लुम्बिनीको पवित्र माटोमा
सिद्धार्थ तिम्रो आगमनले
उकुसमुकुस यो धर्तीलाई
शान्तिको मार्ग देखाइरहेछ।
जहाँ घृणाको पर्खाल थियो,
आज प्रेम फुलिरहेछ
जहाँ अशान्तिको सैलाब थियो,
त्यही बुद्धत्व मुस्कुराइ रहेछ।
गगनमा चन्द्रमा फक्रिरहेछ
करुणाको उज्यालो फैलाइरहेछ
प्रकाश पुञ्जको तरेली भित्र
चेतनाको जागरण महकी रहेछ।
न कुनै शस्त्र, न कुनै अस्त्र
केवल करुणाको स्पर्शले
हृदयहरू परिवर्तन गर्ने
दीपहरू यहाँ बलिरहेछ।
बोधिवृक्षको शीतल छायामा
मौनताको फूल फुलिरहेछ
तिम्रो त्यो मौनताभित्र बुद्ध
सत्यको प्रकाश फैलिरहेछ।
‘अप्प दीपो भव’ को मन्त्र
ब्रह्माण्डमा आज गुन्जिरहेछ
स्व-बोध अनित्य अप्रमादमा
मन मगन अब भइरहेछ।
बुद्ध पूर्णिमाको यो पवित्र दिनमा
शान्तिको दीप सधैँ बलिरहोस्
मनभित्रका अज्ञानताहरूलाई
अनुपश्यनाले बोध गराओस्।
शीतलता छर्ने यो पूर्ण चन्द्र झैँ
हाम्रो जीवन प्रकाशित होस्
शान्ति, प्रेम र विवेकको ज्योति
बुद्ध, तिम्रो करुणा सधैँ बर्सिरहोस्।