तीन सोह्रको जिन्दगी ‘हाँस्दै, रुँदै फेरि हाँस्दै’
आज मेरो ४९ औँ जन्मदिन, केक काट्ने उमेर मात्र होइन,
जिन्दगीले काटेका चोटहरूको हिसाब मिलाउने दिन पनि हो,
सोचेँ ४८ लाई तीन टुक्रा पारौँ, सोह्र वर्षका तीन अध्याय बनाऔँ
जिन्दगी पनि स्कुलको कक्षाजस्तै रहेछ, कहिले पास कहिले फेल,
तर परीक्षा चाहिँ कहिल्यै सकिँदैन रहेछ।
पहिलो सोह्र ‘गाउँ, लट्ठी र निर्दोष बदमासी’-
टाढाको त्यो गाउँ गुगल म्यापभन्दा, हजुरबुबा-हजुरआमाको औँला भरपर्दो
बाटो कच्ची, खुट्टा नाङ्गै तर सपना चाहिँ आकाशभन्दा ठुलो
विद्यालय पुग्न घडीले होइन, घामले समय बताउँथ्यो
कहिले किताब बोकिन्थ्यो, कहिले किताबभन्दा भारी
दाउरा, घाँस र मलको भारी बोकिन्थ्यो
साथीहरू पनि गजबका, आजको बेस्टफ्रेण्ड होइन
भोलि रिसायो भने ‘तँ मेरो साथी नै होइनस्’
भनेर सम्बन्ध टुङ्ग्याउने त्यो जमाना थियो
तर भोलिपल्ट फेरि एउटै मोजाको भकुन्डो खेलिन्थ्यो
एउटै धारामा नुहाइ, एउटै बाटोमा विद्यालय, मित्रता फेरि रिन्यु
ठुला मान्छेले सिकाएको ज्ञान किताबमा थिएन
तर सिकाइ चाहिँ सिधै मनमै लेखिन्थ्यो
लट्ठीका दुई–चार लाइन आजसम्म पनि डिलिट भएका छैनन्,
गल्ती गरियो भने ‘किन गरिस्?’ भन्दा पहिले ‘कसले सिकायो?’
खोजिन्थ्यो अनि दोषी भेटिएन भने आफैँ नै दोषी भइन्थ्यो
त्यो बेला सम्बन्धको अर्थ बुझिएन, सम्बन्ध निभाउन जानिन्थ्यो
दाजु–भाइको गालीमा माया, छरछिमेकको कराइमा चिन्ता
गुरुको डरमा अनुशासन, साथीको बदमासीमा जिन्दगीभर सम्झिने कथा
त्यो सोह्र वर्षमा हामीसँग पैसा थिएन, मोबाइल थिएन, फेसबुक थिएन
तर एउटा कुरा थियो, मान्छे भेट्दा मान्छे नै भेटिन्थ्यो।
दोस्रो सोह्र ‘पढाइ, संघर्ष, विवाह र ‘सबै ठिक छ’ भन्ने अभिनय’-
गाउँको धुलोबाट उच्च शिक्षाको बाटोतिर लागियो
सोचियो ‘अब जिन्दगी सजिलो होला’
जिन्दगीले मुस्कुराएर भन्यो ‘ल, अब मेरो असली परीक्षा सुरु’
उच्च शिक्षा पढियो, केही थान डिग्री थपियो, ज्ञान बढ्यो
तर खर्चको हिसाब गर्दा ज्ञानले पनि टाउको समात्यो
परिवार बस्यो, सम्बन्ध जोडिए, ‘म’ बिस्तारै ‘हामी’ हुँदै गयो
घर चलाउनु गणितभन्दा गाह्रो रहेछ, यहाँ दुई–दुई सधैँ चार हुँदैन रहेछ
कहिले श्रीमतीको कुरा सही, कहिले आफ्नो कुरा सही, तर अन्तिममा
दुवै सही भए पनि कसले पहिले बोल्ने, त्यो चाहिँ ठुलो अनुसन्धानमै रह्यो
परिवारको विवाहमा आफ्नो भन्दा अरूको खुसी ठुलो
छोराछोरीको भविष्यमा आफ्नो वर्तमान सानो
कसैको विवाहमा नाचियो, कसैको व्रतबन्धमा हाँसियो
कसैको दुःखमा रोइयो, तर आफ्नो थकान चाहिँ ‘म ठिक छु’ भन्दै लुकाइयो
छोरा–छोरी हुर्किए पढे बढे, खर्च पनि हुर्कियो बढ्यो
चिन्ता पनि हुर्कियो बढ्यो, आमाबाबुको ‘हाम्रो बच्चा ठुलो भयो’
भन्ने खुसी त्यसभन्दा ठुलो भयो।
तेस्रो सोह्र ‘समाज, स्वास्थ्य, डर र अन्ततः अब म पनि’-
तेस्रो सोह्र वर्षमा मैले समाजलाई धेरै नजिकबाट हेरेँ
सबैको कुरा सुनेँ, सबैलाई मिलाएँ, खुसी पार्न खोजेँ, अन्ततः थाहा भयो
सबैलाई खुसी पार्ने सौभाग्य भगवानले पनि पाएका छैनन्
समाजले भन्यो ‘यसरी गर्’ गरेँ, फेरि भन्यो ‘त्यसरी किन गरिस्?’
सोचेँ ‘अनि अघिल्लो पटक तपाईंले नै त भन्नुभएको’
के भन्लान् भनेर डराइयो पछि बुझियो मान्छेले जे भए पनि भन्छन्
खुसीमा पनि भन्छन्, दुःखमा पनि भन्छन्, चुप लाग्दा पनि बोल्दा पनि भन्छन्
त्यसैले अन्ततः निर्णय गरियो, ‘अब मान्छेले के भन्छन् भन्दा पनि
मेरो मनले के भन्छ भन्ने सुनौँ’, त्यति बेला जिन्दगीले अर्को परीक्षा दियो
बिचमा स्वास्थ्यले पनि भन्यो, ‘मलाई पनि सम्झेको छस् कि छैनस्?’
अस्पतालको बेड, औषधिको बिल, घरको चिन्ता, परिवारको जिम्मेवारी
जिन्दगीले सबै विषय एकैपटकको परीक्षा बनायो
तर हामी पनि कम थिएनौँ ‘रुँदै भए पनि हाँस्यौँ’
थाक्दै भए पनि दौडियौँ, ढल्दै भए पनि उठ्यौँ
कहिलेकाहीँ लाग्थ्यो भयो ‘अब पुग्यो’ अर्को बिहान फेरि उठेर भनियो
‘ल, आज पनि जिन्दगी चलाऔँ’, स्वास्थ्यले साथ छोड्यो
प्रिय आफन्तहरू छुटे, केही प्यारा सम्बन्धहरू सम्झनामा मात्र बाँकी रहे
जसलाई सधैँ साथमा देखिन्छ भन्ने लाग्थ्यो
उनीहरू नै एकदिन फोटोमा मात्र बाँकी रहने रहेछन्
त्यो पीडा कवितामा लेखेर सकिँदैन, आँसु झारेर पनि सकिँदैन
तर समयले एउटा कुरा सिकायो, जिन्दगी उधारोमा पाइँदैन
आजको दिन आजै बाँच्नुपर्छ, मैले जीवनको प्राथमिकता फेरेँ
पहिलो नम्बरमा ‘म, मेरो मन र मेरो परिवार’
दोस्रो नम्बरमा ‘मसँग दैनिक सुख–दुःख बाँड्ने आफ्नै छरछिमेक समाज’
तेस्रो नम्बरमा ‘हामीलाई साँच्चिकै साथ दिने, ती थोरै तर अमूल्य जीवनहरू’
बाँकी? बाँकीलाई ‘भगवानको जिम्मा’
अब कसैले भने ‘तिमी पहिले जस्तो रहेनौ’
म भन्छु ‘ए हो र? रहिनँ, के गर्ने त
किनकि पहिले म सबैका लागि बाँचेँ
अब म पनि आफ्नो जीवनको एउटा हिस्सा बाँच्दै छु।’
अनि आयो नयाँ जीवन ‘४८ को नयाँ अध्याय’-
यी पछिल्ला दुई वर्षमा जिन्दगीले फेरि ढोका ढकढकायो
मैले ढोका खोलेँ ‘बाहिर समस्या त थिए’
तर भित्र म ‘पहिलेको जस्तो डराएको मान्छे थिइनँ’
अब समयको मूल्य थाहा छ, स्वास्थ्यको मूल्य थाहा छ
परिवारको मूल्य थाहा छ, साँचो सम्बन्धको मूल्य थाहा छ
अब खुसी हुन अरूको अनुमति चाहिँदैन
कहिलेकाहीँ एक्लै हाँसिन्छ, कहिलेकाहीँ परिवारसँग रमाइन्छ
कहिलेकाहीँ समाजसँग बसेर, चिया पिउँदै संसार सुधारिन्छ
अनि आफ्नो लक्ष्य? अब लक्ष्य अरूले बनाइदिएको होइन
आफ्नै मनले बनाएको छ, ढिलो होला, बाटो घुमाउरो होला
कहिलेकाहीँ फेरि लडिएला, तर यस पटक दिशा आफ्नै छ
४९ वर्ष लागेँ भनेर बुढो भएको घोषणा गर्दिनँ
बरु म भन्छु ‘पहिलो १६ ले मलाई चिनायो’
‘दोस्रो १६ ले मलाई सिकायो’, ‘तेस्रो १६ ले मलाई बदल्यो’
अब आउने वर्षहरूलाई, उमेरको हिसाबले होइन
उपलब्धि र खुसीको हिसाबले गन्नेछु
केकमा ४९ वटा मैनबत्ती बाल्दा, धुवाँ धेरै होला तर चिन्ता छैन
जिन्दगीमा धुवाँ धेरै देखेको छु, आगो निभाउन पनि जान्दछु
आज मेरो ४९ औँ जन्मदिन, न म विगतसँग रिसाएको छु
न भविष्यसँग डराएको छु, विगतलाई धन्यवाद
वर्तमानलाई स्वागत, भविष्यलाई चुनौती
‘आऊ, अब हेरौँ अझै कति रमाइलो गर्न बाँकी रहेछ
जन्मदिनको अन्तिम हिसाब, पहिलो सोह्र ‘निर्दोष बदमासी’
दोस्रो सोह्र ‘जिम्मेवारीको भारी’, तेस्रो सोह्र ‘पीडा, परिवर्तन र आत्म बोध’
र अब? अबको सोह्र ‘आफ्नो जीवन, आफ्नो परिवार, आफ्नो समाज
आफ्नो खुसी… र आफ्नै लक्ष्य…।’
अरूले के भन्छन् ‘त्यो उनीहरूको अधिकार’, म के गर्छु ‘त्यो मेरो जीवनको अधिकार’
४८ वर्षको यात्रालाई सलाम, बाँकी यात्रालाई स्वयंबाट शुभ-कामना
र आजको दिनलाई एउटै घोषणा-
अब जिन्दगी केवल काट्ने होइन, मन खोलेर बाँच्ने हो।’