नेपालमा आफ्नो करिअरलाई गति दिँदै गरेकै बेला सूचना धिताल डिपेन्डेन्ट भिसामा बेलायत पुगिन्।
यो आजभन्दा ११ वर्षअघिको कुरा हो।
नयाँ देश, नयाँ प्रणाली र फरक काम गर्ने वातावरणमा पुगेपछि उनले आफ्नो करिअर सुरूदेखि नै अघि बढाउनुपर्ने भयो।
हाल उनी लन्डनमा मिडलसेक्स युनिभर्सिटी हस्पिटलमा कन्सल्टेन्ट प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा कार्यरत छिन्।
‘यो ठूलो अस्पताल हो, धेरै बिरामी आउँछन्,’ डाक्टर सूचनाले भनिन्।
काठमाडौंमा जन्मेकी सूचना दुई वर्षकी हुँदा परिवारसँगै गोरखा पुगिन्। उनीहरूको घर बजारबाट टाढा थियो, जहाँ पुग्न ६–७ घण्टा पैदल हिँड्नुपर्थ्यो।
छोराछोरीको उज्ज्वल भविष्यका लागि आमाबुबा गोरखा बजारमा कोठा लिएर बसे। बुबा कलेजमा पढाउँथे भने आमा गृहिणी थिइन्।
परिवारको आर्थिक स्रोतको मुख्य आधार बुबाको आम्दानी थियो। चार सन्तानको पढाइ र घरखर्च धान्न त्यति आम्दानीले धौधौ पर्थ्यो।
सूचनाले गाउँकै एक सरकारी स्कुलबाट एसएलसी (एसइई सरह) दिइन्।
'म जिल्लाकै उत्कृष्ट भएकी थिएँ,' उनले सुनाइन्।
उच्च शिक्षाका लागि उनी काठमाडौं आइन्। काठमाडौंको वातावरण र पढाइमा घुलमिल हुन केही समय लाग्यो।
'गोरखामा पढ्दा अंग्रेजी विषय पनि नेपालीमै बुझेर पढिन्थ्यो। काठमाडौं आएपछि निजी कलेजको पढाइ र पढ्ने तरिका बिल्कुलै नयाँ भयो,' उनले विगत सम्झिइन्।
आइएससी पहिलो वर्षमा उनको नतिजा खासै राम्रो आएन। उनले थप मेहनत गरिन्। बिस्तारै पढाइमा सुधार हुँदै गयो। आइएससी पनि प्रथम श्रेणीमा उत्तीर्ण गरिन्।
आइएससी सकेपछि सूचनाले एमबिबिएसको तयारी थालिन्। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नाम निकालिन् र पढ्न थालिन्।
एमबिबिएस सकेर उनी फेरि काठमाडौं आइन्।
उनी एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत स्वास्थ्य शिविरहरूमा काम गर्न हुम्ला, जुम्ला पुगिन्। सो क्रममा त्यहाँ महिलाहरूको आङ खस्ने लगायत स्त्रीरोगको समस्या धेरै भएको पाइन्।
त्यसैले सूचनाले स्त्रीरोग सम्बन्धी विशेषज्ञता हासिल गर्ने निधो गरिन्।
उनले काठमाडौं, महाराजगन्जस्थित शिक्षण अस्पतालमा नाम निकालिन र पढ्न थालिन्। त्यही बीच उनको बिहे भयो।
तीन वर्षको पढाइ सकिएपछि सन् २०१५ मा उनी डिपेन्डेन्ट भिसामा बेलायत पुगिन्।
बेलायत पुगेपछि सूचनाको चाहना थियो— आफूले नेपालमा पढेको चिकित्सा क्षेत्रमै फेरि अघि बढ्ने।
त्यसका लागि उनले मेडिकल लाइसेन्सको तयारी सुरू गरिन्। बेलायतमा चिकित्सकका रूपमा काम गर्न आवश्यक लाइसेन्सका लागि आइइएलटीएसमा कम्तीमा ७ अंक ल्याउनुपर्ने थियो।
'अंग्रेजीको आधार त्यति बलियो नभएकाले मलाई परीक्षा निकै कठिन लाग्यो,' सूचनाले सुनाइन्, 'एउटामा राम्रो गरे अर्कोमा कम अंक आउने क्रम चलिरह्यो। अन्ततः करिब चार पटकको प्रयासमा आइइएलटिएसमा ७ ल्याएँ।'
त्यसपछि उनले अन्य प्रक्रिया पूरा गरिन्। अनि लण्डनको नर्थ मिडलसेक्स युनिभर्सिटी हस्पिटलमा काम गर्ने अवसर पाइन्।
'कर्मचारी माग गरेको थियो। ट्रेनी पोस्टमा जुनियर डाक्टर भएर सुरू गरेँ,' उनले सुनाइन्।
त्यहाँ दुई वर्ष काम गरेपछि उनलाई विभिन्न अस्पतालबाट कामको प्रस्ताव आउन थाल्यो। करिब सात वर्षको अवधिमा उनले तीन वटा अस्पतालमा काम गरेर अनुभव बटुलिन्।
त्यसपछि फेरि नर्थ मिडलसेक्स युनिभर्सिटी हस्पिटलमै प्रसूति तथा स्त्रीरोग विशेषज्ञका रूपमा फर्किएकी हुन्।
अहिले करिअरमा अघि बढ्दै सूचना परिवारको जिम्मेवारी पनि सम्हालिरहेकी थिइन्। उनी दुई सन्तानकी आमा हुन्।
'सासूससुरा र मेरी दिदी यहीँ भएकाले बच्चा हुर्काउन र करिअर अगाडि बढाउन सहज भयो,’ उनले भनिन्।
उनले काम गर्ने अस्पतालमा नेपाली महिलाहरू पनि उपचारका लागि आउँछन्। तर नेपाली महिलाहरूले आफ्नो स्वास्थ्यप्रति पर्याप्त ध्यान नदिएको उनको अनुभव छ।
'विशेषगरी आप्रवासी समुदायमा स्वास्थ्य सेवाबारे पर्याप्त जानकारी नभएको र उपलब्ध सेवा लिन हिच्किचाउने देखेकी छु,' उनले भनिन्।
त्यसैले समय भएका बेला सूचना महिलाको स्वास्थ्यसँग सम्बन्धित विषयमा वेबिनारमार्फत जानकारी दिन्छिन्।