाडिएर देखिएको छ सगर
अनि सोध्छौ, अहिले ठिकै छ नि?
आँखै अघिको
त्यो कालो-मैलो गडगडाएको भेल
घरसँगै बगाएका ती परिवार
अनि तिनका अधुरा सपना
हप्तौँ भोकाएका जीर्ण शरीर
हिलोमा लतपतिएका बिपना
लिएर एकोहोरो टोलाइरहेको
मस्तिष्कको सन्नाटा
कसरी शान्त पार्न सक्छौ?
अनि सोध्छौ, अहिले ठिकै छ नि?
तिमीले दिएका दान र राहतले त
पीडाको घाउमा अलिकति मलम त लगाउला
सोसियल मिडियामा तिमी पोस्टाउला
टिकटक बनाउला
तिमीलाई त गौरवान्वित गर्ला
अनि सोधौला, अहिले ठिकै छ नि?
तर
उजाडिएको जीवन,
हराएका परिवार,
फेरि कसरी फर्काउला?
ती घर, बस्ती अनि बजार
पुनः निर्माण त गरौला
तर बस्तीका ती मानिसहरू
कहाँबाट ल्याएर भरौला?
अचम्म लाग्छ,
देश रोइरहेको बेला
तिमी कसरी खेल खेल्न सक्छौ?
बगाएका लास अझै पुरिएका बेला
तिमी पार्टी फुटाउन र जोडाउनमा
तल्लीन देख्दा
लाग्छ, मानवता हराएकै हो त?
मानवता हराएका देश
कसरी गन्तव्यमा पुग्न सक्छ?
कसरी भनूँ,
मेरो देश यसरी चल्न सक्छ
यसरी देश बन्न सक्छ!