आश्रमको बैठक कक्षमा सबै भेला भएका थिए। जीवनका गोरेटोहरूमा एक्लिएका अनुहारहरूको त्यो हुल, समयको कठोर चक्रले किनार लगाएकाहरूको एक जीवन्त दस्तावेजझैँ देखिन्थ्यो।
कोही अधबैंसे उमेरमै निराश अनुहारमा वैराग्य पोतेर बसेका, कोही जीवनका कठोर आरोहअवरोह काटेर थकित भएका पाकाहरू, त कोही आफ्नै कोखका साना नानीबाबुहरूलाई काखमा च्यापेर भविष्यको शून्यतातिर टोलाइरहेका युवती आमाहरू थिए- जसको उपस्थिति आफैमा एउटा मौन चित्कार थियो।
आश्रमको चार पर्खालभित्र करिब पचास-साठी जनाको उपस्थिति थियो, तर त्यो भीडमा न कुनै अपनत्वको उल्लास थियो, न अर्थपूर्ण लय।
कोही स-साना अर्थहीन कुरामा एक-आपसमा गफिँदै थिए, अधिकांश भने चङ्गा चेट भएपछि लट्टाई मात्र हातमा लिएर बैरागिएझैँ भित्तातिर हेर्दै एकोहोरिएका देखिन्थे। त्यहाँका सबैलाई पालैपालो नियाल्दै गएँ। सुख्खा आँखा, मलिन अनुहार, कलेटी परेका ओठ, जिङ्गरिङ्ग कपाल... यस्तै–यस्तै हुलियामा थिए। कोही मानसिक सन्तुलन गुमेकाजस्ता आफ्नै सुरमा हाँस्ने, बरबराउने त कोही अत्यन्त गम्भीर।
'के–के बितिरहेको होला यिनीहरूको मनमा' भन्ने सोचाइ आयो।
सानैदेखि सबै मानिससँग बोलौँ, सुखदुःख, विचार, भावना, भोगाइ र अनुभूति बाँडौँजस्तो लाग्ने। त्यसैले होला सबै परिचित, सबै आफन्त, सबै साथी थिए मेरा लागि। यत्तिकैमा एक जना पचपन्न–साठी वर्षजतिकी महिलासँग मेरो नजर जुध्यो। उनी मुसुक्क मुस्कुराइन्। मैले पनि मन्द मुस्कान फालें। हाम्रो मौन संवाद भयो।
जन्मदिनमा बालेका मैनबत्ती निभाएर गरिने विकृत उल्लास र केकको कृत्रिम मिठासभन्दा पर, वृद्धवृद्धाहरूको उदासीमा आफ्नै हातले एकछाक न्यानोपन पस्कने र उनीहरूसँग केही पल साट्ने मनसाय बोकेर म त्यहाँ पुगेको थिएँ।
आश्रमका व्यवस्थापकले सबैलाई जम्मा हुन निर्देशन दिए।
दियो, कलश, पुष्पगुच्छा, प्रमाणपत्र र खादा ठिक्क पारिएको टेबलअगाडि मलाई बसाइयो।
मैले 'यस्तो औपचारिकता र तामझाम पर्दैन' भन्दै अस्वीकार गर्ने प्रयास गरेँ, तर उहाँहरूको स्नेह र जिद्दीसामु म नतमस्तक भए।
अष्ट चिरञ्जीवी मन्त्रोच्चारणसहित मङ्गलधुन गुञ्जियो। मलाई जन्मदिनको शुभकामना दिइयो। क्यामेराका फ्ल्यास चम्किए केही थान तस्वीर कैद भए। उपस्थित सबैका मुहारमा छचल्किएको त्यो निस्वार्थ भाव, निर्दोष व्यवहार, उन्मुक्त खुसी देख्दा जीवनका अनगिन्ती पीडाहरू सहेका ती निरीह आँखाहरूबाट ममाथि अनन्त आशीर्वाद बर्सिरहेको आभास भयो।
खाना खाने बेला भयो। कोही खानापछि औषधि खानुपर्ने रोगी थिए। कोहीलाई खाना खानुअघि औषधि खाए–नखाएको सोधेर सम्झाउनुपर्ने। खसीको मासु, मासु नखानेलाई माछा र शाकाहारीलाई मटर पनिरको तरकारी, दाल, गोलभेँडा धनिया हालेर अचार बनाइएको थियो।
कुनै झर्को नमानीकन सामग्री जुटाई, पकाई, बनाई खुवाउनुहुने आश्रम सञ्चालक दाजुभाइ, दिदीबहिनी तथा सहयोगी सबैप्रति श्रद्धाले शिर निहुरियो। सबैलाई सोध्दै खाना र तरकारी आफ्नै हातले थपिदिँदै गएँ।
ती मध्यवयकी महिला शाकाहारी रहिछन्।
'पहिलेदेखि नै मासु खानुहुन्नथ्यो हो?' मैले सोधेँ।
'खान्थेँ, अचेल खान मन लाग्दैन।'
'माछा नि?'
उनी केहीबेर मौन रहिन्। अनुहारमा अचानक गहिरो पीडा पोतियो। आँखाहरू कतै टाढा हराएझैँ भए। सुस्तरी भनिन्, 'आफ्नै बुढा, छोरा र गाउँलेलाई खाएजस्तो लाग्छ, त्यसैले खान मन लाग्दैन।'
म स्तब्ध भएँ।
मटर पनिरको तरकारी कचौराबाट थालमा खन्याएर गाँस मात्र के हालेकी थिइन्, गाँससँगै तप्लक्क आँसुका थोपा थालमा खसे।
हर्ष वा बिस्मतका आँसु हुन् ठम्याउन सकिनँ तर आँसुका गाँस निल्नु भनेको सायद यस्तै हुँदो हो’ भन्ने लागेर मन कटक्क खायो।
हाउभाउ र आँसुका ढिकाले उनको जीवन कुनै ठूलो आँधीबेहरीबाट गुज्रिएको हुनुपर्छ भन्ने अनुमान गर्न भने गाह्रो भएन।
अरूहरूलाई खाना थप्दै गएँ, तर उनको त्यो टिलपिल नयन मन–मस्तिष्कबाट हट्दै हटेन। बेलाबेला म उनलाई पुलुक्क हेर्थेँ। उनी पनि घरीघरी मलाई चोरीदाउले हेर्दै आँसुका ढिका खसालिरहेकी हुन्थिन्।
खाना खाइसकेपछि केही बेर सबैसँग गफिन मन लाग्यो। कसैका आफन्त गुमेको पीडा, कसैका लोग्नेले हेला गरी घरबाट गलहत्तिनु परेको, कसैको विदेशमा पसिना बगाएर जोडेको झिटिगुन्टा सबै लिएर श्रीमती अर्कैसँग टाप कसेपछि उठिबास लागेको, कोही मानसिक सन्तुलन गुमेर साहराविहीन भएका, एकपछि अर्को कथा सुन्दै जाँदा, यहाँ हरेक अनुहारभित्र एउटा छुट्टै कारूणिक कथा व्यथा लुकेको पाएंँ।
ती दिदीको टिलपिलाइरहेको अनुहार फेरि मेरो आँखाअगाडि आयो। म उनै दिदीको नजिक गएँ।
'दिदी! हजुरले मलाई कतै देख्नुभएको जस्तो लाग्यो, हो? मलाई पनि हजुर परिचित जस्तो लागिराछ।'
कुराकानीको सुरूआत मैले नै गरेँ। तर उनको वाक्य फुटेन, टुलुटुलु हेरिरहिन्।
'अघि, खाना पनि रूचाएर खानु भएन। पेटभरि तातो नखाए कसरी गोडा टेक्न सकिन्छ त?' वातावरण सहज बनाउन खोजेँ।
'शोकले भोक, तिर्खा, आराम ,निद्रा सबै खाइदिँदो रहेछ, भाइ।' उनी भक्कानिइन्।
'चिन्ताले केवल खाटा बसेको घाउ कोट्याउने काम मात्र गर्छ दिदी, रूँदा बितेका मान्छे आउने भए एक लाख मान्छे भेला गरेर रून हुन्थ्यो नि'' सम्झाउने कोसिस गरेँ।
छेउमै एकजना पुरूष रसिला आँखा र निकै गम्भीर मुद्रामा देखिन्थे। उनले बिस्तारै भने - 'यिनको घर धादिङ हो। भोटेकोसीको बाढीमा बुढा र छोरा बेपत्ता भएपछि कसैले यहाँ ल्याएर छोडेका हुन्।'
ऊ एकछिन रोकिए र फेरि थपे- 'त्यसैले खोलामा हराएका बाउ-छोरा माछाको आहारा भए होलान् भनेर माछा नखाने भनेकी हुन्।'
'अनि तपाईंको चाहिँ के समस्या छ नि?'
'के समस्या भन्नु बाबु ! यो पाकेर सेताम्ये भएको कपाल खौरेर कालो कपाल जलाउने दिन कसैलाई नआओस्' भन्दै मुख भित्तापट्टि फर्काए।
आशय बुझे पनि निरूत्तर भएँ। मेरो मौनतालाई अनभिज्ञता ठानेर होला 'ऊ चाहिँ गाई चराउन जंगल गएकाले बाँचे तर स्कुल गएका छोराछोरी ...' दिदीले थपिन्।
दुबै जनको कुरा सुन्दा पनि मलाई त कसैले मुट्मा आरा चलाए जस्तै भयो।
'हे दैव! के - के सहन लगाउँछौ' मैले मनमनै भनें।
'नियतिसँग कसैको केही लाग्दैन रहेछ। यो विपत्तिमा परेर हजारौँले ज्यान गुमाए, कति बेपत्ता भए, कसैका छोराछोरी बेपत्ता छन्, कसैका बाबुआमा ...।'
कहिलेकाहीँ आफ्नो दु:खमा मलम लगाउन अरूको दुःखको सहारा पनि लिनुपर्दोरहेछ। त्यसैले होला, उनीहरूको अनुहार थोरै उज्यालियो। केही बेरको मौनता चिर्दै दिदी बोलिन् - 'माछा देख्दा उहाँको सम्झना आउँछ भाइ... माछा असाध्यै मन पर्थ्यो उहाँलाई। छोरो पनि बाबुसँगै खोलामा जान्थ्यो माछा मार्न। त्यो दिन पनि...' आमा, बेलुका माछा ल्याउँछु है’ भनेर गएको थियो।'
एकछिन रोकिएर उनले थपिन्- 'मेरो छोराको जीउडाल, हिँडाइ, हँंसाइ दुरूस्तै तिमीसँग मिल्थ्यो।'
हामी तीनै जनाका आँखा जलमग्न भए। त्यही क्षण माधव प्रसाद घिमिरेको ‘संसारमा जन्म दिएर ईश्वर बैँसमा नमार’ भन्ने गीतको सम्झना आयो।
'सहनुको विकल्प छैन , मैले पनि अकालमा बुबाआमा गुमाएँ। श्रीमतीलाई क्यान्सरले लग्यो।' आँसु पुछ्दै भनेँ।
'आफूले स्याहार-सुसार गरेर, औषधी उपचार गराएर, कालगतिले मर्नु त स्वाभाविक मृत्यु हो नि भाइ। त्यस्तो मृत्यु मर्न त भाग्यमानीले मात्र पाउँदा रहेछन्। तर यस्तो निर्मम मृत्यु त कसैको नआओस्।'
उनी सुँक्कसुँक्क गर्दै भन्दै गइन्- 'त्यो भेलले धकेल्दा कति अत्तालिए होलान्, कति घर, परिवार,आफन्त सम्झिए होलान्, कति हारगुहार गरे होलान्, कति रोए होलान्, कति छट्पटाए होलान्, लेदो सहितको ढुङ्गा माटो बालुवाले कति दर्फरायो होला। कति निस्सासिए, कति भोकाए, प्यासले छट्पटीँदै मुख कति सुक्यो होला, कति पीडा सहेपछि कसरी प्राण पखेरु उड्यो होला....। बाँचुन्जेल पेटभरि खान नपाएर बाँचे, मर्दा पनि पानीसम्म पिउन पाएनन्।'
उनको बिलौनाले उनीसँगै हामी सबै द्रवित भयौँ।
ऊनी भन्दै गइन्, म लाचार भएर सुनिरहेँ।
'नियतिले हामीलाई रोएर शोक मनाउन समय समेत दिएन। आफ्नै आँखाले अन्तिमपटक अनुहार हेर्न नपाई, आफ्नै हातले मुखमा गङ्गाजल, तुलसी पत्र हालिदिन नपाई, आफ्नै काँधले शव बोक्न नपाई, संस्कृति परम्परा अनुसार दाहसंस्कार गर्न नपाई ....यस्तो नियति भोग्नुपर्यो। हे! निर्दयी दैव!' उनले आँसु पुछ्दै भनिन्।
म निरूत्तर रहेँ। उनको चर्किएको मनमा मलम लगाउने शब्द पनि भएनन् मसँग। यस्तो बेला शब्दभन्दा बढी साथ चाहिन्छ जस्तो लागेर नै सुनिरहेँ।
भन्नुस् दिदी! दुःख साटे मन हलुका हुन्छ।
'उनीहरूलाई पाउने आशमा जल-जमिन, त्रिशूली-भोटेकोशीका किनारादेखि प्रत्येक अस्पतालका कुनाकाप्चा कहाँ मात्र खोजिनँ!
कहीँ नभेटेपछि आशाको दियो पनि निभेर गयो। जिन्दगीको उत्तरार्धमा यस्तो विक्षिप्तता बोकेर बिछोडिनुपर्ला भनेर कहिल्यै सोचेकि थिइनँ भाइ।'
उनको आँखाबाट बलिन्द्र आँसु बगे।
केही समयपछि उनका मनमा पीडाको भारी र आँखामा वेदनाको बाढी अलि कम भएको महसुस गरेँ । मन दुख्न दिनु पनि कहिलेकाहीँ मन निको हुने बाटो नै हुन्छ भन्ने भनाइ सही नै हो कि जस्तो लाग्यो।
कुराकनीमै केन्द्रित हुन 'नियतिको खटन नमानी धर रहेनछ, दिदी। अब धेरै चिन्ता लिएर आँसु नबगाउँनुस् है? धेरै रोयो भनें आँखा कमजोर हुन्छन् नि' यसो भन्दै गर्दा मेरो स्वर अलिक आदेशात्मक थियो।
'आफूले भोगेपछि मात्रै अरूको आँसुको गहिराइ थाहा हुन्छ भाइ भन्न त सजिलै छ। आकाश भन्दा फराकिला र हिमाल भन्दा उच्च सपना अटाएका आँखामा आँसु अटाउँन सकिन्न रहेछ भाइ' भन्दै झन् घुँक्क घुँक्क गरेर रून पो थालिन्।
कम्तीमा रोएर भए पनि यी दिदीले मनको गाँठो फुकाईन् अर्का दाइ जो भित्रभित्रै पीडाको पोको गुम्स्याएर बसेका छन्, यहि त फरक छ महिला र पुरूषमा भन्यो मनले।
करिब दुई घन्टा आश्रममा भलाकुसारी गरेर फेरि भेट्न आउने बाचा गर्दै भारी मन र गरुङ्गो तन लिएर बासस्थानतर्फ लम्किएँ। बाटोभरि नानाथरी कुराहरू खेलिरहे। मनमा असीम उदासी बोकेर घर आइपुगेँ।
घर उही छ। आँगन उही छ। भित्ताहरू उही छन्।
तर परिवार नभएपछि घर घरजस्तो हुँदोरहेनछ।
श्रीमतीको आवाज नभएको आँगन सुनसान लाग्दोरहेछ। बुबाआमाको स्वर नगुन्जिने घर पाटी झैं शून्य लाग्दोरहेछ।
कहिलेकाहीँ लाग्छ—अहिले ढोका खुल्छ र आमाले बोलाउनुहुन्छ कि, बुबा मुस्कुराउँदै आइपुग्नुहुन्छ कि!
कहिले श्रीमतीले बोलाएजस्तो लाग्छ।
तर वास्तविकता कठोर छ।
ती आवाजहरू अब सम्झनामा मात्र रहनेछन्।
सुखदुःख साट्ने सृष्टिकै सर्वोत्तम थलो घर, त्यही परिवार जसले सृष्टि दियो, त्यही आँगन जसले हुर्कायो, बढायो, हातगोडा लगायो। मसँग त स्मृति बटुल्न घर, आँगन र बग्रेल्ती सम्झनाका निसानीहरू छन्, तर भोटेकोसीको बाढीले त न घरको चिनोचपेटो राखिदियो, न आँगन, न परिवार, न आफन्त। मनमस्तिष्कभरि चोट मात्र दिएर गयो। जे भए पनि अहिलेको परिस्थिति र उनीहरूका मनका गहिरा घाउहरूका अगाडि मैले
भोगेका दु:ख गौण लागे।
आश्रमबाट फर्केपछि साह्रै विह्वल भयो मन। त्यहाँ साक्षात्कार गरेका हरेक मानिसको चेहरा आँखा अगाडि नाचिरहे। दिदीको टिठलाग्दो अनुहार र उनका मर्मभेदी शब्दहरूले निकै मर्माहत बनाए।
वर्षातमा च्याउ उम्रीएझैँ मनको मझरीमा विचारका बेर्नाहरू उम्रिँदै गए। जीवन, जगत, प्रकृति, भोगाइ, अनुभूति, संघर्ष एकएक मस्तिष्कमा घुम्न थाले। रात छिप्पिँदै गयो। मन थिर भएन। वरिपरि हेरेँ- अन्धकार रातको नीरवतासँगै संवेदना गहिरिँदै गयो। त्यहाँ साक्षात्कार गरेका हरेक मानिसको अनुहार आँखामा नाचिरहे। दिदीको टिठलाग्दो अनुहार र उनका मर्मभेदी शब्दहरूले निकै मर्माहत बनाए।
असीम उदासीले मर्माहत हुँदै लाचार मनले सोचेँ- 'जीवन त केवल निमेषभरमै टुट्न सक्ने एउटा सपना मात्र रहेछ।'
परिवारमा कसैको असामयिक निधन हुँदा मर्ने त मरिहाल्छन् बाँच्नेहरूको जिन्दगी असह्य पीडा सहँदै पलपल मरेर बाँच्नुपर्दाको तितो अनुभूतिले चिथोर्दै लग्यो। मनको आकाशमा अनगिन्ती विचारका बादलहरू मडारिँदै गए।
तीन वर्षीया गरिमा चौधरी नानीको बलात्कारपछि हत्या भएको घटना, विक्षिप्त भएका बाबु-आमाको दृश्य दिमागमा आयो। स्त्री र प्रकृतिमाथि अन्याय भयो भने विनाश निश्चित छ भन्थे। सतीले सरापेको देश भन्दा पनि निर्मला, भागिरथी, अंशु, ईनिशा जस्ता न्याय नपाएका चेलीहरूको सराप लागेको हो कि? म सानो हुँदा बुबाले भन्ने गरेका कुराहरूको अर्थ त्यतिखेर बुझ्दिनथेँ।
‘के गनगन गर्या होला’ जस्तो लाग्थ्यो। अहिले तिनको मर्म बुझ्दैछु। उहाँ भन्ने गर्नुहुन्थ्यो; मान्छे बिनासित्ति घमण्ड गर्छन् तेरो मेरो भन्छन्। इज्जत, इमान, निष्ठा बेचेर सम्पत्ति थुपार्न मरिमेट्छ्न। ठूलो घर, धनाढ्य इष्ट–मित्र, सम्पत्ति ,चिल्ला गाडी, महँगा गहना, ब्रान्डेड सरसामान बैंक ब्यालेन्सले केही गर्दैनन् बाबै। वास्तवमै वैज्ञानिक र सत्यता लुकेका कुरा। 'आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको 'भन्ने उखान त्यसै चलेको होइन रहेछ।
रात छिप्पिँदै गएपछि ब्यथा झन् बढ्दै गयो ।
दिनभरि अरूका नजरबाट छिपाएर राखेका भावनाहरू रातको एकान्तमा ढोका ढकढकाउन थाले।
म चुपचाप छतमा गएँ।
खल्तीबाट चुरोटको एक खिल्ली निकालेर सल्काएँ।
जसै चुरोटको लामो सर्को फोक्सो हुँदै शरीरभित्र पस्यो र धुवाँलाई हावामा उडाइदिएँ। यो मनभित्र गुम्सिएका चोटहरू पनि धुवाँजस्तै उडाइदिन पाए हुन्थ्यो जस्तो लाग्यो।
के गर्नु धुवाँ त हावामा बिलिन भयो तर दुःखचाहिँ अझ गहिराइमै रह्यो।
सोचाइका छालहरू उर्लिँदै आएपछि आँखाबाट निद्रा गायब भयो। विशाल आकाशतिर नजर दौडाउँदै आफ्नो मन आफै बुझाउने कोसिस गरेँ। नियति निष्ठुर हुन्छ। नियतिको नाममा नियतको खेल खेल्नेहरू झन् निष्ठुर हुन्छन्। भत्किएका संरचना ठडिएलान्, धन सम्पत्ति जोडिएला तर ती अनाहकमा जीवन गुमाएका मानिसहरू.... ?
उत्तर भेटिनँ।
मुटु सिसा होइन तर पनि चरक्क चर्केर प्याट्ट फुट्ला जस्तो भयो। अनायासै नयनको बाँध भरिएर परेलिको डिल नाघ्यो।
‘के अब जिन्दगी यसरी नै निराशा, छट्पटी र काल पर्खिँदैमा बित्छ? बिछोड र विरहका यी आँसु कहिलेसम्म झरिरहलान्? यी घाउहरू कहिले निको होलान्?’
आकाशतिर नजर बिछ्याएँ। विशाल आकाशमा कालो बादल मडारिएकै थियो।
केही क्षण चन्द्रमा स्पष्ट देखिन्थ्यो, त एकै क्षणमा बादलले छोपिदिन्थ्यो।
मलाई लाग्यो, चन्द्रमाले पनि आफ्नो दुःख लुकाइरहेकी थिइन्।