बरु रित्तो हुन परोस् इमान बेच्नु भन्दा दाममा
आत्मसन्तुष्टि मिलोस् सधैँभरि सम्पत्तिको नाममा
जलोस् दम्भ, खरानी होस् सबै लालच जति बरु
संसारले सम्झियोस् कर्म मेरो चाहिँदैन केही अरू
छैन मेरो बाल्यकाल, छैन त्यो काख गर्न लुटुपुटु
सम्झन्छु त्यो शीतल छहारी खाँदा मन कुटुकुटु
नआओस् कहिले आत्तिने दुःख, मात्तिने सुखहरू
संसारले सम्झियोस् कर्म मेरो चाहिँदैन केही अरू
जगाऊ व्यवहारमा करुणा, भगाऊ हारको भय
नसाँच्नु काम भोलिलाई फर्केर आउँदैन समय
गलत बाटो रोज्न भन्दाभन्दै थाकिसके मुखहरू
संसारले सम्झियोस् कर्म मेरो चाहिँदैन केही अरू
कुरा काट्न बाहेक जसले न अरू केही जान्दछ
अरूको जीउमा हिलो छ्यापेर आफू सफा ठान्दछ
नदेखिए पनि त जराले यहाँ धानेकै छ रुखहरू
संसारले सम्झियोस् कर्म मेरो चाहिँदैन केही अरू।