'प्रिय, हाम्रो जोडी ईश्वरको वरदान हो।' मेरो मुखबाट केही काँपेको आवाज फुत्त निस्किन्छ।
उनी मेरो अनुहारमा हेर्छिन्।
'हामी आकांक्षाका फूलहरू सजाएर जीवनभर सँगै रमाऔँ।' हामी बीच आज अकस्मात भेट भएकाले मैले यसरी उनलाई प्रेम प्रस्ताव राख्न पुगेँ।
उनी छक्क परेझैँ गर्छिन् र मलाई एकटकले हेरिरहन्छिन्। उनको अनुहारमा अनपेक्षित भाव झल्किएको देखेर म केही हच्किएँ र हाम्रो त्यो पहिलो जम्काभेट सम्झिन पुगेँ।
हाम्रो पहिलो देखादेख भर्खरै सम्पन्न भएको साउने मेला भर्ने क्रममा भएको थियो।
हिजोआज त मेला भर्न जाने चलन हराउँदै आएको छ। तर पहिलेको समयमा मेला लाग्नुको पनि महत्वपूर्ण कारण थियो। उतिबेला यस्तै मेलाहरू नै जमघटका मुख्य माध्यम बनेका हुन्थे।
महिनौंदेखि योजना बनाएर टाढा टाढाबाट मान्छेहरू मेला भर्न आउँथे। यसलाई कोही व्यापार गर्न, कोही चाहेको किनमेल गर्न, कोही आफन्त भेट्न, कोही मनोरञ्जन गर्न र उमेर पुगेका युवायुवतीहरू माया पिरती गाँस्ने समेत बहाना बनाउँथे।
नजिकका मान्छेहरू आफ्नै खेतबारीको उत्पादनलाई पिठ्युँमा बोकेर त्यहाँ पुर्याउँथे। दिनभर बेचबिखन गरेर साँझसम्ममा घर फर्किन्थे। घर फर्किँदा रात परेमा बाँसका भाटाको राँको बालेर वा मट्टीतेलको पुल्ठो बालेर बाटो उज्यालो पार्ने गर्दथे। युवा उमेरका कतिपय ठिटाठिटीहरू चाहिँ रातभर मेला भरेर उतै रमाइलो गर्ने गर्थे।
म सानैमा जिद्दी गरेर आमासँग यो मेला भर्न गएको थिएँ। हाम्री आमाले मेलामा पुगेका बेला चिनजानका मान्छेहरूसँग भेट गर्ने, परिवार, आफन्त र कुल कुटुम्बका हालखबर सोध्ने गर्नुहुन्थ्यो। त्यहाँ एक आपसमा खानेकुरा वा यस्तै उपहार आदान प्रदान हुन्थ्यो। मजस्तै बालबालिकाहरू ठूलठूला ताईमा पाकेका सेल रोटी, तरकारी र यस्तै खानेकुरा किनी माग्दै गरेको देखेको थिएँ। मलाई पनि आमाले किनिदिनु भएको तातो सेल खाँदा जिब्रो पोलेको अझै याद आउँछ।
अलिक हुर्किएपछि पनि म साथीहरूको लहैलहैमा लागेर रातभर मेला भर्न बसेको थिएँ। रातभरको चिसो सिरेटोले भोलिपल्ट घर पुग्नासाथ ज्वरो आएर एक हप्ता थलिएको थिएँ। दिनभर मेलामा घुम्दाका दृश्यहरू भने अहिले पनि ताजै छन्। सुख दु:खका बात मारी रहँदा कोही सुक्सुकाउँदै हुन्थे। कोही सासूको कचकच सुनाउँथे। कोही बुहारीको उछितो काढ्दै हुन्थे। कोही वरपर ध्यान खिचिने गरी अट्टहास गर्थे। कोही बात गर्दागर्दै गम्भीर बनिरहेका हुन्थे। कोही त्यहीँ चर्काचर्की गरेर अरूको ध्यान तानिदिन्थे। तर पनि मेलामा आएका अनेक आवाजको कल्याङ बल्याङभित्र पनि एक किसिमको मिठासयुक्त लय मिलेजस्तो लाग्थ्यो।
बाल्यकालमा यसरी मेला भर्न पुगेको याद आउनासाथ फेरि कहिले पुगौं हुने मलाई सधैं। यो साल बाह्र वर्षपछि लाग्ने विशेष मेला थियो। त्यसैले हामी पनि बाल्यकालको तलतल मेट्ने उद्देश्यले मेला भर्न गएका थियौं। यो भ्रमण मेरो जीवनमा विशेष स्मरणीय रहन पुग्यो।
बुढापाकाहरू हातमा लठ्ठी समाएर वा लामो छाता लिँदै आपसमा कुराकानी गरिरहेका देखिन्थे। पातले बेरेको सूर्ती सल्काएर मुखबाट धुँवा फाल्दै कुरा गर्नेहरू पनि प्रशस्तै हुन्थे। यी अगुवाहरूको साथमै भएका मात्र होइन नजिकै पुगेका जो कोहीले अन्जानमै जीवन भोगाइका भिन्नभिन्न तरिका सिकिरहेका हुन्थे। दोहोरी लत्ता देखिने मानिसहरू सुख दु:ख आपसमा बाँडिरहेका हुन्थे। अगुवाका वरिपरि अप्ठ्यारो परेको गाँठो फुकाउन झुम्मिनेको भीड पनि घट्दैनथ्यो।
मेलाको पश्चिम तिरको तल्लो गह्रामा लहरै ऐरेलु उत्पादन बेच्न राखिएका थिए। त्यहाँ गुन्द्रक, सिन्की, अदुवा, बेसार, कागती, लसुन, चामल र विभिन्न तरकारीदेखि कालो तिलसम्म किनबेच भैरहेको थियो। भित्तामा ठड्याएर बेच्न राखिएका उखुका लाँक्रा पनि हेर्दै रसिला देखिन्थे।
हामी दुई जना साथी मिलेर सकेसम्म धेरै कुराहरू हेर्दै विस्तारी हिँडिरहेको थियौं। मेरा आँखा चारैतिर दौडिरहेकै थिए। डोकाको भारीमा पहेँलपुर सुन्तला हाम्रै अगाडि देखियो। हामी सुन्तला खाने विचारले त्यतै लम्कियौँ। मैले भाउ सोधेँ। 'यति महङ्गो त नगर्नु न हौ' भन्दै सुन्तला छान्न थालेँ। यसरी सुन्तला छान्न हात लैजाँदा उनको र मेरो हात एउटै दानामा पर्छ। हामी हेराहेर गर्दै हाँस्छौँ। नारीसुलभ गुण देखाउँदै उनी लजाउँछिन्। लजाउँदा एक्कासि रङ चढेको उनको अनुहार हेर्न लायक थियो।
मैले ठट्यौलो शैलीमा 'ल ल लिनुस् यो हामी दुवैले रोजेको भए पनि तपाईंलाई नै छोडिदिएँ। म अरू नै छानुँला नि।' भन्दै अरू दाना टिप्न लागेँ। उनले हाँस्दै त्यो समाइन् र गन्दै झोलामा राख्न थालिन्। म पनि अर्को झोलामा छान्दै राख्न थालेँ। फेरि पैसाको हिसाब मिलाउने बेलामा हाम्रो संवाद हुनुपर्यो। सुन्तला व्यापारी दाइसँग मेरो पाँचसय रूपैयाँ साट्न मिल्ने गरी खुद्रा थिएन। उनीसँग चाहिँ मलाई समेत पुग्ने गरी खुद्रा रहेछ। उनैबाट मैले साटेर काम चलाएँ। यसपछि हामी आआफ्नो बाटो लाग्यौँ।
हाम्रो दिनभर मेला भरेर समय काट्ने योजना थियो। निस्फिक्री घुमफिर गर्ने र बजारको रमिता हेरेर नै समय बिताउने काम पनि रमाइलो लाग्दो रहेछ। अहिले त बजारमा नयाँ नयाँ चलानी सरसामानहरू बग्रेल्ती बढेका देखिन्थे। बेच्ने तरिका पनि फरक फरक हुन थालेछन्। यतिमात्र होइन मनोरञ्जनका लागि भिडिओ गेम जस्ता नयाँ प्रविधिका खेलहरू समेत थपिएका रहेछन्। पहिले जस्तो लिङ्गे पिङ र चर्खे पिङ क्रमश: हराउँदै जान थालेछन्।
सुन्तला किन्ने क्रमको जम्काभेट देखिरहेको मेरो साथीले पनि जिस्क्याउने मेलो पाएको थियो। उमेर अनुसारका छेडखानी त सामान्य मान्नै पर्ने। चौरमा पलेँटी कसेर घाम ताप्दै सुन्तला खाँदाको मजा नै बेग्लै हुन्छ। सुन्तला खाइसकेपछि हामीलाई भुटेका बदाम छोडाएर खान मन लाग्छ। उसिनेको तरूल र लेकाली कालो भटमासको स्वाद बिर्सने कुरै थिएन। यी थप खानेकुरा किनमेल गर्ने क्रममा पनि फेरि अघि झै उनैसँग जम्काभेट भयो।
सायद उनको र हाम्रो उस्तै रहेछ आजको संयोग। कुरैकुरामा हामी बीचमा आँखा चार भइरहने भएर पनि होला आपसमा चिरपरिचित जस्तै लाग्न थालेको थियो। साँझ पर्नै बेलामा हामी आआफ्नो बाटो लागे पनि मेरो मन चाहिँ त्यही जम्काभेटमा अडिएको थियो।
दिनभरको थकाइ एकातिर थियो भने अर्कातिर उत्सुकता पनि थियो। दिउँसो तीन पटक भेट हुँदा पनि उनको नाम सोध्नसम्म नसकेकोमा भने आफैप्रति गुनासो रहेको थियो मलाई। यो मेला लाग्ने ठाउँ हाम्रो घरबाट नजिकै भएकाले उनी पनि धेरै टाढाको नहुनु पर्ने हो। तर उनी चाहिँ मेला भर्न टाढाबाट आएकी पनि त हुन सक्छिन् नि भन्ने पनि लाग्छ।
मैले घर पुग्नासाथ अरू केही नगरी सिधै फेसबुक खोलेँ। त्यहाँबाट अनेक नामहरू खोजी गर्दै उनको अनुहार चिन्न कोसिस गरेँ। यसरी अन्धाधुन्ध तस्बिरहरू खोजेर के पार लाग्ला र! साँच्चै उनलाई खोज्दा खोज्दै म त भुसुक्कै निदाएँछु। निद्राबाट बिउँझिदा पनि मनको कौतुहल चाहिँ यथावतै थियो। मैले फेरि खोजी गर्ने उही कामलाई निरन्तरता दिन थालेँ। अहँ, चाहेको आकृति अझै भेटिएन।
यो सामाजिक सञ्जालमा मान्छे पहिचान गर्न पनि कति कठिन हुने! बरू कहिल्यै नचिनेको व्यक्तिलाई सोझै साथी बनाउन सजिलो हुन्छ। साथी बन्न अनुरोध पठायो र जबाफ पर्खियो। उताबाट स्वीकार गरेदेखि दोहोरो संवाद गर्यो नत्र बेवास्ता गरे पुगिहाल्छ। चिन्न चाहेको तर नाम र थरको जानकारी नै नभएको व्यक्तिलाई यसरी खोजेर पाउन कहाँ सजिलो हुन्छ त? अझ जसको अनुहार नै घुर्मैलो स्मरणमा मात्र रहेको छ, अनि कसरी सम्भव छ र? भन्ने लागेर म अलमलिन्छु।
मेरो यो खोजी अभियानले अझै केही समय लियो। म हतपति हार मान्ने मान्छे पनि त होइन नि। यस्तै सोच्दै थिएँ, मेरो एकाउण्टमा एउटा फ्रेण्ड रिक्वेस्ट आउँछ। मैले हेर्दै गरेको प्रोफाइलबाट फुत्त बाहिर निस्किन्छु। म यो नयाँ अनुरोध कसको रहेछ भनेर हेर्न थाल्छु। हेर्न चाहेको यो प्रोफाइल नै लक रहेछ। अनि प्रोफाइल तस्बिरको स्क्रिन सट गरेँ र त्यसलाई ठूलो बनाएर हेर्न खोजेँ। उनी नै हो कि जस्तो लाग्यो तर यकिन गर्न अझै कठिन भैरहेको थियो।
हिजो मसँगै मेला भर्न हिँडेको साथीलाई सोधौँ कि नसोधौँ भनेर दुविधा भयो। नसोधौँ भने आफूले फेसबुकमा ठम्याएको मान्छे सही हो कि होइन यकिन गर्न कठिन भैरहेको थियो। सोधौँ भने उल्टै उल्लिबिल्ली पारिदेला भन्ने पीर लाग्ने। अझ त्यसमाथि गोपनीयता भंग होला भन्ने डर पनि छँदै थियो।
जे त होला भन्दै आँट गरेर उसको म्यासेन्जरमा प्रोफाइलको तस्बिर पठाएँ। मेरो साथी पनि त सामाजिक सञ्जालमै झुम्मिएको हुन्छ सधैँ। तत्कालै हेरेर उसले जबाफ फर्कायो 'यो त हिजोको सुन्तलावाली हो नि। रातभर लगाएर खोजिस् कि के हो? ल ल मोज गर।'
मैले उसको जबाफ फर्काइरहन आवश्यक ठानिनँ। बरू आफै पहिचानको नजिक पुग्न सकेकोमा ढुक्क भएँ। अनि उनले साथी बन्न गरेको अनुरोध तत्कालै स्वीकार गरेँ र 'हाई' भन्ने सन्देश पठाएँ।
उताबाट जबाफ आउन्जेल समय कटाउन निकै अधैर्य हुन थालेँ म।
हामीभन्दा अघिल्लो पुस्तालाई यस्तै अप्ठ्यारो परेको बेला कसरी गाँठो फुकाउँथे होलान् भन्ने लाग्यो। त्यतिबेला पैदल यात्राको मात्र सहारा लिनुपर्ने बाध्यता थियो।
मन मिलेका मान्छे भेटेर बोलचाल गर्न पनि समय मिलाउन उस्तै कठिनाइ हुन्थ्यो होला।
महिला र पुरूष दुई जना सँगै बोलेको मात्र देखे पनि बात लगाइदिने डर हुन्थ्यो सायद।
भेट्नका लागि यस्तै हाटबजार, मेला वा पानीघट्ट जस्ता अरू संयोग नै कुर्नुपर्ने। रोदीको रौनक वा भाका बस्ने, दोहोरी गाउने, बालन, सङ्गिनीदेखि धान नाच्ने आदि अनगिन्ती प्रचलन यस्तैलाई सजिलो बनाउनका लागि चलेको हुनुपर्छ भन्ने लाग्छ।
त्यही भएर पनि भेट भएको बेलामा नै भगाएर लैजान सकिने चलन चल्दै आएको होला भन्ने सोच्न पुग्छु।
केहीबेरमा मेरो म्यासेन्जरमा घण्टी बज्छ। म हतारिँदै त्यतै हेर्छु। उनको जबाफ आएको हुन्छ। म यो देखेर फुरूङ्ग हुँदै उफ्रिन्छु। यसपछि त हाम्रो भर्चुअल भेटघाट सधैंजसो चलिरहन्छ। यो भेटघाटले दुनियाँको परम्परा, रितिरिवाज, बाबुआमा वा समाजको अपेक्षा र आफ्नो कामसमेत सबै गौण बन्दै जान्छन् हाम्रा लागि। हामी सम्पर्कमा रहेका बखत कामको हतारोले खासै प्रभाव पार्दैन।
आमा बिहानै उठेर दलान र मझेरी लिपपोत गर्नुहुन्थ्यो। कुवाको पानी उघाएर नुवाइ धुवाइ सक्नु सक्नुहुन्थ्यो। यसपछि तुलसाको मोठमा पूजा समेत भ्याउनु हुन्थ्यो। अनि हाम्रा लागि खाना तयार गरिवरि पस्किएर बोलाएको घण्टौँसम्म पनि हामी कुराकानीमा व्यस्त रहन्थ्यौँ। मन मिल्ने जोडीको भावनाको उडान त अन्तरीक्षभन्दा टाढासम्म उड्छ क्यारे। अनलाइनमा एकपल नदेख्दा पनि दुवैलाई सताउँथ्यो। तर जब भेट हुन्छ, तुरून्तै त्यो सबै भुलिहालिन्थ्यो। यस्तो भावनात्मक सम्बन्धको बलियो डोरीले हामीलाई बाँधेको थियो।
म अनुभूत गर्छु, उनको बोल्ने कला मेरोभन्दा निकै अब्बल थियो। मैले जीवन सुन्दर बनाउन आफूभन्दा अब्बल जीवन साथी पाउने आशामा मनकामना देबीलाई नरिवल चढाएको थिएँ। बङ्गलामुखी मन्दिर सम्झिएर टाढैबाट जल अर्पण गरेको थिएँ।आफ्नो मनोकांक्षा पूरा गराउन त जुनसुकै धर्मका आराध्यलाई पनि भाक्न सकिँदो रहेछ।
अहिले मेरो यो कामना सार्थक हुने दिशामा पुगेकोमा कृतज्ञ बन्छु। उनी संवादमा सधैं भर्चुअल निजी नेटवर्क (भीपीएन) को मात्रै प्रयोग गर्न सुझाव समेत दिने गर्थिन्। हाम्रो जीवनयात्रा अनन्त कालसम्म उत्तिकै मधुर र उस्तै रसिलो भइरहने विश्वासमा हामी दुवै प्रफुल्ल थियौँ।
म कहिले आफूले सिर्जना गरेका कविता र मुक्तकहरू उनलाई सुनाउँथेँ। उनी पनि आफ्नो कल्पनाको सुन्दर कला मलाई देखाउँथिन्।
'आहा कति राम्रो' भनेर आपसमा प्रशंसा गर्दै लामो समयसम्म धेरै शब्दहरू खर्चिँदा त अझ आनन्द आउँदो रहेछ। उनले पठाएका अरू सांगीतिक सामग्री पनि एकदमै बान्की परेका र पूर्ण होसियारीका साथ बनाएका हुन्थे। उनी आफै पात्र भएर बनाएका सामग्री त झन् चित्ताकर्षक लाग्थे सधैं। हाम्रा दिनहरू यसरी नै बितिरहेका थिए।
म उनलाई चाँडै नै प्रत्यक्ष भेटेर आफ्नो भावना व्यक्त गर्ने चाहनाले व्यग्र बन्थेँ। तर उनले अझै केही समय आफ्नो अनुकूल नहुने बाध्यता सुनाउँथिन्। समय अनुकूल नहुने कस्तो माया हो यो भनेर म किञ्चित विस्मित बन्थेँ। तथापि मेरो लागि पर्खिनुभन्दा अर्को विकल्प थिएन। म समयको पर्खाइमा लस्त बन्दै थिएँ।
आजको यो भेट चाहिँ संयोगले मात्र भएको थियो। मनभित्रको मान्छेलाई नजिकै पाउँदा फुरूङ्ग हुन पनि त सक्नुपर्छ भन्ने लाग्यो। सामाजिक सञ्जालमार्फत् हाम्रो बीचमा सीमारहित कुराकानी भैसकेका थिए। सँगै जिउने र सँगै मर्ने बाचा बन्धन भैसकेकै थियो। अब त केवल दुवै पक्ष भेट गरेर औपचारिकता दिन मात्र बाँकी रहेको अवस्थामा हामी ढुक्क थियौँ। यस्तो बेलामा एक्कासि यसरी जम्काभेट भएपछि 'जीवनभर सँगै रमाऔँ' भनेर प्रस्ताव राख्नु कुनै नौलो विषय थिएन।
तर अचम्म, यो भेटमा उनको हाउभाउ परिचित जस्तो खासै नदेखिएपछि मलाई अनौठो लागेकै हो। अनि मैले बाह्र वर्षे साउने मेला र उही सुन्तला किन्दाको प्रसंग सम्झाएँ। उनले त्यो सबै सम्झिँदै त्यो बेलामा झैँ मुस्कुराइन्। यसले म अलिक आश्वस्त बनेँ।
अब मैले सञ्जालमा हाम्रो कुराकानी भएको प्रसंग निकाल्न थालेँ। तर उनी त बेखवर देखिन थालिन्। मैले यकिन गर्न हाम्रो संवादमा भएका अरू केही प्रसंगहरू पनि उठाएँ। उनी यो विषयमा झन् अन्जान बन्दै आइन्। म निकै अचम्मित मात्र भइनँ छाँगाबाट खसेझैं भएँ। मेरो मुटु करिब रित्तो भएजस्तो लाग्न थाल्यो।
उनले आफ्नो बिहेको निर्णय भैसकेको र यसैको तयारीका सन्दर्भमा आज बजार आएको बताइन् ।अर्थात् अब हाम्रो बीचमा सँगै बाँच्ने सम्बन्धको सम्भावना सकिएको थियो। हाम्रो अहिलेको भेट त केवल संयोग मात्र रहेको हामी दुवैलाई एकिन थियो । हाम्रा बीचमा भएको त्यति लामो समयका कुरा र खुसीको साझेदारीका प्रतिज्ञाले भेट नखाए पछि म विस्मयमा परेँ ।
म एकोहोरो प्रेममा परेको दोष कसलाई दिने भनेर आफैलाई प्रश्न गर्न थाल्छु। साइबर क्राइममा उजुरी दिन तत्कालै निवेदन लेख्न मन लाग्छ। आखिर मैले के गलत गरेको छु र यसरी मन दुखाउनु पर्ने भयो भनेर विगत सम्झिन थाल्छु। यो भेट नै अन्तिम हुने कुराले तिल्माउन पुग्छु।
यो अप्रत्यासित अवस्थाबाट रन्थनिँदै म घर फर्किन्छु र हतार हतार फेसबुक आइडी खोल्छु। म फ्रेन्डलिस्टबाट उनलाई अनफ्रेण्ड गरिदिन्छु। मन असह्य भारी भएको हुन्छ। वियोगान्त फिल्ममा त्यहाँका पात्रहरू रूँदा आफू पनि सँगसँगै रोएका दृश्यहरू झल्झली याद आउँछन्।
केही समयपछि अनफ्रेण्ड गरिसकेको त्यही एकाउन्टबाट फेरि मलाई साथी बन्न अनुरोध आउँछ।
म नियालेर प्रोफाइल तस्बिर हेर्छु। ठ्याक्कै उस्तै लाग्छ उनको आकृति। ओठमा लगाएको रातो लिपिस्टिक। मन्द मुस्कानसँगै अलिअलि खुलेका ओठ। त्यहाँबाट चियाएका उज्याला दन्तपंक्ति। सलक्क नाक, बान्की परेको अनुहार र तेलले भिजेको कालो कपाल।
म तस्बिर गढेर हेर्छु। बल्ल थाहा हुन्छ, आखिर यो सब एआईले सिर्जना गरेको पो रहेछ। हैन भर्चुअल प्रतिबिम्व यस्तो दुरूस्त हुन सक्छ र? समयमै पहिचान गर्न नसक्ने आफ्नै क्षमतामाथि दया लागेर आउँछ। अनि यो त समग्र मानव जातिकै लागि चुनौती हो भन्ने लाग्न थाल्छ।
आफ्नो अन्तर मनसँग छकिएको हुन्छु म। उनको सुन्दर अनुहार, मिठो बोल्ने शैली र उन्नत कलाको स्मरणले जलन हुन्छ। म करिब विक्षिप्त अवस्थामा बर्बराउन पुग्छु, 'ए छुसी एआई, तैंले मान्छेलाई आफ्नै जातिसँग शान्तिपूर्वक बाँच्न नदिने नै हो त?'
मेरो कुँढिएको मनले चाहिँ केवल तस्बिरमा भएजस्तै उनलाई खोजिरहन्छ।
मलाई केवल देखिने मात्र होइन छुन सक्ने उनी चाहिन्छ। खुसी बाँड्न उनी नै चाहिन्छ। जीवन बिताउन उनकै साथ चाहिन्छ। हिजो अस्ति जस्तै सीमाहीन कुरा गर्ने उनकै साथ चाहिन्छ। साँच्चै म अब यस्तो वियोग सहनै सक्दिनँ भन्दै आफैसँग हठ गर्नपुग्छु।
साँच्चै यति सुन्दर र बुझकी साथी कोही पाइएला त यो मानव सागरमा?
म साइबरको दुनियाँबाट बाहिर निस्किएर आँखा मिच्दै खोज्न थाल्छु।