'विद्या मिस अब हुनुहुन्न' शुक्रबार राति अबेर मोबाइलमा अशुभ सन्देश प्राप्त भयो।
यो सन्देशपछि धेरै बेर निद्रा लागेन।
२०५५ सालदेखि निरन्तर भेटिरहने एउटा सौम्य व्यक्तिको उज्यालो अनुहार मेरो आँखाअगाडि आइराख्यो।
भदौ २६ गते शुक्रबार राति लिटिल एञ्जेल्स स्कुलका संस्थापकमध्येका एक विद्या लिम्बूको जीवन यात्रामा पूर्णविराम लाग्यो। शिक्षा क्षेत्रमा जीवनको झन्डै आधा शताब्दीभन्दा बढी समय समर्पित विद्या मिसको सुनसान महाप्रस्थानमा निस्किनुभयो।
उहाँको निधन केवल एउटा परिवारका लागि प्रिय सदस्य गुमाउनु होइन, नेपालकै शैक्षिक यात्राले एउटा समर्पित कर्मठ गुमाउनु पनि हो।
वास्तवमा उमेश श्रेष्ठ र विद्या लिम्बूले ४६ वर्षअघि सुरू गरेको शैक्षिक यात्रा नेपाली शिक्षा क्षेत्रमा एउटा नवक्रान्तिको सुरूआत थियो। किनभने त्यो गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको शिक्षामा ठूलो फड्को थियो।
आज त्यो विशाल संस्था बनेको छ। लिटिल एञ्जेल्सबाट सुरू भएको यो यात्रा आज फैलिएर राजधानीमै आइडियल मोडल स्कुल, जेभियर्स एकेडेमी, चितवनमा स्मल हेभन लगायतमा फैलिएको छ। अरू पनि शैक्षिक संस्थाहरू संस्थागत हुँदैछन्।
विद्या लिम्बूलाई धेरैले 'विद्या मिस' भनेर चिन्छन्। यो सम्बोधनभित्र उहाँको परिचय मात्र होइन, हजारौं विद्यार्थीको माया र सम्मान पनि सँगै जोडिएको छ।
विद्या मिस वास्तवमै शालीन हुनुहुन्थ्यो। व्यवहारमा न्यानोपन थियो। बोल्दा नापेर बोल्ने र मानिसको भावना बुझेर प्रस्तुत हुने उहाँको शैलीमा एक किसिमको कूटनीतिक सौम्यता झल्किन्थ्यो। तर त्यो शालीन व्यक्तित्वको पछाडि आफ्नो कामप्रतिको दृढता उत्तिकै बलियो थियो।
त्यो कूटनीतिक चरित्र उहाँले आफ्ना सानोबुबा स्वर्गीय जिबी याक्थुम्बा बर्माको राजदूत हुँदा सिक्नुभएको थियो। सानीआमा इन्दिरासँग मिलेर विद्याले वर्मास्थित शाही नेपाली राजदूत राजदूत याक्थुम्बाको आतिथ्यता मान्न आउने कूटनीतिज्ञको स्वागत सत्कार गर्नुहुन्थ्यो।
त्यसबाट उहाँले कूटनीतिक व्यवहार सिक्नुभएको थियो।
बर्मामै विद्या मिसको बाल्यकाल बितेको थियो। उहाँको जन्म २००४ पुस २० गते बर्माको एउटा गाउँ कलवामा भएको थियो। अगमबहादुर राई र भद्रमाया (मेन्दो) राईको जेठो सन्तानको रूपमा उहाँको जन्म भएको थियो। उहाँको प्राथमिक तहको अध्ययन बर्मामै भयो, किङ्स उड विद्यालयमा। उहाँको हाइस्कुल भने कर्साङस्थित सेन्ट जोसेफ स्कुलमा भएको थियो।
एउटा भेट, इतिहास बन्यो
विद्या मिसको शैक्षिक यात्रा ज्ञानोदय बालबाटिकाबाट २०३१ सालदेखि सुरू भएको थियो। ज्ञानोदय बालबाटिकाको स्थापनाकालदेखि नै उहाँ शिक्षकका रूपमा कार्यरत हुनुहुन्थ्यो।
आवश्यकता अनुसार उहाँ त्यहाँ जुनसुकै विषय पढाउनुहुन्थ्यो। रूचि भने अंग्रेजी शिक्षामा थियो। 'शुद्ध अंग्रेजी बोल्नुपर्छ' भन्ने उहाँको मान्यता थियो।
२०३४ सालको एक दिनको कुरा हो। जिल्ला शिक्षा कार्यालय, ललितपुरका प्राथमिक विद्यालय निरीक्षक उमेश श्रेष्ठ विद्यालय निरीक्षणका क्रममा ज्ञानोदय पुग्नुभयो। त्यहीँ उहाँको भेट विद्या लिम्बूसँग भयो।

ज्ञानोदयकी सञ्चालक इन्दिरा याक्थुम्बा र विद्या लिम्बूबीच पारिवारिक नाता। इन्दिरा उहाँकी सानीमा। इन्दिराकै प्रोत्साहनमा उमेश श्रेष्ठले सरकारी जागिर छाडेर ज्ञानोदयमा शिक्षक बन्नुभयो। त्यसपछि उमेश र विद्याको मनमा अर्को सपना पलायो– आफ्नै विद्यालय खोल्ने।
२०३७ सालको श्रीपञ्चमीको शुभदिन। त्यो सपना यथार्थमा परिणत भयो। नाम राखियो, लिटिल एञ्जेल्स स्कुल अर्थात् साना परीहरूको स्कुल।
आजका दिन एलए स्कुलका नामले परिचित छ। हरेक यात्रा पहिलो पाइलाबाटै सुरू हुन्छ भने जस्तै लिटिल एञ्जेल्स स्कुलको सुरूआत पनि सानो थियो। किन्डर गार्डेन (केजी) का तीन तह र कक्षा १ पनि। विद्यार्थी जम्मा ६५ जना।
जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुल र सेन्ट मेरिज स्कुलको बीचको एउटा घरबाट लिटिल एञ्जेल्स स्कुलको सुरूआत भएको थियो। त्यसबखत काठमाडौंमा यी दुवै स्कुलको प्रख्याति धेरै थियो। निजी स्कुल थोरै थिए, राम्रा स्कुलको संख्या झनै न्यून थियो। राम्रा विद्यालयमा विद्यार्थीको चाप बढी हुने नै भयो।
उमेश र विद्याको सपना ठूलो थियो। राज्यलाई शिक्षाको क्षेत्रमा राम्रै सघाउने, मुलुकलाई आवश्यक शैक्षिक जनशक्ति उत्पादन गर्ने।
२०४२ सालदेखि लिटिल एञ्जेल्समा आबद्ध हाल निर्देशक राजेश श्रेष्ठका शब्दमा 'त्यो सानो सुरूआत थियो, तर उद्देश्य विशाल थियो।'
आज लिटिल एञ्जेल्स स्कुल ४७ वर्षको यात्रामा विशाल शैक्षिक संस्थामा परिणत भएको छ। यस अन्तर्गत आधा दर्जनभन्दा बढी शैक्षिक संस्था बनेका छन्।
लिटिल एञ्जेल्स स्कुलमा आज हजारौं विद्यार्थी पढ्छन्। सयौं विद्यार्थी विद्यालयबाट बाहिरिन्छन्। झन्डै बीस हजार विद्यार्थीले त्यहाँबाट एसएलसी/एसईई उत्तीर्ण गरेको तथ्यांक छ।
यहाँ स्नातक तहसम्म पढाइ हुन्छ र यो संख्यासमेत जोड्ने हो भने ३५ हजार विद्यार्थी एलए स्कुलबाट उत्तीर्ण भएका छन्। यो नै उमेश र विद्याको सबैभन्दा ठूलो सफलताको कथा हो।
ती विद्यार्थीमध्ये कोही देशका महत्वपूर्ण जिम्मेवारीमा पुगेका छन्। कोही राजदूत बने। कोही चिकित्सक, कोही इन्जिनियर। कोही सरकारी, सैनिक सेवाका उच्च जिम्मेवारीमा छन्। कतिपय विद्यार्थी संसारका अव्वल प्राज्ञिक संस्थामा आबद्ध छन्।
उताबाट कहिलेकाहीँ एलए स्कुलमा सन्देश प्राप्त हुँदा उमेश र विद्या औधी रमाउनुहुन्थ्यो। यसलाई आफ्नो सपना पूरा भएको ठान्नुहुन्थ्यो। किनभने यो ठूलो सफलता थियो।
देश–विदेशका अनेक क्षेत्रमा पुगेका ती विद्यार्थीको सफलताको कथामा लिटिल एञ्जेल्स स्कुलको एउटा अध्याय थपिएको छ। त्यो अध्यायको इतिहासमा विद्या मिसको नाम समेटिएको छ। ती विभिन्न तह र तप्काका लिटिल एञ्जेल्स स्कुलका पूर्व विद्यार्थी पनि आइतबार विद्या मिसको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा सरिक भएका थिए।
आधा शताब्दी लामो शैक्षिक नेतृत्व
लिटिल एञ्जेल्स केवल एउटा विद्यालयको स्थापना थिएन। यो नेपालमा निजी शिक्षाको विस्तार र गुणस्तरबारे नयाँ सोचको सुरूवातसँग जोडिएको एउटा यात्रा पनि थियो। समग्रमा देशमा आवश्यक पर्ने गुणस्तरीय जनशक्ति निर्माणको महाअभियान थियो।
नेपालमा गुणस्तरीय शिक्षालाई आममानिसको पहुँचमा पुर्याउने प्रयास थियो। त्यही महाअभियानमा उमेश श्रेष्ठ र विद्या लिम्बूले लामो समय सँगैसँगै काम गर्नुभयो। साथै उमेश र विद्याको यो यात्रा व्यापारिक साझेदारीको उत्कृष्ट नमूना पनि हो।
विद्याले विद्यालयको प्रशासनिक जिम्मेवारी मात्र सम्हाल्नुभएन। सुरूआतका दिनमा आवश्यक उहाँ आफै कक्षाकोठामा प्रवेश गर्नुभयो, उभिनुभयो र विद्यार्थी पढाउनुभयो। देशभित्र मात्र होइन, विदेशमा गएर समेत नयाँ शिक्षण पद्धति बुझ्नुभयो। अझ राम्रो शिक्षा कसरी दिन सकिन्छ भनेर सिकिरहनुभयो। त्यो सिकाइको क्रममा उहाँ इजरायल र अमेरिकासम्म पनि पुग्नुभयो।
'आजको एलए स्कुलको जुन भौतिक संरचना छ। जसरी एउटा जंगलको रूपमा या गार्डेनका रूपमा स्कुललाई व्यवस्थित र हरियाली बनाइएको छ। त्यसमा कहीँ न कहीँ विद्या मिसको सोच र नेतृत्व जोडिएको छ,' राजेश श्रेष्ठ सम्झिनुहुन्छ, 'कक्षा कोठाभित्रको सजावट होस् चाहे कार्यालयभित्रको सजावट त्यसमा विद्या मिसको आन्तरिक सजावट र सपना गाँसिएको छ। त्यसैले ती सबै कक्षाकोठाले विद्या मिसलाई सधैं सम्झाइरहनेछ।'
उहाँको अंग्रेजी भाषा पनि निकै अब्बल थियो। कर्साङस्थित निक्कै पुरानो र प्रतिष्ठित सेन्ट जोसेफ स्कुलमा अध्ययन गर्नुभएकी विद्याले स्नातक तहसम्मको शिक्षा पूरा गर्नुभएको थियो। शिक्षा उहाँका लागि पेसा मात्र थिएन। शिक्षा उहाँको लागि सेवा र जीवन थियो। शिक्षामै उहाँले जीवन उत्सर्ग गर्नुभयो।
ज्ञानोदयबाट सुरू भएको उहाँको शैक्षिक यात्रा आधा शताब्दीभन्दा लामो भइसकेको थियो। साथै उहाँको समाज सेवामा पनि उत्तिकै लगाव थियो। समाज सेवामा लागेवापत उहाँलाई गोरखा दक्षिणबाहु, दीर्घ शिक्षा सेवा पदक जस्ता मानपदवीबाट उहाँ विभूषित हुनुभएको थियो।
विद्या सम्पन्न परिवारमा जन्मे पनि उहाँको आफ्नै जीवन पनि अनेकौं संघर्ष पार गरेर बनेको थियो। उहाँ १२ वर्षको छँदै आमा भद्रमाया बितेपछि उहाँ र भाइबहिनी आमाको मायाबाट वञ्चित हुनुपर्यो। सानै उमेरमा आमाको माया गुमाउनु सहज कुरा थिएन।
त्यसपछि उहाँको अभिभावकत्वको जिम्मेवारी सानीआमा इन्दिरा याक्थुम्बाले सम्हाल्नुभयो।
सायद त्यहीँबाट विद्याले सम्बन्धको वास्तविक अर्थ सिक्नुभयो, रगतको नाता मात्र होइन, भावनात्मक सम्बन्धले पनि परिवार बनाउँछ। कालान्तरमा विद्या मिसले आफ्ना ३ बहिनी र एक भाइको अभिभावक बनेर हुर्काउनुभयो, पढाउनुभयो। विद्याका एक भाइ जीवन याक्थुम्बा र तीन बहिनीमा जेठी शर्मिला राई, माइली विष्णु याक्थुम्बा र कान्छी शिला याक्थुम्बा हुनुहुन्छ।
उहाँको विवाह २०२८ सालमा नेपाली सेनाका अधिकृत फत्तेबहादुर लिम्बूसँग भयो। उहाँ नेपाली सेनाको रथीबाट अवकाश प्राप्त हुनुहुन्छ।
उहाँहरूका दुई छोरी र एक छोरा छन्, जेठी छोरी सिर्जना राई, कान्छी छोरी सृष्टि लिम्बू र छोरा सम्पूर्ण लिम्बू। आज यी सबै नाता र सम्बन्धका बीच एउटै अभाव छ, विद्या मिस।
विद्या 'हिम्मतिलो महिला'
२०२८ सालदेखि विद्या मिससँग परिचित नेपाली सेनाबाट अवकाश प्राप्त उपरथी कुमार फुदोङ विद्या लिम्बूलाई 'हिम्मतिलो महिला' मान्नुहुन्छ।
उहाँ सम्झिनुहुन्छ, 'मैले उहाँलाई फत्ते जर्सावको विवाहको सन्दर्भ चल्दादेखि चिने। हाम्रो पहिलो भेट रानीपोखरीको किनारको रेस्टुरेन्टमा भएको थियो। विद्या भाउजू आफ्नी सानीआमा इन्दिरा याक्थुम्बाका साथ आउनुभएको थियो भने म फत्ते जर्सावको साथ गएको थिएँ। त्यसको केही दिनपछि उहाँहरूको विवाह भयो। त्यो दिनदेखि देखेको विद्या भाउजू एक हिम्मतिलो महिला हुनुहुन्थ्यो।'
फत्तेबहादुर र कुमार फुदोङ ललितपुर झम्सिखेलका छिमेकी। उहाँहरू दुवैले सँगै जग्गा किन्नुभयो, सँगै घर बनाउनुभयो।
फुदोङको सम्झनामा 'त्यो घर बनाउने क्रममै कोरियन राजदूतावासले उहाँहरू दुवैको घर १० वर्षका लागि भाडामा लिने भयो।
त्यही घर बनाउने, भाडामा दिने क्रममा विद्या मिसको खटाइ र व्यवहारका कारण कोरियन राजदूतावासका काउन्सिलर किमले भनेका थिए, 'विद्या इज अ स्ट्रोङ ओमन, अर्थात् विद्या हिम्मतिलो महिला हुनुहुन्छ।'
किनभने उहाँ हरेक काममा आफै खटिनुहुन्थ्यो। उहाँलाई कुनै पनि काम एकदमै पूर्ण र उत्कृष्ट चाहिन्थ्यो। सायद यो कुरा उहाँले आफ्ना सानाबुबा राजदूत जिबी याक्थुम्बा र सानीआमा इन्दिरा याक्थुम्बाको संगतले सिक्नुभयो।
यसरी हेर्दा विद्या मिसलाई पूर्व उपरथी फुदोङ 'आफै गरिखाने महिला' का रूपमा हेर्नुहुन्छ। उहाँ उत्तिकै आँटिलो पनि हुनुहुन्थ्यो। त्यही आँटका कारण आफ्ना व्यावसायिक साझेदार उमेश श्रेष्ठले सारेका हरेक व्यावसायिक उद्यममा उहाँको सक्रिय साथ र सहयोग थियो। त्यसैले उहाँहरूलाई सफलता मिल्दै गयो।
अन्तिम बिदाइ
आइतबार हरितालिका तीजको दरखाने दिन। नेपाली महिलाको महान चाड। तर यही दिन विद्या मिसको पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार हुँदै थियो। नेपाली सेनाको परम्परा अनुसार विद्या मिसलाई सैनिक शोक धुन र सैनिक सलामीसाथ अन्तिम संस्कार गरियो।
केही समयदेखि विद्या लिम्बू सुगर र मिर्गौला सम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो। २०७६ सालमा उहाँको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उहाँकी माइली बहिनी विष्णु याक्थुङवाले किड्नी दिनुभएको थियो।
तर हालैका दिनमा शरीरले बिस्तारै साथ छाड्दै थियो। तर उहाँले आफ्नो जीवनको अधिकांश समय हजारौँ नेपालीका सन्तानको भविष्य निर्माण गर्न बिताउनुभयो।
शुक्रबार राति उहाँले महाप्रस्थान गर्नुभयो। हिन्दु र बौद्ध परम्परा अनुसार अन्तिम संस्कार गरियो। लामाहरूले पूजा गरे। आइतबार पशुपति आर्यघाटमा उहाँको अन्तिम संस्कार भयो। आर्यघाटमा चिता जलिरहँदा मनमा एउटा प्रश्न आयो। विद्या मिसको आधा शताब्दी लामो शैक्षिक जीवन केही मुट्ठी खरानीमा समाप्त हुन्छ?
अवश्य हुँदैन। मानिसको शरीर समाप्त हुन्छ। तर विद्या मिसले अरूको जीवनमा छाडेको प्रभाव समाप्त हुँदैन।
हो, विद्या मिसको शरीर अब हामीबीच छैन। तर उहाँले पढाएका हजारौं विद्यार्थी छन्। उहाँले हुर्काएको स्कुल छ। उहाँलाई 'विद्या मिस' भनेर सम्झने हजारौं मन छन्। समग्रमा उहाँको विचार छ। समर्पण जीवित रहनेछ। किनभने उहाँ बाँचुञ्जेल सत्यको पक्षमा अडिग रहनुभयो।
त्यसैले उहाँको महाप्रस्थान सुनसान भए पनि उहाँको स्मृति सुनसान हुने छैन। विद्या मिस, यतै कतै जीवित हुनुहुनेछ। उहाँहरूले सुरू गरेको विद्यालय नै सबैभन्दा ठूलो स्मारक हो।
विद्या मिस, तपाईंको सुनसान महाप्रस्थानप्रति भावपूर्ण श्रद्धाञ्जली।

(लेखक- राष्ट्रिय प्रकृति संरक्षण कोषका पूर्व सदस्य सचिव तथा संरक्षण समूह नेपालका सचिव हुन्।)