सिकरकटेरीबाट आमोईले फोनमा रुँदै भनेकी थिइन्- 'म तेरा बाख्राका साढे हेर्न सक्दिनँ। तँ आजै घर मुन्टी। '
शरीरमा १०२ डिग्री ज्वरोको परवाह नगरी म नयाँ ठिमी पुगेँ। बाटोमा भेटिएको एउटा मेडिकलमा १ पातो 'पारासिटामोल' किनेँ। बाटोमै केही शक्ति बढाउने सुरले एउटा रेडबुल पिएँ। १ चक्की पारासिटामोल रेडबुलले नै घुटुक्क निलिदिएँ।
एउटी 'जेन-जी' युवती मेरो पारा देखेर मुसुक्क हाँसी।
तर साढे २ बजेपछि बिपी राजमार्ग गुड्ने यात्रुवाहक सवारी देखिएनन्। त्यो जेन-जी युवती पनि कतै जाने तरखरमा थिई। ऊसँग एउटा सानो सुटकेस थियो। पिंक टि-सर्ट र निलो जिन्समा जेन-जी युवती खुब खुलेकी थिई। मलाई हेरेर ऊ हाँस्थी, सायद रेडबुलसँग सिटामोल खाएको मजस्तो महामूर्ख अरू देखेकी थिइन होली।
ठिमी चोकमा गाडी कुर्दाकुर्दै ३ बज्नै लाग्यो। मेरो शरीरमा कुनै जाँगर वा स्फूर्ति बाँकी छँदै थिएन। जेन-जी युवतीको अनुहारमा गाडी नपाएको दुःखका धर्का स्पष्ट पढ्न सकिन्थ्यो। मैले अबको ३० मिनेट गाडी कुर्ने निधो गरेँ। अनि गाडी नपाएको तनाव कम गर्न दुवै कानमा 'एयरपोड' घुसाएँ। कुन गीत सुन्ने दोमन निकै बेर रहेन। कानमा लता मंगेशकरको गीत ठोक्कियो।
'ए मुलाकात एक बाहाना हे....' खासमा मलाई यो गीत अति प्रिय लाग्ने हुनाले ठुलो भोल्युममा बजाएँ।
म सोच्दै पनि थिएँ कि गाडी नपाए कता जाने? धुलिखेलका लक्जरियस तारे होटेलमा बस्न पुग्ने खल्तीको सामर्थ्य थिएन। बिदा मागेर हिँडेको दिदीको घर जान मनै थिएन। बनेपामा एउटा पुराना गोरु व्यापारी साथी थिए। गोरु बेचेको साइनो लगाउँदै उनकोमा पस्न पनि मनको अहङ्कारले दिएन। तथापि गोरु व्यापारी रसिक स्वभावका थिए। सिकरकटेरी हाम्रोमा दर्जनौँ पटक बास बसेका थिए।
दिमागले धुलिखेल पुगी चानचुन वाला 'होटेल'मा बास बसेर बिहानै सिकरकटेरी लाग्ने अन्तिम निष्कर्ष निकाल्यो।
अनायासै कसैले ढाडमा घोच्यो। लता मंगेशकरको स्वरलाई 'पज' गरेँ।
‘कहाँ पुग्ने तपाईं?’ प्रश्न सोध्ने उही जेन-जी युवती थिई। मैले सिकरकटेरी पुग्ने बाटो बताएँ। ऊ संखुवासभाको खादबारी पुग्ने भए पनि गाडी छुटिसकेछ।
ऊ के-के बोलिरही। बोलिरही पनि के भन्नु, भुतभुताई। गाडीवालालाई अंग्रेजीमा गाली दिई। उसले अरू पनि अंग्रेजी 'भल्गर वर्ड'हरू बोली। म अलमल्ल र अकमक्क परेँ। जेन-जी युवतीले झ्याङ-झ्याङ-झ्याङ गिटार जस्तै गरी गीत गाई।
मैले पनि लता मंगेशकरकै गीत कानमा खन्याएँ।
मन्थली पुग्ने माइक्रो आयो। माइक्रो खाली थियो। म लुत्त माइक्रोमा चढेँ। जेन-जी युवती म नजिक आई। लास्टमा ऊ खुर्कोट पुगेर बास बस्ने भन्दै मेरै सिटमा आएर ढसमस्स बसी। मानौँ कि उसको म प्रेमी हुँ, पोइ हुँ।
माइक्रोमा उसले जे खाए पनि मलाई दिइरही। अति भए'सी मैले ज्वरो आएको र पारासिटामोल खाएको बताएँ। उसले टाढैबाट देखेकी पनि थिई।
उसले कराई 'तैट्, सिटामोल पनि रेडबुलले निल्दिएको, मैले त कुनै भिटामिनको गोली होला, भन्ठानेको।’
एउटा रुमाल भिजाई, निधारमा बाँधिदिई। रुमालको चिसोले टाउकोले आराम पायो। एकैछिनमा उसको हातले मेरो हातको तापमान चेक गरी। ठिकै छ भन्दै हात हटाई। मनले भन्दै थियो, मुलायम हात नहटाएको भए हुन्थ्यो नि। ‘निद्रा लाग्या भए काँधमा अडेस लाग्नु’ भन्दै उसले दुवै कानमा 'हेडफोन' जडान गरी। गीत पुरानै थियो।
'झ्याङ, झ्याङ, झ्याङ'।
माइक्रो बिग्रिसकेछ। जेन-जी युवतीले मलाई उठाई। मिठो निद्रा अनि पानीपट्टीले मेरो शरीर फुर्तिलो भएछ। माइक्रो बनेन। जेन-जी युवतीले ड्राइभरलाई एक हजारको नोट थमाई। कता बस्ने चासो राखी। ड्राइभरले गाडी छोड्न नमिल्ने बताए। सुटकेसबाट केही सामान झिकी र हातमा एक हजारको नोट थमाई।
मैले ५ सयको नोट उसको हातमा सार्न खोजेँ। तर उसले नोट मेरै खल्तीमा हालिदिई। खल्तीको चुरोट निकाली र भनी- 'तैट् चुरोट छ भनेर भन्नु पर्दैनथ्यो।’
उसले चुरोट सल्काई।
मेरो पनि आँत हरहर भो। तर उसले अन्तिम सर्को मात्रै तान्न दिई। मस्त तरुनीसँग रिस उठेन।
नार्के खोलोको बगरमा एउटी जेन-जी तरुनी र म हिँडिरह्यौँ। गाडीको 'ड्राइभर'लाई पनि देखुन्जेल हात हल्लाइरही। ड्राइभरले पनि मुख पक्कै मिठ्यायो पनि होला।
होटेलमा सबै कुरा उसैले गरी। खानाको सट्टा कुखुराको घट्ट १ केजी बनाउन दिई। कोठामा खाट २ वटा नभएकोमा पनि उसले 'चलेगा' भनिदिई। म उसको सहायक भएँ। उसको सुटकेस डोर्याएँ।
परिबन्द, परिस्थिति वा संयोग जे भने पनि भयो।
खादबारीकी गार्गीसँग भेट भो। गार्गी २५ वसन्त लाग्दै थिई। प्लस टु सक्ने बित्तिकै जापान पढ्न भनेर पुगेकी थिई। त्यहाँको संघर्षको कथा थाती राखेर गार्गीले सुटकेसबाट 'मेभियस' नामको चुरोट र १ हजार मिलिलिटरको 'रेड लेबल' निकाली। बिचमा कपालका अल्खाहरूलाई समेत नारीमा बाँधिराखेको 'लेबन्टु'ले बाँधी। नार्केमा जाडो नै थियो। कालो कलरको ज्याकेट ज्यानमा भिरी। घट्ट भुटेर लिएर आएका पसलेलाई ट्वाइलेट सोधी र मुख खुम्च्याई। नेपालमा मूत्र विसर्जन गर्न पनि गाह्रो,तैट् भनी।
गिलासमा रेड लेभल खन्याउँदै २ प्रश्नहरू सोधी- 'तिम्रो नाम के नि? के काम गर्छौ?’
म लालसिङ घर्ती। गाउँकै स्कुलबाट १२ सकेँ। सिकरकटेरीमा कृषिजन्य काम गर्छु। घरमा आमोई र म मात्रै छौँ। मैले नसोधेको प्रश्नको जवाफ नदिएको भए पनि हुन्थ्यो। दिएँ।
युनिक नाम पो रै'छ, लालसिङ। उसले 'चियर्स' होइन 'खाम्पाई' भनी। मैले भाषा बुझिनँ। चुरोट सल्काई। मैले पनि सल्काएँ। हामीले पहिलो पटक 'घ्याम्पे' हान्यौ। उसले जिन्स पाइन्ट फुकाली र मैले भित्रिया वस्त्र रातो रंग टल्किएको देखेँ। उसले पातलो ट्राउजर लगाई। म बेलाबेलामा सपना हो कि भनेर आफैलाई सोध्थेँ तर बिपना नै थियो।
गार्गी 'ट्याङ्कर' रहिछे पिउनलाई। उसले जीवनमा 'साके' र 'ताबाको' मात्रै साथी भएको बताई। 'गुगल' गरी हेरेँ। दुवै जापनिज शब्दहरू थिए। उसले गम्भीर भएर पटक-पटक भनेकी थिई- ‘लालसिङ मलाई साके र ताबाकोले खोक्रो बनाइसक्या छ।’ अर्थात् रक्सी र चुरोटको नशामा गार्गी फसिसकेकी छ।
मैले उसको आइफोन अफ गरिदिएँ। कोही पुरुष आवाजले गार्गीलाई उसको पुष्ट छाती हेर्ने अन्तिम इच्छा व्यक्त गरिरहेको थियो। गार्गीले कति बजेसम्म ताबाको र साके तानिरही म भन्न सक्दिनँ। म बिहानको साढे २ बजे सुतेको थिएँ। उठ्दा उठ्दै बिहानीको ९ बजिसक्या'थ्यो। सिरकटेरीबाट आमोईले फेरि फोन गरिन्। उठेँ। नुहाएँ। बिछ्यौनामा गार्गीलाई हेरेँ। लाजका गहनाहरू असरल्ल थिए। उसैको ज्याकेटले छोपिदिएँ।
नेपाली नयाँ वर्ष भएकोले सडकमा 'रिजर्भ' सवारीहरू मात्र देखिए।
सोचेँ, फेरी 'घमलोर' फजितिमा परियो।
३ वटा रिजर्भका सवारीहरूमा लिफ्ट मागेर आउँदा आउँदै नेपालथोकमा झमक्कै साँझ प'रो। मैले गार्गीलाई बास बस्न नेपालथोक होइन, सिकरकटेरी पुग्नु पर्ने अडान राखेँ। हामी खाली बाटोमा गाउँदै/नाच्दै हिँडिरह्यौ। सुटकेस मेरै जस्तो भयो। आज पनि मैले घिसारेँ।
आमोई रिसले आगो भइन्। तर गार्गीलाई देखे'सी थप अन्यौलता परिन्। ‘ओइ असत्ती, को नानी लिएर आइस्? जमाना ठिक छैन 'कमानसिंहेको वान'। छोडिदे बरु नागै मर्लास् यसरी भगाएर नल्याएस् बाबै। हुनलाई तेरो बाउ कमानसिंहसँग म पनि त्रिबेनीको जात्राबाट भागेरै आएको थिएँ। तर हिजोआज युग बदलियो।’
आमोईलाई गार्गीले सबै कहानी बताई।
लास्टमा आमोईले यत्ति भनिन्, ‘कस्तो नाउ रे नानी गाग्री कि के अरे?’
म र गार्गी हाँस्यौँ। आमोईले सबै छायाफायाँ मिलाएर नानीलाई मेरो कोठामा सुत्न पठाएस् भन्दै चोटामा उक्लिन्। मैले सिलसिलेबार तरिकाले खाना बनाएँ। दाल झानेँ। बजारबाट किनेर ल्याएको लोकल बँदेलको मासुमा हरियो खुर्सानी मिसाएँ। स्थानीय 'रामभेडा'को चटनी बनाएँ। ठेकीबाट दही निकालेँ। हर्पेको घ्यु निकालिरहनु परेन। गार्गीले खान मन गरिन। असाध्यै थकाइले म भुसुक्कै निदाएँ। गार्गी साके तान्ने सुरुमा थिई। ताबाको मात्र तानी।
गार्गी २ दिन सिकरकटेरी बसी।
म गाई, बाख्रा, कुखुरा र केही स्थानीय बँदेलहरूको हेरचाहमा भिडिरहेँ। आमोई पनि व्यस्तै हुन्थिन्, व्यस्तताका बाबजुद आमोई मलाई तारनतार कराइरहन्थिन्। यस्ता परिदृश्यहरू आँखाले देखेर गार्गीले मप्रति कस्तो धारणा बनाई होली भन्ने लागिरह्यो। मन त हौसिएकै थियो, गार्गी जो सिकरकटेरीमा बसेकी थिई। समय आफ्नै गतिमा सुनकोसी बगेसरि बगिरह्यो। गार्गीलाई बिदा गर्न मनले गाह्रो मान्यो। आमोईलाई गार्गी आफ्नो बाटो लागेकोमा खुसी मनाइन्।
गार्गी गुमनाम जस्तै भई।
हुनलाई खादबारीबाट फर्कँदा सिकरकटेरीमा बास बसेर मात्रै काठमाडौँ जाने बताएकी थिई। तर जीवन हो सोचेको जस्तो सरल रेखामा जीवन अगाडि बढ्दैन। गार्गीको हकमा पनि त्यही लागु भयो होला। गार्गीले खादबारी पुगेर फोन गर्छु भनेकी थिई तर गरिन। मैले गरेको भए पनि हुन्थ्यो खै गरिनँ। सम्बन्ध माइक्रो बिग्रिएर बनेको थियो त्यो पनि सकियो।
यस बिचमा चितुवाले मेरो ब्याउने गाईखुरे बाख्रो मारिदियो। म गाईखुरे बाख्राको स्मृतिमा डुबिरहे। साह्रै सानो पाठी किनेर ल्याएथेँ। यो दसैँमा मात्रै त्यही बाख्रीको बोको १५ हजारमा बेचेथेँ। बुढापाका भन्थे चितुवाले ब्याउने बाख्री खायो भने अशुभ हुन्छ।
तर गार्गीले सबेरै खुवै शुभ खबर पठाएकी थिई। उसको शुभ खबर मेसेन्जरमा टुङ्ग बजेको थियो। म थाक्से भिरमा बाख्रा चराउँदै,नारायण गोपाल सुन्दै थिएँ।
'झरेको पातझैँ भयो ,उजाड मेरो जिन्दगी ....'
प्यारो लालसिङ,
मनभरिको माया तिमीलाई।
सिकरकटेरीमा मेरो याद पातलो आयो होला। तिमीलाई गार्गी अरुण उपत्यका तिरै हराइसकी भन्ने पनि ला'गो पक्कै। तर लालसिङ मन नलागेरै ५ ओटा युवकहरूसँग पूर्वनिर्धारित बिहेको लागी भनेर गरिने 'देखभेट' कार्यक्रममा मैले उटपटाङ गफहरू दिएँ।
एउटा तोर्पेको अगाडि त ताबाको सल्काएर फुकिदिएँ। के सोच्छन् अझै मातृत्वलाई। म पनि त प्रकारान्तरले आमा हुँ।
लालसिङ, म तिमिलाई भेटेदेखि नै यो जवानी बुझाउन आतुर भइरहेँ। कहाँ मेरो हन्टर प्रेमी कहाँको तिमी? तिमी त मेरो लागी हिउँदको अरुण नदी जस्तै हौ। बगिरहने। एकोहोरो हिँडिरहने। न कसैसँग गुनासो न चिन्ता।
मलाई कोइलीजस्ता बाठा प्रेमीहरू कहिले मन परेनन्। मलाई परेवाजस्तै तिमी मन प'रो। आई लभ यु सिकरकटेरीको लालसिङ। म सधैँको लागी तिम्रै सिकरकटेरी आउँदै छु। मैले घरमा तिमीसँग बिहा गर्ने भनेर विद्रोह गरिसकेँ।
तिम्रै,
गार्गी।
रमाउँदै घरमा आइपुगेँ।
आमोईले कर्कश आवाजले भनिन्- 'जाँड छान्देकी छु,तन्का असत्ती।'