सानो छँदा दाइले घरमा कुरा गरेको सुन्थेँ। दाइका साथीहरू दश दिनका लागि ध्यानमा गएका रे!
कस्तो ध्यान? केही बोल्न नहुने ध्यान, कसैसँग बोल्न नहुने ध्यान, बिहानदेखि बेलुकीसम्म ध्यान, न मोबाइल, न इन्टरनेट, कति मान्छेहरू भागेर गए रे। ओहो कस्तो होला यो ध्यान? के हो यो ध्यान भनेको? मेरो कलिलो दिमागमा ठूलो प्रश्नचिन्ह खडा भयो।
समय र उमेरसँगै ध्यानतिरको अनुराग र कौतूहलता बढ्दै गयो। ध्यान के हो? ध्यान कसरी गर्न? ध्यान कसको गर्न? बडो अन्योल, दुविधा र अज्ञानता थियो। आँखा चिम्म गरेर बस्नु ध्यान हो कि? सास लामो लामो फेर्नु ध्यान हो? कुनै भगवानलाई सम्झनु ध्यान हो कि? केही पनि नसम्झनु ध्यान हो?
कलेज, समाजमा हुने साना ठूला ध्यानका कार्यक्रममा सहभागी भएर र युट्युब, इन्टरनेटद्वारा ध्यानका बारेमा जान्ने र अभ्यास गर्न कोसिस जारी रह्यो। विपश्यना ध्यानका बारेमा पनि धेरै सुनेको थिएँ। यसका कठिनाइ र कहानीहरू पनि प्रशस्तै सुनेको थिएँ।
हुन पनि आजको यति व्यस्त र आधुनिक दुनियाँमा मोबाइल र इन्टरनेट बिना कसरी बाँच्न सकीन्छ र? अरूको कुरा सुन्ने भन्दा पनि आफ्नो विचार राख्न हतार गर्ने हामी, नबोली कसरी बस्न सकीन्छ र? चर्पी जाँदा पनि नछुटेको मोबाइल , प्राण जतिकै महत्वपूर्ण लाग्ने इन्टरनेट कसरी चटक्कै छाड्न सकीन्छ र?
कठिन पक्कै छ। तर कठिन भए पनि पनि एक पटक विपश्यना पूरा गरेर मान्छे बारम्बार जाने गर्छन् र अरूलाई जान प्रेरित पनि गर्छन् तर किन? ‘त्यहाँ पक्कै केही न केही जादु छ, मैले प्रयास गर्नैपर्छ।’
विपश्यना जाने कुरा घरमा सुनाएँ, घरका सबै स्तब्ध भए। श्रीमतीको अनुहार एकाएक मलिन भयो, उनको नैरास्यता जायज थियो। नजिकका साथीभाइ र इष्ट मित्रलाई पनि जाने जानकारी गराए, मिश्रित प्रतिक्रिया आए।
के भयो र तँलाई ध्यान नै गर्न जानुपर्ने? कमाउने उमेरमा ध्यान गरेर समय खेर फालेर हुन्छ त? ध्यान त बुढेसकालमा गर्ने हो नि, मोज गर्ने उमेरमा ध्यान गरेर हुन्छ त? विपश्यनाबाट फर्केपछि त मान्छे साइको हुन्छन्, त पनि त्यस्तै होला नि फेरि। ओहो! सही हो, मेन्टल ब्रेक हुन्छ आएर अनुभव सुनाउ है? आदि इत्यादि।
सबैको विचारलाई शिरोधार्य गर्दै ब्याग प्याक गरी फेसबुकमा एउटा सानो स्टेटस लेखे ‘सी यू आफ्टर टेन डेज।’
जाने दिन उत्साह र कौतूहलताले भरिएको थियो। केन्द्रमा कोही आउँदै थिएँ, कोही रजिस्ट्रेसन गर्दै थिएँ, कोही केही सोध्दै थिएँ, कोही कोही भन्दै थिएँ माहोल रोमान्चक थियो। रजिस्ट्रेसन पछि काउन्टरमा आफ्नो मोबाइल, सुन, चाँदी, मालाहरू जिम्मा लगाएर एउटा सिरकको खोल एउटा तन्नाको खोल र एउटा तकियाको खोल बोकेर लागेँ आफ्नो निवास बस्ने ठाउँतर्फ।
फोन बुझाएर हात खाली हुनासाथ मनमा अनौठो डर र छरपटी फैलियो। बाहिरी संसारसँगको मेरो कडी चुँडिएको थियो। अब मसँग मेरो अस्तित्व बाहेक केही थिएँन। शिवपुरीबाट आएको एक मुठी चिसो हावाले मेरो अनुहारमा हान्यो, म झसङ्ग भएँ, आफ्नो उद्देश्यप्रति।
कक्ष निकै सुन्दर थियो। दुई वटा खाट एउटा सानो टेबल अनि दुई वटा खाटको बीचमा एउटा ठूलो झ्याल। झ्याल बाहिरबाट शिवपुरीले एकटक हेरिरहेको थियो। कोठाको दक्षिण कुनामा अट्याच बाथरुम थियो। जे होस् दश दिनको बसाइका लागि कक्ष राम्रो थियो।
चारखुट्टे खाट माथि डन्लप, सिरक र तकिया नाङ्गै थिएँ। सबैलाई पालैपालो लुगा लगाइदिएँ। तन्ना कस्दा र सिरकको खोल हाल्दा आमाको खुब याद आयो। बडो अप्ठेरो रहेछ सिरकको खोल हाल्ने र तन्ना कस्ने काम, एकतिर मिल्दा अर्कोतिर बिग्रन्छ अर्कोतिर मिल्दा अर्कोतिर बिग्रन्छ। घरको सपक्क आमाले मिलाइदिनुभएको ओछ्यान सम्झिए र टोलाई एक निमेषलाई।
शिविरको औपचारिक सुरुवात अघि अभिमुखीकरणको ‘ओरिन्टेसन’ कार्यक्रम थियो साँझ/पाँच बजे। सबै साधकहरूलाई एउटा हलमा जम्मा पारियो। एक पाका उमेरका गुरु अलि उच्च आसनमा बसेर शिविरको उद्देश्य, नियम, समयतालिका, व्यवस्थापन, अनुशासनका परिधिहरू आदि इत्यादि कुराहरूको जानकारी दिनुभयो। त्यसपछि सबै साधकहरूलाई धम्म हल (ध्यान गर्ने हल) मा जान आग्रह गरियो।
धमिलो हुँदै गएको शिवपुरी जंगलको फेदमा रहेको धम्म हलभित्र एउटा अपरिचित शून्यता फैलिएको थियो। लहरै मिलाएर राखेका चकटीमा सबै साधक शान्त बसेका थिएँ। कसैको ओठ खुलेका छैनन्, कसैको आँखा जुधेका छैन। हलमा दुई पुरुष आचार्य र दुई महिला आचार्यको प्रवेश भयो। उहाँहरूको अनुहारमा गहिरो मौनता, शान्ति र तेज थियो उहाँहरूको आगमनले सबै साधकको मनमा कौतूहलता जगायो। आचार्यहरू हलको अगाडि राखेको उच्च आसनमा गएर बस्नु भयो र सबै साधकहरूलाई ध्यानपूर्वक निहाल्नु भयो।
गहिरो मौनतालाई चिर्दै अचानक एउटा गहिरो र गम्भीर आवाज हलमा गुन्जियो। त्यो रेकर्ड गरिएको आवाज गुरु सत्यनारायण गोयन्काजी ज्यूको थियो। ‘बुद्धं सरणम गच्छामी, धम्म सरणम गच्छामि, संघम सरणम गच्छामी’
गुरुको त्यो गहिरो गुञ्जनसँग सँगै हलमा उपस्थित सबै साधकले एकै स्वरमा ती शब्दहरू दोहोर्याए। हलको हावामा एउटा कम्पन पैदा भयो। यो गुरुशिष्य परम्पराको पहिलो ढोका थियो जहाँ साधकले आफ्नो सम्पूर्ण अहङ्कार ढोका बाहिरै छाडी आफूलाई पूर्ण रुपमा गुरुको सरणमा समर्पित गरे।
त्यसपछि गुरुले आगामी दश दिनका लागि साधकहरूलाई मन, वचन र कर्मले शुद्ध बनाउनको लागि पञ्चशीलको सपथ गराउनु भयो। जसअन्तर्गत जीवहत्या नगर्न, चोरी नगर्न, ब्रह्मचर्य पालन गर्न, झुटो नबोल्ने र नशालु पदार्थ सेवन नगर्नु थियो। यो एक साधारण नियमहरू मात्र थिएँनन् यो एउटा आध्यात्मिक कदम थियो। त्यसपश्चात् अगाडि बस्नुभएका एक आचार्यले ‘आर्यमौन’ सुरु भएको घोषणा गर्नु भयो।
आर्यमौन ‘नोबल साइलेन्स’ त्यो मौनता जहाँ बोलेर मात्र होइन इसारा र भावनाले समेत मौन रहनु पर्छ। अब आफ्नो लडाइँ केवल आफ्नै मनसँग हुनेछ। साधकहरू एकएक गर्दै आफ्नो कक्षतर्फ लागे। बत्तीहरू निभाइए।
पहिलो दिनको पहिलो बिहानी, चार बजेदेखि नै एउटा ठूलो घण्टीबाट सुरु भयो। विद्यालयमा लाग्ने जस्तै त्यो घण्टी कति पनि मधुर लागेन। बिहान ७ बजिसक्दा पनि बल्लबल्ल आमाको कर करले उठ्ने बानी लागेको, बिहान चार बजे उठ्नु साह्रै गाह्रो भयो। उठेर नित्य कर्म सकी ४:३० बजे ध्यानका लागि धम्म हलतिर लागियो।
गुरुले निर्देशन दिनुभएको थियो। हामीले हाम्रो ध्यान श्वासमा लगाउनु पर्छ। आफ्नो ध्यान केवल नाकको दुई प्वाल र त्यसको वरिपरि लगाउनु पर्छ। अबको काम, सास भित्र गएको र आएको हेर्ने काम ‘आनापान’।
सुन्दा कति सजिलो, श्वास चलेको हेर्न आँखा चिम्म गरेर। तर जति सजिलो सुनिन्छ त्यति नै गाह्रो हुने रहेछ। आँखा चिम्म गर्नासाथ मन नाकको प्वालमा अडिनुको साटो, त्यो कहिले बाल्यकालको गल्लीमा पुग्थ्यो, कहिले प्रेमिकाको अँगालोमा, कहिले अफिसको कुर्सीमा पुग्थ्यो त कहिले आमाको ममतामा। जति समातेर नाकको फेदमा ल्यायो उतिनै ब्रह्माण्डको फन्को मारेर आउथ्यो।
सुरुका केही दिन आनापानमै बित्यो। जति नै गर्दा पनि मन भाग्न छाडेन। कहिले अतीतका डरलाग्दा सम्झनाले मन झस्किन्थ्यो त कहिले भविष्यको डरले मन अतालिन्थ्यो। कहिले कुनै सम्झनाले मन फुरुङ्ग हुन्थ्यो त कहिले कुनै घटनाले मन अमिलो हुन्थ्यो। जबरजस्ती मनलाई तानेर नाककै प्वालमा ल्यायो र हेर्यो आफ्नै सास। दिनको झन्डै ११ घण्टा यही प्रक्रिया चलिरहन्थ्यो।
साधना कठिन भए पनि साधकका लागि खान र बस्नको राम्रो व्यवस्था थियो। शुद्ध शाकाहारी खाना पाइन्थ्यो बिहान ७ बजे र दिउँसो ११ बजे। साँझ ५ बजे नयाँ साधकहरूलाई दूध र फलफूल दिइन्थ्यो भने पूराना साधकहरूलाई कागती पानी दिइन्थ्यो। खाना बडो स्वास्थ्यकर, न चिल्लो न पिरो, न अमिलो। खाना जतिकै सास्थकर त्यहाँको वातावरण पनि थियो।
धर्मसेवकहरूको सेवा भाव, उनीहरूको त्याग, नम्रता र क्रियाशीलताको जति तारिफ गरे पनि अपुगनै हुन्छ। धर्म सेवकहरूको स्मरण र सेवाभाव देख्दा लाग्थ्यो उनीहरू धर्तीका सबैभन्दा शान्त मान्छे हुन्। बाहिर सबैकुरा परफेक्ट थियो। समस्या केवल आफ्नो मनभित्र थियो।
ध्यान बाहेको खाली समयमा गर्नका लागि केही थिएँन। न फोन न अरूसँग कुराकानी। यस्तो अवस्थामा मेरो मिल्ने साथी बन्यो मेरो हातको घडी सिङ्गो शिविरमा हलचल गरिरहने जीवित साथी त्यही एउटा मात्र थियो। त्यो सेकेन्ड सुइको टक-टक चालले मनलाई यति आनन्द दिन्थ्यो म घण्टौँसम्म घुमिरहेको घडी हेर्थेँ। घडीको चाल, डायलको गोलाई, अङ्कहरूको तिखोपना, काला अंकहरू, गते र बार फेरिने त्यो सानो कोठा आहा कति सुन्दर।
एक्लै बस्दा बस्दै दोस्रो दिनको दिउँसो एन्जाइटी (छटपटी) ले सीमा नाध्यो। के गरूँ, कसो गरूँ, म किन यहाँ आएँ? (आफैले आफैलाई गाली गर्न थालेँ), आज बल्ल दोस्रो दिन अझै आठ दिन कसरी कटाउने?
यत्तिकैमा साइडमा राखेको आइड्रप (आँखामा हाल्ने औषधी) मा आँखा गयो। मैले त्यो बट्टा उठाएर त्यसमा लेखिएका चेतावनी र साना अक्षरहरू यसरी पढे मानौँ त्यो कुनै मदन पुरस्कार प्राप्त कृति हो। टुथपेस्टमा कुन-कुन केमिकल र कति प्रतिशत फ्लोराइड छ मैले कण्ठस्थ पारेँ। पठन पाठन प्रतिबन्ध भएपनि त्यो टुथपेस्टको साहित्य नै मेरो छटपटीको एकमात्र सहारा बन्यो।
मेरो जस्तै छटपटी अरू साधकहरूको पनि थियो। धम्म हलका चकटीहरू खाली हुँदै थिएँ। देखिएका दुई/चार अनुहार बालाउँदै थिएँ। सायद उहाँहरूको मन भित्रको वेगलाई दिमागले रोक्न सकेन र अनेक बहानामा शिविर छाड्नुभयो।
चौथो दिन ध्यानले एउटा नयाँ मोड लियो, त्यो दिन विपश्यनाको वास्तबिक शिक्षण सुरु भयो। अब ध्यान नाकबाट सारेर तालु र समग्र शरीरका अंगमा लैजानु थियो र त्यही दिन सुरु भयो ‘अधिष्ठान’ अर्थात् बिहान, दिउँसो र साँझको एक घन्टाको ध्यान अवधिमा हात, खुट्टा वा शरीर अलिकति पनि नचलाई आसन नबदली ध्यान गर्ने।
ध्यान गर्दा एकैछिनमा गोडा दुख्थ्यो, गोडा झमझम गर्थ्यो, कम्मर भाँचिएला जस्तो हुन्थ्यो, खुट्टा आगोले पोलेझै हुन्थ्यो, ढाडमा कसैले छुरा हानेझै हुन्थ्यो। एक घण्टामा दर्जनै पटक आसन परिवर्तन गर्नुपर्थ्यो। यहाँ साधना गर्ने आएको र साधना सहज हुँदैन मेरो मनले दृढले अठोट गर्यो अनि मनले अधिष्ठान गर्यो। अब ध्यान गर्दा एक घण्टा हलचल नगर्ने।
गुरुको निर्देशन थियो; दुःखलाई घृणा नगर सुखमा आसक्ति नराख, केवल समतामा रहेर साक्षी भावले हेर, त्यो पनि अन्त्यमा छ बितेर जान्छ। मैले आफ्नो घुँडाको पीडालाई एक तेस्रो व्यक्ति भएर हेरिरहेँ। न त म रोएँ, न त मैले खुट्टा चलाएँ, हेर्दा हेर्दै त्यो असह्य पीडा विस्तारै पग्लँदै गयो। सबै पीडा हराए, शरीरमा भएका सबै स्थूलता हराए र विस्तारै शरीरका हरेक अंगमा सूक्ष्म संवेदनाा अनुभूत हुन थाल्यो।
गुरुले भन्नु भएझै संवेदना चाहे सुखद होस् या दुखद, दुवै एकै हुन्। यीहरू आउँछन् र विलय भएर जान्छन्। फेरि आउँछन् र फेरि विलय भएर जान्छन्। जब हामी सुखद र दुखद संवेदनाामा प्रतिक्रिया जनाउँदैनौँ तब मनमा जमेको विकार, पूराना नराम्रा संस्कार विस्तारै नष्ट हुन थाल्दछन्।
दिनहरू बित्दै जाँदा मन हलुका र शरीर ताजा हुँदै गयो। मन भाग्न पनि कम हुँदै गयो। आँखा चिम्लिएर हेर्दा थाहा भयो शरीर कति रोचक र विशाल छ। आधुनिक भौतिक शास्त्रले भने जस्तै ब्रह्माण्डमा ठोस केही छैन, सबै तरंग मात्र हो। जब पदार्थलाई सानो मात्रामा टुक्र्याएर हेरिन्छ त्यो तरङ्ग बन्छ।
विपश्यनाको अनुभवले शरीर पनि तरङ्गहरूको पुञ्ज भएको अनुभव गरायो। कतै चिलाउने, कतै तातो, कतै भारी आदि सबै संवेदनाा तरङ्ग जस्तै आउँथ्यो र विलाएर जान्थे। जुन कुरा वैज्ञानिकहरूले प्रयोगशालामा फेला पाए, त्यही कुरा सिद्धार्थ गौतमले २६०० वर्षअघि आफ्नो शरीरको प्रयोगशालामा फेला पार्नुभयो।
दसौँ दिनको बिहान गुरुको प्रवचनपछि आर्यमौनको समाप्ति भयो। नौ दिनसम्म शान्त रहेको कण्ठ बोल्न पाउने दिन सबैका लागि रोचक थियो। सबैको अनुहारमा एक अवर्णनीय चमक र ओठमा कञ्चन मुस्कान थियो। लामो समय शान्त रहेको शिवपुरीको फेदमा आज अचानक चराहरूको चिरविरसँगै मानिसको बोली गुन्जिएको थियो। सबै आफ्नो अनुभव सुनाउँदै थिएँ।
केही भन्दै थिएँ, ‘मलाई करेन्ट लागेको जस्तै झनझन भयो’, केही भन्दै थिएँ ‘मेरो गालामा कमिला हिँडेको झै भयो’ आदि इत्यादि। केही मानिस यहाँ आउनुको रहस्य खोतल्दै थिएँ। कसैलाई पारिवारिक चिन्ता त कसैलाई परीक्षाको तनाव, कसैलाई प्रेममा पीडा थियो त कसैका हेपिएका कथा। विदेशबाट आएका पर्यटकहरू पनि उल्लेखनीय थिएँ। उनीहरू कोही अनुभवको लागि आएका थिएँ, कोही साथीभाइका सुझावले आएका, कोही तनाव व्यवस्थापन गर्ने त केही विपश्यनालई बुझ्न।
कसैलाई डिजिटल संसारले यति गिजेलेको थियो कि उनीहरू त्यो मानसिक एल्गोरिदम तोड्न र दिमागलाई रिबुट गर्ने आएका थिएँ। सबैका आ-आफ्नै दुःखका पोकाहरू थिएँ। तर अब सबै खुसी छन्। सबैले आफ्नो दुःखको अनित्यता बुझेको मात्र होइन, महसुस पनि गरे। साथै शिविरमा विदेश साधकहरूको उल्लेखनीय उपस्थिति देख्दा लाग्यो, नेपाल आध्यात्मिक पर्यटनको पनि उत्तम गन्तब्य बन्न सक्दछ।
शिवपुरीको फेदबाट काठमाडौंको खाल्डो तिर झर्दै गर्दै काठमाडौं शहर उस्तै थियो। उही गाडीहरू, धुलो–धुवाँ उही भिडभाड उही हतार तर आज त्यही भिडभाडमा छिर्दै गर्दा ममा कुनै हतार थिएँन, कुनै छटपटी थिएँन।
शहर उस्तै थियो, मान्छे उस्तै थिएँ, कोलाहल उस्तै थियो तर शहरलाई हेर्ने मेरो नजर फरक थियो। बाहिरको मौसम जस्तो होस् म आफूभित्रकै मौसम हेर्न सक्ने भएको थिएँ।
दश दिनदेखि स्विचअफ भएको मोबाइल गोजीबाट निकालेँ र अन गरेँ। स्कृनमा दर्शनै नोटिफिकेसन तैरिरहेका थिएँ। डिजिटल संसारले फेरि गहिरो आमन्त्रण गर्यो। मैले गहिरो र लामो सास फेरेँ, तातो बाहिर निस्कदै गरेको सासलाई साक्षी राख्दै मुस्कुराएँ। अब मलाई जीवनको सबैभन्दा ठूलो सत्यको ज्ञान थियो। सबै अनित्य छ।