आफ्नै हातले हो दागबत्ती दिएको
अस्तु विसर्जन गरेको पनि आफैँ हो
दशगात्र सबै विधि गरेको
नौ-नौ महिना भएछ यामपीडाको।
चोट समयले कम गराउँदै लैजान्छ
घाउमा बिस्तारै माम्रा पलाउँछ
सब स्वाभाविक हो
आखिर सबैतिर भएकै हो
थाहा छ,
अब आमाको पार्थिव शरीर छैन
खोजेर, रोएर कसै प्राप्ति हुन्न
जन्मपछि मृत्यु अवश्यम्भावी छ
एकदिन
मेरा र म,
सबैको यही गति हो।
आमा भन्नुहुन्थ्यो
‘सबै कुराको सन्तोष छ
सन्तान सबैको राम्रो छ
यिनका कानकपाल नदुखुन्
अब बोल्दाबोल्दै जान पाए भयो
अरूलाई दुख दिन नपरोस्।’
कहिलेकाहीँ बिरामी हुँदा
आमा! सबै ठिक हुन्छ
मैले भन्थेँ।
अनि,
आमा भन्नुहुन्थ्यो,
‘हुन्छ, अब सबै ठिक हुन्छ
अब बेठीक नहुने गरी ठिक हुन्छ
अब सहज मृत्युवरण गर्न पाए हुन्छ।’
आमाले भनेजस्तै भयो
तर ती ६ दिन
सायद उहाँलाई त अनुभव भएन कि!
अचेत रहनुभो
आशाका त्यान्द्रामा हामी अल्झियौँ
र अन्ततः
त्यही भयो
जे हामी नहोस् भन्थ्यौँ
तर
उहाँ चाहनुहुन्थ्यो।
अहिले फेरि लाग्दै छ
मलाई आमाको अभाव छैन
किनकि उहाँ मसँगै हुनुहुन्छ
सपनीमा र तस्बिरहरूमा
अनि साँच्चै मनमुटुमा
फेरि डर लाग्छ,
जब म घर जाने कुरा सम्झन्छु
कतै त्यहाँ आमा नै हुनुहुन्न भने
म के गर्ने?
मनस्तापले आकुलब्याकुल बनाउँछ।
सायद यस्तै भ्रान्तिले होला
सात समुद्र पार रहेकी बहिनी
हामीसँग बोल्नै चाहन्नन्
पीडाका आँसु पोख्न चाहन्नन्
आफूलाई एक्लै तड्पाएकी छन्
सन्तापको ज्वालामुखी दबाएकी छन्
उनका मनमा पनि
आमा अझै जीवित हुनुहुन्छ, हामीहरूसँगै
उनी आफू पो टाढा भइन् र!
उनका कान सुन्न चाहन्नन्
‘अब पिर गरेर के गर्नु,
आमा स्वर्गे हुनुभयो।’
म पनि यहीँ भ्रान्तिमै
बाँच्न रमाउँदै छु
ताकि
आमा हुनुहुन्न भन्ने
कुरा कसैले नसम्झाओस्!