कहिलेकाहीँ घरबाट फिटिक्कै हिँड्न मन लाग्दैन। मन बडो दार्शनिक भएर सम्झाउँछ, 'समय नै त हो तेरो सम्पत्ति। घर बसे कति काम गर्न सक्छेस्। पढ्दै गरेको पुस्तकको कति पृष्ठ पढ्न सक्छेस्। उस्तै परे एउटा लेख पनि लेख्न सक्छेस्। यसरी घरी घरी हिँडिरहने हो भने त चौपट हुन्छ तेरो सिर्जनात्मक समय।'
मनको कुरा जायज नै लाग्यो। सोच्दै थिएँ जाऊँ कि नजाऊँ त!
फेरि अर्को मन आएर भन्छ, 'जा... जा ...केही त सिकिन्छ। केही त देखिन्छ। केही न केही नयाँ कुरा सुनिन्छ। आज हिँड्न सक्छेस्। कसैले डोर्याउनुपर्दैन। हेर्दै जा यस्तो समय पनि आउँछ त्यो दिन हिँड्छु भन्दा पनि तँ हिँड्न सक्दिनस्। तँलाई एउटै कार्यक्रममा कसैले दुईचोटि बोलाउँछ र! हरेक कार्यक्रम नयाँ नै त हुन्छ।'
मनको विमर्शलाई थाँती राखेर निस्किन्छु घरबाट।
यात्रा कहिले पनि अर्थहीन नहुने रहेछ। यात्राले केही न केही अर्थ बोकेकै हुँदोरहेछ। तर यात्रीलाई बुझ्न समय चाहिँ अवश्य लाग्दोरहेछ। पल-पलको समयले केही न केही शिक्षा दिएको नै हुनेरहेछ।
कहिलेकाहीँ छोटो यात्रा पनि अविस्मरणीय हुँदोरहेछ। स्मरणीय हुँदोरहेछ। यस्तै यात्रा जुर्यो साउनको १६ को दिउँसो।
प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा छु।
हार्दिक होटलबाट लुसुक्क निस्किएर यता आएकी, स्रष्टा पदयात्रा प्यूठानको विशेष कार्यक्रम हुँदैथियो त्यहाँ।
पारिजात हलमा पुस्तक अनुरागीहरू नै छन्। टाउका टाउकामा विचारको सग्लोसग्लो सगरमाथा विराजमान छ। खोट लगाउनुपर्ने मान्छे कोही छैनन्। वैचारिक रूपमा सबै बलिया छ्न्। सबै चेतनशील। सबै समझदार। सबै विवेकी। भैरव आर्यालको भाषामा भन्दा सबै मपाईंको महकमा मधुरिएका।
तर म सुन्दैछु एउटा अनौठो संवाद, 'श्रीमती जागिरे हो?'
'उत्तर बोकेको पुरूष आवाज शान्त छ , 'छैन! केटाकेटी साना छ्न्। घरको काम नै भ्याइनभ्याइ हुन्छ।'
दम्भले भरिएको पुरूष आवाज उपहासको बोली बोल्छ, 'ए जुम्रा नै पालेर बसेका रहेछ्न् उसो भा! फेरि यिनीहरूकै गुनासो हुन्छ ....।'
कसको बारेमा कुरा हुँदैछ केही भेउ पाउन सक्दिनँ तर एउटी आमाप्रति यस्तो विचार राख्ने महान छोरालाई सातै समुद्रमा चोबलेर ल्याए पनि, जड भइसकेको विचारको ग्रेटवाल भत्किँदैन। परिवर्तनको ठूला ठूला कुरा गरेर मात्र के गर्नु। व्यवहारमा उही जडता जडित छ भने!
महिलाका साधारण कुरा अझ भनौँ महिलाले मान्छे मात्र भएर बाँच्न पाउनुपर्छ भन्दा पनि यस्ता मान्छेको आवाज बम पड्किएझैँ पड्किन्छन्। अझ ढल पोखिएझैँ उनीहरूको बोली गनाउँछ, 'अचेलका आइमाईलाई थेग्न सकिँदैन 'सबैलाई छाडा हुनु परेको छ। उन्मुक्ति चाहिएको छ। अलिकति पढेपछि अधिकार, अस्तित्व र अस्मिताका कुरा उठाएर घर भाँडेर बसिखानुहुँदैन। नारीवादीको खोल ओडेर, नारी अधिकार खोज्दै पाखुरा सुर्किएर खप्नुखानु हुँदैन।'
सम्झिन्छु बिहानको घरटना कतै म पनि नारीवादी त भएकी थिइनँ। घरबाट निस्केर सडकमा के पुगेकी थिएँ, एउटा सानो बच्चा आमाको काखमा बसेको दूध खाँदैथियो, आमाले समात्दासमात्दै ऊ आमाको काखबाट पुर्लुक्क लड्यो। बच्चा रून थाल्यो। आमाका आँखामा आँसु डबडब भए। फकाउन थालिन् तर बच्चा बाउलाई हेरेर झन् रून लाग्यो। छेउमा उभिएको बाउ भनौँदोले बच्चा खोस्दै चोर औँला ठड्याएर स्वास्नीलाई धम्क्याउन थाल्यो। दारा किटेर बोल्न थाल्यो, 'पख तँलाई मैले जानेको छु। मेरो छोरालाई किन लडाइस्? तेरो आँखा कता थिए? यसको हात मात्रै भाँच्चिएको रहेछ भने, तेरो हात पनि सद्दै रहँदैनन् बुझिस्?'
कुटौँला जसरी श्रीमतीलाई झम्टिन थाल्यो।
सडक किनारमा तरकारी बेच्दै गरेका दम्पतीलाई हेरेर मलाई भाउन्न भयो।
बच्चा लड्यो के आमाको हृदय रोएको छैन तर लोग्नेले स्वास्नीलाई त्यो किसिमको मानसिक यातना दिनु ठिक हो? के यो किसिमको यातना पठित समाजमा सभ्य दम्पतीले भोगेका छैनन् होला?'
यसरी श्रीमतीलाई यातना दिनुहुँदैन भन्दा नारीवादी भइन्छ?
यी महिलाको आतङ्कित मन पढेर केही लेख्दा के म नारीवादी हुन्छु?'
मनमा कुराको मदानी घुम्दो छ।
प्रज्ञाको उज्यालो हलभित्र आएर त यो किसिमको भाष्य छ भने बाहिर तमसाले घेरेको मस्तिष्कमा के कस्तो विचार पोखिएका होलान्।
प्रज्ञा हलभित्र त्यसरी बोल्न सक्ने त्यो दम्भी बोली कति निडर। कसैले सुन्दैछ मेरो कुरा भन्ने पनि हेक्का छैन। उसलाई लाग्छ म मात्र ठीक छु। अरू गलत छन्। मेरो विचार नै न्यायसंगत छ। कालजयी छ।
सोचमग्न भएको बेला सभाहलमा भैरव बाजे आएर मसँगै बस्छन् र कानमा खुसुक्क भन्छन्, 'अनिता सुन्दै जाऊ त! यहाँ कोही आफूलाई शैलीको सालो ठान्छन् त कोही मिल्टनको मामा! यो त अझ प्राज्ञहरू आउने थलो हो यहाँ अभिमानको भारी त हुन्छ।
बाहिर पनि जोसुकै मान्छेसँग सोधि त हेर त्यो मान्छे कस्तो छ भनेर– ऊ भन्छ सब चोर, सब लोफर, सब आवारा, सद्दे भन्नु उही मात्र जो तपाईंसँग हाँकिरहेको हुन्छ ..(जय भुँडी- ४) म बाजेको कुरामा नतमस्तक हुन्छु।
हो त यो आवाजलाई फेरि यसरी कुनै आमालाई पनि ओल्च्याइर बोल्नुहुँदैन भनेर भन्यो भने ऊ भन्छ, 'ऊ हे हेर यसलाई पनि नारीवादले छोएछ'।
अरूलाई सम्मान गर्नू। अरूको कामलाई पनि स्वीकार्नु। अरूको अस्तित्वलाई महत्त्व दिनु। अरूको मनको पीडालाई आफ्नै पीडा जसरी बोध गर्नु कुनै वाद भित्र पर्छ र? मानवताको पक्षधर हुनु पनि त नारीवादी हुनु नै होला नि?
खोई मैले त अझसम्म बुझ्न सकेकी छैन के हो शिक्षित मान्छेले गर्नुपर्ने खास कर्म। अझ अक्षरको खेती गर्ने विद्धानहरूले कस्तो विचार बोकेर हिँडनुपर्छ थाहा छैन। सभा समारोहमा कसरी बोल्नुपर्छ, त्यो पनि थाहा छैन। आफूले आदर्श ठान्दै आएका मान्छेहरू पनि व्यक्तिगत रिस साँध्ने ठाउँ पनि सभालाई बनाएर, आफूभित्रको अशान्ति, असन्तोष, अपेक्षा, क्रोध, ईर्ष्या र विरोधले भरिएको महान वाणी अनुजहरूको अगाडि पोख्दै आएको सुनेकी छु।
चेतनशील जगतले संवेदनशील विषयलाई स्वीकार्दैन भने कसरी विश्वास गर्नु प्रज्ञाको। आमाको कर्म र जिम्मेवारीलाई त यति हल्का रूपमा लिन्छन् भने अरूसँग कसरी बोल्दा हुन्! सरस्वतीको मन्दिरमा सूक्ष्म कुरालाई संवेदनशील भएर बुझ्दैनन् भने! सभ्य समाजको परिभाषा सुनकै कलमले लेखे पनि बेअर्थी रहनेछ।
किताबमा लेखेर मात्र केही लछारपाटो लाग्दैन, यदि आफू नजिकको मान्छेलाई बुझ्न सक्दैन भने। परिवर्तन साहित्यमा होइन पहिले त सोचमा हुनुपर्यो। जबसम्म सडेको विचारलाई त्याग्न सकिँदैन तबसम्म वैचारिक समृद्धिको उडान भर्न कठिन छ। मलाई प्रज्ञाको हलभित्र उकुसमुकुस हुँदैछ।
केहीबेरपछि उज्यालो मुहारमा उमा सुवेदी आउँछिन्। उनी आएपछि बल्ल मेरो मन रमाउँछ। तर कार्यक्रम तोकिएको समयभन्दा झण्डै एक घण्टा ढिलोबाट आरम्भ हुँदै गर्दा, मैले बुनेर ल्याएको निश्चित समयको रूमाल च्यातिन थाल्यो। हुन त छोरीको फोन मात्र बजेको हो तर हतारको धामनले मलाई लघार्न थाल्यो।
समयलाई किन यति बेबास्ता गर्छन् समयको मूल्य बुझेको मान्छेले? विश्व साहित्यको अध्ययन मात्र काफी छ? विश्वले समयको महत्त्वलाई के यसरी नै खेर जान दिन्छ? मुख्य मान्छे समयमा नआउँदा कुरेर बस्ने स्रोताको मन किन बुझ्न सक्दैनन् सचेत मान्छेले।
अक्षर लेखेर मात्र साहित्य सिर्जना हुन्छ र? साहित्य त सचेतनाको उज्यालो होइन र? संवेदनाको संगीत पनि त हो साहित्य। तर किन विस्मितृमा पुग्छ हामीले आर्जन गरेको ज्ञान?
अगाडि बसेका छौँ तेजसको मुख हेर्न तर कार्यक्रममा पूरा समय बस्न सक्ने अवस्था रहेन अनि सुटुक्क पछाडि गएर बस्छौँ। धन्न राजकुमार बानियाँले सिट छोडेर हामीलाई सहज बनाइदिनु हुन्छ तर उहिलेको रत्नपार्कको शौचालयको रूप लिएर बसेको प्रज्ञाको शौचालयले गन्धको तीखो वाण छोड्छ।
पारिजात हलको ढोकाबाट शौचालयको चर्को गन्धले नाक, मुख थुनेर बस्नु पर्ने अवस्थामा पुर्याउँछ। सोच्छु यो गन्ध कसको हो? विद्धानहरूको प्रज्ञा खोई!
पदमा बस्नेहरूको मात्र जिम्मेवारी हो? शौचालयमा बसेपछि पानी खन्याउनु पर्छ भन्ने सामान्य ज्ञान पनि छैन त प्रज्ञाप्रतिष्ठानमा आउनेहरूलाई? यो किसिमको दुर्गन्धको जिम्मेवार को हो? कि कर्मचारीहरूको मात्र दोष हो?
यहाँ आउने/जाने पनि त प्राज्ञ नै होलान् अनि आफूले लघुशंका गरिसकेपछि एक मग पानी खन्याउँदा के तिनीहरूको प्रज्ञा पखालिन्छ? कि ज्ञानको मेकअप लगाएर आएका छन् जो पानीको नजिक जाँदा पखालिन्छ, नत्र किन दुर्गन्धित छ प्रज्ञाको शौचालय यो किसिमले?
विशृङ्खलित मनलाई समेटेर सभाको अगाडि लैजान्छु। रूपक अलङ्कारको दमदार मन्तव्य पछि हामी सुटुक्क बाहिरिन्छौँ। छुट्याएको समय पूरा हुन्छ। बाहिर झमझम पानी परिरहेको छ। भोक पनि लागेको अवस्था छ, छोरीहरू आउन समय लाग्छ भन्ने विचारले कथाका कुरा गर्दै क्यान्टिनतिर लाग्यौँ। चिया पिउन छोडेकाले चाउमिनले नै क्षुधा शान्त गर्ने जमर्को गर्यौं।
परिधी मदन पुरस्कारको सूचीमा परेकाले पनि होला उमालाई भेट्दा निकै हर्षित छु। लेखन, पठन र साहित्यिक गफगाफ निकै उपलब्धिमूल हुँदैछ। समय बितेको पत्तै छैन।
सुभांसाको फोन आउँछ, 'मामू हजुर कता हो ? हामी त काठमाडौं महल अगाडि छौँ त!'
अब भने मन आत्तियो। चाउमिन चपाउन पनि चाँजो परेर। हतारको गाँस खाएर हिँड्न लाग्दा उमा सुवेदी नै काउन्टरमा पुग्नुहुन्छ।
अब के गर्ने साउने पानी दर्किएको छ। रेनकोट एउटा मात्र छ। छाता ओड्न मिलेन। रेनकोट पनि एकमुखे रहेछ। अब भयो न त रमाइलो।
कान्छी छोरीको फोन तारन्तार आएको छ। पानीले गर्दा उठाउन सकेकी छैन।
उमा म्यामलाई भन्छु, 'लु म्याम! म यही रेनकोटभित्र टाउको लुकाएर पस्छु जे पर्लापर्ला। आँखा छोपेर गरेको यात्रा कस्तो हुँदोरहेछ, त्यो पनि अनुभव गरौँ।'
आँखा छोपी नरौं भनी भन्नुपर्या छ तर आज आँखा छोपी यात्रा गर्दै हिँड्नुपर्या छ। पूर्णरूपमा शरणागत भएकी छु उमा सुवेदीप्रति। स्कुटी दगुर्यो पानी बोकेको सडकमा। केही देखेकी छैन। उमा सुवेदीको ढाडमा लपक्क टाँसिएकी छु। अलग्गै बस्ने अवस्था छैन।
उमाको मुटु छातीमा नभएर ढाडतिर कतै छ भन्ने लाग्दैछ। ढुकढुकी तीव्र सुन्दैछु।
मैले तातो श्वास छोडेकी छु, रेनकोटको अँध्यारो गुफाभित्र। उमा सञ्जय बनेर भन्दैछिन्, 'पानीले हानेको त छैन नि! हामी प्रदर्शनी मार्गमा छौँ अहिले। जाम छ। अगाडि सडकमा पानीको पोखरी बनेको छ। तर बिस्तारै पानी पनि थामिँदै छ।'
म उमाको आँखाबाट हेर्दैछु सबै दृश्य। नदेखेर पनि देख्दैछु गाडीको जाम। सडकको पानी। ट्राफिक बत्ती।
उमा फेरि भन्छिन्, 'अनिताजी तपाईंलाई शहिद गेटमै छोड्छु है! उता जाँदा घुम्नुपर्छ फेरि।'
मलाई लाख भएको छ यो यात्रा ! धन्यवाद भन्दैछु।
मलाई बडो अचम्म पनि लाग्दैछ आजको यो अनियोजित भेटघाट। कुराकानी र यो अनौठो यात्रा।
कतिचोटि हिँडेकी छु, यो बाटो तर आज पूरै आँखा छोपेर हिँड्दा पनि म गन्तव्यमा सजिलै आइपुगेकी छु।
आँखा खोलेर नपाइने अनुभव प्राप्त गरेकी छु। कहिलेकाहीँ त समयको बहावमा विमुक्त भएर बग्न पनि सिक्नुपर्ने रहेछ। विचारका अनेक लगाम छोडेर पनि हिँड्नुपर्ने रहेछ। लाग्यो विश्वास नै गन्तव्य प्राप्तिको मार्ग रहेछ। चाहे त्यो विश्वास आफूप्रति होस् या अरूप्रति। विश्वास बिनाको यात्रा चाहिँ अर्थहीन हुनेरहेछ। विश्वास नै विजयको साधन रहेछ।
आफ्नै श्वासको तातो बाफ मडारिएको छ रेनकोटभित्र। उमा म्याम र म हाँस्दैछौं आज कथाले कस्तो विषय माग्दै छ भनेर। समयले कस्तो सङ्केत गर्दै छ? अघि रूपक अलङ्कार भन्दै थिए।
'शैलेन्द्रले एकदिन अचानक रामेश्वरम् जाऊँ भन्यो, किन जाने भनेर सोधेको त!' उसको उपन्यासको एउटा पात्रलाई आत्महत्या गराउन रामेश्वरम् पुर्याउनु पर्यो रे।'
अहो पात्रको हत्या गराउन रामेश्वरम् पुग्नसक्छन् लेखक भनेँ!
आजको यो अविस्मरणीय यात्रामा आख्यानकारले एउटा जीविन्त पात्र जन्माउन के बेर!
सोचेँ यो यात्रा पक्कै अर्थपूर्ण छ ...।