मान्छेले आफू बाहेक सबैलाई चिन्छन्
आफ्नो बाहेक सबैको कमजोरी देख्छन्
जसरी सफल व्यक्ति कहिल्यै कुरूप हुँदैन
सबैलाई चाहिने हावाको पनि त रूप हुँदैन
कहिले त्रिशूलीझैँ बग्छ, कहिले खहरेझैँ सुक्छ
समय सधैँ एउटै हुँदैन भनेर कसले पो बुझ्छ
गङ्गाले तन पखाले पनि फोहोर विचार धुँदैन
सबैलाई चाहिने हावाको पनि त रूप हुँदैन
धन सकिए कमाइन्छ फेरि मौका नफाल्नु खेर
हामीलाई भनेर बारम्बार आउँदैन झुक्किएर
बग्दै जाँदा चट्टानसँग ठोक्किएर नदीले रुँदैन
सबैलाई चाहिने हावाको पनि त रूप हुँदैन
जुन दिन बाँझो जमिनमा पनि अन्न फल्छ
त्यही दिनदेखि सबैको घरमा चुलो जल्छ
तर पनि मानवता भुलेर मान्छेले मान्छे छुँदैन
सबैलाई चाहिने हावाको पनि त रूप हुँदैन।