नेपालमा सञ्चार र प्रविधिको विकाससँगै आम नागरिकको सूचनामा पहुँच निकै सहज बनेको छ। मोबाइलको एउटा स्क्रोल र औंलाको एक 'क्लिक' का भरमा संसारभरका समाचार हाम्रासामु आइपुग्छन्।
प्रविधिको यो अभूतपूर्व वरदानसँगै एउटा नयाँ र घातक महामारी पनि भित्रिएको छ — त्यो हो 'अर्धसत्य' र भ्रामक सूचनाको तीव्र विस्तार।
हालैका दिनहरूमा नेपाली उपभोक्तामाझ निकै लोकप्रिय रहेका केही स्वदेशी खाद्यान्न उत्पादनहरूलाई लिएर सामाजिक सञ्जालमा जुन किसिमको अफवाह र त्रासोन्मुख वातावरण सिर्जना गरियो, त्यसले हाम्रो समाजको डिजिटल चेतना र विवेकमाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ।
नियामक निकायले कुनै उद्योगको एउटा निश्चित ब्याच वा विशिष्ट उत्पादनमा प्राविधिक त्रुटि फेला पारी बजारबाट फिर्ता (Recall) गर्न दिएको आदेशलाई मिडिया र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले 'भएभरको बल लगाएर' यसरी उछाले, मानौं ती ब्रान्डका सबै उत्पादनहरू रातारात 'विषाक्त' बनेका हुन्।
विशेष गरी, सरकारी आदेशमा उल्लेखै नभएको र बजारमा रूचाइएको सोही कम्पनीको अर्कै एक स्थापित ब्रान्डलाई समेत एउटै डालोमा राखेर जसरी सामाजिक सञ्जालमा भाइरल गराइयो, त्यसले यो प्रसंगलाई झनै गम्भीर मोड दिएको छ।
वर्षौंको मिहिनेत, करोडौंको लगानी र हजारौंको रोजगारी जोडिएको एउटा स्थापित स्वदेशी ब्रान्डलाई क्षणभरमै सिध्याउने गरी चलाइने यस्ता 'डिजिटल ट्रायल' हरूले हाम्रो अर्थतन्त्र र सामाजिक परिपक्वतालाई कता लैजाँदै छन्?
यो आजको दिनमा गम्भीरतापूर्वक मन्थन गर्नुपर्ने विषय बनेको छ।
'प्रोडक्ट रिकल' को विज्ञान र सामाजिक सञ्जालको भ्रम
कुनै पनि आधुनिक र व्यवस्थित बजारमा 'प्रोडक्ट रिकल' (उत्पादन फिर्ता लिने प्रक्रिया) एक सामान्य, कानुनी र उपभोक्ता सुरक्षाको दृष्टिकोणले अनिवार्य प्रक्रिया हो।
जब कुनै जिम्मेवार कम्पनी वा सरकारी नियामक निकायले बजारमा पठाइसकिएको कुनै सामानको निश्चित ब्याचमा मापदण्ड अनुसारको गुणस्तर नपुगेको वा प्राविधिक कैफियत भएको फेला पार्छ, तब उपभोक्ताको हितलाई सर्वोपरि ठानी उक्त ब्याचलाई बजारबाट फिर्ता मगाइन्छ।
यो प्रक्रिया विकसित मुलुकहरूमा दैनिकजसो हुन्छ— चाहे त्यो विश्वविख्यात अटोमोबाइल कम्पनी होस् वा बहुराष्ट्रिय औषधि तथा खाद्य ब्रान्ड।
नेपालको परिप्रेक्ष्यमा पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागजस्ता नियामक निकायहरूले बजार अनुगमनका क्रममा कैफियत देखिएका विशिष्ट ब्याचका उत्पादनहरू फिर्ता गर्न आदेश जारी गर्छन्।
उदाहरणका लागि, हालै विभागले एक नाम चलेको स्वदेशी उद्योगद्वारा उत्पादित चाउचाउको ५० ग्रामको एउटा निश्चित ब्याचमा एक्स्ट्राक्टेड फ्याटको एसिड भ्यालू मापदण्ड अनुरूप नपाइएको भन्दै त्यसलाई बजारबाट फिर्ता गर्न र बिक्री नगर्न आदेश जारी गरेको थियो।
विडम्बना के भयो भने, यो विशिष्ट प्राविधिक र कानुनी पत्रलाई सामाजिक सञ्जालका कतिपय गैरजिम्मेवार अनलाइन मिडियाहरूले भ्रामक ब्यानर र शीर्षकसहित सम्प्रेषण गरे।
सरकारी पत्रको आधिकारिक विवरणलाई हेर्ने हो भने त्यहाँ स्पष्ट रूपमा कैफियत देखिएको सो उद्योगको एउटा मात्र ब्रान्ड र निश्चित ब्याचको चर्चा छ। तर सामाजिक सञ्जालको भीडले सोही उद्योगको बजारमा चल्तीमा रहेको अर्कै एक अत्यन्त लोकप्रिय र स्थापित ब्रान्डको तस्बिरसमेत जोडेर बजारमा व्यापक भ्रम र त्रास फैलाउने काम गर्यो।
एउटा निश्चित उत्पादनको एउटा ब्याचको प्राविधिक समस्यालाई लिएर, आदेशमा हुँदै नभएको अर्कै स्थापित ब्रान्डलाई समेत मुछेर सिंगो कम्पनीकै उत्पादनरू खराब हुन् जस्तो गरी चित्रण गरिनुले हाम्रो समाजमा 'हेडलाइन संस्कृति' र सतहीपन कति भयानक रूपमा जकडिएको छ भन्ने स्पष्ट पार्छ।
हाम्रो अविवेकपनको ऐना: भीड मानसिकता र डिजिटल साक्षरताको अभाव
यस्ता घटनाहरूले नेपाली समाजको वर्तमान चेतना र डिजिटल व्यवहारको एउटा निराशाजनक पाटो उजागर गर्छन्। मानिसहरूमा समाचारको गहिराइमा पुग्ने, आधिकारिक सरकारी कागजात अध्ययन गर्ने वा सत्यतथ्य बुझ्ने धैर्य पूर्ण रूपमा हराउँदै गएको देखिन्छ।
फेसबुक वा टिकटकमा देखिने एउटा उत्तेजक शीर्षक वा सम्पादन गरिएको तस्बिरकै भरमा धारणा बनाउने र आँखा चिम्लेर त्यसलाई 'सेयर' र 'लाइक' गर्ने प्रवृत्ति बढेको छ।
यसले समाजमा व्याप्त 'भीड मानसिकता' लाई प्रश्रय दिएको छ। जब सामाजिक सञ्जालको भीडले कुनै एउटा संस्था वा व्यक्तिलाई तारो बनाउँछ, तब त्यहाँ विवेकशील आवाजहरू पूर्णतः दबाइन्छन्।
प्रस्तुत सन्दर्भमा पनि यही भयो— सरकारी पत्रमा कैफियत नजनाइएको सोही कम्पनीको अर्को मुख्य ब्रान्डलाई सामाजिक सञ्जालमा चौतर्फी प्रहार गरियो र 'सबै उत्पादन खराब हुन्' भन्ने गलत भाष्य निर्माण गरियो।
कसैले वर्षौं लगाएर कमाएको साखमा सानो प्राविधिक गल्ती हुँदा त्यसलाई सच्याउने र सुधार गर्ने मौका दिनुको साटो 'अब यो सकियो, यसलाई बहिष्कार गरौं' भन्दै डिजिटल उत्सव मनाउने हाम्रो यो 'विनाशकारी मानसिकता' निकै घातक छ।
हामीसँग स्मार्टफोन र सस्तो इन्टरनेट त पुग्यो, तर त्यो इन्टरनेटमा उपलब्ध सूचनालाई कसरी फिल्टर गर्ने, कुन आधिकारिक हो र कुन अफवाह हो भनी छुट्ट्याउने 'डिजिटल साक्षरता' भने अझै पुग्न सकेको छैन।
स्वदेशी उद्योगमाथिको प्रहार र अपूरणीय आर्थिक क्षति
हामी सधैं मुलुक आत्मनिर्भर भएन, युवाहरू रोजगारीका लागि विदेशिए, देशभित्र उद्योगधन्दा फस्टाउन सकेनन् भन्दै राज्यलाई सराप्छौं। तर, जब कुनै स्वदेशी उद्योगले करोडौं रूपैयाँ खर्चेर, अनेकौं कानुनी र व्यावहारिक अड्चनहरू चिर्दै देशभित्रै उत्पादन सुरू गर्छ र हजारौं नेपाली नागरिकलाई रोजगारी दिन्छ, तब हामी उनीहरूको एउटा मानवीय वा प्राविधिक त्रुटिलाई पनि क्षमा दिन सक्दैनौं।
हाम्रा कतिपय स्वदेशी उद्योगहरूले राष्ट्रिय गार्हस्थ्य उत्पादनमा योगदान पुर्याउँदै विश्वका २० भन्दा बढी मुलुकहरूमा आफ्ना उत्पादन निर्यात गरेर देशका लागि विदेशी मुद्रा आर्जन गरिरहेका छन्।
यस्तो अवस्थामा गर्मी मौसमको अत्यधिक तापमानका कारण वा भण्डारणमा भएको गडबडीका कारण उत्पादनको गुणस्तरमा केही फरक पर्न सक्छ, जुन कुरा उद्योगले आफ्नो प्रष्टीकरणमा पनि उल्लेख गर्छन्।
कुनै उत्पादित सामग्रीमा कैफियत देखिन्छ भने त्यसलाई कानुनी दायरामा ल्याइनुपर्छ, जरिवाना गरिनुपर्छ र सुधारको मौका दिनुपर्छ। तर, सामाजिक सञ्जालमा हुने 'कर्पोरेट लिन्चिङ' (Corporate Lynching) ले उक्त उद्योगले वर्षौंदेखि कमाएको ब्रान्ड भ्यालूलाई एकै झट्कामा सखाप पारिदिन्छ, जसको आर्थिक र मानसिक क्षति पूर्ण रूपमा अपूरणीय हुन्छ।
सरोकारवालाहरूको सामूहिक दायित्व र विवेकशीलताको आवश्यकता
यस प्रकारको आत्मघाती र भ्रामक परिपाटील रोक्न समाजका हरेक सरोकारवाला निकायहरूले संवेदनशील र विवेकशील बन्नुको विकल्प छैन।
नियामक निकाय (विभाग) — खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागजस्ता सरकारी संस्थाहरूले कारबाहीको सूचना सार्वजनिक गर्दा आफ्नो सञ्चार रणनीतिमा व्यापक सुधार गर्नुपर्छ। सूचनाको शीर्षक र ढाँचा यस्तो हुनुपर्छ, जसले उपभोक्तामा अनावश्यक त्रास पैदा नगरोस्।
सञ्चार माध्यम — हाम्रा मूलधारका मिडियादेखि अनलाइन न्युज पोर्टलहरूले 'क्लिक-बेट' हेडलाइनको मोह त्याग्नै पर्छ। खाद्य सुरक्षा जस्तो जनस्वास्थ्य र अर्थतन्त्र दुवैसँग जोडिएको विषयमा समाचार लेख्दा सरकारी पत्रको प्राविधिक विवरण र ब्याच नम्बरलाई स्पष्ट रूपमा हाइलाइट गर्नुपर्छ। पत्रकारिताको धर्म सनसनी फैलाउनु होइन, सत्य स्थापित गर्नु हो।
उद्योगी तथा व्यवसायी — उद्योगीले पनि बजारमा अफवाह फैलनासाथ रक्षात्मक बन्नुको साटो पारदर्शी रूपमा उपभोक्तासामु आएर वस्तुस्थिति स्पष्ट पार्नुपर्छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै आन्तरिक गुणस्तर नियन्त्रण प्रणाली अझ सुदृढ बनाउनु र आफ्ना बिक्रेतालाई सही भण्डारणका लागि प्रशिक्षित गर्नु उनीहरूको दायित्व हो।
उपभोक्ता र नागरिक समाज — उपभोक्ताहरू स्वयं 'बुझक्की' बन्नुपर्छ। सामाजिक सञ्जालको बहकावमा लागेर कुनै पनि उत्पादनलाई सोझै तिरस्कार गर्नु अगाडि आफैंले पसलमा सामान किन्दा उत्पादन मिति, म्याद सकिने मिति र ब्याच नम्बर हेर्ने सचेतता अपनाउनुपर्छ। यसैगरी, नागरिक समाजले पनि उपभोक्ता अधिकारको पैरवी गरिरहँदा स्वदेशी लगानी र अर्थतन्त्रको रक्षाका लागि सन्तुलित दृष्टिकोण राख्न आवश्यक छ।
अन्त्यमा, जसरी कुनै परिवारको एउटा सदस्यले गल्ती गर्दैमा सिंगो परिवार वा समुदायलाई नै अपराधी ठहर गर्न मिल्दैन, ठिक त्यसैगरी, उद्योगको एउटा विशिष्ट ब्याचको प्राविधिक गडबडीलाई लिएर, वा हल्लाकै भरमा विभागको आदेशमा नामै नजोडिएको सो उद्योगका अन्य लोकप्रिय ब्रान्डमाथि समेत 'बहिष्कार' को नारा लगाउनु आधुनिक र विवेकशील समाजको पहिचान होइन।
नियमन कडा हुनुपर्छ र गल्ती गर्नेले सजाय पाउनुपर्छ, यसमा दुई मत हुन सक्दैन। तर कारबाहीको उद्देश्य सुधार र सचेतना हुनुपर्छ, विनाश र बन्द होइन।
सामाजिक सञ्जालको यो अविवेकपूर्ण भेलमा बग्नुभन्दा अगाडि हामी प्रत्येक नागरिकले आफ्नो विवेकको कसौटीमा सूचना जाँच्न सिक्नै पर्छ।
कुनै पनि स्थापित उत्पादकले आफ्नो वर्षौंदेखिको मेहनत र अर्बौंको लगानी दाउमा राखेर जानीजानी गुणस्तरमा लापरवाही गर्दैन। बजारमा देखिने कैफियतहरू बदनियतले भन्दा पनि ढुवानी, भण्डारण वा आकस्मिक प्राविधिक त्रुटिका कारण हुन्छन्।
तसर्थ, यस्ता भूलहरूलाई 'अपराध' नभई 'सुधारयोग्य कमजोरी' का रूपमा बुझ्दै, भर्चुअल भीडको बहकावमा लागेर स्वदेशी ब्रान्डको संहार गर्नुभन्दा उपभोक्ता र नियामक दुवैले विवेकपूर्ण, न्यायसंगत दृष्टिकोण राख्नु आजको आवश्यकता हो।
अन्यथा, एउटा प्रतिष्ठित र रूचाइएको स्वदेशी ब्रान्डमाथि आज भएको व्यवहार भोलि अर्को उद्योगमाथि दोहोरिनेछ। र, अन्ततः यसको मूल्य हाम्रै देशको अर्थतन्त्र र हाम्रै सन्ततिले बेरोजगारीको रूपमा चुकाउनुपर्नेछ।
त्यसैले, एक सचेत नागरिक हुनुको नाताले हल्लाको पछि लाग्न छोडौं। आधिकारिक तथ्य रोजौं र एउटा जिम्मेवार उपभोक्ता बनौं।
(लेखक पुरूषोत्तम रिजाल 'रिजाल फुड एन्ड वेभरेजेज प्रालि' का प्रबन्ध निर्देशक हुन्।)