तीन वर्षे मेरी छोरी, उसको मामाघरकी बुढीआमा, यानिकी मेरी हजुरआमाको काखमा लुटुपुटु गर्दैछे।
बडो उत्सुकताका साथ उसले हजुरआमाको सयमुजा परेका बुढो गालामा आफ्ना कलिला हत्केला डुलाउँदै लाडिएर सोध्छे– आमा! हजुलको गालामा के भा’को?
हजुरआमा हाँस्दै भन्नुहुन्छ, 'म बुढी भएर गाला चाउरी परेको।'
उसले बुढीको अर्थ बुझ्दिन, फेरि सोध्छे– के गलेल बुली भको त? म बुली भको छैन?
उसको अबोध प्रश्न सुनेर आमा हाँस्नुहुन्छ अनि जबाफमा 'छैन' भन्दै उसलाई अंगालोमा बेर्नुहुन्छ। पनातिनी बज्यैको यो कुराकानी सुन्दै गरेकी म आमालाई नियाल्न पुग्छु। ओहो हाम्री आमोई त साँच्चै पो बुढी भइसक्नु भएछ। कति वर्ष पो हुनुभो होला!
उषाकालीन कलिला भानुकिरणले दलानमा बस्नुभएकी हजुरआमालाई न्यानो ऊर्जा दिएको छ। त्योभन्दा बढी ऊर्जा त सन्तानको स्नेह र स्याहारले दिएको छ, होइन भने जो कोहीको भागमा सुखद् बुढेसकाल कहाँ होला र?
सुखद् त के भन्नु, बुढेसकाल आफैमा कहालीलाग्दो र कष्टकर समय हो। लेकको टुप्पोतिर बुकी फुलेझैँ बुङ फुलेको कपाल छ, त्यो पनि त आफैले कोर्न सक्नुहुन्न। हेर्दाहेर्दै शरीरका सुकिला र पोटिला छालाहरू कालो, फुस्रो र चाउरिएको छ। मनले मागेको मिठो खाना चपाउन, पचाउन नसक्नु, उठबस गर्न, आफ्नो सरसफाइ गर्न अरूको सहारा चाहिनु, कान कम सुन्नु, आँखा धमिलिनु। अनि सबैभन्दा पीडादायी त परिवारसँगै भएर पनि एक्लो हुनु।
हो, हजुरबुबा बितेपछि हजुरआमा पनि त एक्लो हुनुभएको छ। घरका सबै काममा निस्किएपछि बोल्ने साथी पनि त कोही हुँदैनन् नि आमाको। हजुरबुवा भइदिएको भए दुई जना दिनभरि गुनगुन गरेरै थाक्दैनथे होलान्।
म आमाको बुढो कायाभित्र उमेर खोज्दै थिएँ। बाबाको बोलाइले ध्यान मोडियो र सोधिहालेँ– आमोई कति वर्षकी भइन्?
धेरै माया गर्ने भएर होला हजुरआमालाई हामी सबैले तिमी सम्बोधन गर्छौँ।
बाबाले भन्नुभयो– ए! हाम्री आमोई त ट्याक्कै ९९ काटेर सय टेकेको आज एघार दिन भो। ए, आमोई सय त कटाउन पर्छ है? आमा मुस्कुराउनु मात्र भयो, सायद हाम्रो कुरा राम्ररी सुन्नुभएन। सुन्नुभएको भए आफ्नो उमेरबारे, आफ्नो इच्छाबारे अवश्य केही बोल्नुहुन्थ्यो होला।
शताब्दी टेक्यौ त बुढीमाउ! – अनायासै ठूलै उत्सुकताले हजुरआमाका गाला चिमोट्न पुगेछन् मेरा हातहरू। तर बाबाको– 'सय त कटाउन पर्छ है?' को अभिव्यक्तिले मुटुमा सुल रोपेझैँ भयो। हजुरआमाको गालामा परेका हातहरू गालामै टासिए। शनैः शनैः आँखाका डिल भरिन लागे, कस्तो चिसो लाग्यो। एक्लोपनको ऐँठनमा अचेँटिएर, रोगी, कमजोर भएर मुक्तिको ढोका कुरिरहनु नै जीवनको अन्तिम लक्ष्य हो र? जीवन र मुक्ति बीचको अविश्रान्त संघर्ष यस्तो पो हुन्छ? अहो ! बुढो हुनु जीवनचक्रको अन्तिम ग्रीष्म हो र सत्य पनि। आफ्नै विचारहरूको फन्दामा परेर निसास्सिएछु।
पालुङको सोल्टु थापा गाउँमा जन्मिनुभएको आमाको बाल्यअवस्था अरू बालबालिकाकै जस्तो सामान्य नै बित्यो। आमाको अनुसार नौ वर्षको उमेरमा उहाँको बिहे भएको थियो रे। कठै! शैशवकालको त्यो मज्जा त आमाले भोग्नै पाइनछिन्। चुरा–पोते, बेहुला–बेहुली, भाँडा–कुटी खेल्ने उमेरमा आमोईले बा’ को नामको श्रीङ्गार गरेकी रैछिन्। नाता सम्बन्ध के हो थाहा नहुने उमेरमा सम्बन्ध निभाउन पराई घर पुगेकी आमा। अबोध बालसुलभ रहरका रङहरू त माटोमा मिलाएर, घर–चुलोचौको लिपेरै पो रङ्गाएकी रहिछन्।
आफ्नो क्षमताभन्दा ठूला डोकाको घाँस, पत्कर र दाउरामा अग्लिएर सक्षम भएकी, आफ्नो भोकभन्दा थोरै आधा पेटसँग सम्झौता गरेकी, परिवारको खुसीमा आफ्ना मुस्कान मिसाएकी आमा, आज आफ्नो उमेरको अङ्कगणितमा एक सय एक स्थानमा उक्लिएकी छिन्। खुसी छिन् कि दुःखी छिन्, हामीलाई भन्दिनन्, त्यो स्वयं आमाभित्र निहित छ तर आजकल आमा अबोध छिन्। मेरी छोरी र आमामा फरक यति छ – छोरी हर कुराहरू जान्न उत्सुक छिन्, आमा हर कुरा जानेर पनि मौन छिन्।
सोध्न मन छ आमा– जिन्दगीमा कति वटा रङहरू देख्यौ भनेर। जन्मघर छोड्दा गाँठो परेको पीडाको रङ, पराई घर सम्हाल्दा थिचिएका जिम्मेवारीका रङ, सन्तानको आगमनले भरिएको ममताको रङ, बिरामीले थलिँदा आफ्नाले गर्ने हरेक व्यवहारका रङ, आफ्नै मुटुले थाम्न नसक्ने सन्तान र जीवनसाथी वियोगमा अँध्यारिएका शोकको रङ।
यी सारा रङहरूले तिमीलाई कुन कुन ऋतुमा रंगाए होलान् आमा? अनि तिम्रो आफ्नै रङ चाहिँ कुन हो? आज सय वर्ष काटिसक्दाका दिनहरूमा तिमीले आफ्नो नितान्त व्यक्तिगत जीवनलाई कसरी हेर्यौ, कस्तो पायौ थाहा छैन, तर एउटी नारीको जीवनमा आउने आरोह अवरोह, दुःख, संघर्षको हिसाबभन्दा आफ्नो परिवारको खुसी, सन्तान दरसन्तानको खुसी र प्रगति सदैव प्राथमिकतामा पर्ने रहेछ।
एक वर्ष अगाडि म माइत जाँदा भएका कुरालाई समेटेर आज आमाको लागि केही शब्दहरू लेख्ने कोसिस गरेकी छु। आमाको बारेमा जति लेखे पनि सधैँ शब्द कम लाग्छन्।
आमाको जीवन कथा आमाकै मुखबाट सुन्ने र लेख्ने रहर थियो तर उमेर बढेसँगै आमा अल्जाईमरको सिकार हुनुभएको छ। जसले गर्दा आमाको स्मृति गुम्दै गएको छ। आफ्नै सन्तान, परिवार तथा आफन्तलाई नै नचिन्ने, हिँड्डुल गर्न नसक्ने अवस्थामा पुग्नुभएको छ।
आमाको अविरल सेवामा दिन रात खटिएका मेरी आमा र बाबालाई भगवानले सदैव सेवाप्रति लिप्त र मन बलियो बनाइराखून् भनी प्रार्थना गर्दछु।
बाबाले– 'सय त कटाउन पर्छ है?' भनेको अभिव्यक्तिप्रति आज्ञाकारी भएझैँ आज आमाले सय वर्ष पूरा गरी एक सय एक वर्षमा प्रवेश गर्नुभएको छ।
आमाको एक सय वर्षको जन्मोत्सवको यो खुसीको क्षणमा आमालाई हृदयदेखि नै शुभकामना व्यक्त गर्न चाहन्छु।
आमाको अगाडिका दिनहरू सहज बन्दै जाऊन्, शरीर ऊर्जावान होस्, भगवान श्री पशुपतिनाथसँग प्रार्थना गर्दछु।
ह्याप्पी बर्थडे आमोई!