मेरा मान्छेहरू आएर सोध्छन्
‘एउटा कोठा पाइएला र?’
अनि म
तिमीलाई सोध्छु
‘तिम्रो घरटोलमा
तिम्रा मान्छेका घरहरूमा
कुनै कोठा खाली छ र?’
मेरा मान्छेहरू आएर भन्छन्
‘त्यो म्यानपावरले पैसा खाइदियो नि!’
अनि म
तिमीलाई अनुरोध गर्छु
‘तिम्रो मान्छेको हो नि त्यो म्यानपावर,
भन्देऊ न यार!’
मेरा मान्छेहरू आएर भन्छन्
‘सरकारी अस्पतालमा
अलि छिटो उपचार गर्न पाइएला कि!’
अनि म
तिमीलाई अनुरोध गर्छु
‘तिम्रो मामा हुनुहुन्छ नि डाक्टर
भन्देऊ न यार,
मिल्छ भने!’
मेरा मान्छेहरू आएर भन्छन्
‘जापनिज ल्याङ्ग्वेज पढ्दासम्म
कुनै काम पाइएला कि!’
अनि म
तिमीलाई फेरि भन्छु
‘तिम्रो काकाको रेस्टुरेन्टमा
काम दिलाइदेऊ न यार!’
‘के काम जानेको छ?’
सोध्छन् तिम्रो काका
म
मेरो मान्छेलाई
त्यसैगरी सोध्छु
‘के काम जानेछौ रे?’
‘के जान्ने!
घाँस काट्न जानेछु
कोदालो खन्न जानेछु।’
पहाडी हावाले
कालो भएको अनुहारमा
ङिच्च दाँत देखाउँदै भन्छ
मेरो मान्छे।
मेरा मान्छेहरू फोन गरी भन्छन्
‘विदेश जान कुर्दा समय लाग्यो
होटेलमा पाँच हजार पुगेन!
ई-सेवा गरिदेऊ न!’
म!
पहिला ब्यालेन्स हेर्छु
अनि
एउटा शीर्षकलाई घटाएर
गरिदिन्छु
होटेलवालाको खातामा
ई-सेवा।
मेरा मान्छेहरू आएर भन्छन्
‘प्रहरी रिपोर्ट बनाइदिनुपर्यो!’
अनि म
तिमीलाई भन्छु
‘मिल्छ भने!
तिम्रो दाइ नाताको प्रहरीमा हुनुहुन्छ नि!
भन्देऊ न यार।’
‘मिल्छ भने!’
मेरा मान्छेहरूसँग
सधैँ सधैँ
टाँसिएर आउँछन्
अनुरोधहरू
आवश्यकताहरू।
तिमी र तिम्रा मान्छेहरू भने
आसीन छौ र छन्
अनुरोध सुन्ने ठाउँहरूमा
आवश्यकता पूर्ति गर्ने ठाउँहरूमा।
कति फरक है साथी!
म
तिमी
मेरा मान्छेहरू
र
तिम्रा मान्छेहरू!