कफीगफ
विमानभित्र पसेर आफ्नो लहरतिर आँखा लगाउनासाथ थाहा भइहाल्यो— मेरो सिट माझमा परेको रहेछ।
दुईतिर दुई जना गजधम्म बसिसकेका थिए। बीचमा च्यापिएर सुस्त र निरीह देखिएको सिटले मलाई ङिच्च स्वागत गर्यो।
हातेझोला र्याकमा राखेर सिटतिर ताक्दै थिएँ, क्वार्क्वार्ती मतिर हेरेकी युवती जुरूक्क उठिन् र हिँडिदिइन्। आफ्नो सिटमा बसेर उनी कता, किन गइन् भनेर गमेर हेरेँ।
मसँग बस्न अप्ठ्यारो लागेर सिट बदल्न गएकी हुन् कि जस्तो भान पर्यो।
कुनाको युवकलाई सोधौं भने मोबाइलबाट एक झमक पनि आँखा हटाएको छैन।
यो मोबाइल भन्ने के चिज आइलाग्यो दुनियाँमा? खानु न खुट्नु, जो पनि उस्तै परे चौबीसै घन्टा आँखा जोतेको जोत्यै छ। कानमा एयरफोन घुसार्यो, दुवै हात जुम्ली पार्यो अनि आफ्नो अगाडि हाइभिजन भिडिओ हल बनायो।
बस्, मानिस जातलाई यो नित्य तर रित्तो संसारमा लट्ठ पार्न अरू केही गर्नै पर्दैन।
मानिस आफूले आफैलाई आजीवन काराबासको सजाय दिएको प्रमाण उनीहरूको हात हेरे पुग्ने भएको छ। चलनढल भएर एकै ठाउँ निष्क्रिय बसिरहने, शौचालय जानै नपरे हुन्थ्यो सोच्ने।
यता, ती युवती दुई जना विमान परिचारिकासँग उभिई–उभिई गम्भीर हाउभाउमा कुरा गर्न थालेकी थिइन्। मैले केही भनेको थिइनँ। केही इसारा गरेको पनि थिइनँ। नराम्रो केही गरेजस्तो पनि लाग्दैन। उनको त्यो तरिकाले मलाई बिझायो।
नयाँ दिल्लीबाट कोइम्बतोर जान इन्डिगोको एयरबस तयार हुँदै थियो। रातभरि दस घन्टा ट्रान्जिटको नाममा त्यही आन्तरिक टर्मिनलभित्र जेनतेन भेटिएको काठको मेचमा कहिले पढ्दै, कहिले उँघ्दै, ननिदाएका आँखा मिच्दै म पसेको मात्र थिएँ।
ती युवतीलाई एउटी होइन, दुवैतिर उभिएका परिचारिकाले सम्झाउँदै गरेको देखिन्थ्यो। दुवैले उनलाई सान्त्वना दिने गरी हात हल्लाइरहेका थिए। एउटीले त उनको ढाडमा ढाडसको हात स्नेहपूर्वक राखिन्।
म सिटमा बसेको छु, आँखा त्यतै मात्र छ। मेरो आडको गजधम्मे युवकको ब्रह्माण्ड चाहिँ हातमै फनफनी चलिरहेको थियो।
युवती अप्ठ्यारो अनुहार लगाएर सिटमा फर्किइन्। उनको सिट मेरो ठाउँमा परेको भए पनि कुनै सट्टापट्टा गर्न खोज्नु त! झन् आइल सिट परेको छ, उल्टै के नपुग्या जस्तो! कि मेरो अनिँदो आँखाले उनलाई हेर्दा केही बित्यास पर्या त होइन होला!
उनी आइपुग्न नपाउँदै परिचारिकाले पहिले हिन्दी र त्यसपछि अंग्रेजीमा माइकिङ थालिन्— यात्रु महानुभावहरू, आफ्नो सिटमा बसेर पेटी बाँधिहाल्नुहोला। हामी बरू केही मिनेट पहिल्यै उडौंला र गन्तव्यमा पुगौंला।
हुन पनि म कोइम्बतोर (भारत तमिलनडूको सहर) समयमै पुग्न पाइनँ भने अर्को उडानबाट आएकी साथीलाई लिएर ट्याक्सी तीन घन्टा पर मुकामतिर चलिदिन्छ अनि म अलपत्र पर्छु भन्ने चिन्ता छँदै थियो। परिचारिकाको माइकको आवाज मलाई मीठो लाग्ने गरी यात्रुहरूलाई सिटमा बाँधीवरि चालकदल ठीक समयमा उड्न सफल भयो।
मैले गजधम्मे युवकको छेउबाट झ्यालबाहिर हेरेँ, नयाँ दिल्ली अँध्यारै थियो। सबेरै बास्ने भाले हुँदा हुन् भने बास्दै होलान्। जसरी केही सुनिएन, देख्न पनि त्यस्तै भयो।
लामा खुट्टा भएको यात्रुलाई माझको सिट परेको छ। साटौं भनौं भने जुँगामुठे, गजधम्मे भारोत्तोलक शरीरको मोबाइलबाट आँखा हटेकै छैन। अर्कोतिर युवतीको मतिरको गालाको भाग पनि रन्केलाजस्तो लाग्दैछ।
चुप लागेर अकरक्क बस्दै थिएँ, युवती मतिर फर्केर फुसफुसाइन्—
'तपाईंलाई के कामले यो यात्रा गरायो?'
'हजुर?'
'के कति कामले हिँड्दै हुनुहुन्छ,' उनले अंग्रेजी बोलिन्।
'हजुर,' मैले थप उनीतिर ढल्किएर सोधेँ।
'तपाईंको यो यात्रा के कामका लागि हो?'
उनको गतिविधि निको नमानिरहेका बेला उनले हाई–हेलो नगरी, म केही सोध्न सक्छु भन्नेसमेत अनुमति नमागी, एक्कासि के कामले हिँडेको भन्ने सोधाइले मलाई पिल्साउँदै थियो।
त्यही निहुँमा मैले उनको पूरै अनुहार हेरेँ। आँखाले चपाई–चपाई उनलाई नियालेँ। आँखाले ढाँट्दैन। ओठसँग आँखाको लय मिलेको छ भने अनुहार पढ्न गरेका प्रयासको परीक्षाफल राम्रै आउँछ।
मैले आँखा र ओठजस्ता अनुहारका दुई मुख्य हतियारलाई निःशस्त्र पार्ने गरी उनीतिर मन्द मुस्कान प्रत्यारोपण गरेँ। त्यसो गर्दा उनको गोरो भन्न नमिल्ने, तर हिस्सी परेको भर्खर युवावयको सुकुमार अनुहार अलिकति मुजा परेको भए पनि तन्किएको आभास भयो।
उनको अनुहार त्यो निमेषभरमै नियाली भ्याएर अघि भर्खर सुनेको फुसफुसे आवाजसँग रूजु गर्दा म आफैसँग प्रसन्न भएँ।
मैले भनेँ, 'म त एउटा कृषि बैठकमा भाग लिन आएको। एसियाको एउटा प्रशिक्षण छ।'
उनी मेरो दोस्रो वाक्य सुन्न मतिर ढल्किइन्। त्यही मेसोमा उनलाई आफू किसानी प्रशिक्षणमा आएको भन्ने बुझाएँ।
अनि सोधेँ, 'अनि आफू नि?'
'हँ?' उनी फेरि ढल्किइन्।
'तपाईं के कामले नि?'
'बिजनेसको सिलसिलामा।'
गुडगाउँ मुख्यालय रहेको एउटा आइटी कम्पनीको बिजनेस मिटिङका लागि उनी पहिलोपल्ट कोइम्बतोर जाँदै रहिछन्। मद्रास त पहिल्यै पुगेकी रे।
उनको बिजनेस विस्तारबारे सुन्न मैले कान चनाखो पार्दै थिएँ, परिचारिकाहरूले खाना बाँड्न थाले।
मैले मुख मिठ्याउने सवाल थिएन। किनभने त्यसै त त्यस्तो महँगो टिकट, खाना पनि खानुपर्छ भनेर मैले बेफ्वाँकमा किन खर्चिलो यात्रा गर्ने?
प्रशिक्षण लिन विद्यार्थी भएर यात्रा गर्दा मितव्ययी हुन सिक्नुपर्यो नि!
त्यसै पनि विमानका यात्रुमध्ये एकाधले मात्र अर्डर गरेका हुँदा रहेछन्। अघिल्लो साँझ काठमाडौंबाट नयाँ दिल्ली आउने उडानमा पनि त्यस्तै देखेको थिएँ। थुक निल्ने गरी हर्रर बिरयानी बसाएको भने थियो। परिचारिकाले पानी भने पिलाइदिइन्।
यतिखेर एउटी परिचारिका त हाम्रै लहरतिर तन्किएकी देखेँ। उनले मेरो आडकी युवतीनेर निहुरिएर चिया कि चिसो सोधिन्।
'म त तातो चिया पिउँछु' भनिन्।
खासै तातो रहेनछ, तुन्तुन्ती पिइन्।
त्यसपछि परिचारिकाले एउटा आकर्षक गाता भएको प्याकेट दिएर केही कुरा अर्थ्याइन्। उनले एकछिनमा खाऊँला भनेर सिटअगाडि पत्रिका राख्ने ठूलो खल्तीमा घुसाइन्। आँखा भने गजधम्मे युवकको छेउबाट झ्यालबाहिर पुर्याइन्। आकाश खुल्दै आए पनि दृश्य केही थिएन।
उनले आफ्नो सिट अगाडिको ठूलो खल्तीमा राखेको भर्खर प्राप्त प्याकेटमा हात पुर्याइन् र सर्लक्क निकालेर आफ्नो अगाडि ल्याइन्। म उनले थाहा नपाउने गरी उनको हातको चाला पछ्याउँदै थिएँ।
उनको त्यो हात मैले हेर्दाहेर्दै पत्याउनै नसक्ने गरी मतिर सरेर आयो। मेरो अगाडि आइपुग्यो अनि उनले कुहिनाले मेरो कुहिनालाई ठेलिन्।
मैले उनलाई हेरेँ।
उनले मलाई विनयी स्वरमा भनिन्, 'खानु न।'
'तपाईं नखाने?' मैले सोधेँ।
उनले टाउको हल्लाउँदै ओठ सुस्तरी फुसफुसाउँदै सारिन्, 'तपाईंलाई!'
मैले मागेको त होइन नै। कि अघि मेरो पेट कराएको उनले सुनेकी हुन्? उनले नखाने भए टिकट किन्दा किन खानाको अर्डर गर्थिन् होला?
मैले त्यो निलो र हरियो रङको दोसाँधको गाता भएको त्रिकोणात्मक प्याकेट उनको हातबाट हासिल गरेपछि एउटा कुना कोट्याएर हेरें— चिज स्यान्डविच रहेछ।
आँखाले उनको आँखामा सम्पूर्ण मुस्कान प्रज्वलित गर्दै 'खाऊँ त?' भन्ने भाका पारेँ।
उनको आँखाको जबाफी भाका फर्कियो— खानू, खानू!
धन्यवाद भन्दै मैले प्याकेट पूरै खोलेँ। कुहिनाले उनको कुहिना छुँदै 'अलिकति त चाख्नू न' भन्ने जोड गरेँ।
उनले मेरो मन राखिदिन एउटा औंला अर्को औंलासँग जोल्ट्याएर एउटा टुक्रा कोट्याइन् र चाखेको स्वाद लिइन्।
'पुग्यो' भनिन्।
मैले भने आँखा चिम्लेकै गतिमा त्यो सुन्दर गाता भएको प्याकेटलाई बुत्याएँ। मीठो रहेछ पनि भनेँ।
गाता पट्याएर प्याकेटलाई सानो पार्न खुम्च्याएको बेला मसिनो अक्षरमा लेखेको पढेँ र मस्त हाँसेँ।
उनले मतिर हेरेर 'के भयो' सोधिन्।
'यी हेर्नुस् न।'
'खै खै?'
'यी,' मैले दायाँ हातको चोर औंला ती मसिना अक्षरमाथि दौडाउँदै देखाएँ।
उनी पनि हाँसिन्। उनको अनुहारको बुलबुल पूर्ण प्रकाशित भएको बेला पनि मैले आधा मात्र देख्न पाएँ।
न मैले भनेँ, न उनले भनिन्, तर हामीले एकाएक हाइफाई गर्यौं। एक प्रकारले विमानभित्र हल्लै भयो। विमानका यात्रुमध्ये हाम्रै लहर बरू सबभन्दा घटनापूर्ण बनेको थियो।
त्यसमा लेखिएको रहेछ— दाने दाने पे लिखा है खाने वाला के नाम!
त्यो झ्यालतिर बसेको गजधम्मेले हामीबीच भएको त्यत्रो घटना चालै पाएन। ऊ मोबाइलमै टाँसिएको थियो।
हाइफाई गर्दा मैले ख्याल गरेँ, युवतीका दुवै हातमा चुरा रहेछन्। ती बजे।
'नेपाली चलनजस्तै रहेछ,' मैले उनको चुरा देखाउँदै भनेँ।
'तपाईंको परिवार छ?' उनले सोधिन्।
मैले आफ्नोबारे बताएपछि उनैलाई त्यही प्रश्न गरेँ।
परिवार हुनलाई आफू उमेर पुगेकी हुँ र भन्ने सवालसाथ उनले भनिन्, 'म भर्खर २७ त लागेँ। एक महिना भयो विवाह गरेको।'
अनि उनले मोबाइल निकालेर राजस्थानमा हनिमुन गएको बेलाको सुन्दर ठाउँको फोटो देखाइन्। नवविवाहिताको त्यो लोभलाग्दो क्षण देखेर उनको खुसीमा आफ्नो पनि खुसी मिसाउँदै मैले विवाहको बधाइ भनेँ। अनि मिलेको जोडीको तारिफ गरेँ।
एउटै कलेज पढेका मात्र होइन, एउटै कक्षाका सहपाठी मात्र पनि होइन रहेछन्। एउटै कम्पनीमा काम गर्ने रहेछन्।
उनी मसँग खुलेर कुरा गरेको गर्यै गर्न थालिन्।
मैले पढिरहेको किताब मेरो काखबाट सोध्दै नसोधी तानेर पढ्न खोजिन्— कहिले पुछारको पाना, कहिले भित्री पाना, कहिले आधाउधीको।
फेरि आवरण हेरिन् अनि जिब्रो लेब्र्याइन्। कृषि, प्रकृति, ब्रह्माण्ड र यी सबैका दार्शनिक पक्षहरूबारे जटिल किताब थियो। उनका लागि कतै अडिनुपर्ने खण्ड थिएन।
उनी एकपल्ट फेरि आइप्याड र एयरफोन मेरो आड छाडेर परिचारिकालाई भेट्न गइन्। छोटो बात मारेर फर्किइन्। फेरि मसँग झ्याम्मिइन्।
'एउटा कुरा सोधौं?'
'के कुरा?'
'तपाईं घरिघरि एयरहोस्टेसहरूलाई भेट्न जानुहुन्छ, किन?'
'मलाई जहाज चढ्न डर लाग्छ नि त,' उनले भनिन्, 'उहाँहरूले आत्तिनुपर्दैन भन्नुहुन्छ, अनि ढुक्क हुन्छु।'
त्यसको केही बेरमा एकैछिन टर्बुलेन्स आउँदैछ भनेर परिचारिकाले माइकिङ गरिन्, अनि उनलाई केही हुँदैन भनेर ढाडस दिने काम मेरो काँधमा आयो।
बोक्नुपर्ने थिएन। उनको आँखामा टक्क हेरेर निडरताको सञ्चार गर्ने र ओठले त्यही कुरा शब्दमा सार्ने। ओठ तन्काएर मैले बच्चालाई झैं केही हुन्न भन्ने सान्त्वना दिएँ।
केही भएन पनि।
'म त रातभरिको अनिँदै छु,' मैले भनेँ।
'म पनि त कहाँ सुतेँ र?' उनले भनिन्, 'घरबाट सोझै आएकी भए पनि जहाजमा उड्नुपर्ने सोचेरै आँखा चिम्म भएनन्।'
कोइम्बतोर विमानस्थलमा अवतरण हुने बेला हुँदै थियो।
मैले सोधेँ, 'त्यसो भए, बढी यात्रा रेलमा गर्नुहुन्छ?'
'तर यहाँ दुई दिनको कामका लागि एकतर्फी नै दुई दिनको रेल यात्रा गर्नु बिजनेस सेन्स भएन,' उनले भनिन्।
त्यो त हो। बिजनेसमा काम गर्नेले यात्राको बिजनेस त बुझ्नै पर्यो।
विमान ओर्लिएर सकुशल तमिलनाडू टेक्दै टक्क स्थिर भयो।
दुवै परिचारिकाले युवतीलाई टाढैबाट हातको इशारा गर्दै मुस्कानमा दाँतका लहर देखाउँदै 'केही अप्ठ्यारो भयो त? त्यस्सै!' भन्ने सन्देश दिए।
विमानस्थलमा हामीले अंकमाल गर्दै बिदाइ हुँदा कानमा फुसफुसायौं—
'टेक केयर!'
'यू टेक केयर!'
उनको लगेज आउनै थियो। मेरो भने लगेज भनेकै हातेझोला भएकाले खुरूक्क हिँड्न पाएँ।
सोचेँ — उनलाई जहाजको डर भएकाले त मसँग बोलेर समय काटिन्। नत्र को किन कोहीसँग बोलिरहोस्?
त्योभन्दा पनि मेरो त एक छाक टर्यो!
म मुसुक्क अनुहार पार्दै 'दाने दाने पे लिखा है' कण्ठ पार्दै सुत्त कोइम्बतोर निस्किएँ।
***
(नारायण वाग्लेका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
एक्स- @narayanwagle