हिजोअस्तिको काठमाडौं
मातृत्वलाई स्त्री जातिको शिखर अनुभव मानिन्छ। मातृत्वको पर्यायवाची शब्दका रूपमा आउँछन्- करुणामयी, ममतामयी ...
मैले कुनै पुरुष वा पितामा यी विशेषण जोडिएको खासै सुनेको छैन। के करुणा कुनै लिंगमा सीमित हुन्छ?
म पिता हुँ। मेरा पनि पिता थिए। उनका पनि अवश्य थिए र उनका पनि ...
के म लगायत सबै पिताहरू आफ्ना छोराछोरीका लागि ममतामय, करुणामय छैनन् होला?
हालै एउटा 'महिला–पुरुष' बहसमा एकले अर्काको भावना नबुझेको आरोप-प्रत्यारोपबीच दुवैका कुरा बुझ्दा मलाई यस्तो भावना आएको हो।
त्यसै क्रममा अफिसबाट घर फर्कंदै गर्दा 'अत: गां:' अर्थात् हालको पुल्चोकमा रहेको मच्छिन्द्रनाथको रथ पार गरेँ। गाडीबाटै दर्शन गरेर सँगै बसेकी मेरी पत्नी अल्कालाई सोधेँ, 'मच्छिन्द्रनाथको रथमा रहेका देउताको नाम के हो?'
उनले सहजै जवाफ दिइन्, 'मच्छिन्द्रनाथ।'
अल्का त्यही मच्छिन्द्रनाथ बन्ने पुल्चोकको दक्षिणी कुनामा दमकलछेउ जन्मे-हुर्केकी हुन्। उनीबाट मैले थप विवरण आस गरेँ।
सोधेँ, 'नेवारीमा के भन्छ?'
उनले फ्याट्ट जवाफ दिइन्, 'बुङ्गद्य।'
हो... बल्ल मेरो भावना अलि जोडिएको महशुस भयो।
हामी यो रथ र योसँग सम्बन्धित जात्रा सबैलाई यही नाम जोडेर बुझ्थ्यौं। रथयात्रा सुरु भएपछि यसले विश्राम लिने सबै चोक-चोकमा आफ्नै स्थानीय रौनक र सहभागिता जोडिँदै जान्थ्यो।
पुल्चोकबाट गा:बहा: हुँदै पूर्व महापाल, मंगलबजार, सौगल, सुन्धारा पुगेर 'युटर्न' गरी पुनः पश्चिम, अनि मंगलबजारबाट दक्षिण मोडिँदै लगनखेल, इति र अन्त्यमा जावलाखेल पुगेर भोटो देखाएसँगै जात्रा सकिन्छ।
रातो मच्छिन्द्रनाथ रथको चित्र, पुल्चोक, सन् १९८२– सुरजप्रकाश थापा (जिम्मी)रथयात्रासँगै पाटनका क्षेत्र-क्षेत्रमा ‘छ्वेला बु’ को दिन छ्वेला पाक्छ। ‘भुज्या’ को दिन पूजाआजा र भोज हुन्छ। गा:बहा:मा रथ रोकिएपछि त्यसवरिपरि पूर्णचण्डी, पिम्बहाल, महापाल लगायत क्षेत्रमा छ्वेला बु र भुज्याको क्रम चल्छ। यही रितमा नुग:-सुन्धारा पुगेपछि सौगल, धलाछेँ, चंकी, पिलाछेँ, पिछेँ लगायत क्षेत्र, लग:ख्य-लगनखेल पुगेपछि टंगल, मंगलबजार, च्यासल, नकबही, कुम्भेश्वर लगायत क्षेत्रमा छ्वेला बु र भुज्याको क्रम चल्छ।
पाटनका प्राय: कुलमा ‘देउपूजा’ अर्थात् कुलपूजा पनि यसै दौरान हुन्छ।
लगनखेलबाट थतिमा पुर्याएर नरिवल खसालेपछि थतिबाट इति टोलमा रथ ल्याउँदा भने महिलाहरूले मात्र तान्ने चलन छ। त्यस दिन एकल महिलाहरूले 'याक: मिसा भुज्या' मनाउँछन्।
'याक: मिसा' भन्नाले एकल महिला। घरमा कोही नभएका एकल महिलाहरूले अगाडिका भुज्या छुटाएका भए यस दिन उनीहरूले भुज्या मनाउने परम्परा छ। यो एकल महिलाहरूलाई पनि जात्रामा समेट्ने प्रयास हुनुपर्छ। एकल महिलालाई समेट्ने जात्राको यो पक्ष मलाई रमाइलो लाग्छ।
'बुङ्गद्य' को रथ तान्दै महिलाहरू। फाइल तस्बिर: नारायण महर्जन/सेतोपाटीअन्त्यमा, 'जा ह्वल्यू ख्य:' मा पुगी ‘जा ह्वल्यू जात्रा’ मा रूपान्तरित हुन्छ।
त्यहाँ रथ पुगेको तेस्रो दिन झिसमिसेमा सम्झेजति देवगण, भूतप्रेत, पिशाचका नाममा चारै दिशामा वरिपरि भात छर्ने विधि पूरा गरिन्छ।
नेवारीमा 'जा' भनेको भात, 'ह्वल्यू' भनेको छर्ने र 'ख्य:' भनेको चउर। जा ह्वल्यू ख्य:, यानिकी ‘भात छर्ने चउर’ कालान्तरमा ‘जावलाखेल’ नामले स्थापित भयो।
रथ पुगेको चौथो दिन यहीँ भोटो देखाएर जात्रा सम्पन्न हुन्छ र देउतालाई त्यही रात बुंगमती लगिन्छ।
'जा ह्वल्यू जात्रा' ज्याउली जात्राका नाममा रूपान्तरित भयो। त्यसको अन्तिम उत्कर्ष नै भोटो देखाउने परम्परा हो। जात्रा भर्न जानेहरू 'जा ह्वल्यू जात्रा ए भोटो कयउं सो वनिउ', यानिकी 'जा ह्वल्यू जात्रामा भोटो देखाएको हेर्न जाने भन्थे।'
कालान्तरमा यो जात्राको पहिचान नै भोटोजात्राका रूपमा भयो।
‘बुङ्गद्य’ को अस्तित्व ‘मच्छिन्द्रनाथ’ मा र 'जा ह्वल्यू जात्रा' ज्याउली जात्रा हुँदै ‘भोटोजात्रा’ को पहिरनमा कहिलेदेखि ढाकियो, मलाई यादै भएन।
बुङ्गमतीमा बुङ्गद्य– करूणामय। तस्बिर: किरणकृष्ण श्रेष्ठमच्छिन्द्रनाथ, गोरखनाथ, मीननाथजस्ता यो जात्रासँग जोडिएका नाम, सन्दर्भ र किम्बदन्ती गलत भन्न खोजेको कदापि होइन। खाली हाम्रो जनजिब्रोमा बोलिने शब्द र योसँग जोडिएका नाम कसरी ओझेल पर्दै अर्को नामले परिचित हुँदै जान्छन् भन्ने सन्दर्भ सम्झन खोजेको मात्रै हो।
यस्तै ओझेल परेको नाममा पाटनको 'कुम्भेश्वर' पनि हो, जसलाई नेवारीमा हामी ‘कोन्ती’ भन्थ्यौं र भन्छौं।
पाटनको पशुपति बराबरको अस्तित्व भएको यो शिव मन्दिरछेउ भगवती मन्दिर छ– बगलामुखी। बगलामुखी पाटनका शक्तिपिठमध्ये एक हुन्, जहाँ कालरात्रिको रात बलिसहित हामी पूजा गर्न पुग्थ्यौं, हरेक दसैंको नवमीमा।
यसबाहेक त्यो परिसरमा क्वाँटी पूणि: अर्थात् जनै पूर्णिमाको दिन ठूलो मेला लाग्थ्यो।
कुम्भेश्वर मन्दिर प्रांगणको एक कुनामा जमिनको सतहबाट १०-१२ खुड्किलो तल एउटा पानीको मूल रहेको ठाउँ थियो। 'थो सिलुया ल ख' अर्थात् 'यो सिलुको पानी हो' भन्दै बा पानी हातमा लिएर टाउकोमा छर्कनुहुन्थ्यो। हामी पनि त्यसै गर्थ्यौं।
'सिलु' भनेको गोसाइकुण्डको नेवारी नाम हो। यसरी गोसाइकुण्डसँग सम्बन्ध जोडिएको कुम्भेश्वर र कोन्ती दुवै नाम अचेल ओझेल परिसके। सबैले त्यस परिसरलाई बगलामुखी भनेर भन्न र चिन्न थाले।
कोन्तीको नाम ओझेल पर्नुमा उसैको नियति होला। बगलामुखीलाई 'हिट' बनाउनुमा भने हाम्रो पालाका प्रख्यात ज्योतिषी मंगलराज जोशीको देन छ। उनी राजज्योतिषी थिए।
राजाको राज हुञ्जेल काठमाडौंका कर्मचारी र राजनीतिज्ञ ज्योतिषीकहाँ खासै जाँदैन थिए। राजा पनि जाँदैन थिए। ज्योतिषी नै राजाकहाँ धाउँथे। सायद ज्योतिषी र राजा दुवैले एकअर्कालाई रिझाए।
रिझाउने क्रममा अप्रिय घटनाबारे सोझै भन्ने संकोच बढ्यो होला। खबरदारीका शब्द चुके होलान्। निसंकोच बोल्नुपर्ने पेसामा संकोचको ग्रहण लाग्यो होला। राजै रहेनन्, ज्योतिषीले धाउनुपर्ने ठाउँ नै रहेन।
२०४६ सालमा राजतन्त्र पूर्णकालीक शासन व्यवस्थाबाट संवैधानिक व्यवस्थामा सीमित भएपछि मंगलराजको दरबार धाउने धन्दा कम भयो। उनकोमा धाउनेहरू भने बढ्न थाले। भाग्यविधाता राजाकै भाग्यमा खोट देखिएपछि उनको आकर्षण कम भयो। उनको भूमिका ओझेल पर्यो। उनको प्रभाव विलिन हुँदै गयो।
कर्मचारी र नेताहरूमा भने दैवीशक्तिको भूत चढ्दै गयो। देउता भेट्ने कुरो भएन। माध्यमको खोजीमा ज्योतिषीहरूकहाँ भिड बढ्दै गयो। ज्योतिषीको आदेशअनुसार पिठ-पिठमा पूजा, औंला-औंलामा रंगीचंगी पत्थरको प्रचलन बढ्दै गयो।
घरमा कसैको जन्मदिन आउन लाग्दा जात:, चिना देखाउन आमा मंगलराजकहाँ धाउनु हुन्थ्यो। वर्षको एकदिन ज्योतिषीको रायमा पिठहरूमा गएर शान्ति-स्वस्ती गर्ने चलन थियो। यसमा संकटा, महांकाल, भैरवस्थान आदि प्रमुख थिए।
राजज्योतिषी मंगलराज जोशी। तस्बिर स्रोत: विकिपेडियामंगलराजकहाँ जाँदा १०-१५ मिनेटमा काम सक्किन्थ्यो। विस्तारै कर्मचारी, सेना, प्रहरी र राजनीतिज्ञका श्रीमतीहरूको भिड बढ्दै गयो। ३० मिनेट, ४५ मिनेट हुँदै घन्टौंको लाइन चल्दै गयो।
मंगलराजले पूजाको गन्तव्य तोक्ने क्रममा बगलामुखी दोहोरिन थाल्यो, तेहेरिन थाल्यो। बगलामुखीको पूजा ‘शत्रुनाश’ का लागि गर्ने चलन थियो। शत्रुनाशको आकांक्षासहित बगलामुखी धाउनेहरूको लाइन बिहीबार बढ्न थाल्यो। के हाम्रो समाजमा शत्रु बढेका हुन् त?
हुन पनि बढुवाका लागि प्रत्यासीलाई शत्रुझैं पछार्ने चलन जो सुरु भएको छ।
लाइनसँगै हुल बढ्न थाल्यो। मंगलराजले पठाएकाहरूका साथै सुनेका भरमा आउनेहरू पनि बढ्दै गए। औषधि पसलमा डाक्टरको प्रेस्क्रिप्सनबिना आफ्नै अन्दाजले औषधि किन्नेको भिडजस्तै।
मंगलराजसँग सम्बन्धित मेरो एउटा स्मरण यहाँ प्रस्तुत गर्न चाहन्छु।
सन् १९९८ ताकाको कुरा हो। म डकुमेन्ट्री बनाउने काममा संलग्न थिएँ। त्यसै दौरान नर्वेको एनआरके टिभीको काममा संलग्न भएँ।
नर्वेबाट त्यहाँका प्रख्यात टिभी व्यक्तित्व पिटर नोम (पेत्तेर नोम्मा) पनि संलग्न रहेको जानकारी थियो। करिब दुई साता हामी मिलेर काम गर्यौं। काठमाडौं उपत्यका वरपर र त्याङ्बोचेसम्म।
त्यसै वर्ष फ्रान्समा आयोजित विश्वकप फुटबलमा नर्वे पनि खेल्दै थियो। टिभीमा प्रत्यक्ष प्रसारण हेर्दै गर्दा नर्वेको प्लेअर बक्समा झुलुक्क पिटरलाई देखेँ। उनी खेलाडीहरूसँग हात मिलाएर गए। त्यहाँ अरूले उनलाई गरेको व्यवहार देखेपछि पिटर मैले सोचेभन्दा माथिका स्थापित व्यक्तित्व हुन् भन्ने महशुस भयो।
कामको अवधिभर उनले सरल व्यवहारबाट आफ्नो यो व्यक्तित्व पटक्कै भान हुन दिएका थिएनन्।
नेपालको धार्मिक एवं आध्यात्मिक विश्वासबारे कार्यक्रम बनाउने योजनाअनुरुप हामीले ज्योतिषी विद्या पनि समेट्ने र प्रतिनिधि पात्रका रूपमा मंगलराज जोशीलाई भेट्ने योजना बुन्यौं।
पद्मपाणि रूपको पौवा।पाटनको क्वाल्खुबाट पाटनढोका जाने बाटोमा धलायचाको पुरानो औषधि पसल थियो। सिद्धी मेडिकल अगाडिको गल्लीभित्र उनको ठेगाना थियो। हामीले केही दिन उनको दिनचर्या पछ्यायौं। कुरा रमाइलो भयो। तर, टिभीका दर्शकका लागि देखाउने दृश्य र रोचक कोणको अभाव महशुस भयो।
टोलीमा सल्लाह भयो– नर्वेका कुनै बहुचर्चित व्यक्तिको चिना बनाउन लगाउने, अनि ज्योतिषवाणी यथार्थसँग भिडाउने।
मैले मगलराजसँग प्रस्ताव राखेँ। उनले सहर्ष स्विकारे। भने, 'जन्म मिति, समय र जन्म स्थान लेखेर दिनू।'
पिटरले त्यसैअनुसार लेखेर दिए– २० जुलाई १९७३, ओस्लो, नर्वे। समय भने कति लेखे ठ्याक्कै याद छैन।
मंगलराजले दुई दिनपछि आउनू भने। हामी निस्कियौं। बाटोमा मैले पिटरलाई कसको जन्ममिति दिएको भनेर सोधेँ।
उनी मुस्कुराए। भन्न मानेनन्।
दुई दिनमा हामी फेरि पाटन पुग्यौं। मंगलराजले चिना निकाले। सँगै अंकै-अंक केरमेट गरेको पाना पनि निकाले। र, भन्न थाले, 'यो व्यक्तिको राजयोग छ। उसको जिन्दगीको १६-१७ वर्षतिर एउटा बाधा–खड्को देखिन्छ, जुन उसले पार गर्छ र अठारौं वर्षमा ठूलो उपलब्धी हुन्छ...।'
अरू पनि धेरै भने, अहिले सबै याद छैन। पिटर र उनका साथीहरू ट्वाल्ल परेर सुन्थे। हिसाब गर्थे। औंलामा साल गन्थे, फेरि सुन्थे।
मंगलराजको वाणी सक्किएपछि पिटरले उनलाई सोधे, 'यो कसको चिना बनाउनुभयो थाहा छ?'
मंगलराजले खासै चासो देखाएनन्। खाली मुस्कुराए। र, नाकको डिलमा अडेको चस्मामाथिबाट मतिर हेरे।
पिटरले भने, 'यो हाम्रो युवराज हाक्कनको चिना हो। १८ वर्ष उमेरमा उनी युवराज घोषित भए। उनी जन्मँदा नर्वेको संविधानअनुसार गद्दीका उत्तराधिकारी जेठा छोरा नै हुने थियो। त्यसमुताबिक उनी युवराज घोषित हुने पक्का थियो। तर, १९९० मा (उनी १६-१७ वर्षको हुँदा) संविधान संशोधन भएर जेठा सन्तान गद्दीका उत्तराधिकारी बन्ने भयो। हाक्कनभन्दा माथि उनकी दिदी थिइन्। त्यसैले, केही अन्यौल छायो। पछि १९९१ मा १८ वर्ष उमेरमा उनी युवराज घोषित भए।'
गोरो वर्णको अनुहार रातो बनाउँदै पिटरले भने, 'दिस इज अमेजिङ।'
मंगलराज प्रतिक्रियाविहीन मुस्कुराइरहे। मानौं उनलाई सबै थाहा थियो।
ओझेल परेको नाम ‘बुङ्गद्य’ को सम्बन्ध पाटनको दक्षिणी भेगमा पर्ने बुंगमती भन्ने गाउँसँग छ। यसका अनेकन नाम छन्– करुणामय, पद्मपाणि, अवलोकितेश्वर वा मच्छिन्द्रनाथ।
पाटनमा रातो मच्छिन्द्रनाथ, रक्त अवलोकितेश्वर भएजस्तै काठमाडौंमा सेतो मच्छिन्द्रनाथ छ, जसको रथयात्रा तीनधाराबाट सुरू भएर काठमाडौंका गल्ली परिक्रमा गर्छ। यसको बास असनछेउको जनबहालमा रहेकाले काठमाडौंमा यसलाई ‘जनबाद्य’ पनि भनिन्छ।
सेतो मच्छिन्द्रनाथ बन्दैको चित्र, तीनधारा, सन् १९८२- सुरजप्रकाश थापा (जिम्मी)यता बुङ्गद्यको स्थायी ठेगाना बुंगमतीमा अवस्थित शिखर शैलीको अलौकिक मन्दिर हो, जुन दुर्भाग्यवश २०७२ को भुइँचालोमा पूर्ण रूपमा क्षतिग्रस्त भयो। हाल पुनर्निर्माण हुँदैछ। त्यसैले मन्दिर परिसरकै एउटा टहरामा मच्छिन्द्रनाथ स्थापना गरिएको छ।
बुङ्गद्य पाटनको इष्टदेव, चाड, जात्रा हो। म पाटने भइकन बुंगमतीसँग परिचित भएको ८-१० वर्ष मात्र भयो।
एकदिन घुम्दै जाँदा बुंगमती पुगेको हुँ। त्यहीँ मन्दिर भएको बहालका काष्ठशिल्पी राजभाइ शाक्यसँग चिनजान भएपछि मेरो बुंगमतीको ओहोरदोहोर बढ्यो।
करुणामयबारे धेरै कुरा उनै राजभाइबाट थाहा पाएको हुँ। उनी काठमा देउताको मूर्ति कुद्ने भएकाले देवी-देउताबारे राम्रो जानकारी राख्छन्। मैले एकपटक उनलाई करुणामयको मूर्ति कुद्ने सल्लाह र राम्रो भए किन्ने प्रस्ताव राखेको थिएँ। उनले अन्कनाउँदै भने, 'गाह्रो छ, करुणामयको रूप कहिले स्त्रीको हुन्छ, कहिले पुरुषको। एउटा प्रतिमा सोच्न र कुद्न गाह्रो छ।'
मलाई यो कुरा नौलो र चाखलाग्दो लाग्यो। थप सुन्न चाहेँ।
उनले भने, 'करुणामय न पुरुष हो न स्त्री। भगवानको हामी दुवै रीति पुर्याउँछौं, स्त्री मानेर र पुरुष मानेर। स्त्रीका रूपमा इहीँ (बेल विवाह) आदि र पुरुषका रूपमा केतापूजा (व्रतबन्ध) आदि सबै रीत पुर्याउनुपर्छ।'
राजभाइ बोल्दै थिए, मेरो मनमा भने करुणामयको पहिले कहिल्यै नसोचेको रूप अघि आयो।
राजभाइ शाक्य आफ्नी पत्नी मनदेवीका साथ बुंगमतीस्थित कार्यशालामा। तस्बिर: किरणकृष्ण श्रेष्ठ![](/uploads/shares/Feature/sudeep shrestha story/RajBhai.jpg)
राजभाइ शाक्यले कुँदेको अवलोकितेश्वरको विश्वरूप प्रतिमा, स्विजरल्याण्डको एक ग्यालरीमा। तस्बिर: किरणकृष्ण श्रेष्ठ
करुणा भनेको सोच हो। कहिले पुरुषले महिला भएर सोच्नुपर्छ, कहिले महिलाले पुरुष भएर। त्यसैको बिम्बका रूपमा मैले करुणामयलाई लिन थालेँ।
करुणामय न पुरुष मात्र हो, न महिला मात्र। करुणामय पुरुष पनि हो, महिला पनि।
समाजले, भाषा खेलाउने साहित्यकारले, कविले मलाई करुणामय पिता भनून नभनून्, मेरी छोरीहरूले मलाई त्यो विशेषण प्रयोग गर्ने छन् भन्ने विश्वास छ। कारण, मैले उनीहरूलाई माया, ममता, करुणा सबै देखाएको छु, सिकाएको छु। समय परिस्थिति हेरेर महिला, पुरुष दुवैको भूमिका खेलेको छु।
न मलाई महिलाको भूमिका निर्वाह गरेकोमा हेय अनुभूति भएको छ, न पुरुषको भूमिका गरेकोमा दम्भ। दुवै मिलाएर अघि बढ्न सिकाउने, प्रेरित गर्ने करुणामय, पद्मपाणि, अवलोकितेश्वर, जनबाद्य, बुङ्गद्य, मच्छिन्द्रनाथ सबैलाई धन्यबाद।
(यो स्तम्भ पाक्षिक रूपमा प्रकाशन हुनेछ।)
यी पनि हेर्नुहोस्:
स्याल कराउने ताहाचलमा सेतो सोल्टी होटल
राणाहरूको दरबारजस्तै मेरो पुर्खौली घर