उज्यालो गाउँबाट निस्किएको म बबुरो
झिलिमिली सहरको बिचमा अँध्यारोमा छु
कहिले बादल हुन्छु, कहिले मादल हुन्छु
पानी परेको दोषमा बज्ने पनि म हुँ,
घाम लागेको खुसीमा बज्ने पनि म हुँ
लेखौँ अप्ठ्यारो, नलेखौँ झन् गाह्रो
जेसुकै होस्, खोल्दै छु पीडाको तगारो।
श्रम बेच्नकै लागि सम्पत्ति गुमाएको छु
दिक्क लाग्छ, जसोतसो मन भुलाएको छु
कयौँबाट लुटिएको म अहिले पनि लुटिँदै छु
साहुहरूको ओखलमा पिना बनेर कुटिँदै छु
लेखौँ अप्ठ्यारो, नलेखौँ झन् गाह्रो
जेसुकै होस्, खोल्दै छु पीडाको तगारो।
पसिना बेच्दाबेच्दै कयौँ वचन अनाहकमा खाएको छु
बिना गल्ती आरोपहरूका तक्मै तक्मा पाएको छु
साहुहरूका परिवार खुसी नहुँदा मैले गाली खाएको छु
भनौँ कसलाई सुनाऊँ, यस्तै पीडा पाएको छु
लेखौँ अप्ठ्यारो, नलेखौँ झन् गाह्रो
जेसुकै होस्, खोल्दै छु पीडाको तगारो।
गाउँले भएकै कारण हेपिएको कहानी छन् मसँग
सहरियाको दुर्व्यवहारले चेपिएको कहानी छन् मसँग
सोच्दा पनि मन भारी हुन्छ आजकल
देखेरै पनि अन्याय ढाकछोप गरेको जमानी छन् मसँग
लेखौँ अप्ठ्यारो, नलेखौँ झन् गाह्रो
जेसुकै होस्, खोल्दै छु पीडाको तगारो।
सिद्ध्याउनकै लागि उचाल्ने-पछार्ने कति गरे-गरे
हुने-नहुने, चाहिने-नचाहिने कति शब्द भरे
मनबाट गुण लगाएकाहरू नै आफैँ अघि सरे
अपवादलाई अवसर सम्झेर गर्नुसम्म गरे
लेखौँ अप्ठ्यारो, नलेखौँ झन् गाह्रो
जेसुकै होस्, खोल्दै छु पीडाको तगारो।
न्यायको भिख माग्ने ठाउँबाटै हो म सक्किएको
एक राष्ट्रसेवकलाई विश्वास गर्दा नै म सक्किएको
अरू त परको कुरा हजुर
सपनालाई बिक्री गर्नेहरूबाटै हो म मक्किएको
लेखौँ अप्ठ्यारो, नलेखौँ झन् गाह्रो
जेसुकै होस्, खोल्दै छु पीडाको तगारो।
दुई दिन थकाइ मार्न रिझाउनुपर्छ यहाँ कसैलाई
सास मात्र बाँकी भए पनि रिझाउनुपर्छ यहाँ कसैलाई
नटाँसिने हो भने केही हुने छैन यो सहरमा
आफैँ मरेर लास उठाउन पनि रिझाउनुपर्छ यहाँ कसैलाई
लेखौँ अप्ठ्यारो, नलेखौँ झन् गाह्रो
जेसुकै होस्, खोल्दै छु पीडाको तगारो।