'नेपालको आर्थिक विकास गर्न तपाईंको सोच के छ?'
— नेपालमा के छैन? संसारका अग्ला १० मध्ये ८ हिमाल हामीसँग छन्। ऋषिमुनिले ध्यान गरेका पवित्र भूमि हामीसँग छन्। प्रकृतिले दिएको अनुपम उपहार, जसमार्फत हामी करोडौं/अर्बौं कमाउन सक्छौं, त्यस्तो धरती हामीसँग छ।
हामीसँग के छैन? बेसार बेचेरै, काठ बेचेरै, अदुवा बेचेरै हामी सबै करोडपति हुन सक्छौं।
'नेपाल जटिल भू–राजनीतिक अवस्थामा छ, नेपालले भू–राजनीतिक अवस्था आफ्नो अनुकूल बनाउन के गर्नुपर्ला?'
— अवश्य पनि, नेपाल गम्भीर भू–राजनीतिक अवस्थामा छ। नेपालले आफ्ना तीनै छिमेकी भारत, चीन र अमेरिकालाई सन्तुलनमा राखेर अघि बढ्नुपर्छ। भू–राजनीतिक सन्तुलन मिलाएमा मात्र हामी अगाडि बढ्न सक्छौं।
'नेपाल विकास हुन के गर्नुपर्छ, तपाईंलाई के लाग्छ?'
— भ्रष्टाचारको अन्त्य हुनुपर्छ। सुशासन कायम हुनुपर्छ। सबैले समान अवसर पाउनुपर्छ। शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्छ, सबैले रोजगारी पाउनुपर्छ, देशमा कलकारखाना खोल्नुपर्छ। नेपालले अब एआई प्रयोग गर्दै समृद्धितर्फको बाटोमा लाग्नुपर्छ।
यी गम्भीर प्रश्नका जबाफहरू समस्या होइनन् — समस्या त हाम्रो सतही सोच्ने बानी हो, प्रश्न र चुनौतीहरूको गहिराइलाई नजरअन्दाज गर्दै हलुका लिने बानी हो। थाहा भए पनि नभए पनि जबाफ दिनैपर्छ भन्ने बानी हो।
लामो समय हामीले गम्भीर चुनौतीहरूका यस्तै सतही जबाफमा बितायौं, यस्तोमा खासै कसैको ध्यान पुगेन।
तर जब यस्तै जबाफ राजनीतिक, गैर–राजनीतिक, प्राज्ञिक, सामाजिक क्षेत्रबाट निरन्तर आउन थाल्छ, त्यो चाहिँ समस्याकै विषय हो।
चुनावका गफहरू
देशमा चुनावको सरगर्मी छ।
सबै प्रत्यासीहरूले आ–आफ्नो विचार राखिरहेको अवस्थामा माथिका वाक्यहरू तपाईंले आजकल धेरै सुनिरहनु नै भएको होला। प्रश्नकर्ता र उत्तर दिने मान्छे फरक होलान् तर प्रश्न र उत्तरहरू उस्तै उस्तै नै छन्।
त्यसो त चुनावमा मात्र होइन, यस्तो सतही र मेहनत गर्नु नपर्ने प्रश्न र जबाफमा हामी पहिलेदेखि अभ्यस्त नै हौं;
'यो वर्षको बजेट कस्तो लाग्यो?'
— बजेट अलि महत्वाकांक्षी छ, कागजमा त राम्रो छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ।
'महिलाहरूलाई अर्थतन्त्रमा जोड्न के गर्नुपर्छ?'
— महिलाको सशक्तीकरणमा ध्यान दिनुपर्छ, राज्यले महिला र पुरूषलाई समान व्यवहार गर्नुपर्छ। महिलाहरूलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउनुपर्छ।
'देशको शिक्षा सुधार गर्न के गर्नुपर्छ?'
— सार्वजनिक–निजी विद्यालयबीचको खाडल पुर्नुपर्छ, वैज्ञानिक शिक्षामा सबैको पहुँच हुनुपर्छ, शिक्षा रोजगारीसँग जोडिनुपर्छ।
सुन्दा मज्जा लाग्ने, हो कि जस्तै पनि लाग्ने, बौद्धिक सुनिने अनि धेरै मेहनत गर्नु नपर्ने। यस्तै रेसिपीमा चलिरहेको छ नेपाल बनाउने गफ।
समस्याको गहिराइ र जटिलता हामीले बुझेका छौं वा बुझ्ने कोसिस गरेका छौं त?
गम्भीर समस्याहरूको हामी यस्तो सतही समाधान दिन्छौं, जसले सर्प पनि मर्दैन, लाठी पनि भाँचिँदैन। यस्तो समाधान, जो सुन्नेको लागि पनि त्यस्तो हलचल ल्याउने खालको हुँदैन, जुन प्रश्न सोध्नेका लागि पनि सहज रहन्छ, अनि यसले यस्ता समाधानकर्ताको साख पनि जोगाइराख्छ। यस्तो सतही समाधान, जसले दिने व्यक्तिको बौद्धिक पगरी पनि जोगाइराख्छ अनि पर–परसम्म जबाफदेहिता पनि माग गर्दैन।
के, किन, कसरी, कहिले — दोस्रो प्रश्नबाट भाग्ने प्रवृत्ति।
बोल्नलाई बोलेको जस्तो, प्रश्न सोध्नलाई सोधेको जस्तो।
हरेक विषयमा यस्ता उग्र सतहीकरण, जसका उत्तरहरूले हाम्रो सामाजिक विवेकको पनि हुर्मत लिइरहेका हुन्छन्।
हामी यस्ता हलुका र फुस्रा समाधानमा यति अभ्यस्त भएका छौं कि हामी कुनै पनि विषयको गहिराइमा जान पनि डराउन थालेका छौं। गहिराइमा कुरा गर्न धेरै अध्ययन, धेरै मिहिन बुझाइ र मुख्यतः आलोचनात्मक चेतको आवश्यकता हुन्छ। हरेक विषयमा छिटो प्रतिक्रिया जनाइहाल्नुपर्ने अहिलेको बाध्यात्मक जस्तो देखिएको अवस्थामा ती दुर्लभ र 'अनावश्यक' गुण जस्ता देखिएका छन्।
सन् २००२ मा एल विश्वविद्यालयका शोधकर्ताहरू लिओनिड रोजेनब्लिट र फ्र्यांक कीलले एउटा दमदार सिद्धान्तबारे व्याख्या गरेका थिए —इलुजन अफ एक्सप्लानेटरी डेप्थ। यसमा उनीहरूले धेरै मानिसहरूलाई कुनै पनि विषयले कसरी काम गर्छ भन्नेबारे थाहा हुँदैन भन्दै सतही रूपमा टिप्पणी गर्दा वा बुझ्दा, त्यसले निर्णय क्षमतामा कस्तो नकारात्मक असर गर्छ र त्यसले कसरी सहज विषयमा पनि ध्रुवीकरण सिर्जना गर्छ भन्ने विषयमा गहिरो विश्लेषण गरेका छन्।
नेपालमा पनि हामी धेरैले आफ्नो ज्ञानको दायरा बुझेका छैनौं वा निर्लज्ज भई बुझ पचाएका छौं। बौद्धिक देखिने दौडमा, बौद्धिकको काम के हो हामीले बिर्सिरहेका छौं। हामी हाम्रो ज्ञानको दायरा र क्षमता लिएर भ्रममै छौं।
फलो–अप प्रश्नदेखिको डर
एउटा उदाहरण हेरौं न है।
कृषि हाम्रो अर्थतन्त्रको मेरूदण्ड हो भन्ने हामीले कति धेरै पटक सुनेका होऔंला। आज पनि चुनावी घोषणामा व्यावसायिक कृषि बग्रेल्ती देखिएला। कति वर्ष भयो होला यो शब्द सुनेको। तर 'कसरी' भन्ने विषयमा धेरै टिप्पणी र ठोस विचार सुनिँदैन।
व्यावसायिक कृषिका लागि गर्नुपर्ने लगानी हामीसँग छ त? लगानी कहाँबाट, कसले ल्याउने?
हाम्रो भूमिसुधार र करार कानुनले हामीलाई व्यावसायिकतातर्फ डोर्याउन सक्छ?
कृषिमा कस्ता नीति–नियमहरूले अड्चन थापेका छन्? तिनलाई हल कसरी गर्ने?
के हाम्रो कृषि प्रणालीले हामीलाई धनी बनाउन सक्छ वा यो केवल हाम्रो खाद्य सुरक्षासँग मात्र जोडिएको छ?
हाम्रो उत्पादन लागत कसरी कम गर्ने?
हाम्रा कृषकहरूलाई वित्तीय पहुँच र सामाजिक न्याय कसरी दिलाउने?
यस्ता मसिना प्रश्नमा हामी जान नै चाहँदैनौं, उल्टै उद्वेलित हुन्छौं। स–साना कुरा कसले गरोस्? कृषि नै रूपान्तरण जो गर्नुछ।
यसमै अझ विस्तृतमा जाऔं।
'किसानले मूल्य पाएनन्, सबै बिचौलियाले खाए', 'बिचौलिया हटाई किसानलाई पूरा मूल्य दिनेछौं' सुन्दा कस्तो मज्जा आउँछ, सबै जना रोमाञ्चित।
कति भयो हामीले यो कुरा सुनेको? आजसम्म कसैले लागू किन गराउन नसकेको? बिचौलिया चाहिन्छ नै किन? बिचौलिया भएनन् भने किसानलाई आफ्नो उत्पादन बजारसम्म पुर्याउन कस्तो अप्ठ्यारो पर्ला? बिचौलिया नहुँदा वित्तीय जोखिम कसले कसरी लिन्छ? किसानले ५ रूपैयाँमा बेचेको टमाटर ग्राहकसम्म आउँदा ३० रूपैयाँ कसरी हुन्छ? कारोबार औपचारिक रूपमा भएको छ कि अनौपचारिक?
अर्को यस्तै सतह मात्र नियालिएको पेचिलो विषय हेरौं।
'भ्रष्टाचार नियन्त्रण गर्ने', सायद हामीले सबभन्दा धेरै सुनेको र चुनावमा सबभन्दा धेरै प्रयोग गरिएको वाक्य हो यो।
हरेक चुनावको एजेन्डा र भोट माग्ने फन्डा नै हो यो। यसरी भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने कुराहरू नआएका होइनन्।
२०४६ साल यतादेखिका फाइल खोल्ने, म भ्रष्टाचार गर्दिनँ भनेर सरकारी कार्यालयमा लेख्ने, संसदमा शपथ खाने, नेताहरूले आर्थिक उपार्जनको काम गर्नुपर्ने — कति धेरै समाधान आएका छन्!
फेरि समस्या त ज्युँका त्युँ छन्।
भ्रष्टाचार रोक्न कुन कानुनमा कस्तो संशोधन चाहिन्छ, स्वायत्तता, छरितोपन र ठगीको भेद कसरी राख्ने, हालसम्मका अभ्यासहरू किन काम गरेका छैनन्, के–कस्ता पूर्वाधारमा लगानी गर्नुपर्ला — कम्तीमा सार्वजनिक वृत्तमा फेरि पनि यस्ता प्रश्न सोधिएका छैनन्।
सबैजना भ्रष्टाचार नहुने रामराज्य बनाउन लागेका छन्, यस्ता गाह्रो प्रश्न सोध्ने फुर्सद कसलाई होला?
यी त प्रतिनिधि उदाहरण मात्र भए; शिक्षा, स्वास्थ्य, रोजगारी, परराष्ट्र नीति, सुरक्षा नीति आदि हरेक विषयमा हामी गहिराइमा पुगेका छैनौं।
फलस्वरूप, समस्या एकातिर, हामी अर्कोतर्फ भएका छौं। समस्या बुझ्दा समाधानतर्फ दिशानिर्देशित हुन सक्ने विषयहरू पनि यही सतहीकरणले गर्दा गिजोलिएका छन्, अझ जटिल बनेका छन्।
राजनीतिमा लाग्ने सबैलाई सबै विषयको ज्ञान हुनुपर्छ भन्ने हामी जनताको मान्यताले पनि सायद सतहको ज्ञानलाई प्रश्रय गर्दै सारसंग्रहवादलाई मलजल गरेको हुनुपर्छ। आजसम्म कुनै राजनीतिक नेतृत्वले 'मलाई यो विषयमा थाहा छैन, म बोल्दिनँ' वा 'मैले पनि थप अध्ययन गर्नुपर्छ' भनेको अपवादबाहेक सुनेको छैन।
प्रश्न आएपछि जाने पनि, नजाने पनि, बुझे पनि, नबुझे पनि, गोलमटोल भए पनि उत्तर दिनैपर्छ भन्ने अपेक्षाको बोझले पनि हाम्रो राजनीतिमा सतहीकरणलाई अधिभूत पक्कै गरेको हो।
यसको व्यावहारिक प्रारूपलाई अझ केलाएर हेरौं न। सतहीकृत यही परम्पराले गर्दा होला, सायद हाम्रो राजनीतिक भाषण, वाचा, प्रतिबद्धता र घोषणापत्रमा हामी सिधै देश बनाउने कुरा गर्छौं, आफ्नो सजिलोका लागि। देश बनाउन कुन ठोस क्षेत्रमा कुन ठोस काम गर्छौं र कुन ठोस नतिजामा मापन गर्छौं, लेखेकै हुँदैन।
लेखाइ सतही र त्यसमाथि त्यसको विश्लेषण पनि सतही, अगाडि बढ्ने जग त हामीले कमजोर पो बनाएका छौं।
राजनीतिक क्षेत्र बाहेक पनि
अझ दुःखद — यस्तो गम्भीर सतहीकरण हाम्रो राजनीतिक तहमा मात्र सीमित छैन।
टेलिभिजन, रेडियो र प्रिन्ट सबै रावणीय विज्ञहरूबाट आक्रान्त छन्। यस्ता हस्तीहरू, जो बिहान राजनीतिक विश्लेषक, भात खाएपछि आर्थिक विश्लेषक र साँझ परेपछि भू–राजनीतिक विश्लेषक बन्न सक्ने अदभूत गुण राख्नुहुन्छ। आफ्नो विषयको गहिराइमा पुगेर विश्लेषण गर्ने जमात आज अपवाद भएको छ, अल्पमतमा परेको छ।
कुनै एउटा विषयमा मिहिन अध्ययन गरेर कसले समय खेर फालोस्, यदि सतहमा पढेर विविध विज्ञताको टोपी लगाउन पाइन्छ भने?
सायद प्रयोग गर्न मिल्ने ज्ञानको सिर्जना नगरेकै कारणले, सतही कुरालाई फूलबुट्टा भर्ने काम मात्र गरेकाले होला, सरकारी र गैर–सरकारी क्षेत्रबाट सिर्जना भएका कति दस्ताबेजहरू, अध्ययन प्रतिवेदनहरूले दिनको उज्यालो देखेका छैनन्।
हाम्रा सभा–सम्मेलन, गोष्ठी, प्रशिक्षण— जुन साधारणतया क्षमता अभिवृद्धितर्फ दिशानिर्देशित हुनुपर्ने हो— आज कर्मकाण्डमा सीमित भएका छन्।
घाटा चाहिँ के छ त यसरी सबैलाई सबै विषयमा ज्ञान भएर?
धेरै।
संस्कृतमा एउटा श्लोक छ,
'अल्पशास्त्रबहुज्ञानं न ज्ञानायोपपद्यते,
बहुशास्त्रं पुनः ज्ञेयं एकमेव विशिष्यते'।
सय वटा विषय एक पटक पढ्दा सूचना मात्र आउँछ, बुझाइको तहमा पुग्न एउटा विषय सय पटक पढ्नुपर्छ।
त्यसैले होला, हाम्रो राजनीतिक र गैर–राजनीतिक बहसहरूमा सूचना धेरै हुन्छ, बहसको चौडाइ धेरै हुन्छ, तर गहिराइ हुँदैन। गहिराइ बिनाको बहसका दुःखान्त भनेको ती खुला आकाशका बादलजस्तै हुन्छन्। कहाँ जम्मा हुन्छन् र कसरी छरपष्ट हुन्छन्, थाहा हुँदैन।
छुन सबै विषय छुन्छन्, नसा कसैको पनि भेट्टाउँदैनन्।
अनि सतही बहसहरूले हामीलाई अल्छी बनाइरहेको पनि सत्य हो। समस्याहरू जटिल छन्, कतिवटा विषयहरू जेलिएका छन्, एउटा लहरो तान्दा अन्त पहिरो खस्ने तहका हुन्छन्।
हामी चाहिँ मेहनतको पिरले, समाधान भइहाल्ला कि भन्ने डरले सतह मात्र कोट्याएर बसेका छौं।
एक पटक अडिएर सोचौं त — हाम्रा हजार समस्या किन समाधान भइरहेका छैनन्? हाम्रो समाजको सोच र बुझाइ किन परिष्कृत र विकसित भएका देखिँदैनन्? हाम्रा समस्याहरू समाधान उन्मुख किन भएका छैनन्? किन २० वर्षअघि सुनेका समस्याहरू आज पनि त्यत्तिकै टड्कारो रूपमा छन्?
समस्या नबुझेको हो कि? समाधान नखोजेको हो कि? समाधान नगरेको हो कि? समाधान सम्भव नै नभएको हो कि?
खाली बोतलबाट बढी आवाज आएजस्तो पो हो कि?
हाम्रा टिप्पणीहरू पेटदेखि आएका छन् कि मुखदेखि? पेटबाट आएका भए समाधान हुँदै जाला, मुखबाट आएको भए— गफै त हो नि!
***