सानो छँदा मलाई लाग्थ्यो-
आमाको संसार भनेकै उहाँको परिवार हो
उहाँको हाँसो हामी,
उहाँको चिन्ता हामी,
उहाँको सपना हामी,
उहाँको दिनचर्या पनि हामी।
उहाँको जीवनमा हामीभन्दा बाहिर पनि
कुनै संसार होला भन्ने सोच्ने उमेर नै कहाँ थियो र?
म आमाको काखमा टाउको राखेर सुत्दा,
उहाँका हातले मेरो टाउको छोपिदिँदा,
सायद ती दुई हातले बनाएको सानो संसारभित्रै
मैले आफ्नो पूरै संसार भेटेकी थिएँ।
त्यति बेला लाग्दथ्यो-
आमा भनेकै यही हो
जसको संसारमा आफूभन्दा ठुलो केही हुँदैन
तर ठुलो हुँदै गएपछि थाहा भयो—
आमाको पनि एउटा संसार रहेछ।
हामीले नदेखेको,
उहाँले धेरै नबोलेको,
तर उहाँको मनको कुनै कुनामा सधैँ बाँचिरहने एउटा संसार।
बिहेपछि छोडेर आएको आफ्नो घर,
आफ्ना बुबाआमा, दाइभाइ,
आफ्ना रहरहरू,
सायद अधुरा छोडिएका केही सपनाहरू पनि।
त्यसैले होला,
हामी सानै छँदादेखि उहाँले
हामीलाई सपना देख्न सिकाउनुभयो।
सपना बुन्न, त्यसका लागि हिँड्न
र जतिसुकै कठिन भए पनि
त्यसलाई पूरा गर्न सिकाउनुभयो।
उहाँ भन्नुहुन्थ्यो—
‘सपना देख्नेले एक दिन अवश्य सफलता पाउँछ।’
आज लाग्छ,
सायद उहाँले हामीलाई आफ्ना अधुरा सपनाहरूको ठाउँमा
हाम्रा नयाँ सपनाहरू रोप्न सिकाइरहनु भएको थियो।
उहाँको हिम्मत सायद हाम्रो रगतमा नै बगेको छ
किनकि उहाँले कहिल्यै हामीलाई
‘मबाट केही हुँदैन’ भन्ने कुरा सिकाउनु भएन।
बरु संसारले जतिसुकै प्रश्न गरे पनि
आफूमाथि विश्वास गर्न सिकाउनुभयो।
उहाँलाई आफ्नो ईश्वरमाथि जति विश्वास थियो,
सायद त्यति नै-
वा त्योभन्दा पनि बढी-
आफ्ना छोराछोरीमाथि अन्धविश्वास थियो।
सायद त्यही अन्धो विश्वास,
त्यही न्यानो माया,
र सुख–दुःखमा कहिल्यै नछुट्ने उहाँको साथका कारण
हामीले आफ्ना हरेक सपनामा
कतै न कतै आमाको सपना देख्न थाल्यौँ।
र त्यसैले होला-
उहाँले देख्नुभएको सपना पूरा गर्नु
हामीलाई केवल सफलता होइन,
एउटा कर्तव्यजस्तो लाग्छ।
मलाई सधैँ एउटा इच्छा रहन्छ-
मेरी आमाको मनमा कहिल्यै
शब्द बन्न नसकेका ती सपनाहरू
एकदिन मैले उहाँकै आँखामा पूरा भएको देख्न सकूँ
उहाँले माग्न नसकेका खुसीहरू दिन सकूँ
उहाँले छोडेका रहरहरू फेरि उहाँकै हातमा राख्न सकूँ
र उहाँजस्तै सरल,
उहाँजस्तै साहसी,
उहाँजस्तै असल मान्छे बन्न सकूँ।
मलाई अझै सम्झना छ—
हामी सानो हुँदा आमा बेलाबखत रोइरहनु हुन्थ्यो
उहाँका आँखा भिजेको देख्दा
मलाई लाग्थ्यो-
मेरी आमा अलि धेरै भावुक हुनुहुन्छ कि?
अलि कमजोर मनकी हुनुहुन्छ कि?
तर आज आएर बुझ्दै छु-
आमाका आँसु कहिल्यै कमजोरी थिएनन्
ती उहाँले गुमाएका मान्छेहरूप्रतिको प्रेम थिए
मनमा वर्षौँदेखि थन्किएका सम्झनाहरू थिए
कसैलाई भन्न नसकेका पीडाहरू थिए
आफैले दबाएर राखेका कैयौँ रहर र भावनाहरू थिए
जसलाई राम्रोसँग बुझिदिने हाम्रो उमेर थिएन।
हाम्रो त सानो संसार थियो
आमाबुवा हुनुहुन्थ्यो
भाइबहिनी थिए
एकअर्काको साथ थियो
आफ्नै घर थियो
हामीलाई त संसार भरिपूर्ण लाग्थ्यो।
तर आमाको संसारलाई नै आफ्नो संसार ठान्ने हामीले
त्यति बेला कहाँ बुझ्न सक्थ्यौँ र,
आमाको आँखाबाट झरेका ती थोपा आँसु
उहाँको कमजोरी होइन,
उहाँले जीवनभर बोकेको प्रेमको भार रहेछन्।
जब जब उहाँ रुनुहुन्थ्यो,
हामी पनि सँगै रुन थाल्थ्यौँ।
अहिले सम्झँदा लाग्छ-
मैले आमालाई खुलेर रुन पनि कहिल्यै दिइनछु।
हरेक पटक उहाँका आँखा भिज्दा
मेरो बालमनले एउटा सानो प्रण गर्दथे र गर्छु पनि-
म आमालाई कहिल्यै रुन दिन्नँ
सधैँ खुसी राख्ने कोसिस गर्नेछु।
त्यति बेला म बच्चा थिएँ
आमाको आँसु रोक्नु नै
आमालाई माया गर्नु हो जस्तो लाग्थ्यो
आज आएर बुझ्दै छु-
कहिलेकाहीँ आँसु रोक्नु होइन,
कसैको आँसु बुझेर उसको छेउमा
चुपचाप बसिदिनु नै प्रेम रहेछ।
समयसँगै म आमाका ती आँसुहरू बुझ्दै छु
एक छोरी भएर, आफ्नै काँधमा कैयौँ जिम्मेवारीहरू बोकेर
बाँच्नुको अर्थ बुझ्दै छु।
बुबाआमा गुमाएकी एउटी छोरीको मनभित्र
कति ठुलो खाली ठाउँ हुन्छ होला-
म आज पनि त्यसको कल्पना पनि गर्न सक्दिनँ।
हामीलाई त यति मात्र थाहा थियो
आमा हुनुहुन्छ,
त्यसैले सबै ठिक छ
र सधैँ ठिक भइरहनेछ।
तर उहाँको ठाउँमा आफूलाई राखेर हेर्दा
एउटा कुरा भने स्पष्ट देख्छु
आमा साँच्चिकै असाध्यै बहादुर हुनुहुँदो रहेछ
उहाँका आँसुका पछाडि पनि शक्ति रहेछ
उहाँको मौनताभित्र पनि साहस रहेछ
उहाँले सहनुभएको हरेक पीडाभित्र
हामीलाई बलियो बनाउने एउटा अदृश्य शक्ति रहेछ
आज पनि मलाई उहाँ संसारकै
सबैभन्दा आत्मबल बलियो भएको मान्छे लाग्नुहुन्छ।
जीवनलाई स्वीकार गर्न सक्ने
परिस्थितिसँग सम्झौता गर्न सक्ने
आफूलाई भन्दा अरूलाई पहिले राख्न सक्ने
माफ गर्न सक्ने
र यति धेरै दुःखपछि पनि
माया गर्न नछोड्ने मान्छे
उहाँजस्तो मानिस मैले कमै भेटेकी छु।
आज फर्केर हेर्दा लाग्छ
उहाँले हामीलाई हुर्काउनुभएन मात्र,
उहाँले हामीलाई आफूभन्दा बलियो बनाउनुभएको रहेछ।
आमा कति बहादुर हुनुहुन्छ भन्ने कुरा
सहज दिनहरूले कहिल्यै देखाउँदैनन्
तर जीवनले अप्ठ्यारो मोड लिँदा
उहाँको वास्तविक शक्ति देखिन्छ
कसैले नबुझ्ने कुरा ती आमाले
सधैँभरि बिना शब्द बुझ्दिन्छिन्।
सायद यही नै आमाको महानता हो
आफ्नो भागमा कम परे पनि
सन्तानको भागमा संसारभरि खुसी राखिदिनु।
उहाँले हामीलाई सधैँ सिकाउनुभयो-
‘नहुँदा सोच्न सक्ने
र भइसकेपछि सम्हाल्न सक्ने हुनुपर्छ।’
‘जीवन सधैँ आफूले चाहेझैँ हुँदैन,
धैर्य र हिम्मत राख्नुपर्छ।’
‘एकअर्कामा प्रेम, सद्भाव र सम्मान रहने हो भने
जीवनका ठुलठुला समस्याहरू पनि पार लाग्दै जान्छन्।’
र ‘फलेको वृक्षको हाँगो निहुरिन्छ निरन्तर।’
त्यति बेला ती सामान्य शब्दजस्ता लाग्थे।
आज आएर थाहा भयो, ती त उहाँले आफ्नो जीवनबाट भोगेर
हामीलाई पढाउनुभएका पाठ रहेछन्।
हिजो म भन्थेँ—
‘म मेरी आमाको शक्ति बन्नेछु।’
तर आज आएर बुझ्दै छु-
म त सधैँ उहाँकै शक्तिले बलियो भएकी रहेछु
उहाँकै सपनालाई आफ्नो सपना बनाएर हिँडेकी रहेछु
उहाँले भरिदिएको प्रेमलाई संसारमा बाँड्दै हिँडेकी रहेछु
उहाँलाई संसार देखाउने इच्छामा आफ्नै संसार बुन्दै रहेछु।
र अन्ततः—
म आफू कम,
मभित्र उहाँलाई लिएर बढी बाँचिरहेकी रहेछु।
सायद त्यसैले
म जहाँ पुगे पनि
जति टाढा गए पनि
जति ठुलो सपना देखे पनि—
मेरो फर्किने ठाउँ सधैँ एउटै हुनेछ
मेरी आमाको काख।
आज उहाँको जन्मदिनमा
मलाई थाहा छ मेरी आमालाई केही ठुलो उपहार चाहिँदैन
तर मेरा भावपूर्ण शब्दहरू मनमा दबाइरहन सकिनँ
यी शब्दहरूमा
मेरो बाल्यकालको त्यो सानो संसार छ,
उहाँको काख कहिल्यै नछोड्ने एउटी पुच्छर छोरी छ,
उहाँका आँसु नबुझेर सँगै रोएकी एउटा बालमन छ,
आज आएर ती आँसु बुझ्न थालेकी एउटी छोरी छ,
र उहाँका अधुरा सपनाहरू पूरा गर्न चाहने
एउटी कृतज्ञ छोरीको मन छ, आमा।
म जीवनमा जहाँ पुगे पनि
मेरो परिचयको सबैभन्दा सुन्दर अंश
सधैँ यही हुनेछ कि
म तपाईंकी छोरी हुँ।
जन्मदिनको धेरै–धेरै शुभकामना, मेरी प्यारी मम्मी
तपाईंकी प्यारी कान्छी छोरी (कालु)!